कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री वीरबहादुर शाहीले आगामी आर्थिक वर्षको बजेटमा समेटिनुपर्ने योजनाका विषयमा डोल्पाका जनप्रतिनिधिसँग छलफल गरेका छन् ।
उनले शनिवार डोल्पाका सबै पालिका प्रमुख, जिल्ला समन्वय समिति प्रमखलगायत सरोकार भएकाहरूसँग बजेटमा समेटनुपर्ने विषयवस्तुका विषयमा छलफल गरेका हुन् । त्यसक्रममा मन्त्री शाहीले अघिल्ला आर्थिक वर्षका सिकाइ, अनुभव र कमजोरीहरूलाई ध्यानमा राखी समग्र प्रदेशको विकासमा योगदान गर्ने गरी सरकारले बजेट ल्याउने बताए ।
उनले स्थानीय तहले पनि स्रोतसाधनको उपलब्धता र जनतालाई अत्यावश्यक योजनामा बजेट विनियोजन गर्न आग्रह गरे । पहिलो चरणमा स्थानीय तहका जनप्रतिनिधि र दोस्रो चरणमा १० जिल्लाबाट प्रतिनिधित्व गर्ने प्रदेशसभा सदस्यहरुसँग छलफल गरेर बजेट निर्माणमा थप अपनत्व सिर्जना गर्न आफूले प्रयास गर्नेसमेत उहाँले प्रतिवद्धता व्यक्त गरे ।
छलफलमा जगदुल्ला गाउँपालिकाका अध्यक्ष नारासिं रोकाय, मुडकेचुला गाउँपालिकाका अध्यक्ष दत्तबहादुर शाही, ठुली भेरी नगरपालिकाका प्रमुख श्वबर्णकुमार बुढा, शे—फोक्सुण्डो गाउँपालिकाका अध्यक्ष धावा सम्डुक गुरुङलगायतले स्थानीय तहको स्रोतसाधन र बजेटले जनआकाङ्क्षा पूरा गर्न नसक्ने भन्दै प्रदेश सरकारले सहयोग गर्नुपर्नेमा जोड दिए । उनीहरू शिक्षा, स्वास्थ्य र पूर्वाधारका क्षेत्रमा पर्याप्त बजेट व्यवस्था गर्न प्रदेश र केन्द्र सरकारले कर्णालीलाई प्राथमिकतामा राख्नुपर्ने धारणा राखे ।
छलफलमा सहभागी नागरिक समाजका प्रतिनिधिहरूले समेत व्यक्तिको पहुँच र आवश्यकताभन्दा समग्र क्षेत्रको आवश्यकता, सामूहिकरूपमा भोगिरहेका समस्या समाधानका लागि योजना छनोट र बजेट व्यवस्थापन गर्न आग्रह गरेका थिए ।
कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि ३३ अर्ब ३७ करोड ९७ लाख ७ हजारको बजेट ल्याइएको थियो ।
युग संवाददाता । सुर्खेत । १२ जेष्ठ २०८१, शनिबार १८:१६