यस वर्ष नेपालमा सरदरभन्दा तीन दिन अगावै मनसुन (पानी पार्ने प्रणाली) सोमबारबाट प्रवेश गरेको छ । जल तथा मौसम विज्ञान विभागले यस वर्ष सरदरभन्दा ३५ प्रतिशतदेखि ५५ प्रतिशतसम्म बढी पानी पर्ने अनुमान गरेको छ । गएको वर्ष एक दिन ढिला गरेर मनसुन नेपाल प्रवेश गरेको थियो ।
नेपालमा औसतमा जुन १३ मा शुरु भएर अक्टोबर २ सम्म सरदर एक सय १२ दिन मनसुन रहने गर्छ । पछिल्लो समय मनसुन भन्नासाथ बालि लगाउने बेलाभन्दा पनि बाढी, पहिरो, हावाहुरी, चट्याङलगायतका प्राकृतिक विपद्का घटनाहरु बढ्दै जान थालेका छन् ।
कुनै ठाउँमा एकै पटक धेरै पानी पर्ने, मनसुनको सुरुमै भारी वर्षा हुनेलगायतका मौसमी परिवर्तन तथा जथाभावी खनिएका सडकका कारणले बाढी, पहिरोको जोखिम बढाउँदा नेपालमा मनसुनको सम्बन्ध प्राकृतिक विपद्सँग धेरै जोडिन थालेको पछिल्ला घटनाहरुले पुष्टि गर्दछन् ।
कर्णाली र सुदुरपश्चिम प्रदेश विभिन्न मौसमजन्य प्रकोपको दृष्टिकोणले उच्च जोखिम रहेका क्षेत्र हुन् । यहाँ वर्षेनी मौसमजन्य घटनाहरु जस्तै हुरी बतास, असिना, अविरल वर्षा, बाढीपहिरो, अत्याधिक हिउँ, चट्याङ पर्ने, लामो खडेरी लगायतका जोखिम बढ्दोक्रममा छन् । भौगोलिक अवस्थाका कारण पनि यी क्षेत्र मौसमजन्य विपद्को उच्च जोखिममा रहेका छन् ।
कर्णाली र सुदुपश्चिममा यिनै मौसमजन्य घटनाहरुको बाह्रै महिना पूर्वानुमानको विश्लेषण गरी पूर्वसूचना प्रवाह गर्न स्थापना गरिएको अत्याधुुनिक प्रविधियूक्त ‘रेडियो डिटेक्सन एण्ड रेन्जिङ’ (राडार) दुई वर्षदेखि प्रयोगविहिन बनेको छ ।
विशेषगरी पश्चिमी क्षेत्र लुम्बिनीका तीन जिल्ला बाँके, बर्दिया, दाङ तथा कर्णाली र सुदुपश्चिम प्रदेशको मौसमी गतिविधिको निगरानी गर्न १७ मंसिर २०७६ मा सुर्खेत र दैलेखको सीमावर्ती क्षेत्र वीरेन्द्रनगर नगरपालिका–१४ स्थित रातानाङ्लामा राडार जडान गरी सञ्चालनमा ल्याइएको थियो ।
उक्त राडारले वर्षा हुनुभन्दा तीन/चार घण्टा अघि र पछि मौसममा आउन सक्ने फेरबदल अर्थात कति वर्षा हुँदैछ, हावा कुन गतिमा कहाँबाट बहदैछ, तापक्रम घटबढको अवस्था र आँधीहुरी तथा बाढीपहिरोको पूर्वानुमान गरी पश्चिम नेपालमा प्रकोपबाट हुनेसक्ने विपद् जोखिमलाई न्यूूनीकरणमा सघाउ पु¥याउने विश्वासका साथ २०७६ मंसिरमा संघीय सरकारका उर्जा, जलस्रोत तथा सिँचाई विकास मन्त्री बर्षमान पुनले उद्घाटन गरेका थिए ।
उक्त राडारले हवाई उडान गर्ने ठाउँ र ल्याण्ड गर्ने ठाउँबीचको आकाशको मौसमको निगरानी गर्ने भएकाले यस क्षेत्रको हवाई उडान पनि सुरक्षित हुने जनाइएको थियो । तर, दुई वर्षअघि राडारमा परेको चट्याङले उपकरणमा क्षति पुगेपछि अहिले राडार कामविहिन बनेको छ । विश्व बैंकको १८ करोड लागतमा तयार भएको राडारमा चट्याङ परेर केही उपकरण तथा इन्भटर र जेनेरेटरमा क्षति पुगेकोे छ ।
