आफैंले जन्म दिएको सन्तानलाई सलले पासो लगाएर मार्न खोजेको आरोपमा रुकुम पश्चिममा एक महिलालाई प्रहरीले पक्राउ गरेको छ ।
आफ्नी डेढ वर्षकी छोरीलाई पासो लगाउने मुसिकोट नगरपालिका वडा नम्बर १४ लोरिबाङकी अन्दाजी २१ वर्षीया नन्दकली विष्टलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी नायब उपरीक्षक नवराज पोखरेलका अनुसार नन्दकलीले मंगलबार आफ्नी डेढ वर्षकी छोरी टीका ओलीलाई आफू सुत्ने कोठामा सलले झुन्ड्याएर भिडियो बनाएकी थिइन् ।
नन्दकलीले नाबालक छोरीलाई पासो लगाइदिएर बनाएको भिडियो वैदेशिक रोजगारीको सिलसिलामा दुबईमा रहेका उनका श्रीमानलाई पठाएकी थिइन् ।
यस्तो भिडियो देखेपछि श्रीमानले विदेशबाट तुरुन्तै घरका अन्य सदस्य र छरछिमेकलाई खबर गरे। छिमेकीहरू तत्काल विष्टको घरमा पुगे र पासो लगाएकै अवस्थामा भेट्टाएका थिए । उनीहरुले तुरुन्तै बालिकाको उद्धार गरेका थिए । ती बालिकाको अहिले जिल्ला अस्पताल सल्लेमा बालिकाको उपचार भइरहेको छ ।
त्यस लगतै प्रहरीले नन्दकलीलाई नियन्त्रणमा लिएको छ । आवश्यक प्रक्रिया पूरा गरेर नन्दकलीविरुद्ध आवश्यक कारबाही सुरु गर्ने प्रहरीको भनाइ छ ।
युग संवाददाता । रुकुम पश्चिम । २ जेष्ठ २०८१, बुधबार १२:०९