नेपाल बीमा प्राधिकरणको ५६ औँ वार्षिकोत्सवको अवसरमा बीमा सम्बन्धी विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरी मनाएको छ ।
वार्षिकोत्सवको अवसरमा प्राधिकरणले सुर्खेत जिल्लामा भित्रिने र बाहिरिने सार्वजनिक सवारी साधनहरुमा बीमा सम्बन्धी जनचेतनामूलक स्टीकर टाँस्ने कार्यक्रम गरिएको हो । यस्तै पुरुष तथा महिलाको फुटसल प्रतियोगिता, पुरुषको स्लो बाइक र महिलाको स्लो स्कुटर राइड प्रतियोगिता, वृहत रक्तदान, प्रभातफेरी, पुरस्कार वितरण तथा औपचारिक कार्यक्रम आयोजना गरी मनाएको नेपाल बीमा प्राधिकरणका कर्णाली प्रदेश कार्यालय प्रमुख पदमप्रसाद सोडारीले जानकारी दिए ।
जेठ १ गते नेपाल बीमा प्राधिकरणले आफ्नो स्थापनाको ५५ औँ वर्ष पूरा गरी ५६ औँ वर्ष प्रवेश गरेको छ । नेपाल बीमा प्राधिकरण, कर्णाली प्रदेश कार्यालयबाट सुरु गरिएको प्रभात फेरी मंगलगढी चोक, वीरेन्द्र चोक र घण्टाघर हुँदै पुनः प्राधिकरणको कार्यालय परिसरमा पुगेर टुङ्गिएको थियो ।
प्रभात फेरीमा सहभागीहरुले हात हातमा प्ले कार्डहरु लिएका थिए । प्ले कार्डमा बीमा सम्बन्धी जनचेतनामूलक सन्देशहरु उल्लेख गरिएका थिए ।
उक्त कार्यक्रममा प्राधिकरणका कर्णाली प्रदेश कार्यालय प्रमुखदेखि अन्य कर्मचारीहरुको समेत सहभागिता रहेको थियो । कर्णाली प्रदेशमा सञ्चालित सबै जीवन, निर्जीवन, लघु जीवन बीमा तथा निर्जीवन लघुबीमाका कर्मचारी, सर्भेयर, अभिकर्ता लगायत सरोकारवालाहरुको सहभागिता रहेको थियो ।
बीमा व्यवसायको नियमनकारी निकाय बीमा प्राधिकरणले वैशाख २७ गते दिउँसो ३ बजे सुर्खेतको सुब्बाकुना र वैशाख २८ गते बिहान ६ बजे बाङ्गेसिमल बाट बाहिरिने र भित्रिने सवारी साधनहरुमा बीमा सम्बन्धी सचेतनामूलक स्टीकर टाँस्ने कार्यक्रम सम्पन्न गरेको थियो ।
त्यस्तै, वैशाख २९ गते प्राधिकरण, जीवन, निर्जीवन र लघु बीमा कम्पनीका कर्मचारीहरु (पुरुष र महिला) बीच मैत्रीपूर्ण फुटसल प्रतियोगिता आयोजना गरेको थियो । सुर्खेतको वीरेन्द्रनगर– ४, भैरवस्थान स्थित योद्धा फुटसल ग्राउण्डमा भएको प्रतियोगितामा पुरुषतर्फ ७–४ को गोल अन्तरमा नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको टीम विजेतार सानिमा जनरल इन्स्योरेन्स लिमिटेडको टीम उपविजेता भएका थिए ।
महिलातर्फ निर्जीवन बीमा कम्पनीको संयुक्त टिमले २–१ गोलको फरकमा जीवन बीमा कम्पनीको टिमलाई हराउँदै प्रथम स्थानमा आफ्नो कब्जा जमाएको थियो भने जीवन बीमा कम्पनीको संयुक्त टिमले द्वितिय स्थान हात पारेको थियो ।
