यस वर्षको मनसुन यही जुन १३ अर्थात जेठ ३१ गतेदेखि नेपाल प्रवेश गर्ने आँकलन गरिएको छ । यद्यपी मनसुन भित्रिने सरदर मितिभन्दा केही दिन तलमाथी पर्ने जल तथा मौमस विज्ञान विभागले जनाएको छ । मनसुन हाल भारतको उत्तर पूर्वी भू–भाग, बंगलादेश, भुटान हुँदै भारतको सिक्किमसम्म आइपुगेको विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
नेपालको पूर्वी भू–भागमा मनसुन आगमन हुने सरदर मिति जुन १३ आँकलन गरिएको भए पनि त्यसअघि नै भित्रिने देखिन्छ । भौगोलिक हिसाबले कर्णालीको अधिकांश भूभाग पहाडी क्षेत्रमा पर्दछ । यो पहिरोको उच्च जोखिममा रहेको प्रदेश हो । यस वर्ष कर्णाली प्रदेशमा झण्डै ५० हजार ४ सय ६४ जना यो वर्ष विपद्बाट प्रभावित हुने अनुमान गरिएको छ ।
त्यस्तै ८ हजार ८५ घरधुरी बाढी पहिरोको जोखिममा छन् । कर्णालीमा वर्षा धेरै भयो भने बाढी, पहिरोको सम्भावना बढि छ । विशेषगरी सुर्खेतबाहेक कर्णालीका ९ जिल्लामा पहिरोको जोखिम छ । सुर्खेतमा बाढीबाट २१ हजार ९ सय १ जना प्रभावित हुने अनुमान गरिएको छ, भने पहिरोबाट सल्यानमा ६ हजार ८ सय २८ जना प्रभावित हुने अनुमान गरिएको छ । त्यसैगरी विपद्बाट धेरै क्षति हुने जिल्लामा दैलेख, जाजरकोट, रुकुम पश्चिम, जुम्ला पनि पहिरोको उच्च जोखिममा पर्दछन् । त्यस्तै हुम्ला, मुगु र डोल्पा पनि पहिरोको जोखिम रहने जिल्लामा पर्दछन् । सुर्खेतमा भने बाढीको जोखिम बढि हुन्छ ।
जाजरकोट जिल्ला भूकम्पबाट प्रभावित भएको जिल्ला हो । जसका कारण जाजरकोट पहिरोको उच्च जोखिममा छ । भूकम्पले गर्दा जमिनहरु चर्किएकाले पहिरो जाने सम्भावना बढि छ । विपद्को पूर्व तयारी र प्रतिकार्य योजना बनाएर जाजरकोट जिल्ला विपद् समिति अगाडि बढेको छ । साथै सुरक्षा निकायहरुको तयारी, कलस्टर लिड, कोलिड गर्ने लगायतका विपद्को व्यवस्थापन गरेको जिल्ला प्रसासन कार्यालय जाजरकोटका प्रमुख जिल्ला अधिकारी ऋषि राज आचार्यले जानकारी दिए । जिल्लाले विपद् पूर्व र विपद्पछिको खोज उद्धार, राहत र पुनस्र्थापनाका लागि विपद् कोष स्थापना गरेको प्रमुख जिल्ला अधिकारी ऋषिराज आचार्यले बताए ।
जाजरकोटमा पहिरो, बाढी लगायतको उच्च जोखिम छ । यहि जोखिमलाई मध्यनजर गर्दै विपद् पूर्व तयारीको लागि आवश्यक सामाग्रि तयार पारेको उनले बताए । पछिल्लो समय जाजरकोटमा ठुलो संख्याले हेर्दा भूकम्पबाट मृत्युको संख्या बढि भएको प्रमुख जिल्ला अधिकारी आचार्यको भनाई छ । सामान्य अवस्थामा हेर्दा भिर, नदि, सडक दुर्घटनाका कारण मृत्यु हुने गरेको जानकारी दिए ।
आपत्कालिन मनसुन कार्ययोजना तयार भएको छ । जिल्ला प्रसासन कार्यालय सल्यानले चैत महिनामा नै सबै पालिकालाई बोलाएर आफुसँग भएका उपकरण, औजारहरु तयारी अवस्थामा राख्न पत्राचार समेत गरेको छ । प्रत्येक पालिकामा विपद् सम्बन्धी सहायता कक्ष स्थापनाको लागि तयार गरिएको जिल्ला प्रशासन कार्यालय सल्यानका प्रमुख जिल्ला अधिकारी शम्भु प्रसाद रेग्मीले जानकारी दिए ।
त्यसैगरी जिल्लामा जिल्ला विपद् सहायता कक्ष र पालिकामा स्थानीय विपद् सहायता कक्ष राख्ने गरी पहल भएको बताए । सल्यान जिल्ला बाढी, पहिरो, आगालागि, सडक दुर्घटना र चट्टान लगायतको उच्च जोखिममा छ । विपद् कार्ययोजनाको लागि कुन–कुन निकाय सँग के कति औजारहरु रहेका छन्, विपद्को पूर्व तयारीका लागि जिल्लाले आफ्नो तयारी थालिएको र यसबारे कार्ययोजना तयार पारिएको जिल्ला अधिकारी रेग्मीले जानकारी दिए । सल्यानमा जिल्ला विपद् समिति सल्यानले विपद् पूर्व र विपद्पछिको खोज उद्धार, राहत र पुर्नस्थापना लगायतका काम गर्दै आएको छ ।
एक बर्षमा सुर्खेतमा १ सय १६ वटा विपद्का घटना
