कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री वीरबहादुर शाहीले प्रदेश अस्पतालले प्रवाह गर्ने सेवालाई गुणस्तरीय र भरोसायोग्य बनाउनुपर्ने बताए ।
शुक्रवार प्रदेश अस्पतालको अनुगमण तथा निरीक्षण गदै उनले अस्पताललाई व्यवस्थित र प्रभावकारी बनाउन बजेट अभाव हुन नदिने प्रतिबद्धता व्यक्त गरे । प्रदेशको इज्जत, प्रतिष्ठासँग जोडिएको अस्पताल बजेट अभावकै कारण सेवा प्रवाहमा समस्या हुन नदिनेमा उनले जोड दिए ।
अहिले प्रदेश अस्पतालमा कर्णालीका मात्र नभई बाहिर अन्य प्रदेशबाट पनि सेवा लिन आउने सेवाग्राहीको सङ्ख्या बढ्दै गएको जानकारी आएको भन्दै मन्त्री शाहीले सेवालाई अझ प्रभावकारी र भरोसायोग्य बनाउन अस्पताल प्रशासन र कर्मचारीलाई निर्देशनसमेत दिए । अस्पताल सबैको साझा थलो भएकाले आलोचना हुने गरे पनि ती आलोचनालाई सुझावका रुपमा लिएर सुधार गर्दै जानुपर्नेमा उनले जोड दिए ।
मन्त्री शाहीले अस्पतालका विभिन्न कक्ष तथा शाखाको निरीक्षण गरे । लामो समयदेखि अवरुद्ध भएको सिटी स्क्यान सेवा पुनः सञ्चालन गर्ने सम्बन्धमा आफू सकरात्मक उनको भनाइ छ । प्रदेश अस्पतालको सेवा प्रवाहलाई उपलब्धीमूलक बनाउनका लागि आफू सधैँ प्रतिबद्ध रहेको उनले बताए ।
“केही वर्ष पहिला कर्णालीका बिरामी बाहिर उपचार गर्न जान्थे भने अहिले कर्णालीमा उपचारका लागि आउने खबर सुन्दा खुसी लागेको छ”, मन्त्री शाहीले प्रतिक्रिया दिए । प्रदेशका १० जिल्लाको स्वास्थ्य संस्था तथा स्वास्थ्यकर्मीको वृद्धि विकास र सेवाका लागि प्रदेश सरकार सदैव सहकार्य गर्न तयार रहने उनले बताए ।
युग संवाददाता । सुर्खेत । २८ बैशाख २०८१, शुक्रबार १८:२३