प्राधिकरणले वैशाख ३० गते वार्षिक उत्सवकै अवसरमा स्लो बाइक( पुरुष) र स्लो स्कुटर (महिला) राइड प्रतियोगिता समेत आयोजना गर्यो । वीरेन्द्रनगर नगरपालिका–७ धमलाचोकदेखि उत्तरतर्फ(गणेशचोक) ७५ मिटरसम्म भएको स्लो बाइक राइडमा टेकबहादुर थापाले प्रथम स्थान, मिलन कँडेलले द्वितिय स्थान, चक्र बहादुर विष्टले तृतिय स्थान, र केशव ढकालले चौथो स्थान हासिल गर्न सफल भइका थिए ।
महिलातर्फ शिलु मल्ल प्रथम, तुलसा ओली द्वितिय, नविना सिर्नेट मगर तृतिय भएका थिए, भने तुलसी कुमारी वन सन्यासीले चौथो स्थान ओगट्दै सान्त्वना पुरस्कार प्राप्त गरे ।
वैशाख ३१ गते प्राधिकरणले वृहत रक्तदान कार्यक्रम पनि आयोजना गर्यो । रक्तदानमा ४० जना भन्दा बढी सहभागी भएका थिए । नेपाल रेडक्रस सोसाइटीको समन्वयमा भएको रक्तदान कार्यक्रममा ४१ पिन्ट रगत संकलन भएको थियो ।
बीमाको पहुँच दुरदराजका क्षेत्रहरूमा पुग्नुपर्ने : मन्त्री के.सी
कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री महेन्द्र के.सीले नेपाल बीमा प्राधिकरणको ५६ औं वार्षिकोत्सव कार्यक्रममा आफ्नो शुभकामना मन्तव्य राख्दै बीमा जोखिम न्यूनिकरण गर्ने महत्वपूर्ण वित्तीय अंग भएको बताए ।
बीमाको पहुँच दुरदराजका क्षेत्रहरूमा पुग्नुपर्ने आवश्यकता रहेको मन्त्री के.सीले औल्याए । उनले बीमामा आम नागरिकहरूलाई समेट्नको लागि बीमा सम्बन्धी छलफल कार्यक्रम गरेर नीतिगत तथा प्रक्रियागत सुधार गरी बीमा क्षेत्रलाई थप प्रभावकारी बनाउनको लागि पहल गर्ने प्रतिवद्धता व्यक्त गरे । यसका साथै, प्रदेश सरकारबाट अगाडि बढाइएका बीमा कार्य्रकमहरूलाई आफुले पनि गम्भिरतापूर्वक लिएको र त्यस्ता कार्यक्रमलाई निरन्तरता दिने जानकारी गराए ।
बीमा भविष्यका समस्या समाधानका लागि समर्पित क्षेत्र हो: उपकुलपति गौतम
मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा.डा. ध्रुव कुमार गौतमले बीमा भविष्यको जोखिम बहन र भविष्यका समस्या समाधानका लागि समर्पित क्षेत्र भएको हुँदा मध्यपश्चिम विश्वविद्यालयले बीमा र व्यवस्थापन सन्दर्भलाई सँगै जोडेर बीमा व्यवस्थापनका क्षेत्रमा सुरुदेखि नै पाठ्यक्रम निर्माण गर्नुका साथै अध्ययन अध्यापन समेत गर्दै आइरहेको बताए ।
‘विश्वविद्यालय ज्ञानको भण्डार र ज्ञान प्रदान गर्ने थलो हो । समय र मुलुकको माग अनुसार परिवर्तित अवस्थामा मुलुकको आवश्यकताअनुसार कार्यक्रमहरु विश्वविद्यालयले सिर्जना गर्नुपर्छ ।’ उपकुलपति गौतमले भने, ‘स्थानीय, प्रादेशिक, केन्द्रीय तथा देशैभरको आवश्यकताअनुरुप यसका पाठ्यक्रमहरु निर्माण हुनुपर्छ र यसका विद्यार्थीहरु उत्पादित हुँदै जानुपर्छ भन्ने विश्वविद्यालयको मान्यता रहेको हुन्छ ।’
