तेस्रो लगानी सम्मेलनमा राखिएका कर्णाली प्रदेशमा पर्ने केही आयोजनामा लगानी गर्न केही विदेशी कम्पनी तयार भएका छन् । लगानी सम्मेलनमो सोकेसमा राखिएका जलविद्युत् र भौतिक पूर्वाधार क्षेत्रका केही आयोजनामा विदेशी लगानी गर्न तयार भएका हुन् । नलगाड जलविद्युत आयोजना र रारा तालमा सुबिधा सम्पन्न होटेल बनाउनका लागि विदेशी लगानी गर्न तयार भएका छन् ।
जाजरकोट नलगाड जलविद्युत् आयोजनाको निर्माणमा भारत सरकारको स्वामित्व रहेको कम्पनी नेशनल थर्मल पावर कर्पोरेशन लिमिटेड (एनटीपीसी) ले इच्छा देखाएको छ । बैशाख १५ र १६ गते काठमाडौंमा भएको सम्मेलन सकिएपछि कम्पनीले नलगाडमा लगानीको गर्ने इच्छा जनाएको छ । ऊर्जामन्त्री शक्तिबहादुर बस्नेतसँग कम्पनीका प्रतिनिधीहरुले छलफल गरेको र लगानीका लागि भारतीय कम्पनी तयार भएको लगानी बोर्डको कार्यालयका सहसचिव बाबुराज अधिकारीले विभिन्न कम्पनीहरुले नलगाडमा चासो देखाएको बताए । ‘लगानी सम्मेलनमा नलगाड लगानीको इच्छा प्रकट भएको छ ।’ उनले भने, ‘प्रस्तावित जलविद्युत् आयोजना जाजरकोटको नलगाड नदीमा पहिचान भएको छ ।’
विस्तृत अध्ययन पूरा भएको आयोजनाका लागि सरकारले लगानी खोजिरहेको थियो । लगानी जुटाउन नसक्दा आयोजना निर्माण अघि बढेको थियो । यो आयोजना नलगाड नगरपालिका–२, ५, ७ र ८ तथा बोरेकोट गाउँपालिका–१, २, ५, ६, ७, ८ र ९ मा निर्माण हुनेछ । आयोजनाबाट एक हजार १७२ घरपरिवारका सात हजार दुई हजार ८४ जना प्रभावित हुनेछन् । यो जलाशययुक्त प्रकृतिको जलविद्युत् आयोजना हो । यो आयोजनाले वार्षिक ३६५५ गिगावाट आवर विद्युतीय ऊर्जा उत्पादन गर्न सक्छ । सुक्खायाममा ६ सय चार दशमलव नौ गिगावाट आवर उत्पादन गर्न सक्छ । यो आयोजनाको विस्तृत अध्ययन ७ वर्ष लागेर स्मेक र एमडब्लुएच र नेपाली कम्पनी उदय कन्सल्ट्यान्टले अध्ययन पूरा गरेको हो ।
३१ महिनमा सक्ने गरी २०७३ सालमा ठेक्का पाएको थियो । विभिन्न बाहाना बनाएर कम्पनीले काम गर्न नसकेको हो । लामो समय अध्ययन प्रक्रिया नै अलपत्र परेको थियो । भारतीय नाकाबन्दी, पहुँचमार्गको अभाव, कोभिड–१९ को संक्रमण लगायतका कारणहरु देखाएर काम अलपत्र परेको थियो । यो आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन (ईआइए) प्रतिवेदन वन तथा वातावरढ मन्त्रालयबाट स्वीकृत भइसकेको छ ।
यो आयोजनाको सन् २०१२ मा नै सर्वे भएको थियो । एक खर्ब २३ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ । अहिले यो लागत करिब दुई खर्ब रुपैयाँ हुने अनुमान छ । निर्माण थालेको ६ वर्षमा पूरा गर्न सकिने अध्ययन प्रतिवेदनमा उल्लेख छ । साढे आठ किमी सुरुङमार्ग निर्माण गर्नुपर्नेछ । भूमिगत विद्युत गृह हुनेछ । ८ किमीको कृतिम ताल निर्माण हुनेछ । पाँच सय रोपनी जग्गा चार अर्ब रुपैयाँ खर्चेर अधिग्रहण भइसकेको छ । संरचनाहरु भने अधिग्रहण हुन बाँकी छ । साना ठूला गरी सात सय संरचनाहरु अधिग्रहण गर्नुपर्नेछ । नलगाड जलविद्युत आयोजनालाई क्षेत्रीय ऊर्जा सन्तुलन कायम गर्न तथा कर्णालीको विकासमा कोसेढुंगा सावित हुने अपेक्षा गरिएको छ ।
७० करोड लागतमा रारामा होटल बन्ने
लगानी सम्मेलनको सोकेशमा राखिएको रारामा बन्ने पहिलो लक्जरी रिसोर्टमा अष्ट्रेलियाको एक्सपर्ट ग्रुपले लगानी गर्ने भएको छ । लगानी सम्मेलनमा यससम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो । अष्ट्रेलियामा कार्यरत एनआरएनहरुले खोलेको एक्सपर्ट ग्रुपले मुगुको मुर्माटपमा होटेल खोल्ने सम्झौता गरेको लगानी बोर्डले जनाएको छ । सम्झौतामा एक्सपर्ट ग्रुपको तर्फबाट बद्रि अर्याल र सञ्जिव शर्मा तथा रारा होल्डिङस् रिसोर्ट प्रालिकातर्फबाट अभिषेक विक्रम शाहले हस्ताक्षर भइसकेको छ ।
मुगुको छायानाथ रारा नगरपालिका–९, मुर्माटपमा ७४ रोपनी क्षेत्रफलमा बन्ने लक्जरी रिसोर्टमा पहिलो चरणमा करिब ७० करोड रुपैयाँ लगानी हुनेछ । रिसोर्ट वातावरणमैत्री र स्थानीय संस्कृति झल्किने नेपाली डिजाइनमा निर्माण गरिने र स्थानीयस्तरमा उपलब्ध श्रोत तथा साधनको अधिकतम् प्रयोग हुने रारा हुनेछ । समुद्र सतहदेखि तीन हजार सात मिटर उचाइमा निर्माण हुने यो रिसोर्टबाट रारा ताल र त्यस क्षेत्रका हिमालहरूको उत्कृष्ट दृश्य देखिनुका साथै आसपासका क्षेत्रहरूको दृश्यावलोकन समेत गर्न सकिनेछ ।
यो परियोजना कर्णाली प्रदेशकै पहिलो लक्जरी रिसोर्ट हो । परियोजना निर्माण सुरु गर्नका लागि सबै प्रकृया लगभग अन्तिम चरणमा पुगेका छन् । यस सम्झौतासँगै हामी भोलिदेखि नै निर्माण प्रकृयालाई तीव्रता दिनेछौं र आगामि १८ महिनाभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ । आयोजनामा दोस्रो चरणमा ४० करोड रुपैयाँ लगानी थप हुनेछ । एक्सपर्ट ग्रुपको अष्ट्रेलिया र नेपालमा शिक्षा र जलविद्युत क्षेत्रमा लगानी रहेको छ । ८० रोपनी जमिनमा बन्ने उक्त होटलको लागत एक अर्ब १० करोड रुपैयाँ हुने बताएको छ ।
ओम शाही । सुर्खेत । २६ बैशाख २०८१, बुधबार १७:२९