विर्माकुमारी थलाल कसेराको जन्म २०४१ सालमा भएको हो । वीरेन्द्रनगर नगरपालिका–११ मा घर भएकी विर्माकुमारीले प्राकृतिक रेसा उद्योग सञ्चालन गरेकी छिन् । विर्माकुमारीको एक गरिब परिवारमा जन्म भएको हो । विर्मा कुमारीको जन्म भएको केही समयमा नै ठुलो विपत्ती आइप¥यो ।
उनलाई एउटा रोगले छोयो । जसको कारण उपचारको क्रममा विर्माकुमारीको खुट्टाको नशा काटिन पुग्यो । त्यस बेला उनकोे उमेर मात्र ४ बर्षको थियो । उनले भनिन्, ‘त्यो अप्रेसनको कारण भनौं अथवा डाक्टरको लापरवाहीका कारण मैले अपाङ्गताको जीवन बिताउन बाध्य भएँ । जिन्दगीको सुरुवातसँगै सुरु भएको मेरो शारीरिक अपाङ्गताको जीवन सुरु भयो । यो सँगै मेरो जिन्दगी दिन प्रतिदिन परिवार, समाज हुँदै राष्ट्रसम्मको बोझको कारण बन्यो ।
सामान्य परिवारमा जन्मिनु अर्कातिर अपाङ्गता भएको कारण म पल पल मरेर बाँच्ने मेरो जीवनको चक्र नै भयो तर पनि जसोतसो एसएलसी सम्मको पढाई पुरा गरे तर हाम्रो देशको भौगोलिक अवस्था अनुसार र हाम्रो ग्रामीण जनजीवन अनुसार मलाई परिवार र समाजमा जिउन त्यतिकै गाह्रो थियो ।’
अपाङ्ग भएपनि ममा केही गर्नुपर्छ भन्ने कुरा उनको मनमा आउँथ्यो । विर्माकुमारीको संधै आफ्नो अपाङ्गमन, अपाङ्ग शरीर र कहिले हाँसो त कहिले आँसु यसरी नै उनको जीवन इच्छाहरू त्यसैत्यसै मरिहेको हुन्थे । विर्माकुमारीको उमेर परिवर्तन सँगसँगै मनको इच्छा र चाहाना केही गर्नुपर्छ भन्ने पनि, फेरबदल भइरहेका हुन्थे । आफुले केही गर्नुपर्छ भन्ने साहस र औटसँगै जीवन आँसु सम्झेर दुनियाँको सामु मुस्कुराउँथिन् विर्माकुमारी । दुनियाँलाई के थाहा विर्माकुमारीको मनमा हजारौं सपना फुलिरहेको छ भन्ने कुरा कठै, विचरा भन्ने बाहेक, सायद समाजमा केहि उत्तर थिएन ।
परिवारको बोझ समाजको तिरस्कार सहेर विर्माकुमारीको मुटु पत्थर जस्तै कडा भइसकेको थियो । विर्माकुमारीको जीवन व्यर्थमा भौतारिएको थियो । कहिले उकाली त कहिले ओराली गर्दै सपनाको महल ठूला ठूला हुन्थे । कहिले भत्किएर जान्थे ।
विर्माकुमारीले भनिन्, ‘रात पछि दिन आउँछ भनेझै मेरो जीवनमा भएको अभाव, खाँचो र कठिनाईलाई हटाउन तथा मेरो जीवनका मरिरहेको आशालाई जगाउनको निम्ति मेरो उजाड जीवनमा हरियाली लिएर आउनु भएको आदहरणीय शीला म्यामलाई धेरै धेरै धन्यवाद । उहाँले मेरो खडेरी परेको जीवनमा आफ्नो सीप प्रदान गरेर हरियाली बनाउनुभयो ।’
शीला म्यामले गर्दा आफ्नो निरास जीवनमा केही गर्न सक्छु भन्ने साहास र हिम्मत बढेको बताईन् । आफैले सिकेको सिपबाट आफ्नो र परिवारको गुजारा चलाउँन सक्छु भन्ने हौसला मिलेको पनि बताईन् ।
विर्माकुमारीको मनमा केहि हदसम्म आफुले देखेको सपना पुरा गर्छु भन्ने आशा पलाएको छ । उनले भनीन्, ‘जसरी काँचो माटोलाई कुमालेले पिटेर विभिन्न आकारमा उपयोगी सामान बनाउँछ, त्यसरी नै मेरो हस्तकलाको सीपले मेरो जीवन परिर्वतन भएको छ ।’ विर्माकुमारीले शिला नेपालीको सहायताबाट नै प्राराकृतिक रेसाको तालिम लिएकी थिइन् । २०८० साल साउनमा उनले रेसा सम्बन्धी १ महिने तालिम दिएकी थिईन् ।