१० जिल्लामध्ये सुर्खेतमा बाढी र डुबानको उच्च जोखिममा छ । खासगरी सुर्खेतमा बर्खायाममा बाढी र डुवानको समस्या हुने गरेको छ भने गर्मियाममा आगोलागिको समस्या हुने गरेको छ । मौसजन्य विपद्का कारण बर्षमा १ सय १६ वटा विपद्का घटना भएका छन् । सुर्खेतमा ९६ वटा आगालागिका मात्र घटना घटेका छन् ।
यिनै घटनालाई मध्यनजर गर्दै जिल्ला विपद् समितिले २०८० साल चैत ४ गते र जेठमा पनि जिल्ला विपद् व्यवस्थापनको बैठक राखेर विपद्को समयमा पूर्व तयारी गर्ने र विपद्को घटना भईरहदा खोज उद्धार, राहत र पुनस्र्थापना प्रभावकारी बनाउने र विपद् पूर्व तयारीको काम गरिरहेको जिल्ला प्रसासन कार्यालय सुर्खेतका सहायक प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले जानकारी दिए ।
विपद् पूर्व सूचना प्रणालीलाई व्यवस्थित गर्न जानकारीमूलक सन्देश सम्प्रेषण गरी विपद्लाई प्रभावकारी रूपमा व्यवस्थापन गर्न जिल्लाका सबै पालिकामा साइनबोर्डमा जीपीएस लोकेशन राख्न पनि पहल भइरहेको बताए । मनसुनको सिजन सुरु हुदै गर्दा मनसुन पूर्व तयारी तथा प्रतिकार्य कार्ययोजना जिल्ला विपद् समितिबाट पारित गरेर कार्यान्वयनको अवस्थामा रहेको सहायक प्रमुख जिल्ला अधिकारी पाण्डेयले जानकारी दिए ।
त्यसैगरी स्थानीय स्तरका ९ वटै पालिकाका स्थानीय स्तरको विपद् व्यवस्थापन समितिलाई सम्पर्क गरेर विपद्को घटना भइरहदा खोज, उद्धारको कार्यलाई व्यवस्थित बनाउनका लागि के के सामाग्रि रहेका छन् र विपद् पूर्व तयारी कस्तो छ भन्ने कुराको विवरण संकलन गर्दैै गरहेको जानकारी दिए ।
९ वटै पालिकाबाट विवरण आएपछि आवश्यक सामाग्री, जनशसक्तिको विवरण तयार पार्दै गरेको बताए । त्यस्तै अधिकारी पाण्डेयका अनुसार सुरक्षा निकायहरु, विपद् घटना हुँदा खोज, उद्धारको लागि तयारी अवस्थामा रहेको र साधन स्रोतको विवरण संकलन गरि आगामि दिनमा विपद् हुँदा व्यवस्थित रुपले व्यवस्थापन गर्ने तयारी रहेको छ ।
विपद्का घटनाबाट एक वर्षमा एक सय ७३ जनाको मृत्यु
एक बर्षमा कर्णालीमा ४ सय ५१ वटा विपद्का घटना घटेका छन्, जसका कारण एक सय ७३ जनाको मृत्यु र ४ सय २३ जना घाईते भएका छन्, भने एक जना वेपत्ता भएका छन् । आगालागिका कारण एक बर्षमा कर्णालीमा २ सय ९५ वटा घटना घटेका छन् ।
त्यसैगरी पहिरोका घटना ५१, हावाहुरीका घटना ४०, चट्टान २८, अविरल वर्षा ११, भूकम्प र बाढि ८, खोलाले बगाएको र सुख्खा पहिरो ४, हिमपात र डुङ्गाा दुर्घटना १ रहेका छन् । प्रदेश सरकार बनेपछि विपद् व्यवस्थापनको समन्वय आन्तरिक मामिला तथा कानुन मन्त्रालयले गर्दै आएको छ । मन्त्रालय अन्तर्गतको विपद् व्यवस्थापन शाखाले विपद् पूर्व र विपद्पछिको खोज उद्धार, राहत र पुनस्र्थापना लगायतका काम गर्दै आएको छ ।
विपद् व्यवस्थापन शाखा प्रमुख कृष्णबहादुर रोकाया विपद्को पूर्व तयारीका लागि सरकारले आफ्नो तयारी थालिसकेको बताए । विपद् पूर्वतयारीका लागि मनसुन पूर्वतयारी तथा प्रतिकार्य कार्य योजना २०८० तयार भइसकेको छ । विपद् पूर्व प्रभावित क्षेत्रमा जनचेतना जगाउने तथा विपद्पछि खोज, उद्धार, राहत र पुनस्र्थापनाका लागि प्रदेश सरकार, सम्बन्धित जिल्ला प्रशासन कार्यालय, तीनवटै सुरक्षा निकाय तयारी अवस्थामा रहेको रोकायाको भनाई छ ।
विपद् प्रतिकार्य तथा उद्धारका लागि ९ वटा विषयगत समूह बनाइएको छ । कार्य योजना अनुसार प्रभावकारी प्रतिकार्य तथा राहत व्यवस्थापन तथा वितरणको लागि सबै निकाय र विभिन्न सुरक्षा निकाय अन्तर्गतका खोज उद्धार जनशक्ति तैनाथी अवस्थामा छन् । यस्तै विभिन्न निकाय अन्तर्गत रहेका विपद् उद्धार तथा राहतसँग सम्बन्धित स्रोत, साधन यन्त्र उपकरणहरू प्रदेश, जिल्ला तथा स्थानीय तहमा तयारी अवस्थामा राखिएको रोकायाले बताए ।
कल्पना ढेङ्गा मगर । सुर्खेत । २२ जेष्ठ २०८१, मंगलवार १४:०५