सुविधा सम्पन्न अस्पतालमै जोगिँदैन आमाको ज्यान

प्रदेश अस्पतालमा एक वर्षको अवधिमा नौ जना सुत्केरीको मृत्यु

राष्ट्रिय जनगणना २०७८ को तथ्यांकले भन्छ, ‘कर्णाली नेपालमै सबैभन्दा धेरै मातृमृत्युदर भएको प्रदेश हो ।’ कर्णालीमा अझै पनि राष्ट्रिय र अन्य प्रदेशको तुलनामा मातृ मृत्युदर एक सय ७२ रहेको जनगणनाको तथ्यांकले देखाउँछ । दीगो विकासको लक्ष्य अनुसार सन् २०३० सम्म कर्णालीको मातृ मृत्युदर ७० मा झार्ने गरी सरकारी तथा विभिन्न गैर सरकारी संस्थाहरुले काम गरिरहेको दाबी गरिरहेका छन् । तर, प्रदेशमा भौगोलिक रुपले मात्रै होइन सुविधा सम्पन्न अस्पताल र दक्ष जनशक्ति उपलब्ध भएका भनिएको सुर्खेतस्थित कर्णाली प्रदेश अस्पतालमै सुत्केरी हुन पुग्ने ठुलो संख्यामा महिलाले ज्यान गुमाउने गरेको तथ्य सार्वजनिक भएको छ ।

यो तथ्यांकले अस्पताल भन्दा घरमा सुत्केरी हुनेहरु सुरक्षित हुन्छन् भन्ने भाष्य स्थापित गराईदिने संकेत गरिरहेको छ । गर्भवतीदेखि सुत्केरी हुँदासम्मको अवधिमा अस्पताल नगई घरमै सुत्केरी गराउँदा मृत्यु हुने महिलाको कुल संख्यामा २६ प्रतिशत रहेको तथ्यांक बोल्छ । सुर्खेतमा सुत्केरी गराउन अस्पताल लैजादै गर्दा बाटोमा १७ प्रतिशत महिलाको मृत्यु हुने गरेको जिल्ला जनस्वास्थ्य कार्यालय सुर्खेतकी जनस्वास्थ्य नीरिक्षक अन्जना भण्डारी बताउँछिन् ।

उनी भन्छिन् ‘चालु आर्थिक वर्षको नौ महिनाको अवधिमा सुत्केरी हुन कर्णाली प्रदेश अस्पतालमा पुगेका नौ जना महिलाले ज्यान गुमाएका छन् ।’ गत आर्थिक वर्षमा प्रदेश अस्पताल सुर्खेतमा सुत्केरी हुन आएका तीन जना सुत्केरीले ज्यान गुमाएका थिए । चालु आर्थिक वर्षमा मृत्यु भएका सुत्केरीमा दुई जना सुर्खेत जिल्लाका रहेका छन् भने सात जना अन्य जिल्लाका रहेका छन् ।

प्रसवोत्तर (सुत्केरी भएको ४२ दिनसम्मको अवधि) समयमा ६१ प्रतिशत, गर्भावस्थाको समयमा ३३ प्रतिशत र सुत्केरी अवस्थामा ६ प्रतिशत महिलाको ज्यान जाने गरेको जनस्वास्थ्य कार्यालय सुर्खेतले उपलब्ध गराएको तथ्यांक उल्लेख छ । यस्तै, सुर्खेतमा कोभिड–१९ को समयमा १५ प्रतिशत महिलाको मृत्यु भएको उनले बताइन । प्रदेश मुकाम सुर्खेत जिल्लाको यो उदेक लाग्दो स्वास्थ्य सेवाले समर्ग कर्णाली प्रदेशको स्वास्थ्य व्यवस्थापन प्रणालीको प्रतिनिधित्व गर्दछ ।

