कालो कामीको आरनको जिन्दगी

आरन लोप हुने अवस्थामा


सानो झुपडी । झुपडीभित्र असरल्ल छरिएका फलामका टुक्राहरू । सँगैे कोइला । कोइला पोल्न प्रयोग गरिने भत्किएको चुलो । चुलो नजिकै घन र हतौडा । भेरीगंगा नगरपालिका–११ का कालो कामी ६२ वर्षको भए । आरनमा बसेर फलामका सामग्री बनाउने काम गर्छन् । उनले आरनमा फलामका सामान बनाउन थालेको सात वर्ष भइसक्यो ।

उनको बुबाले आरनको काम त गरेका थिएनन् । उनी देश आएपछि आरनको काम सिकेको बताउँछन् । उनको पुरानो बस्ती सल्यान हो, सल्यानबाट आएपछि आरनको पेसा अंगालेको बताए । सल्यानबाट आएको पनि ४० वर्ष भएको उनले सुनाए ।

‘आरनको काम गरेर नै घर परिवार चलाएको उनले बताए । उनको तीन छोरी र एक छोरा रहेका छन् । मलिन स्वरमा उनले भने, ‘मैले यो पेसा विचमा छोडेर फेरी गरेको छु । छोरो त अहिले इन्डिया गएको छ । उसले यो पेसा अंगाल्छ अंगाल्दैन त्यो त थाहा छैन् ।’

अहिले उनी आरनको काम नियमित त पाउँदैनन् । तर उनले अन्नबाली लिने गरेको छैनन् । ज्यालादारीमै आरको काम गर्ने गरेको बताए । त्यहि आरनको कामले परवारमा राहत मिलेको उनको भनाई छ । सुरुवातमा आरन व्यवसाय राम्रो रहे पनि अहिले भने फस्टाउन नसकेको उनी बताउँछन् ।

‘आरनको काम सुरु गर्दा बाली प्रथा थियो, अहिले बाली लिने छैन्’ उनी भन्छन् । आरन व्यवसायमा मेहनत धेरै गर्नुपर्ने उनी बताउँछन् । उनी भन्छन्, ‘गर्मीमा आगोसँग खेल्नुपर्दा निकै गाह्रो हुन्छ, आगोमा फलाम गलाउनुपर्ने हुँदा मेहेनत बढी गर्नुपर्छ ।’ आरनमा फलामको काम गर्नुपर्ने भएकाले काममा ध्यान दिनुपर्ने र मेहेनत गर्नुपर्ने भएर नयाँ पुस्ताले यो व्यवसायलाई निरन्तरता दिन नसकेको उनको भनाइ छ । ‘आधुनिकीकरण हुन नसक्दा आरन व्यवसाय लोप हुँदै गएको छ,’ उनले भने । विचमा यो पेसा छोडेको पनि थिएँ ।

पछि फेरी आरन पेसा नै गर्न थालेँ । आरन व्यवसायबाट जीविकोपार्जन गर्न गाह्रो हुने गरेको उनी बताउँछन् । उनी भन्छन्, ‘आरनमा बनाइने ठूला औजारमध्ये हलो, बञ्चरो, कोदाली, खुकुरी, हँसियालगायत लोप भएका छन् ।’ गाउँघरमा मकै गोड्ने कोदालो, घाँस काट्ने हँसिया, फलामका छुरीलगायत औजार बनाउन आउने उनी बताउँछन् । कोइला, गोलको कमी हुँदा आगोमा हराउने तरिका हराउँदै गएको उनी बताउँछन् ।

उनी भन्छन्, ‘जगंल त बढेको छ । तर, जंगलमा जान रोक लगाइएको छ, दाउराको अभावले कोइला उपलब्ध हुनै छोड्यो फलामका औजार बनाउनै छोडियो । जंगलको त न सुकेको न काँचो कुनै दाउरा लिन पाईदैन् ।’ राम्रो कोइलाले मात्र फलाम गल्न सजिलो हुने उनी बताउँछन् । कालो कामीले फलामको औजार बनाएर व्यापार भने गर्दैनन्, कसैले भने मात्र गर्ने उनी बताउँछन् । उनी भन्छन्, ‘पहिलेदेखि नै काम गर्दै आएकोले बनाइदेऊ भने पछि मात्र बनाउँछु ।’

