कम लगानी र थोरै क्षेत्रफलबाट पनि मनग्गे कमाउन सकिन्छ भन्ने उदाहरण सुर्खेत वीरेन्द्रनगर नगरपालिका–८ बौद्धचोक खजुराका गोमा कुमारी खड्का(वली) मौरी पालक कृषक बन्न सफल बनेकी छन् । गोमा ८ बर्षदेखि व्यवसायिक रुपमा मौरीपालन गर्दै आएकी छिन् । गोमाले ‘ज्ञानु मौरी पालन फार्म’ दर्ता गरेर मौरीपालन गरिरहेकी छिन् । व्यावसायिक रुपमा मौरी पालेर लाखौँ रुपैयाँ कमाउन सकिन्छ भनेर अग्रज दाईहरु अम्मरबहादुर तारमी र चन्द्रबहादुर विसीले मौरीपालनतिर लाग्नका लागि प्रेरणा दिएको गोमाले जानकारी दिईन ।
सिप र जाँगर हुने हो भने धन कमाउन धेरै लगानी र जमिन चाहिँदैन भन्ने उदाहरण गोमा बनेकी छिन् । गोमालाई मौरी पालन गर्नलाई आफुमा केहि ज्ञान थिएन् । ज्ञान नभएपछि मौरीपालन गर्छु भनी उनले ‘ज्ञानु मौरी पालन फार्म’ दर्ता गरेकी थिईन् । दर्ता गरेको केहि समयपछि उनले ३ दिने मौरीपालन सम्बन्धी तालिम लिएको बताईन् ।
गोमाले २० घारबाट मौरीपालन व्यवसाय सुरु गरेकी थिईन् । २० घारबाट सुरु गरेको मौरीपालन उनको लागि फलदायी भयो । एक लाख ४० हजार लगानी गर्दा तीन लाख आम्दानी भएको उनको भनाई छ । उनले भनिन्, ‘शुरुवाती चरणमा छौँ भनेर त्यति धेरै त सोचेको थिएन् तर सोचे भन्दा फरक भयो । मानिसलाई कुनै पनि विषयमा फाईदा भए अगाडी बढ्न मन लाग्ने हो । पछि घार नै बढाएर अगाडी बढेँ ।’
अहिले गोमाको फार्ममा ५० घार मौरीका घार रहेका छन् । जसबाट बार्षिक रुपमा १० देखि १५ क्वीन्टल मह उत्पादन हुने गरेको गोमाले जानकारी दिईन् । १ घारबाट बार्षिक रुपमा ३० देखि ३५ केजी मह उत्पादन हुने गर्छ । मह किन्न ग्राहक घरमा नै आउने गरेको गोमाले बताईन् ।
५० घारबाट बार्षिक रुपमा ७ लाख रुपैयाँ आम्दानी हुने गरेको गोमाले जानकारी दिईन् । गोमाले ५० घार एपिस मेलिफेरा जातका मौरी पालेकी छिन् । घरमै आएर ग्राहकले लाने क्रम बढेसँगै २० घारबाट शुरु गरेर ५० घार पु¥याएको गोमाले बताईन् । गोमाको फार्ममा ३ आईटमका मह उत्पादन हुने गरेको छ । जसमा चिउरी प्रति केजि ९ सय ५०, तोरी ८ सय ५० र रुदिलो सिसौको ७ सय रुपैयाँमा विक्रि गरेको उनले जानकारी दिईन् ।
निराश भयो भने पेशाबाट सफलता प्राप्त नहुने, काम गर्दै जाँदा ज्ञान बढ्ने हुँदा संघर्षबाट सफलता मिल्ने गोमाको भनाई छ । प्रतिघार ८ हजार ५ सय रुपैयाँमा मौरी विक्री हुने उनले जानकारी दिए । ‘जे गर्दा पनि हुन्छ हरेश खान भएन निरन्तरता दिनु पर्छ सफलता हात लाग्छ’ गोमाले भनिन्, शुरुका दिनमा मौरी पाल्ने तरिकाको ज्ञान नहुँदा सिक्दै गएँ अहिले सफलता मिलेको छ मौरीले राम्रो चरण गर्न पायो भने राम्रो मह निकाल्न सकिने गोमाले जानकारी दिईन् । व्यवसायमा सफलता मिलेपछि कृषि विकास निर्देशनालयबाट ५० प्रतिशत अनुदानमा तीन लाख ५० हजार रुपैयाँको मह प्रशोधन मेसिन उपलब्ध भएको गोमाले जानकारी दिईन् ।
