भनिन्छ, ‘स्वतन्त्र र सशक्त महिलाहरु प्रेरणाका पात्र हुन् । यी महिलाहरुबाट नै एउटा समृद्ध र समान भविष्य सम्भव छ ।’ यो भनाई जस्तै सुर्खेतको वीरेन्द्रनगर नगरपालिका पनि महिलालाई कृषि उत्पादनमा जोडेर आत्मनिर्भरसँगै सशक्त बनाउन थालेको छ ।
मेयरसँग महिला किसान कार्यक्रम अन्तरगत नगरपालिकाले महिलालाई कृषि उत्पादनसँग जोड्न थालेको हो । महिलालाई कृषि उत्पादनसँग जोडेर नगरपालिकालाई कृषिमा आत्मनिर्भर बनाउनुका साथै महिला किसानलाई पनि सशक्त बनाउने पालिकाको लक्ष्य छ ।
सोही अनुसार वीरेन्द्रनगर नगरपालिकालाई कृषिमा आत्मनिर्भर बनाउने प्रयत्न जारी छ । नगरपालिकाभर हाल करिब १३ हजार बढि किसान छन् । चार आना भन्दा बढि जग्गामा खेती गर्ने सबैलाई नगरपालिकाले किसानको रुपमा लिने गरेको छ । नगरपालिकामा पुरुषको तुलनामा महिलाहरु बढी कृषि पेशामा आवद्ध छन् ।
नगरपालिकाले पनि महिलालाई कृषि उत्पादनसँग जोड्दै आवश्यक ज्ञान, सिप र प्रविधि हस्तान्त्रण गरिरहेको छ । सोही अनुसार नगरपालिकाले शुक्रबार मात्रै एक औपचारिक कार्यक्रमकाबीच २८ वटा मिनि टिलर, ११ वटा पावर टिलर र ३५ वटा पक्कि टनेल वितरण गरेको छ ।
प्रति मिनि टिलरको ३५ हजार पाँच सय, पावर टिलरको ८५ हजार र पक्कि टनेल ६४ हजार मुल्यका हुन् । समग्रमा नौ लाख ९४ हजार बराबर मुल्यका मिनि टिलर, नौ लाख ३५ हजार बराबर मुल्यका पावर टिलर र २२ लाख ४० हजार बराबर मुल्यको पक्कि टनेल वितरण गरिएका हन् ।
महिला किसानलाई लक्षित गरी वितरण गरिएका मेसिनरी औजार तथा पक्की टनेलहरु विभिन्न कृषक समूह, कृषि सहकारी र निजि उद्यमीहरुले प्राप्त गरेका छन् । बाँकी बैकल्पिक सूचिमा रहेका र कृषिमा काम गरिरहेका कृषक समूह, कृषि सहकारी र निजि उद्यमीहरुलाई पनि आगामी दिनमा औजार वितरण गरिने नगरपालिका कृषि शाखा प्रमुख हेमराज के.सी. ले बताए ।
मेसिनरी औजार तथा पक्कि टनेल बुझ्दै महिला किसानहरुले खुसी व्यक्त गरेका थिए । ‘यो कार्यक्रम निकै आवश्यक थियो । नगरपालिकाले पनि महिला किसानका समस्या बुझेर औजार दिएको छ’ वीरेन्द्रनगर–११ कि किसान गीता कुमारी तिमल्सिनाले भनिन्, ‘तर पाएका औजार राम्रोसँग प्रयोग भए नभएको र नगरबाट अनुदान पाएका किसानले खेती गरे नगरेको बिषयमा राम्रोसँग अनुगमन गर्न पनि आवश्यक छ ।’
नगर उपप्रमुख निलकण्ठ खनालले किसानलाई पाएका उपकरण प्रयोग गरी खेती प्रविधिमा फट्को मार्न अनुरोध गर्दै महिला किसानलाई प्राथमिकतामा राखेर आगामी दिन पनि कार्यक्रमलाई निरन्तरता दिने बताए । नगरपालिकाले सबै वडाको माटोको डिजिटल नक्सा समेत तयार पारेको छ ।