परम्परागत आरनबाट केहि गर्न सकिँदैन
उनी भन्छन्, ‘पुरानै प्रविधि प्रयोग गरेर आरन व्यवसाय गरेर केहि गर्न सकिँदैन, पढेलेखेका नयाँ पुस्ताले अन्य कुनै नयाँ व्यवसाय गरुन् जस्तो लाग्छ ।’ कृषि विकास निर्देशनालयले उनलाई हाते मेसिन, ठुलो ग्यालेन्डर, सानो ग्यालेन्डर, चक्का, पंखा र घन लगाएतको सामान उपलब्ध गराएको उनले बताए ।

यी सबै सामाग्रिमा कृषि विकास निर्देशनालय सुर्खेतले ५० हजार रुपैयाँ बराबरको सामान उपलब्ध गराएको जनाएको छ । उनले आरनमा फलाम पिट्ने काम गरेर जीविकोपार्जन गर्ने बताउँछन् । गाईवस्तुलाई कुडो पकाउने ठूला दिप्चे, कोदालो, हँसिया, बञ्चरोलगायत विभिन्न औजारहरू बनाएका काले कामी हिजोआज हँसिया तथा कोदालो बनाउने र धार लगाउने काम गर्छन् ।

आरनमा हँसिया धार लगाउदै गरेका कालो कामी भन्छन्, ‘सबै परिवर्तन भएको छ, हलो जुवाको सट्टा ट्याक्टरले एकै छिनमा काम गर्दिन्छ, भन्नेबित्तिकै काम गर्न सजिलो भएको छ ।’ उनले पनि सुरुवातमा बालीप्रथाबाट काम गरे । तर, अचेल भने उनी काम गरे बापत नगदै पैसा लिने गरेका छन् ।

अधिकांशले पुरानै औजार मर्मत गर्न आरन आउने गरेको उनी सुनाउँछन् । उनी भन्छन्, ‘पहिलेजस्तो आरनमा बसेर फलाम पिट्ने काम गर्न सकिँदैन ।’ उनले यही पेशाबाटै परिवारको खर्च धानेका छन् । अचेल भने अर्डर आएपछि मात्रै काम गर्ने गरेको उनी बताउँछन् । आरनको काममा मेहनत अनुसारको पारिश्रमिक नभएको उनी बताउँछन् । गाउँघरमा धेरै उधारो जाने गरेको उनले बताए ।

आरनबाट महिनामा ७ हजार रुपैयाँ कमाई हुने गर्छ तर पनि यसमा आफु खुसी हुने गरेको उनले बताए । आरनमा काम गर्ने तरिकामा परिमार्जन हुन जरुरी रहेको उनी बताउँछन् । उनी भन्छन्, ‘नयाँ पुस्ताले नयाँ तरिका ल्याउन सके आरन व्यवसायले निरन्तरता पाउँछ ।’

समयसँगै आरनको महत्व निकै कम भएको उनको अनुभव छ । ‘अचेलका पुस्तालाई न आरनको बारेमा केही थाहा छ न त आरनको कामलाई महŒव नै दिन्छन्,’ उनले भने ।

आरनको व्यवसायीकरण हुन नसक्दा आरन लोप हुने अवस्थामा पुगेको उनको अनुमान छ । ‘काम नै गर्छु भनेर लाग्न चाहनेहरूलाई व्यवसाय गर्न समस्या परेको उनी बताउँछन् । एक हँसिया बनाउन एक दिन लाग्ने भएकाले काम गर्न निकै दुःख रहेको उनी बताउँछन् ।

तपाईको प्रतिक्रिया