कथा : दुस्मनी

लेखक : गणेश गौतम

‟ तिम्रो छोरो पनि गतिलो कहाँ छ त शान्ति? मैले पहिलै भनेको हैन‚यसलाइ त्यो केटीसँग खेल्न नपठाउ भनेर‚ आमा चाहि पनि उस्तै।″ मेरी जाहान शान्ति‚ नाम जस्तै शान्ती भए पनि म चाहि उनी माथि खन्निएँ ।

‟अव केहि नपाएर दोष जति मलाइ हैन ?″ उनले सामान्य प्रतिवाद गरिन् । ‟मैले पठाउनु पर्छ र हजुरको छोरोलाइ? कति बेला पो हो सुट्ट निस्किहाल्छ, उसकी के जातेसँग। त्यस्तो त्यो बिना एक्कै छिन बाँच्न नसक्नेले झगडा किन गर्ने के ? रही पनि नसक्ने सही पनि नसक्ने।″ शान्तिलाइ पनि अचेल अलि रिस उठ्न थालेको छ।

हुन पनि रमेशका खेलौना जति केहि बाँकि राख्दिन त्यो रमाले । शान्तिको भाइले अमेरिकाबाट आफ्नो भान्जोलाइ पठाइदेको त्यो खेलौलाप्लेन यहाँ नेपालमा कति पन्ध्र बीस हजार भन्दा बढी पर्छ कि क्या हो‚ त्यो देख्ने वित्तिकै त्यहि चाहियो भनेर उसैले खोसी। पछि फिर्ता गर्दा एउटा पखेटा नै भाँचेर पठाइदिइ‚ । केटाकेटीको झगडाले शान्तिलाइ मात्र हैन मलाइ पनि निकै अशान्त बनाएको छ ।

‟त्यो प्लेन बनाइदिन्छ होला त्यहाँ टिभी बनाउने ठाँउमा″। मैले उनलाइ शान्त बनाउने प्रयास गरेँ तर उनको पारा चढीरहेको थियो‚ उनी बम्किइन् ‟भो चाहिएन तिमीहरु नै राख भनेर फिर्ता पठाइदिइसकेँ।″ उनी धेरै बेरसम्म भुतभुताइरहीन् । म मौन बसी रहेँ । मलाइ पनि धेरै बेर नरमाइलो लागिरह्यो।

हाम्रो छोरो रमेश र छीमेकी सर्मीला बहिनीकी छोरी रमा एउटै झलुङ्गोमा सुतेर हुर्कदै आएका बच्चाहरु‚उमेर बढ्दै जादा मित्रता र दोस्ती पनि बढ्दै गयो । अहिले उनीहरु सात आठ वर्षका भइसके। सँगै स्कुल जाने सँगसँगै खेल्ने उनीहरुको दिन चर्या छ। कहिलेकहि दुवै जना यतै खाने यतै सुत्ने त कहिले दुवै जना उतै खाने उतै सुत्ने पनि गर्छन् । खेल्दा खेल्दै कहिले कहि उनीहरु आपसमा झगडा गर्नु अस्वाभिक त हैन तर अचेल उनीहरुको झगडा अलि उग्र र आक्रामक हुन थालेको अविभावकहरुले महसुस गर्न थालेकाछौ ।

आजकल शान्ति बेलाबेला अशान्त बनेर कराइरहेकी हुन्छिन्
‟हेर‼ निधारमा कत्रो टुटुल्को छ‚ जीवै भरी अनुहारै भरी रेको चिथोरेको डामैडाम छ। नङ पनि कत्रो कत्रो पालेकी रैछे बोक्सेनी जस्ति‚ यस्तै हो भने कुन दिन हाम्रो छोराको ज्यानै लिन्छे त्यो रमा भन्ने राक्षस्नीले।″

उनीहरुको झगडाले हामीलाइ पनि लपेट्दै लगेकोछ। आफ्नो बच्चालाइ सेप्दै अर्काको बच्चालाइ गाली गर्दा गर्दै गालीको लप्काले आमाबावुलाइ समेत भेटाउन थालेकोछ । केटाकेटीहरु त झगडा गर्छन् र मीलिहाल्छन्। हाम्रा आँखाले अर्गेल्याइ भने रमाकै मात्र देख्ने गर्छ तर उनीहरुले ज्यादती सवै रमेशले नै गर्छ भन्छन् । यो कुराले दुइ परिवारको टसल बढ्दै जान थालेकोछ।

