वन–जङ्गलमा खेर जाने सालको पातबाट दुना, टपरी बनाउँदै आएपछि नन्दा घर्ती मगर निकै खुशी छिन् । गुर्भाकोट नगरपालिका–१४, सुर्खेतकी नन्दा घर्ती मगरले दुना, टपरी बनाएर बिक्री गरी राम्रो आम्दानी गर्दै आएकी छिन् । उनले २०८० साल माघमा कर्णाली प्रेरणा दुना, टपरी एण्ड पेपर प्लेट उद्योग सञ्चालन गरी दुना, टपरी बनाएर बिक्रीमार्फत आम्दानी गर्न थालेकी हुन् ।
सहकारी संस्थामा आवद्ध भएकी नन्दाले सहकारीको सचिव भएर ३ बर्ष बिताएकी थिईन् । सचिव बन्दै गर्दा पनि उनी पछि सहकारीको कर्मचारी पनि भईन् । कर्मचारी भएर ६ बर्षसम्म गरेकी हुन् । सहकारीमा काम गर्दै गर्दा उनलाई केहि नयाँ काम पनि गरौँ भन्ने मनमा लाग्यो ।
घरेलु तथा साना उद्योगमा महिलाको लागि पनि केहि सिप त हुन्छ होला भनी उनी युटुवमा खोजेर विभिन्न सिप बारे हेर्ने गरेको बताउँछिन् । उनले भनिन्, ‘फेसबुक भन्दा बढि युटुव नै हेर्ने गर्छु युटुव हेरेर नै दुना, टपरी उद्योग सञ्चालन गर्छु भन्ने सोच गरेको हुँ । मेरो शिक्षक भनेकै युटुव हो ।’
महिलाहरू घरायसी काममा मात्रै सीमित हुनुपर्छ भन्ने सोचलाई चिर्दै महिलाहरु व्यवसायमा पनि सक्षम् छन् भन्ने उदाहरण बनेकी छिन्, नन्दा घर्ती मगर । अहिले उनी ४५ वर्षको भईन् । २ लाख ५० हजार रुपैयाँ लगानी गरी स्थापना गरेको उद्योगले उनलाई उद्यमी बनाएको छ । नन्दासंग २ थरि मेसिन रहेका छन् । दुना, टपरीको लागि मेसिन र पेपर प्लेटको लागि आफुसँग २ थरी मेसिन भएको उनको भनाई छ । २ वटा मेसिनको लागि १० लाख ८० हजार रुपैयाँ लागेको नन्दाको भनाई छ । हेल्भेटासले २ लाख रुपैयाँ मेसिनको लागि अनुदान दिएको उनले जानकारी दिईन् ।
उद्योगबाट आफूहरुलाई आयआर्जनको बाटो पनि खुलेको उनको भनाइ छ । नन्दाले उद्योग सञ्चालनमा ल्याएपछि घरमै रोजगारी आएको अनुभूति भएको बताउँछिन् । दैनिक घरायसी काम गर्ने नन्दा अहिले पात टिप्ने काम पनि सँगै गर्छिन् । उनी गाउँका दिदिबहिनीहरु खाली समय घरमा बसेको बेला ८÷९ जना महिलाहरुलाई जम्मा गरी गाउँ नजिकैको वन–जङ्गलमा गएर पात लिने गरेको बताईन् । वन–जङ्गलमाबाट सालको पात लिदाँ आफुले केहि कर पनि तिर्ने गरेको बताईन् ।
पेपर प्लेट नेपालमा नपाईने यो भारतबाट लिने हुँदा, आउन ढिलो र उत्पादनमा समेत ढिलाई भएको उनको भनाई छ । ग्राहकको माग अनुसार हाल सम्म उत्पादन गरेर विक्रि वितरण गर्ने गरेको उनले जानकारी दिईन् । घरायसी कामसँगै सालका पात टिपेर पैसा आउन थालेपछि नन्दाको घरको सानोतिनो खर्च टार्ने माध्यम उद्योग बनेको छ । घाँस दाउरा, मेलापात गर्दै उमेरले नेटो काट्न लाग्दा जङ्गलमा कुहिएर खेर जाने सालको पात टिपेर पैसा कमाई होला भन्ने आफूले नसोचेको उनले सुनाइन् ।