अस्पताल पुगेपछि किन हुन्छ सुत्केरीको मृत्यु

सुत्केरीका समयमा अस्पतालको पहुँचमा पुगेका महिलाको मृत्यु हुनुमा विविध कारण रहेको बताउँछिन जनस्वास्थ्य नीरिक्षक भण्डारी । अस्पतालमा सुत्केरीको मृत्यु हुनुको पहिलो कारण प्रसुति अवस्थामा आउने जटिलता रहेको उनी बताउँछिन् । सुविधा सम्पन्न भनिएको भएपनि प्रसुतिका समयमा अस्पतालमा औषधीको अभाव, दक्ष प्रसुतिकर्मी नहुनु, भएकालाई पनि पर्याप्त तालिम नदिइनु, मापदण्ड अनुसारका प्रसुति गृह नहुनु, समयमा अस्पताल नपु¥याईनु, प्रसुति सम्बन्धि आवश्यक औजार नहुनु तथा उपचारमा अस्पतालको लापरवाहीले प्रसुति अवस्थामा सुत्केरीको मृत्यु हुने गरेको भण्डारी बताउँछिन् ।

समुदायस्तरमा सुरक्षित प्रसुति सेवाका बारेमा आवश्यक जनचेतना नहुनुले जटिल अवस्थापछि मात्र अस्पताल लिने पु¥याउने प्रवृत्तिका कारण पनि अस्पतालमा सुत्केरीको ज्यान जाने गरेको उनको भनाई छ । भण्डारीलाई आधार मान्ने हो भने भौतिक संरचनासहित पर्याप्त स्रोत साधन र जनशक्ति भएको प्रदेश अस्पतालमा प्रसुतिका समयमा महिलाको मृत्यु हुनुको प्रमुख कारण अस्पतालको लापरवाही रहेको आरोप लाग्दै आएको छ ।

उमेर नपुग्दै आमा हुनेहरुको संख्या बढ्दै

चालु आर्थिक वर्षमा सुर्खेत जिल्लाभर २० दशमलव चार प्रतिशत २० वर्ष मुनिका किशोरी सरकारी स्वास्थ्य संस्थामा गर्भवती भएका छन् । गत आर्थिक वर्षमा यो संख्या १९ दशमलव ६ प्रतिशत रहेको तथ्यांकले देखाउछ । सुर्खेतका नौ वटा स्थानीय तहरु मध्ये सिम्ता गाउँपालिकामा धेरै बालविवाह हुने गरेको पाइएको छ । चालु आर्थिक वर्ष २०८०÷०८१ कोे चैत मसान्तसम्म सिम्तामा ३४ दशमलव चार प्रतिशत २० वर्ष मुनिका किशोरी स्वास्थ्य संस्थामा सुत्केरी भएका छन् । गत आर्थिक वर्ष २०७९÷०८० मा यो संख्या ३४ दशमलव ६ प्रतिशत रहेको थियो ।

यस्तै, भेरीगंगा नगरपालिकामा अघिल्लो आर्थिक वर्षमा २३ दशमलव एक प्रतिशत उमेर नपुगेका किशोरीहरु सुत्केरी भएकोमा चालु आर्थिक वर्षमा यो संख्या बढेर ३३ दशमलव ६ पतिशत पुगेको छ । पूर्वि सुर्खेतको गुर्भाकोट नगरपालिकामा गत आर्थिक वर्षमा ३२ दशमलव चार प्रतिशत उमेर नपुगेका किशोरीहरु सुत्केरी हुन अस्पताल आएकोमा चालु आर्थिक वर्षको हालसम्म २९ दशमलव तीन प्रतिशत किशोरी सुत्केरी भएका छन् ।

यस्तै चिङ्गाड गाउँपालिकामा ३२ दशमलव तीन, लेकवेशी नगरपालिकामा ३० शलमलव सात, वीरेन्द्रनगर नगरपालिका १६ दशमलव चार, बराहताल गाउँपालिकामा ३० दशमलव दुई, पञ्चपुरी नगरपालिका १४ दशमलव पाँच र चौकुने गाउँपालिकामा २९ प्रतिशत किशोरीहरु उमेर नपुगी सुत्केरी हुने गरेको सरकारी तथ्यांकले बोल्छ । यो तथ्यांक सरकारी स्वास्थ्य संस्थामा आएर सुचिकृत भएकाहरुको मात्रै हो । अस्पताल नआएर घरमै सुत्केरी हुने किशोरीको एकिन तथ्यांक भने सार्वजनिक गर्न चुनौती छ । प्रदेश राजधानी जिल्लाकै यो अवस्थाले समर्ग कर्णाली प्रदेशकै बालविवाहको कुरुप तथ्यांक चित्रित गर्दछ ।