कहिले आगनबाट कहिले बारीबाट त कहिले झ्याल झ्यालबाट दुइटी आमाहरु आफ्ना छोराछोरीको झगडाको विषयमा गलफती गरिरहेका हुन्छन् । पहिला पहिला वल्लो घरकी र पल्लो घरकी छत छतमा काम विशेषले भेट हुदा पनि धेरैबेर गफिएर हाँसीरहेका देखिन्थे । हास्दा हास्दै एउटीको भान्सामा दाल डढीरहेको हुने अर्कीको भान्सामा दुध उम्लेर बगीरहेको पनि हुन्थ्यो‚ अचेल त्यस्तो छैन कतै मन डढीरहेको हुन्छ त कतै रगत उम्लीरहेको हुन्छ।

‟ हजुरहरुलाइ मात्रै आफ्नो छोराको माया लाग्दो रैछ । हामीलाइ चाहिँ आफ्नो सन्तानको माया लाग्दैन कि क्या हो? आफ्नो छोराको रिस कस्तो छ थाहा छैन र आफुलाइ? जे पाए त्यहिको झटारो हान्छ ।कुठाउँमा लागेर खुस्रुक्क हुन बेर छैन। हाम्री छोरीको ज्यान पनि त्यति सस्तो चाहि छैन के ।″

छतमा लुगा सुकाउदै गरेकी शान्तिलाइ देखेर विस्कुन सुकाइरहेकी सर्मिला बहिनी एकोहोरो फलाकिरहेकी रहेकी थिइन् । उनको भनाइमा अलि बढी नै आक्रोस सहित तिक्तता पोखिएको थियो ।

बच्चाहरुको सँधैको झगडाले दुवै परिवार आजित भइसकेको छ। हुन त हाम्रा बच्चाहरुको दोस्ती भन्दा पनि हाम्रो पारिवारिक दोस्ती एकदमै गाढा हो । तर आजभोली केटाकेटीहरुको झगडाको कारणले हाम्रो सम्वन्धमा पनि चीसो पस्दै गएको महसुस हुन थालेको छ ।

हाम्रो यो पुर्ख्यौली थलो भन्दा पनि हुन्छ। हजुरबुवाको शेष पछि बुवाहरुको अङ्सबण्डा हुदा यो जग्गा बुवाको भागमा परेको हो र हामी दुइ भाइको बण्डा हुँदा चाहि मेरो भागमा परेको हो। पुर्जामा साढे पाच कठ्ठा भए पनि पुरानो नापीको जग्गा भएकोले मेरो विचारमा जग्गा यहाँ करिव ६ कठ्ठा भन्दा बढी थियो जस्तो लाग्छ । यहाँ मैले घर बनाउदा वरपर एकाध पुराना घरहरु थिए । मैले घर बनाएँ‚ बाटोघाटो खुल्यो‚ घडेरी विक्री हुन थाल्यो । मसँग नै आठ मिटर जग्गा लिएर थापा परिवारले हाम्रो साँधमा घर बनाए । उनीहरुले घर बनाउदा यसो उसो सक्दो सहयोग सबै हाम्रै घरबाट भएको हो। उसो त घर बनुन्जेल करिव एक डेढ वर्ष उनीहरु हाम्रै घरमा बसेका हुन् ।

एउटै घरमा बसे पछि एकै परिवार जस्तै हुनै पर्छ भन्ने त केहि छैन तर उनको र हाम्रो सम्वन्ध निकै गाढा थियो। परिवार भन्दा पनि बढि मित्रता भन्दा अझ घनिष्टता भनौ अथवा माइती चेली भन्दा धेरै आत्मीय। कतै टाढाको नाता जोडेर श्रीमती चाहिले हामीलाइ दाइ भाउजु भन्थिन् । उनीहरुलाइ पनि हामी बहिनी ज्वाइकै व्यवहार गर्थ्यौँ ।

हाम्रो भान्सामा मीठो मसिनो जे पाक्थ्यो त्यो उनीहरुकोमा पुग्थ्यो र उनीहरुको भान्सा पाकेको नौलो चीज हाम्रोमा आउन छुट्दैनथ्यो। कुनै चाड पर्व अथवा विशेष अवसरमा त झन् एउटै भान्सामा हामी खान्थ्यौँ ।