उनले पाठ्यक्रमको परिवर्तित सन्दर्भ पनि आएको जानकारी गराउँदै बजारको माग पुरा गर्न र विश्वविद्यालयबाट उत्पादित जनशक्ति खपत गराउनको लागि आवश्यकता अनुरुप बीमालाई पाठ्यक्रम समायोजन गरेको बताए ।
यस्तै बैंकर्स एसोशियसन, कर्णाली प्रदेशका अध्यक्ष डा. सुरज टण्डनले बीमा वित्तीय क्षेत्रको ऐना भएको बताउँदै यस क्षेत्रको अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान रहेको उल्लेख गरे । उनले बीमा क्षेत्रमा बहुआयामिक चुनौति तथा जोखिमहरु रहेको हुँदा जोखिम न्यूनिकरणमा बीमा क्षेत्रको निकै भूमिका रहेको बताए ।
लघु औद्योगिक ग्राम, सुर्खेतका अध्यक्ष उदिराम डाँगीले कर्णालीमा ३७ हजार १ सय ९६ उद्यमीहरु भएको र जसमध्ये ४ प्रतिशत उद्यमीलाई मात्र बीमामा समेट्न सकिएकोमा यसप्रति बीमा कम्पनीहरुको ध्यानाकर्षण गराए । उनले गाडी चल्ने ठाउँमा वा राजधानीमा मात्रै बीमा हो कि कर्णालीका प्रत्येक पालिका र वडाहरुमा पनि हो ? भनेर बीमकहरुलाई प्रश्न गरे । डाँगीले कर्णालीमा आगलागी, बाढी, पहिरो, बर्खामा खोला, भूकम्प लगायतका जोखिम भएको हुँदा सबैलाई सबैले अनिवार्य बीमा गर्नुपर्ने बताए ।
वार्षिकोत्सव कार्यक्रमका सभाध्यक्षता प्राधिकरणका कर्णाली प्रदेश कार्यालय प्रमुख पदमप्रसाद सोडारीले गरेका थिए । उनले समग्र बीमित, बीमक, सर्भेयर, अभिकर्ता, बीमा क्षेत्रका कर्मचारी तथा सम्पूर्ण सरोकारवालाहरुलाई शुभकामना व्यक्त गरे ।
वार्षिकोत्सव कार्यक्रममा निबन्ध प्रतियोगितामा कर्णाली प्रदेशबाट विजेता बनेकी खजुरा कुमारी खड्कालाई चेक हस्तान्तरण गर्नुका साथै प्रमाणपत्र वितरण गरिएको थियो । सोही कार्यक्रममा बार्षिकोत्सवका अवसरमा आयोजित फुटसल तथा स्लो बाइक÷स्कुटी प्रतियोगिताका विजयीलाई पनि मेडल र ट्रफी तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।
कार्यक्रमको सञ्चालन प्राधिकरणका सहायक प्रथम विश्वराज भट्टराईले गरेका थिए, भने कार्यक्रममा करिब ३ सय जनाको सहभागिता रहेको थियो ।
बीमा ऐन २०२५ जारी भएपछि
२०२६ साल जेठ १ गते स्थापना भएको तत्कालिन बीमा समिति २०७८ साल कार्तिक २२ गतेबाट नयाँ बीमा ऐन अनुसार नेपाल बीमा प्राधिकरणमा रुपान्तरण भई बीमा क्षेत्रको नियमनमा भूमिका खेलिरहेको छ ।
नेपालमा बीमा इतिहास धेरै लामो पाइदैन । बीमा समितभन्दा पहिले बीमा कम्पनीहरु स्थापना भई क्रियाशिल भएका थिए । उतिबेला बीमा क्षेत्रलाई अर्थमन्त्रालयमार्फत नै नियमन हुने गर्दथ्यो । २०२६ सालमा नेपालमा बीमा क्षेत्रको नियमनको लागि बीमा समिति स्थापना भएपनि कैयौं वर्षसम्म बीमा समितिलाई अर्थमन्त्रालयको एउटा कुनामा खुम्च्याइएको थियो । बीमा समितिको नियमित बैठक बस्दैनथ्यो । अर्थमन्त्रालयको एउटा कोठामा कार्यालय राखेर सञ्चालित थियो र आवश्यकताका आधारमा मात्रै बैठकहरु बसेर बीमा नियमनको कार्य हुने गरेको थियो ।
