मानव विकास सुचाङ्कको पुछारमा रहेको कर्णाली प्रदेशमा गएको १० वर्षको अवधिमा केही सुचकमा क्रमिक सुधार हुँदै गएको देखिएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले हालै सार्वजनिक गरेको जनसंख्या साक्षरता पुस्तक तथा जनसांख्यिक सूचकमा कर्णालीको स्वास्थ्य शिक्षा, सामाजिक सुरक्षा र विकासमा सुधार हुँदै गएको पाइएको हो ।
जसमा नेपालको कुल औषत आयु बढेर ७१ दशमलव तीन वर्ष पुग्दा कर्णालीको औषत आयु ६६ वर्षबाट बढेर ७२ दशमलव पाँच पुगेको छ । यो तथ्यांक अन्य प्रदेशको तुलनामा कर्णालीको औषत आयु बढी हो । जसमा पुरुषको भन्दा महिलाको औषत आयु कर्णालीमा बढी रहेको राष्ट्रिय तथ्यांक कार्यालयको तथ्यांकले देखाउँछ ।
कर्णालीमा पुरुषको औषत आयु ७२ रहदा महिलाको भने ७५ दशमलव पाँच रहेको छ । नेपालमा पुरुषको औषत आयु ६८ दशमलव दुई रहेको छ भने महिलाको ७३ दशमलव आठ वर्ष रहेको छ । पुरुष र महिलाको मृत्युको ग्याप बढ्दै गएर करिब पाँच वर्षले फरक रहेको तथ्यांकले देखाउँछ ।
सबैभन्दा कम ६९ दशमलव पाँच वर्ष लुम्बिनी प्रदेशमा रहेको छ । दोस्रोमा कोशी प्रदेशमा ७० दशमलव चार, सुदूरपश्चिममा ७१ दशमलव तीन, मधेस प्रदेशमा ७१ दशमलव आठ, गण्डकी प्रदेशमा ७२ दशमलव एक, वागमती प्रदेशमा ७२ दशमलव चार रहेको छ ।
यस्तै, सबैभन्दा कम महिलाहरुको औषत आयु लुम्बिनी प्रदेशमा ७२ दशमलव पाँच वर्ष रहेको छ । हरेक उमेर समूहमा पुरुषको मृत्यु महिलाको भन्दा छिटो हुने गरेको तथ्यांकले देखाएको छ । २०३८ सालमा भने पुरुषको औषत आयु नेपालमा बढी रहेको थियो ।
कोरा जन्मदर १८ प्रतिशत
एक वर्षमा शिशुहरूको कोरा जन्मदर हेर्दा नेपालमा १४ दशमलव दुई प्रतिशत (हजारमा १४ जना) जन्मशर्त जन्म भएको देखिन्छ । जन्मिने हिसाबको क्रममा सबैभन्दा कम गण्डकी प्रदेशमा छ । गण्डकी प्रदेशमा वार्षिक जनसंख्या वृद्धिदर शून्य दशमलव २५ प्रतिशत मात्रै छ ।
यसको प्रभाव कोरा जन्मदरमा पनि परेको देखिन्छ । प्रतिहजारमा ११ जना मात्रै जन्म भएको देखिन्छ । यो सबैभन्दा बढी कर्णाली प्रदेशमा १८ दशमलव ६ अर्थात एक हजारमा १८ देखि १९ जना कोरा जन्म भएको देखिन्छ ।
२०२८ सालदेखि २०७८ सालसम्मको अवधिमा नेपालमा द्रुतगतिमा कोरा जन्मदर घट्दो छ । २०६८ मा २२ दशमलव चार थियो भने अहिले आठ जनाको दरले यो अवधिमा घटेको तथ्यांकले देखाउँछ ।
छोराभन्दा छोरीको जन्म धेरै
नेपालमा एउटा (१५–४९) वर्षका महिलाहरूले आफ्नो प्रजनन उमेरमा जन्माउने जम्माजम्मी छोरीहरूको संख्या एक जना महिलाले नेपालमा ७३ छोरीहरु जन्माउँछन् । सबैभन्दा बढी छोरी जन्माउने प्रदेश कर्णाली रहेको राष्ट्रिय तथ्यांक कार्यालय, जनसंख्या शाखाका निर्देशक ढुण्डिराज लामिछाने बताउँछन् ।
कर्णालीमा सय जनामा ७९ जना महिलाले छोरीहरु जन्माएको तथ्यांकले देखाउँछ । सबैभन्दा कम छोरीहरुको जन्म वागमती प्रदेशमा भएको छ । छोरीहरुको संख्या जति घट्छ जन्मदर द्रुत गतिमा घट्दै जाने खतरा हुन्छ । सोही अनुसार नेपालमा पनि खतरा देखिएको निर्देशक लामिछानेले बताए ।