हाम्री जेठी छोरी अलि ठूली भैसकेकी थिइ । छोरी जन्मेको झण्डै ६ वर्ष पछि हाम्रो छोरो जन्मेको हो । उनीहरुको यो पहिलो बच्चा छोरी पनि हाम्रै घरमा जन्मेकी हो। आफ्नो डेढ वर्षको वच्चा काखमा च्यापेर सर्मिलाको सुत्केरी स्याहार्ने काम पनि हाम्री शान्तिले ढुक्कैसँग गरेकी हुन्। यिनकै भर परेर हो कि किन हो उनीहरुले आफ्नो घर माइतीतिर बाट अरु कसैलाइ पनि बोलाएनन् ।

घर निर्माणकार्य सम्पन्न भइ सके पछि पनि हामीसँग छुट्टिएर आफ्नो घरमा सर्न उनीहरुले निकै गाह्रो माने । उनीहरुले हाम्रो घर छोडेर आफ्नो घरमा जाँदा हाम्रो मन पनि निकै नै कुडिएको हो ।

रमा र रमेश डेढ वर्षका फरक भए पनि उत्राउत्रै देखिन्छन् । खै किन हो पहिलो सन्तान सात आठ वर्षको भइ सक्दा पनि उनीहरुको अर्को बच्चा भएको छैन। त्यसैले पनि त्यो नानी रमा ज्यादै पुलपुलिएकि हो कि?

एक दिन म बारीमा काम गरी रहेको थिएँ । पल्लोघरकी सर्मिला बहिनीले आफ्नी छोरी रमालाइ गाली गरिरहेको आवाज ठ्याक्कै मेरो कानमा पर्यो । सुन्दै गर्दा आफ्नी छोरीलाइ भन्दा बढी हाम्रो छोरोलाइ पो गाली गरिएको थियो‚ ‟ त्यो रमेश भन्नेलाइ यहाँ आउन पनि नदिनु‚ तँ पनि उसको घरमा नजानु। आज भोलि त त्यो केटो हेर्दै पनि हत्यारो गुण्डो जस्तो लाग्न थालेको छ मलाइ । त्योसँग नखेले तँ बाच्दिनस् र? कुन दिन कुठाउँमा हानेर खुत्रुक्कै पार्छ अनि थाहा पाउँछे ।″

उनको फतफताइ सकिएको त थिएन तर मेरो कान भन्दा पनि मन भरिएर आयो सुनिरहन सकिन । बाँकि काम त्यत्तिकै छोडेर म भित्र पसेँ तर यो कुरो शान्तिलाइ भने कहिल्यै सुनाइन ।

केटाकेटी त कहिले एकदमै लडाइ झगडा गर्थे र केही दिन सम्म बोलचाल पनि बन्द नै हुन्थ्यो । नजाने कहिले के कुराले हो‚ उनीहरुको सुलह भैसक्थ्यो र घनिष्ट मित्रता कायम भैसकेको हुन्थ्यो तर बावु आमाहरुको बीचमा भने आवत जावतको त के कुरा बोलचाल बन्द भएको नै धेरै भैसकेको थियो ।

‟त्यो सर्मिला भन्ने कति ठूली मान्छे बनेकी हो अचेल ? दिनमा एक पटक यता हाम्रो घरमा नआए त खाएको पनि पच्दैन कि झैँ गर्ने मान्छे अचेल यता आउनको त के कुरा मलाइ देख्यो भने ड्याम्म ढोका हानेर भित्र पस्छे बा․․․ ।″
सर्मिलाको व्यवहारले आजभोलि हाम्रा घरकी बढी नै तनावग्रस्त भैरहेकी हुन्छिन् ।

‟अस्ति बाटोमा भेटेर कहाँ पुगेर आउनुभो त नानी? भनेर सोधेको‚ सुन्या नसुन्यै गरेर टिमटिम हिडी त नि‚ त्यो नबोले हाम्रो के खोस्सीने थ्यो र। पोइ चाहिले धेरै पैसा कमाको होला केरे त्यसैले मात चढेको त होला ।″
‟नदेखेर नसुनेर हो कि″ मैले उनको आक्रोसलाइ मथ्थर पार्न खोजेँ ।