बीमा ऐन २०२५ जारी भएपछि २०२६ साल जेठ १ गते तत्कालिन प्रधानमन्त्री कीर्तिनिधि बिष्ट नेतृत्वको मन्त्रिपरिषदको बैठकले बीमा समिति गठन गरेको थियो । पञ्चायती शासन व्यवस्थामा तत्कालिन संसदबाट बीमा ऐन २०२५ जारी भइसकेको अवस्थामा बीमा समिति गठन गरिएको थियो । बीमा समिति गठन भएपनि समितिलाई स्वायत्त निकायको रुपमा नभई अर्थमन्त्रालयको एउटा सानो कार्यालयको रुपमा एउटा कोठामा सीमित हुन पुग्यो ।
सो समयमा २०२४ सालदेखि बीमा कारोबार गर्दै आएको सालमा राष्ट्रिय बीमा संस्थान र २००४ सालदेखि कारोबार गर्दै आएको नेपाल इन्स्योरेन्स एण्ड ट्रान्सपोर्ट कम्पनी लि.लाई मात्रै नियमन गर्न स्थापना भएको बीमा समिति आज नेपाल बीमा प्राधिकरणको नामबाट देशका तीन दर्जन कम्पनीहरुलाई प्रत्यक्ष नियमन गर्दै आएको छ । लघुबीमा, निर्जीवन बीमा, जीवन बीमा र पुनर्बीमा कम्पनीको नियमनमा नेपाल बीमा प्राधिकरणको भूमिका क्रियाशिल रहेको छ ।
सुरुवाती चरणमा अर्थमन्त्रालयभित्र एउटा शाखा कार्यालयको रुपमा रहेको बीमा समिति बीमा ऐन २०४९ जारी भएपछि स्वायत्त निकायको रुपमा काम कारवाही गर्दै आइरहेको छ । २०४८ सालअघि बीमा समितिको बैठक अर्थमन्त्रालयको कुनै कोठामा आवश्यकता परेको बखत मात्रै बस्ने गर्दथ्यो ।
नेपालमा २०४६ सालको प्रजातन्त्र पुनस्र्थापना भएपछि तत्कालिन सरकारले लिएको उदार अर्थनीतिको एउटा सुन्दर फूलको रुपमा बीमा समितिलाई लिन सकिन्छ । बीमा समितिले उदार अर्थनीतिमा देशले पाइला राखेसँगै सुन्दर फूलको रुपमा स्वतन्त्र अस्तित्वमा मात्रै आएन देशको दरिलो खम्बा बीमा क्षेत्र हो भन्ने कुरालाई स्थापित गर्दै निरन्तर प्रगतिपथको यात्रा जारी राखेको छ ।
आफ्नै प्रशासन समेत नभएको बीमा समितिले करिब २३ वर्ष अस्तव्यस्त र भद्रगोलका बीचबाट गुज्रिदा नेपालमा बीमाको संस्थागत विकास हुन सकेन । बीमा ऐन २०४९ सो सालको पुस २ गते नयाँ बीमा ऐन लागू भएपछि बीमा समिति स्वतन्त्र अस्तित्वमा आएको हो ।
त्यसयता बीमा समितिले स्वतन्त्र नियामक निकायको रुपमा भूमिका निर्वाह गर्दै आएपनि राजनीतिक हस्तक्षेपका कारण बीमा क्षेत्र नियमनभित्र छिरेर व्यक्तिगत तथा समुहगत लाभ लिने थुप्रै प्रयत्नहरु हुँदै आएका छन् । पछिल्लो समयसम्म पनि उक्त कार्यहरु जारी नै छन् ।
कल्पना ढेङ्गा मगर । सुर्खेत । १ जेष्ठ २०८१, मंगलवार १८:११