अस्पतालमा सुत्केरी हुनेको संख्यामा बृद्धि

पछिल्लो समय सुर्खेत जिल्लाभर अस्पतालमा सुत्केरी हुनेहरुको संख्या बढ्दै गएको छ । सरकारी स्वास्थ्य संस्थामा प्रसुती सेवा थप हुनु र राज्यले प्रोत्साहनवापतको रकम दिन थालेपछि अस्पतालमा सुत्केरी हुनेहरुको संख्या बढ्न थालेको जिल्ला जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतकी जनस्वास्थ्य नीरिक्षक अन्जना भण्डारी बताउँछिन् । सरकारले नियमित स्वास्थ्य संस्थामा जाँच गराउन तथा सुत्केरी हुन आएका महिलालाई प्रोत्साहन रकम प्रदान गर्दै आएको छ । भण्डारीका अनुसार गत आर्थिक वर्षमा ७९ दशमलव एक प्रतिशत महिलाहरु सरकारी स्वास्थ्य संस्थामा सुत्केरी भएकोमा चालु आर्थिक वर्षमा यो संख्या बढेर एक सय २४ दशमलव ६ प्रतिशत पुगेको छ ।

पालिकागत तथ्यांक हेर्ने हो भने सबैभन्दा धेरै वीरेन्द्रनगर नगरपालिकामा दुई सय ७५ दशमलव तीन प्रतिशत महिलाहरु अस्पतालमा सुत्केरी भएका छन् । गत आर्थिक वर्षमा यो संख्या एक सय ५६ दशमलव सात प्रतिशत थियो । पश्चिम सुर्खेतको चौकुने गाउँपालिकामा अझै पनि अस्पतालमा सुत्केरी हुने महिलाको संख्या बृद्धि हुन नसकेको तथ्यांकले देखाउछ । यस पालिकामा गत आर्थिक वर्षमा ३६ दशमलव आठ प्रतिशत महिला सुत्केरी हुन अस्पतालको पहँुचमा पुगेकोमा चालु आर्थिक वर्षको चैत मसान्तसम्म यो संख्या बढेर ५४ प्रतिशत पुगेको छ ।

गर्भवतीको समयमा नियमित जाँच गराउने र अस्पतालमा सुत्केरी हुने महिलाहरुको पालिकागत तथ्यांक अनुसार सिम्ता गाउँपालिकामा ५९ दशलमव आठ, चिङ्गाड गाउँपालिकामा ५८, लेकवेशी नगरपालिका ४९, भेरीगंगा नगरपालिका ५२ दशमलव आठ प्रतिशत रहेको छ । यस्तै, गुर्भाकोट नगरपालिका ८३ दशमलव नौ, बराहताल गाउँपालिका ३६ दशमलव एक र पञ्चपुरी नगरपालिकामा ५४ दशमलव नौ प्रतिशत महिलाहरु चालु आर्थिक वर्षको नौ महिनामा सुत्केरी हुन अस्पताल पुगेको तथ्यांक जिल्ला जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतसँग छ ।

प्रसुती सेवा सम्बन्धि जानकारीको अभाव, भौगोलिक विकटता, स्वास्थ्य संस्था र तालिम प्राप्त जनशक्ति अभाव लगायतका विविध कारणले अझै पनि महिलाहरु सुरक्षित प्रसुती सेवाको पहँुच बाहिर रहेको भण्डारी बताउँछिन् । सुचिकृत नभएका ठाउँहरुबाट गर्भपतनको औषधी बिक्री वितरण, मातृ मृत्यु अनुपात बढ्दो क्रम, किशोरावस्थामा गर्भवती हुनु लगायतका कारणहरु परिवार नियोजनका लागि चुनौती रहेको उल्लेख गर्दै समुदायस्तरदेखि प्रत्येक घर–घरमा सचेतना फैलाउन आवश्यक रहेको उनले बताइन । आगामी कार्यक्रममा सचेतनामुलक कार्यक्रमलाई तल्लो तहसम्म पु¥याउने गरी कार्यालयले तयारी थालेको उनले बताइन ।