‟अँ हुन्छ नदेखेर‚ हजुरकी बहिनीको घमण्ड टुप्पामा पुगिसक्या छ भन्नुस् न खुरुक्क । पोइ चाहिले पनि अस्ति हजुरलाइ चिन्या नचिन्यै गरे भन्या हैन त?″ उनको पारा चढी सकेको थियो‚ उनी कुरा टुङ्ग्याउने पक्षमा थिइनन् ।

मलाइ पनि उनीहरुको व्यवहार अचम्मको लाग्न थालेको हो । हामी साख्खै ज्वाइ जेठान नभए पनि आपसमा एकदमै सम्मानजनक मित्रता थियो थापाजीसँग । तर खै किन हो अचेल म भएको ठाउँमा आउनु पर्यो भने उनी टाढैबाट तर्कन्छन् ‚ उनी भएको ठाउँमा म पुगेँ भने या त उनी अन्यत्रै मुण्टो बटार्छन् कि त जुरुक्क उठेर हिडिदिन्छन् । मुखले केहि नभने पनि उनको यो व्यवहारले म आफुलाइ एकदमै अपमान भएको महशुस गर्छु।

अचेल शान्तिले सधै यो ठाउँ छोडेर कतै टाढा जान पाए पनि हुन्थ्यो‚ त्यो रमा भन्ने राक्षस्नीले कुन दिन हाम्रो छोराको ज्यान लिन्छे । बावु आमासँग बोलचाल नभएको पनि दुइ वर्ष हुन लागिसक्यो । यस्तो छिमेकमा पनि के बस्नु ? भनेर मलाइ सुनाइरहन्छिन् ।

मेरो पनि मन बिग्री सकेकोछ । पहिला त्यसरी नङमासु भएर बसेको‚ नुनतेल साटेर‚ तीलको गेडो पनि बाँडेर खाएको छिमेकी‚ अहिले भेटघाट हुँदा पनि टाउको बटारेर हिड्नु पर्ने विहान बेलुका बाहिर भित्र गर्दा समेत देखे पनि नदेखे झैँ सुने पनि नसुने झैँ गर्नु पर्ने यसरी पनि एकै ठाउँमा के बस्नु जस्तो पो लाग्न थालेको छ ।

आफ्नो पुर्ख्यौली थात थलो यत्रो बोट बगैचा छोडेर कता जानु झैँ लागेर मनले मसक्क आँट्न सकेको थिइन । यसबारेमा शान्तिसँग खासै कुरा पनि भएको थिएन।

एकदिन उनी वरण्डामा चामल केलाइ रहेकी थिइन् म बाहिरबाट आउदै एकाएक आफ्नो निर्णय उनलाइ सुनाएँ‚ ‟हेर यी आज त यो घर जग्गा बेच्ने निस्चित गरेर आएँ‚ तीन करोड पैचालिस लाखमा″ मैले कागज देखाएँ। ‟पाच करोड भन्दा तल त ज्यान गए पनि दिन्न भन्नुहुन्थ्यो त ।″ उनले फरक्क फर्केर मलाइ हेरिन् । मैले पनि उनको आँखामा हेरि रहेँ ।

हामी मुर्तिवत एकअर्कालाइ हेरिरह्यौँ। दुवैजनाको मुखबाट कुनै शव्द निस्किरहेको थिएन । मैले देखेँ उनको परेलाको कापबाट केहि थोपाहरु गाला हुदै भुइमा खसे । मेरा पनि आँखाहरु रसाए झैँ लाग्यो म कोठातिर लागेँ । घर बेचेर कहाँ जाने उनले पनि सोधिनन् ‚कहाँ जाने के गर्ने त्यो बारे स्पष्ट खाका मेरो दिमागमा पनि केहि कोरिएको छैन । बस् त्यति हो छिटो भन्दा छिटो यो ठाउँ छोडेर जाने। अलपत्र परिने छैन हातमा पैसा भए पछि एउटा उपाय कसो नलाग्ला ।

केहि दिन पछिको कुरा हो सामानहरु सबै पोको पारिसकिएको थियो । केहि सामानहरु पछि आएर लैजाने भनेर एउटा कोठामा राखिएको थियो र साथमा लैजाने सामान सबै प्याकिङ तयार भैसकेको थियो । ठूली छोरी काठमाण्डौमा पढ्दै गरेकी पछि छोरोलाइ पनि आखिर काठमाण्डौ नै पठाउन पर्ने नै हो भनेर हाललाइ काठमाण्डौतिर जाने निर्णय भएको थियो।