प्रतिहजार महिलाहरुमा दुई सय २२ जना बच्चाहरु वागमती प्रदेशमा जन्मिने गरेका छन् भने मधेश प्रदेशमा सबैभन्दा बढी हजार जना महिलामा चार सय एक जना जन्मिने गरेका छन् । एउटा महिलाले आफ्नो जीवनकालमा एक दशमलव ९४ जना बच्चा जन्माउँछन्
१५ देखि ४९ वर्षका उमेरका महिलाहरुले औषतमा बच्चा जन्माउने औषत उमेर कर्णाली प्रदेशमा करिव २७ वर्ष (२६ दशमलव नौ) रहेको छ । त्यस्तै वागमती प्रदेशमा २८ दशमलव चार छ । उमेर जति घट्दै गयो, त्यति नै बच्चा जन्माउने दर घट्दै जान्छ ।
अहिलेको प्रजनन दर एउटा महिलाले १५ देखि ४९ वर्षका महिलाले सरदर उसको जीवनकालमा कति जना बच्चा जन्माउँछन् भनेर हेर्दा एक दशमलव ९४ जना बच्चा जन्माएको देखिन्छ ।
सरदर एउटा महिलाले दुई दशमलव एक (१० जना महिलाले २१ वटा बच्चा) जन्मायो भने रिप्लेसमेण्ट लेभलमा जान्छ । नेपालमा रिप्लेसमेण्ट लेभल भन्दा दर तल गएको छ । प्रजनन दर अहिले २ भन्दा पनि तल गएको अवस्था छ । राज्यले यस विषयलाई समयमा नै सम्बोधन गर्नुपर्ने निर्देशक लामिछानेले बताए ।
घट्दै कोरा मृत्युदर
कर्णालीमा कोरा मृत्युदर घटेदै गएको पाइएको छ । प्रति एक हजारमा कति व्यक्तिहरुको एक वर्षमा मृत्यु हेर्दा सबैभन्दा बढी मृत्यु हुने गण्डकी प्रदेशमा आठ दशमलव २५ (हजारमा ९ जना), कोशी र वागमती प्रदेश रहेका छन् ।
सबैभन्दा कम कर्णाली प्रदेशमा छ । कर्णाली प्रदेशमा कोरा मृत्युदर एक हजार जनामा चार दशमलव ९९ रहेको छ । मधेस प्रदेशमा मृत्युदर कम भएको देखिन्छ । नेपालमा २०६८ मा एक हजारमा सात दशमलव तीन जनाको मृत्यु भएको थियो भने अहिले आउँदा ६ दशमलव ८ प्रतिशतको मृत्यु भएको छ ।
नेपालमा २०३८ मा १३ दशमलव पाँच जनाको मृत्यु हुने गर्दथ्यो । लुम्बिनी प्रदेशमा हजारमा सात दशमलव सात जनाको मृत्यु भएको दखिन्छ भने सबैभन्दा कम कर्णाली प्रदेशमा ६ दशलमव ४२ रहेको छ । एक हजार लाइफ बर्थमा कति जना बच्चाहरुको मृत्यु भयो भनेर हेर्ने हो भने एक वर्ष नपुग्दै मृत्यु भएकाहरुको संख्या सबैभन्दा बढी मधेस प्रदेशमा देखिन्छ ।
त्यहाँ एक हजारमा २१ जना मृत्यु भएको देखिन्छ । सबैभन्दा कम गण्डकी प्रदेश र वागमती प्रदेशमा छ । जीवित जन्ममा एक वर्ष नबित्दै १ हजार जनामा १२ जनाको मृत्यु भएको देखिन्छ । पुरुष र महिलामा बालबालिकाको हिसावमा हेर्दा (छोरा र छोरी) मा हेर्दा छोरीको मृत्युदर कम देखिन्छ । छोराको बढी छ ।
मधेस प्रदेशमा एक हजार जनामा १८ जना छोरीहरु मर्दा २३ जना छोराहरुको मृत्यु भएको छ । गण्डकी प्रदेशमा १२ जना छोराहरुको मृत्यु हुँदा ११ जना छोरीको मृत्यु भएको देखिन्छ । छोराहरुको मृत्युदर सबै उमेर समूहमा बढी छ ।
२०३८ को जनगणनादेखि २०७८ सालसम्मको ट्रेन हेर्ने हो भने नेपालमा यो मृत्युदरमा सुधार भएको छ । २०६८ मा एक हजार जना शिशुहरुमध्येमा जन्मिएका शिशुहरुमा ४० जना मरेको देखिन्छ भने हाल यो संख्या १७ मा पुगेको अवस्था छ ।
ओम शाही । सुर्खेत । ३० बैशाख २०८१, आईतवार ०९:५१