‘मह बेच्न कतै जान परेको छैन घरैबाट विक्री भएकोले विस्तार गरिरहेको छु’ गोमाले भनिन् । आफुले उत्पादन गरेको मह सल्यान, कालिकोट, रुकुम पश्चिम, काठमाडौंमा पुग्ने गरेको गोमाले जानकारी दिईन् । धेरैजसो मह भने स्थानीयस्तरमै बिक्रि हुने गरेको उनको भनाई छ ।
५ कक्षा पढ्दा नै समाजसेवामा
४६ बर्षिया गोमा कुमारी खड्का (वली) को जन्म भने दाङमा भएको हो । गोमा सानैदेखि नै समाजसेवा गर्न मन पराउँथिन् । उनी ५ कक्षामा पढ्दै गर्दा गाउँमा बुढाबुढीलाई साक्षरता दिने तालिम आयो । त्यस तालिमका लागि गोमा पढाउनमा छनौंट भईन् ।
गोमाले त्यहि पढाएको पैसाले अध्यारोबाट उज्यालो गराउने लाल्टिन वितरण गरिन् । उनले विपन्न वर्ग, आवाज विहिनको लागि आवाज उठाउने, हिंसामा परेका महिलाको लागि आवाज उठाउँदै आएकि थिईन् । गोमा यति मात्र हैन सहकारीमा अध्यक्ष भएर १५ बर्ष काम गरेकी छिन् ।
नेपाल घरेलु तथा साना उद्योग महासंघ कर्णाली प्रदेशको सचिव हुँदै अध्यक्षसम्म भएकि छिन् । गोमाले एस.एल.सि पछि भेटेनरी पढिन् । पशु क्षेत्रमा २ बर्ष काम गरेको अनुभव रहेको उनले बताईन् । २०५५ सालमा बिहे गरेकी गोमाको एक छोरा र एक छोरी रहेका छन् । गोमाका श्रीमान् भने नेपाली सेना हुन् । गोमाको श्रीमान सेवा निवृत्ति भईसकेका छन् । श्रीमानको साथ, सहयोगले पनि मौरीपालन व्यवसायमा राम्रो पलदायी भएको गोमाको भनाई छ ।
गोमा अहिले पनि समाजसेवी काममा निरन्तर नै छिन् । मौरीपालनबाट परिवारलाई रोजगारीसँगै आयस्रोतको माध्यम समेत बनिरहेको गोमाले बताईन् । गोमाले भनिन्, ‘मौरी व्यवसाय त्यति सजिलो पनि हैन् गाह्रो पनि छैन् । टोक्छ मौरीले थेक्न सकिदैन्, धैर्यता गर्नुपर्छ तर अरु व्यवसाय जस्तो गाह्रो पनि हैन् ।’
मौरीपालन व्यवसायलाई राज्यले ध्यान दिँदैन
मौरीपालन व्यवसायलाई राज्यले ध्यान नदिएको गोमाले बताईन् । मौरीपालन व्यवसाय गर्नको लागि कृषकलाई तालिमको आवश्यक रहेको उनको भनाई छ । सुर्खेतमा मौरीपालन व्यवसाय गर्दा चरण को पनि समस्या रहेको छ । मौरी चरणको लागि करेखोला, काँक्रेविहार, वर्दिया, कैलाली लगायतको ठाउँमा सिजन अनुसार लग्ने गरेको गोमाले जानकारी दिईन् ।
धेरैजसोले चिनी हालेको मह भन्ने गरेको पाईन्छ यसमा नागरीकले गणस्तरीय मह नै चिन्न सकेका छैनन् । खासमा बर्खाको समयमा पानिले फुलका रसहरु बग्ने गर्छ जसले गर्दा मौरीलाई खानको लागि र बचाउनको लागि चिनी हाल्ने गरिन्छ । गुणस्तरीय महको लागि कर्णालीमा मौरी विशेषज्ञको कमी, ढुवानी लगायत प्रमुख समस्या रहेको गोमा कुमारी खड्का (वली) ले जानकारी दिईन् ।
कल्पना ढेङ्गा मगर । सुर्खेत । १७ जेष्ठ २०८१, बिहीबार ०८:२४