बेखबर छन् राज्यका निकाय

रेक्चाका नागरिकलाई खानेपानीको जोहो गर्नै मुस्किल


पानी पनि अड्कलेर पिउनुपर्छ भन्दा धेरैलाई आश्चर्य लाग्ला । तर, यो वास्तविकता हो । पश्चिम सुर्खेतको चौकुने गाउँपालिका–५ को उत्तरी भागमा पर्छ रेक्चा गाउँ । चुरे पहाडको डाँडामा छ यो गाउँ । समथर भू–भागमा रहेको यो गाउँलाई कृषि उत्पादन र वातावरणीय हिसाबले बसोबासका लागि उपयुक्त मानिन्छ । तर, पिउने पानीको अभावकै कारण बिस्तारै यो गाउँ रित्तिँदै गएको छ ।

खानेपानी कै कारण मानिसहरू बेँसी तथा अन्यत्र बसाइँ सर्न थालेका छन् । भौगोलिक विकटता र सरकारी उपेक्षाका कारण रेक्चावासी वर्षौंदेखि पिउने पानीको चरम अभावमा दैनिकी गुजार्न बाध्य छन् । पिउने पानी मात्रै नभएर पशु चौपायालाई पनि पर्याप्त पानी छैन । पानीको अभावकै कारण रेक्चावासीहरू अब बिस्तारै पुर्ख्यौली थलोबाट विस्थापित हुने चरणमा छन् ।
त्यसो त खाने पानीको अभाव सबैका लागि छ, झन् दलित समुदाय अझ बढी पीडित छन् । पानीको चरम संकटमा पनि उनीहरू खुलमखुल्ला विभेद भएपछि यो बस्तीबाट दलितहरू विस्थापित भइसकेका छन् । अहिले रेक्चामा ब्राह्मण र क्षेत्री समुदायको मात्र बसोबास छ ।

पिउने पानीको भरपर्दो मुहान नहुनु र भएको पनि गर्मी नलाग्दै सुकेपछि पानीकै कारण आफ्नो पुर्ख्यौली थलो छाड्न बाध्य भएका हुन् रेक्चावासी । आर्थिक रूपमा सबल परिवारहरू पञ्चपुरी, चौकुने तथा कैलालीतिर गएका छन् । गरिबहरू भने बसाइँ सर्न सक्ने अवस्थामा पनि छैनन् ।

पाँच वर्षअघिसम्म रेक्चामा करिब ११५ घरपरिवारको बसोबास थियो । अहिले यो संख्या घटेर ४० मा झरेको छ । ‘पानीकै कारण विगत पाँच वर्षयता करिब ३५ घरधुरी बसाइँ सरिसके,’ स्थानीय तपेन्द्र बीसी भन्छन्, ‘रेक्चा, खाँडगाडी, हाडकाँध, खेल र ढुङ्गालोटे बस्तीमा हामीले वर्षौंदेखि खाने पानीको चरम अभाव झेलिरहेका छौँ । यी बस्तीहरूबाट पानीकै कारण प्रत्येक वर्ष कुनै न कुनै परिवार बसाइँ सरेर बेँसीतिर झरिरहेका छन् ।’

पानीकै अभावले बस्ती रित्तिने चिन्ताले सताएको छ बीसीलाई । ‘गाउँको बीचमा केही सार्वजनिक कुवा छन्, तिनै कुवाबाट पानी नापेर बाँडीचुँडी खाने गर्छौं,’ जनप्रतिनिधिसमेत रहेका बीसी भन्छन्, ‘प्रदेश र संघ सरकारले खाने पानी निर्माणका लागि बजेट दिएको भए पनि चौकुने गाउँपालिकालाई हालसम्म एक रुपैयाँ पनि बजेट नदिएर हामीलाई उपेक्षा गरेको छ ।’

बर्खामा भने यो बस्तीले पानीको समस्याबाट केही हदसम्म राहत पाउने गरेको छ । तर, असोज÷कात्तिकदेखि भने पानीको स्रोत घट्दै जान्छ । माघ–फागुनदेखि वैशाख–जेठसम्म यहाँ पिउने पानीको चरम अभाव हुने गरेको छ । त्यसबेला चौकीदार राखेर पानी अड्कलेर वितरण गर्ने गरिएको बीसी बताउँछन् ।

