प्रदेश राजधानी वीरेन्द्रनगरका नागरिक केही महिना यता अनियमित बिजुलीका कारण हैरानी व्यहोर्न बाध्य छन् । छिनमै आउने र छिनमै जाने तथा बत्ती आएपनि भोल्टेज कम हुने समस्याले बैशाख–जेठको प्रचण्ड गर्मीको समयमा यहाँका नागरिक वर्षेनि भोल्टेजबाट आजित बनिरहेका छन् । तीन दशक पुरानो प्रशारण लाईनबाट वीरेन्द्रनगरमा प्रवाह हुने विद्युत र उपभोक्ताको संख्याबीच तालमेल नमिल्दा विशेष गरी गर्मीको समय (फागुनदेखि जेठ) सम्म नागरिकलाई सास्ती व्यहोर्नुपर्ने बाध्यता रहदै आएको छ ।
३३ केभी क्षमताको ३५ वर्ष पुरानो प्रसारण लाइनबाटै कर्णाली प्रदेशको राजधानी सुर्खेत लगायत कर्णाली प्रदेशका अन्य जिल्लाहरूमा अहिलेसम्म विद्युत् सेवा चलिरहेको छ । ३३ केभी विद्युत् प्रसारण लाइनको दूरी झण्डै ६० किलोमिटर छ । विद्युत सम्बन्धिका जानकारहरुका अनुसार ५० किलोमिटर भन्दा लामो दूरीमा सबस्टेशन भएका कारण विद्युतको गुणस्तरमा ह्रास आई ‘लो भोल्टेज’ हुने समस्या हुन्छ ।
सामान्यतया विद्युत् लाइनमा २३० भोल्ट विद्युत् हुनुपर्छ । तर, सुर्खेत आउने प्रशारण लाइनमा १७० देखि १८० भोल्ट मात्रै हुन्छ । लो भोल्टेजका कारण विद्युतिय मेसिन चलाउन पनि छुट्टै स्टेप्लाइजर राख्नुपर्ने बाध्यता यहाँका नागरिकालाई छ ।
बाँकेको कोहलपुर सबस्टेशनबाट बाँके र बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्र हुँदै प्रशारणलाईन सुर्खेत आइपुग्छ । जंगल क्षेत्रमा निर्माण गरिएका उचाई कम भएका विद्युतका पोलहरू भएका कारण सामान्य हावाहुरी चल्दासमेत पटक–पटक बिजुली गइरहने समस्या छ ।
नेपाल लोडसेडिङमुक्त भयो भनेर घोषणा गरिएको पाँच वर्षभन्दा बढी भयो । तर, कर्णाली प्रदेश राजधानी सुर्खेतको वीरेन्द्रनगरमा भने विद्युत् कटौती नभएको दिन नै हुदैन । बिना सूचना घण्टौंसम्म विद्युत् नआउने समस्या छ । कर्णालीका बासिन्दा बारम्बार विद्युत जाँदा जति हैरान छन् त्योभन्दा बढी भोल्टेज नपुगेर हैरान हुने गरेको वीरेन्द्रनगर–३, का सन्तोष शाही बताउँछन् ।
वीरेन्द्रनगरका यिनै समस्यालाई तत्काल समाधान गर्न सुदुरपश्चिम प्रदेश कैलाली जिल्लाको मोहन्याल गाउँपालिकाबाट ३३ केभी प्रशारण तान्ने योजना अगाडि सारिएको थियो । उक्त प्रशारण लाईन सुर्खेत आइपुगेको खण्डमा अनियमित हुने बिजुली नियमित गराउन सघाउ पुग्ने बताइएको भएपनि लाईन विस्तारमा अवरोध सिर्जना भएको छ ।
सुर्खेतको बराहताल गाउँपालिका–५, बड्डिचौरका स्थानीयको अवरोधले लाईन विस्तारमा बाधा भएको छ । प्रशारण लाईन जग्गाको बिच भागमा पर्ने भन्दै स्थानीयहरुले विस्तारको काम अगाडि बढाउन दिएका छैनन् । पाँच बर्षअघि सुरु भएको आयोजना सुरुमा रुख कटानको अनुमतिले गति लिन सकेको थिएन ।