अव गाडी बोलाउन मात्रै बाकि थियो। शान्ति बिहानदेखि रोइरहेकी थिइन् । मैले उनलाइ नरोउ त भन्थे तर आफूले पनि आँसु रोक्न सक्दैनथेँ । कसैले नदेख्ने गरि मैले पनि आँसु पुछिरहेको थिएँ । ‟खै त घर किन्ने मानिस आफ्नो ताला चाबी लिएर आउछ भनेको हैन त?″
धोतीको फेरले आँसु पुछ्दै शान्तिले सोधिन्।

‟नजिकै आइपुगेँ ताला किन्दैछु भनेर भर्खरै फोन गरेको थियो । बरु त्यो केटो कता गयो त रमेश ?″ भित्रबाट निस्कन खोजेको आँसुलाइ भित्रै निल्ने प्रयास गर्दै मैले भावुकतालाइ अन्तै मोड्ने प्रयास गरेँ ।‟मैले अघि देखि रमेशलाइ देखिरहेकोछैन। बोलाउदा पनि कतै बोलिरहेकोछैन त्यो केटो ।″

हामी दुवै जनाले तल माथि भित्र बाहिर जतातै खोज्यौ रमेश कतै थिएन। पटक पटक दोहोर्याइ तेहेर्याइ दुवै जनाले सबैतिर खोज्ने बोलाउने काम भयो तर रमेश कतै भेटिएन ।

अनेक किसिमका शङ्का उपशङ्का पनि मनमा नउव्जिएका हैनन् तर मनलाइ सम्हाल्दै मैले उनलाइ भने ‟नाइ साच्चै त्यो रमेश उसकी दोस्त त्यो रमालाइ भेट्न त गाको छैन ?″

‟खै गा छैन होला त्यहाँ त‚ अस्तिनै झगडा परेबाट धेरै भइसक्यो चार पाच महिनै भइसक्यो ती दुइटाको बोलचाल नभाको ।″ उनले यसो भनी सक्दा नसक्दै कतैबाट रुन्चे स्वरमा ‟शान्ति भाउजु‚ ए! शान्ति भाउजु″ भनेर बोलाएको सुनियो ।

‟आवाज त चिनेको जस्तो छ नाइ को हो बोलाउने ?″ भन्दै सन्त्रस्त मन लिएर हामी बाहिर निस्क्यौँ । बाहिर निस्कदा पो त्यहाँ एउटा अचम्मको दृश्य थियो । जसको झगडाको कारण आफ्नो थात थलो घुइयाको भाउमा बेचेर सदाको लागि जान लागिरहेका थियौ उनीहरु दुइ जना रमा र रमेश नै अङ्गालो हालेर रोइ रहेकाथिए। उनीहरुलाइ डोर्याउदै ल्याउने रमाकी आमा पनि उनीहरु सँगसँगै आँसु पुछिरहेकी थिइन् ।

‟भाउजु दाइ हेर्नुस् यिनीहरुको ताल‚यिनीहरुको झगडाले गर्दा हामी त्यति माया गर्नेको आपसमा इवी बढेर बोलचाल बन्द भो। एकअर्काको मुख पनि नहेर्ने सम्म भइयो । यिनीहरुकै दुस्मनीका कारण हजुरहरुले आफ्नो यति राम्रो थात थलो सस्तैमा फालेर हिड्न थाल्नु भाछ । अव अहिले हेर्नुस त यिनीहरुको ताल?″

मैले बच्चाहरुतिर हेरेँ उनीहरु अङ्गालो झन कस्दै एकअर्काको कुममा चिउडो राखेर हिक्का छोडी छोडी रोइरहेका थिए । तीनीहरुको चाला देखेर म अक्क न बक्क भएँ। शान्ति भने घोप्टो परेर रुन थालिन् । हाम्रो घर किन्ने मान्छे हातमा ताला र चाबी समातेर पर्खालबाहिरबाट एक तमासले हाम्रो कृयाकलाप हेरिरहेको थियो ।

तपाईको प्रतिक्रिया