उनी भन्छिन्, ‘आज त्यहीँ सालको पातले घरको खर्च टरेको छ । स्थानीय क्षेत्रमा प्रशस्त पाइने त्यो पनि खेर गइरहेको वस्तुबाट आम्दानीसँग जोडिएकी नन्दालाई उद्योग सञ्चालनको सुरुवातमा बजारीकरणको समस्या भए पनि अहिले बजारको मागलाई भ्याउन सकेकी छैनन् । उत्पादन भएको वस्तुको बजारीकरणमा नन्दालाई श्रीमान्ले साथ दिएका छन् । उनका श्रीमान भारतीय सेना हुन् ।
उनका अनुसार पछिल्लो समयमा दुना टपरीको माग बढेको छ । ‘जिल्लाको विरेन्द्रनगर, छिन्चु र मेहेलकुना बजारबाट नियमित माग आउन थालेको छ’, उनले भनिन् , ‘बजारका पूजा सामग्री पसलले बिक्री गर्दछन्, अहिले यसको माग हुने गरेको छ । मैले उत्पादन गरेको सामान स्थानीय बजारमा नै विक्रि हुने गरको छ ।’
उत्पादन सुरु भएसँगै अहिलेसम्म राम्रो आम्दानी भएको उनले बताईन् । व्यावसायिक रुपमै अगाडि बढि दुना, टपरी बनाउने काम सुरु गरेसँगै आर्थिक रुपमा सवल बन्दै गएको उनको भनाइ छ । खेर गएको पात र बचेको समयको सदुपयोग गरेर मासिक २२ हजारसम्म आम्दानी गर्ने गरेको नन्दाले बताइन् । ‘पहिले बसेर दिन यत्तिकै बित्ने गरेका थिए, अहिले आम्दानी हुने काम गरेका छौ, आम्दानी भएपछि आफुले किन्न चाहेका सामग्री सजिलै किन्न सक्छौँ’ नन्दाले भनिन् ।
प्लास्टिकका सामान विस्थापित गर्नुपर्छ
प्लास्टिकका सामान विस्थापित गर्न र स्वस्थ्य समाज निर्माण गर्न थालेको सकारात्मक अभियानलाई प्रचार गर्न सकेमा आफ्नो व्यापारले बजार पाउने नन्दा घर्ती मगरको धारणा छ । ठुला–ठुला भएका सालका पात पनि बाहिरबाट आउने भएको उद्यमीलाई समस्या हुने गरेको उनको भनाई छ ।
प्लास्टिकका सामग्रीले स्वास्थ्यलाई पार्ने नकारात्मक असरविरुद्ध यो व्यवसाय नमूना योग्य रहेको उनले बताइन् । नन्दाले अन्य महिलाले पनि घर वरिपरी खेर गइरहेको पातलाई सदुपयोग गरेर आयआर्जनमा जोडिन आग्रह गरेकी छिन् । दुना, टपरी प्रयोग गरेर प्लास्टिकका सामान किन्ने पैसा बाहिर जाने रकम रोक्न सकिने उनको धारणा रहेको छ ।
यति मात्र नभई कर्णालीमा अहिले विद्युतको कम भोल्टेजका कारण पनि उद्यमीलाई उद्योग संचालन गर्न कठिनाई भएको उनले जानकारी दिईन् । उनले भनिन्, ‘यसैगरी अबको दिनमा हामी सबैले भन्ने गरेका हुन्छौँ सबै अर्गानिक हो त्यहि हेतुले मेरो पनि अर्गानिक सामाग्रि उत्पादन गर्नका लागि यो उद्योग सञ्चालनमा ल्याएको हुँ । सबै अर्गानिक भन्ने भएपछि सालको पातमा लगानी गरी सालको पातलाई प्राथमिकता दिई उद्योग मै आफ्ना आगामी दिनहरु बिताउँने योजना रहेको उनको भनाई छ । साईज अनुसारका पातमा हातले सिन्का लगाउनु पर्ने त हुन्छ तर काम गर्न गाह्रो त के मा पो छैनर ? तर काम सहज तरिकाले गर्नुप¥यो ।’
कल्पना ढेङ्गा मगर । सुर्खेत । २७ जेष्ठ २०८१, आईतवार १३:०७