प्राधिकरण सुर्खेत वितरण केन्द्रले कोहलपुर–सुर्खेत १३२ केभी प्रशारण लाईन सम्पन्न हुन थप समय लाग्ने भएपछि वीरेन्द्रनगरको विद्युत समस्या हल गर्न उक्त प्रशारण लाईन निर्माणको कार्यलाई तिव्रता दिएको भएपनि स्थानीयको अवरोधले समस्या भएको छ । जग्गाको बिच भागबाट विस्तार गर्न लागिएको प्रशारण लाईनको रुट परिवर्तन गर्नुपर्ने स्थानीयको माग छ । स्थानीयहरुले प्रशारण लाईन बस्तीको छेउमा रहेको सामुदायिक वन क्षेत्रबाट विस्तार गर्नुपर्ने अडान लिँदैँ आएका छन् ।
स्थानीयले भनेको ठाउँबाट प्रशारण लाईन विस्तार गर्दा पुनः वातावरणिय प्रभाव मूल्यांकन गर्नुपर्ने लगायतका प्रक्रिया पुरा गर्न थप समय लाग्ने देखिन्छ । स्थानीयको अवरोधका कारण उक्त क्षेत्रमा ११ वटा पोल गाड्न र तार तान्न बाँकी छ । प्रसारण लाइन निर्माण हुँदा त्यस क्षेत्रमा थोरै जग्गा भएका स्थानीय विस्थापित हुने भन्दै स्थानीयले विरोध जनाउँदै आएको बराहताल गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष धिमराज जोल्मीले बताए ।
के भन्छ प्राधिकरण ?
सुर्खेतको विद्यमान विद्युतको समस्या हल गर्न सघाउ पु¥याउने उद्देश्यले कैलाली जिल्लाबाट ल्याउन लागिएको ३३ केभी प्रशारण लाईन विस्तारमा स्थानीयले भने अनुरुप गर्न नसकिने नेपाल विद्युत प्राधिकरण सुर्खेत वितरण केन्द्रका प्रमुख अशोक लोहनी बताउँछन् ।
पाँच वर्ष अघि नै रुट तय भएर काम अगाडि बढिसकेको अवस्थामा अहिले आएर लाईन सार्न सम्भव नहुने उनले बताए । ‘वातावरणीय अध्ययन पश्चात काम अगाडि बढेको प्रसारण लाइन निर्माणको रुट परिवर्तन गर्दा पुनः सुरुदेखि नै वातावरणीय अध्ययन गरेर सबै प्रक्रिया पूरा गर्न थप समय लाग्ने हुन्छ,’ लोहनी भन्छन्, ‘स्थानीयहरुलाई केही पोलका कारण समस्या भएको भन्ने छ, त्यो हामी सुधार गर्छौं, पुरै रुट नै परिवर्तन गर्ने विषय प्राविधिक कारणले असम्भव छ ।’
विवाद समाधानका जिल्ला प्रशासन कार्यालय र बराहताल गाउँपालिकासँग अनुरोध गरेको उल्लेख गर्दै यथासक्य निकास निकालेर वीरेन्द्रनगरमा भइरहेको लो भोल्टेजको समस्या समाधान गर्ने उनले बताए । उनका अनुसार उक्त प्रशारण लाईन अन्तर्गत पर्ने बड्डिचौर बाहेक अन्य क्षेत्रमा तार तान्ने कामसमेत सम्पन्न भइसकेको छ । यहाँको विवाद समाधान भएको खण्डमा एक महिनाभित्रै कैलाली जिल्लाको बिजुली सुर्खेतमा बल्ने प्रमुख लोहनीको भनाई छ ।
विवाद मिलाउने प्रयास भइरहेको छ ः अध्यक्ष भण्डारी
प्रशारण लाईन विस्तारमा देखिएको समस्या हल गर्न गाउँपालिकाले प्रक्रिया थालनी गरिसकेको बराहताल गाउँपालिकाका अध्यक्ष भिमबहादुर भण्डारी बताउँछन् । स्थानीयस्तरको विवादका कारण लाईन विस्तारमा समस्या भएको गुनासो आएपछि सम्बन्धित स्थानीयवासीसँग छलफल गरेर विवाद टुङ्ग्याउने निर्णय गाउँपालिकाले गरिसकेको अध्यक्ष भण्डारीको भनाई छ ।