सरकारले बिग्रिएको राडार मर्मतमा ध्यान पुरयाउन नसक्दा यहाँका नागरिकलाई अन्दाजका भरमा मौसमको पूर्वानुमान गर्नुपर्ने बाध्यता छ । सुर्खेतमा स्थापना भएको मौसम पूर्वानुमानसहितको तत्काल सूचना दिने यस्ता राडार नेपालमा तीनवटा मात्र छन् । जसमा पाल्पा र उदयपुरमा जडान भएका राडारले पूर्वि नेपालको मौसमी गतिविधिको निगरानी गर्ने गर्दछन् ।
मर्मतका लागि जल तथा मौसम विज्ञान विभागले चार पटकसम्म सूचना आह्वान गर्दा हालसम्म कुनै पनि परामर्शदाता कम्पनी सम्पर्कमा नआउँदा समस्या भइरहेको जनाइएको छ । विभागका प्रवक्ता सुनिल पोख्ररेलका अनुसार पाँचौँ पटकमा भने राडार मर्मतका लागि अमेरिकी परामर्शदाता कम्पनीले इच्छा देखाएपछि हाल लागत प्रस्ताव माग गरिएको छ ।
मर्मत तथा सञ्चालनका हिसावले महङ्गो रहेको यो प्रविधि बिग्रिएको दुई वर्षसम्म पनि मर्मतका लागि रकम अभाव हुँदा समस्या भएको प्रवक्ता पोख्रेलले बताए । उनका अनुसार अबको दुईदेखि तीन महिनाभित्र राडार मर्मत गरेर सञ्चालनमा ल्याउने गरी विभागले तयारी गरिरहेकोे छ ।
राडारले कसरी गर्छ मौसमको निगरानी ?
नेपालको मौसमी सूचना प्रणालीलाई विश्वस्तरको बनाउने लक्ष्यसहित जल तथा मौसम विज्ञान विभागले अत्याधुनिक मौसमी राडार जडान गरेको थियो । विभागले मौसमी सूचनालाई व्यवस्थित र प्रभावकारी बनाउन नेपालमा पहिलो पटक सुर्खेत, पाल्पा र उदयपुरमा राडार जडान गरी प्रयोगमा ल्याएको थियो ।
मौसम विभागका अनुसार पहाडको उच्च भेगमा राखिने राडारले नेपालको वायुमण्डलको सबै भू–भागमा घुमेर वास्तविक समयमा तस्बीर खिचेर पठाउँछ । त्यस आधारमा वायुमण्डलमा कस्तो खालको बादल छ । पानी, असिना, हिमपात पार्ने बादल हो कि होइन, कति परेको छ र कति समयदेखि त्यो बादल छ, भनेर थाहा पाउन सकिन्छ ।
त्यस्ता सूचनाका आधारमा तत्कालको मौसमी पूर्वानुमान गर्न यो प्रणालीले सहज हुन्छ । त्यसका आधारमा मौसम विभागले केही घण्टा पहिले नै यो ठाउँमा बादल देखिएको छ र यतिखेर पानी पर्छ भनेर सूचना दिन्छ । समुन्द्र सतहबाट दुई हजार दुई सय ४४ मिटर उचाईमा सुर्खेतको वीरेन्द्रनरस्थित रातानाङ्लामा जडान गरिएको राडारले एक सय ५० किलोमिटर अर्थात, कर्णाली, सुदूरपश्चिम, लुम्बिनी प्रदेश र भारतको लखनउसम्मको मौसम सम्बन्धि पूर्व जानकारी दिन्छ ।
वास्तविक र विश्वसनीय मानिएको राडार प्रविधिले अनुमानित मौसमी विश्लेषण गर्ने बाध्यताको अन्त्य हुने दावी गरिएको छ । राडारले यस क्षेत्रमा कहाँ, कुन समयमा कति वर्षा भइरहेको छ ? अथवा हुन सक्छ भन्ने पूर्वसूचना दिन्छ । वर्षातको तीव्रता, हावाको बहाव, बादलको अवस्था, असिना, हिउँ, चट्याङसम्बन्धी मौसमी जानकारी दिएर जोखिम पूर्वानुमान गर्न सहयोग गर्छ ।
यसबाट विभिन्न नदीमा बाढी आउन सक्ने सम्भावनाको समेत विश्लेषण गरी सतर्कता अपनाउनलाई आवश्यक रणनीति बनाउन सहज हुन्छ । दुई वटा विमानस्थलको मौसम सफा रहे पनि राडारले दुई विमानस्थल बीचमा पर्ने हवाई रुटमा कहाँ कति बादल लागेको छ ? कति वर्षा भइरहेको छ भन्ने जानकारीसमेत राडारले दिने गर्दछ ।
ओम शाही । सुर्खेत । ३० जेष्ठ २०८१, बुधबार ११:४४