माटोको अवस्था र मलको सिफारीस मात्राको लागि डिजिटल नक्सा बनाइएको हो । यस्तै नगरपालिकाले यूरीया मल हाल्ने सहि समय र तरीका तथा तरकारी र रैथाने बालीको खेतीका लागि बालीपात्रो तयार पार्दै किसानलाई सचेतना फैलाइरहेको छ । यसअघि नगरपालिकाले महिलालाई लक्षित गरी अटोरिक्सा, सहकारी, सेक्यूरेटी गार्ड, डेरी उद्योग र मसला उद्योग संचालन र सिलाई कटाई तथा ढाँका बुनाई तालिम सहित अनुदान दिएर सयौंलाई स्वरोजगार बनाएको छ ।
महिलालाई स्वरोजगारसँगै सशक्त बनाइने
वीरेन्द्रनगरका महिलालाई स्वरोजगारसँगै सशक्त बनाइने नगर प्रमुख मोहनमाया ढकालको भनाई छ । ‘महिलालाई कसरी उत्पादन र रोजगारसँग जोडेर सशक्त बनाउने भन्नेमा पालिकाको जोड छ’ उनले भनिन्, ‘महिला सशक्त र आत्मनिर्भर भएपछि मात्रै समाज सशक्त र आत्मनिर्भर बन्छ भन्नेकुरालाई आत्मसाथ गरेर अघि बढेका छौं ।’
महिलामैत्री नगर निर्माणसँगै महिलालाई उत्पादनमा पनि जोड्नुपर्छ भन्ने मुल उद्देश्य रहेको नगर प्रमुख ढकालले बताइन् । ‘महिलाहरु कृषि पेशामा लाग्नुपर्छ र सम्भावना पनि छन्, समस्या आए हामी साथमा छौं’ ढकालले थपिन्, ‘सोही अनुसार प्रविधि हस्तान्त्रण गरी सिप विकासपछि महिलालाई उत्पादनमा जोडेका छौं ।’
महिलाले पनि समाजको नेतृत्व गर्न सक्ने भन्दै त्यसका लागि कृषि उत्पादनबाट महिला स्वयंम आत्मनिर्भर बन्न जरुरी रहेको नगर प्रमुख मोहनमाया ढकालले बताइन् । ‘कृषि प्रदान देश अर्थतन्त्रपनि कृषिमा आधारित छ, अब स्वरोजगार बन्ने विकल्प पनि कृषि उत्पादनमै लाग्नु हो’ उनले भनिन्, ‘त्यसैले अब सबै किसानलाई उत्पादनमा जोडेर व्यवसायिक बनाउनुका साथै नगरपालिकालाई कृषिमा आत्मनिर्भर बनाउनतर्फ हाम्रो ध्यान छ ।’
तर यता वीरेन्द्रनगरका किसानहरुले व्यवसायिक कृषिमा पेशामा चुनौती रहेको बताउँदै आएका छन् । किसान परिचय पत्र वितरण गर्न माग छ । कृषकले समयमै मल, वीउ नपाउनुका साथै कृषि प्रविधिबारे ज्ञान अभाव रहेको देखिन्छ । त्यस्तै खेतीयोग्य जमिनमा सिचाँइ असुविधा रहेको, उत्पादित कृषि तथा मासुजन्य वस्तुले उचित मुल्य नपाएको, जंगली जनावरबाट जोखिम बढेको किसानको गुनासो छ ।
नगरपालिकालाई कृषि क्षेत्रमा लगानी बढाउन, कृषि क्षेत्रको विकासका लागि ठोस नीति बनाउन र पालिकाले दिने कृषि अनुदानका कार्यक्रम पारदर्शी बनाउन किसानको माग छ । तरकारी तथा फलफुलमा बढ्दो नयाँ नयाँ रोग किराको प्रकोप समयमै नियन्त्रण गर्न नगरपालिका लागिपरेको छ ।
नगरपालिकाभित्रै निर्माण भएका कोल्ड स्टोर संचालन नहुँदा तरकारी स्टोरमा भने समस्या रहेको छ । हर्रेको बिषादी प्रयोगशाला सञ्चालनमा नआउँदा अर्गानिक उत्पादनमा चुनौती बढेको छ । भने मनलाग्दी बिषादी प्रयोगले मानव तथा पशुपंक्षीको स्वास्थ्यमा असर बढ्दै गएको विज्ञहरु बताउँछन् ।
नन्दराम जैसी । सुर्खेत । १३ जेष्ठ २०८१, आईतवार १२:४३