कष्टकरमै जीवन बिताएकी विर्माकुमारीलाई त्यो सिपले धेरै राहत मिल्यो । तालिममा १० जना महिला सहभागि रहेको जानकारी दिईन् ।
मासिक २० हजार रुपैयाँ
विर्माकुमारीले २०८० साल मंसिरमा प्राकृतिक रेसा उद्योग त दर्ता गरिन् तर उद्योग सञ्चालनको लागि स्रोत, साधनको अभाव भएको उनले बताईन् । अहिले उनले आफ्नो घरबाट नै प्राकृतिक रेसाबाट तयार हुने विभिन्न सामाग्री बनाउँने जानकारी दिईन्् ।
उनका अनुसार केरा, पटेरो, बेसारको पात, मकैको पोकले कलरम्याट, डोरम्याट, टिम्याट, व्याग, टेबुलम्याट लगायतका सामान बनाउँने गर्छिन् । हालसम्म ५ आईटमका सामाग्री बनाउँने गरिएको छ । जसमा टिम्याटलाई ४०÷५० रुपैयाँ, कलरम्याट, डोरम्याट, व्यागलाई १ हजार र टेबुलम्याटलाई एक हजार ५ सय रुपैयाँ पर्ने विर्माकुमारीले जानकारी दिईन् ।
विर्माकुमारीले बनाएको सामान सुर्खेत, नेपालगञ्ज, काठमाडौंमा बढि माग हुने र बिक्रि हुने गरेको छ । सामाग्रि तयार पार्नको लागि तान, धाँगो,, फिता, कैचीँ आवश्यक पर्ने गर्छ । सामानको लागि धेरैजसो काठमाडौंबाट नै अर्डर आउने गरेको जानकारी दिईन् । उनी आफु अशक्त भए पनि सिप सिकेर घरबाट नै सामान बनाएर विक्रि गर्दा मासिक २० हजार रुपैयाँ हुने गरेको जानकारी दिईन् ।
विहान ४ बजेदेखि बेलुका ९ बजे सम्म बुन्ने गर्छिन् । उनले भनिन्, ‘मलाई निद्रा कम लाग्छ बिउँझिए भने म यहि बुन्न थाल्छु । हातले काम गर्नुपर्ने हुन्छ गाह्रो त हुन्छ, मेहनत नगरे कहाँ फल प्राप्त हुन्छर । मानिस समाजमा स्थापित हुनको लागि साँचै नै ऊसँग कुनै न कुनै सीप वा क्षमता हुन आवश्यक छ ।’
‘यस संसारमा सीप विनाको मानिसको कुनै मुल्य हुँदैन कला र सीपले नै मानिसलाई परिवार, समाजमा र राष्ट्रमा चिनाउने काम गर्छ भन्ने ज्ञान मेरा जीवनको भोगाइबाट सिक्ने मौका मिलेको छ ।’
१० जना महिलालाई भएपनि सिप सिकाउँछु
शारीरिक रुपमा अपाङ्गताका भएकी विर्माकुमारीलाई ठुलो उद्योग खोलेर १० जना महिलालाई भएपछि आफ्नो सिप सिकाउँन मन छ । तर अहिलेका दिदिबहिनी सामाजिक संजालमै व्यस्त हुने गर्छन् । सिप सिक्नलाई महिलाहरु सिलाई–कटाई र व्युटिसियनमा बढि चाँसो गर्ने अन्य सिपमा त्यति चाँसो नदेखाउँने गरेको विर्माकुमारीले बताइन् ।
अहिले विर्माकुमारीसँग दुईवटा तान रहेका छन् । काम छिटोछरितो गर्नको लागि आधुनिक प्रविधिको तान आवश्यक रहेको उनको भनाई छ । उनले भनिन्, ‘अपाङ्गताका भएपनि विचरा भन्ने भएन । गिट्टी कुटेर भएपनि कष्टकर जीवन काटेकै छु । अब इन्टरनेट हेरेर बस्ने दिदीबहिनीलाई पैसा कमाउने बनाउँन मन छ ।’ एक महिना मै रेसा सम्बन्धीका काम गर्न सकिने उनको भनाई छ ।
कल्पना ढेङ्गा मगर । सुर्खेत । ४ जेष्ठ २०८१, शुक्रबार १०:४१