चुनौतीका बिच सुधारमा लागि परेका छौं : निर्देशक खड्का

संघीयतको अभ्यासपछि सिर्जना भएको चुनौतिका बिच कर्णालीको स्वास्थ्य प्रणालीलाई गुणस्तरिय र सर्वसुलभ बनाउन दिनरात लागि परेको बताउँछन् कर्णाली प्रादेशिक स्वास्थ्य निर्देशनालयका निर्देशक डा. रविन खड्का । कर्णालीको स्वास्थ्य सेवामा आफ्ना १० वर्षे सिकाई र भोगाईले विस्तारै सुधारको लय समाउँदै जान थालेको विषयलाई बिर्सन नहुने उनी बताउँछन् ।

संघ, प्रदेश र स्थानीय तहलाई प्राप्त जिम्मेवारी बहन गर्न सिर्जित नीतिगत अल्झनका कारण केही हुनै पर्ने सुधारहरु भने हुन नसकेको खड्काले बताए । संघीयताको अभ्यासपछि तालिम प्राप्त जनशक्ति स्थानीय तहमा जानुले प्रदेशतहमा सेवा प्रवाहमा थप समस्या रहेको उल्लेख गर्दै खड्काले भने, ‘सरकारले दीगो विकासको रणनीति अनुसार कर्णालीका विभिन्न स्वास्थ्य सुचकहरुलाई घटाउने गरी लागि परेका छौं, सीमित स्रोत साधान, जनशक्ति तथा नीतिगत अल्झनले लक्ष्यअनुरुप प्रगति हासिल गर्न चुनौती छ ।’

तालिम प्राप्त जनशक्ति अभावका बिच तालिम दिने तालिम केन्द्रको अभावले पनि गुणस्तरीय सेवा प्रभाहमा थप समस्या झेल्नु परेको निर्देशक खड्काले बताए । विशिष्टिकृत, विशेषज्ञ र आधारभुत स्वास्थ्य सेवा प्रवाह गर्ने जिम्मेवारी पाएका संघ, प्रदेश र स्थानीय तहले कर्णालीको स्वास्थ्य प्रणाली सुधारलाई प्राथमिकतामा राखेर अगाडि बढेमात्र संकटको कठिन यात्रा पार गर्न सकिने उनको भनाई छ । कर्णालीको सुगमदेखि दुर्गमसम्म गुणस्तरिय स्वास्थ्य सेवा प्रवाहमा विद्यमान चुनौतीलाई चिर्न सबैले हातेमालो गरेर अघि बढे मात्र लक्ष्य हासिल गर्न सकिने निर्देशक खड्काले बताए ।

आमा सुरक्षाका लागि यस वर्ष गरिएका प्रयास

जिल्ला जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतले चालु आर्थिक वर्षमा प्रसुति सेवा सुधारमा विभिन्न कार्यक्रमहरु गरेको जनाएको छ । जस अन्तर्गतल स्वास्थ्य कार्यालयबाट स्थानीय तहमा आमा सुरक्षा, एसएनसियु, मातृ सुरक्षा चक्की, एमपिडीएसआर, भिए लगायत कार्यक्रमको अनसाइट कोचिङ्ग, मेन्टरिङ्ग तथा अनुगमन गरिएको छ । समुदायस्तरमा एमपिडीएसआर कार्यक्रमको निरन्तरता तथा विस्तार, क्लिनिकल कोचिङ्ग मेन्टरिङ्ग कार्यक्रम, एमजिएसओ–४, क्लालसियम गुल्कोनेट, भिटामिन के–१, मिसोपोस्टल लगायतका लागि आवश्यक औषधी खरिद गरेको जनस्वास्थ्य नीरिक्षक भण्डारीले बताइन ।

यस्तै, स्थायी बन्ध्याकरणपूर्वको अन्तरक्रिया संचालन, स्थायी बन्ध्याकरण तथा लामो अवधिको परिवार योजना सेवा तथा जटिलता व्यवस्थापन, सायना पे्रस सेवा विस्तार, परिवार योजना सेवाको सुदृढिकरण, बर्थिङ्ग सेन्टरका लागि आवश्यक औजार उपकरण खरिद, प्रेषण लगायतका कार्यक्रम गरिएको भण्डारीले बताइन ।

तपाईको प्रतिक्रिया