केही दिनमै विद्युत प्राधिकरणलाई बोलाएर स्थानीयसँग छलफल गर्ने गरी पालिकाले समन्वय गरिरहेको उनले बताए । विकास निर्माणका कामहरु सञ्चालन गर्दा अतिकम क्षति हुनेगरी अगाडि बढाउनु पर्ने उल्लेख गर्दै स्थानीयवासीसँगको छलफलपछि कसरी अगाडि बढ्ने भन्ने विषयमा टुङ्गो लाग्ने उनले बताए ।
‘लाईन विस्तारमा देखिएको अल्झनलाई समाधान गर्न मैले पहल थाली सकेको छु,’ भण्डारीले भने, ‘विद्युत प्राधिकरण र जिल्ला प्रशासनसँग भएको छलफलमा पनि मैले विवाद समाधानका लागि पालिकाले समन्वय गर्ने कुरा भनिसकेको छु, सोही बमोजिम स्थानीय गुनासोलाई सम्बोधन गर्नेगरी पालिका अगाडि बढेको परिस्थिती छ ।’
१३२ केभी प्रशारणमा पनि अवरोध उस्तै
कर्णालीको विद्युत सेवा विकासको महत्वपूर्ण आयोजना कोहलपुर–सुर्खेत १३२ केभी प्रशारण लाईन विस्तारमा अवरोध नै अबरोध छ । कोहलपुरदेखि बाँके र बर्दिया राष्ट्रिय निकुञ्जको जंगल क्षेत्र हुँदै सुर्खेतसम्म निर्माण गर्न लागिएको उक्त प्रसारण लाइनको प्रमुख बाधक बाँके र बर्दिया राष्ट्रिय निकुञ्ज र बैजनाथ गाउँपालिकाका स्थानीयहरु बनिरहेका छन् ।
सुर्खेत खण्डमा सवस्टेशनबाहेक टावर निर्माण र तार तान्ने काम सम्पन्न प्राय भइसक्दा बाँके र बर्दिया खण्डमा विवाद अझै सुल्झिएको छैन । आयोजनालाई संघीय मन्त्री परिषद्को बैठकले रुख कटानको अनुमति दिइसकेको छ । तर, निकुञ्जले अनेक बखेडा झिकेर आयोजनालाई अझै रुख काट्न दिएको छैन ।
आयोजना प्रमुख रविकुमार चौधरीका अनुसार निकुञ्जले इआईएमा उल्लेख गरिएको भन्दा कटान गर्ने रुखको संख्या धेरै भएको भन्दै पुनः अनुमति लिएर आउनु पर्ने भनेपछि प्रक्रिया थप लम्बिएको छ । त्यस्तै, बैजनाथ गाउँपालिकाका स्थानीय बासिन्दाले आफ्नो गाउँबस्तीको बीचबाट प्रसारण लाइन निर्माण हुँदा गाउँबाटै विस्थापित हुनुपर्ने जोखिम बढ्ने जनाउँदै निर्माणमा अवरोध गर्दै आएका छन् ।
बस्तीमा मात्रै नभएर प्रसारण लाइन निर्माण हुने क्षेत्रमा बर्दिया र बाँके राष्ट्रिय निकुञ्जको जंगल परेकाले निकुञ्जसँग समन्वय गरेर टावर निर्माण हुने जमिन लिन र प्रसारण लाइनमा पर्ने रूख कटान गर्ने चरणसम्म पुग्न पनि प्राधिकरणलाई हम्मेहम्मे परिरहेको छ ।
चैधरीका अनुसार विवाद भएका क्षेत्रलाई छोडेर सुर्खेत खण्डमा २५ किलोमिटर लाईन विस्तार भइसकेको छ, भने स्थानीयस्तरमा विवाद समाधानको प्रयास भइरहेको छ । यस्तै, सुर्खेतको सुब्बाकुनामा सवस्टेशन निर्माणको काम जारी रहेको प्रमुख चौधरीले जानकारी दिए ।
ओम शाही । सुर्खेत । १७ जेष्ठ २०८१, बिहीबार ०८:१८