स्थानीय प्रकाश शाही पानीको जोहो गर्न डेढदेखि दुई घण्टासम्म हिँड्नुपर्ने बाध्यता रहेको सुनाउँछन् । ‘वैशाख–जेठमा कुवा सुक्छन् । त्यसबेला पानी लिन डेढदेखि दुई घण्टासम्म हिँडेर जानुपर्छ,’ उनी भन्छन् । पुच्मा, रेक्चा बागमारा, खुङ्ग, बुढापुच्मा, बाड्ले, ड्वाङड्वाङे, रुदेउ, कट्कपानी, कुटौला, साइरेदुला र पनटुक्रा गाउँमा करिब ५ सय घरधुरी छन् । पानीका स्रोतहरू भोग्रे खोला र धाक्चे खोला बस्तीभन्दा करिब २ किलोमिटर तल पर्छन् । यी बस्तीहरूमा पानी पु¥याउन लिफ्ट प्रविधि एक मात्र विकल्प हो ।

यो बस्तीका प्रायः मानिसहरू सिजनअनुसार लेक र बेँसीमा बसोबास गर्छन् । बर्खामा पानी पर्याप्त हुने र खेतीपातीको सिजन हुने भएकाले स्थानीयहरू लेक अर्थात् रेक्चा उक्लन्छन् । हिउँद अर्थात् खडेरीमा पानीको संकट हुन थालेपछि बेँसी झर्छन् । यहाँको पानीको मुख्य स्रोत वर्षात्को पानी हो ।

पानीको जोहो गर्न स्थानीयले १८ वटा कुवा खनेका छन् । यीमध्ये १२ वटा फागुनमै सुक्छन् । बाँकी चार कुवाको पानी पनि खासै सफा हुँदैन । फोहोर नै भए पनि त्यही पानी पिउनुको विकल्प नरहेको वडाध्यक्ष तुलारमा मास्की मगर बताउँछन् । कुवामा जम्मा भएको पानी दैनिक प्रतिघर दुई गाग्री वितरण गर्ने गरिएको वडाध्यक्ष मगरको भनाइ छ ।

पानी वितरणका लागि स्थानीयले राखेका चौकीदारले प्रतिघर एक पाथी गहुँ पारिश्रमिक लिन्छन् । यसरी वितरण गरिएको पानीले सानो परिवार भएकाहरू त जेनतेन गुजारा गर्छन् । ठूलो परिवार भएकाहरू भने थप पानी लिन घण्टौँ हिड्नुपर्ने बाध्यतामा छन् ।
विवाह, व्रतबन्ध तथा मृत्यु संस्कारजस्ता कार्यमा केही गाग्री पानी बढी दिने गरिएको बताउँछिन् स्थानीय नन्दा जोशी । अरू बेला भने दैनिक दुई गाग्रीभन्दा बढी पानी नपाइने उनको भनाइ छ । ‘त्यही दुई गाग्री पानीले खाना पकाउने, खाने, मुख धुने, शौचालयमा प्रयोग गर्छौं,’ नन्दाले भनिन्, ‘नुहाउन, कपडा धुनका लागि करिब दुई घण्टा टाढाको खोलामा जान्छौँ ।’

खानेपानीको माग गर्दै पालिकामा धर्ना
जेनतेन खानेपानीको जोहो गर्दै आएका रेक्चाका नागरिक यस वर्ष तापक्रम बृद्धि भई लामो खडेरी परेर पानीका सबै स्रोत सुकेपछि पानीको माग गर्दै गाग्री र डोको बोकेर चौकुने गाउँपालिकाको कार्यालयमा पुगेका छन् ।

खानेपानीको चरम संकट देखा परेपछि संघर्ष समिति नै बनाएर स्थानीयहरु पालिका घेर्न पुगका हुन् । एक गाग्री पानीका लागि कहिलेसम्म कुर्नुपर्ने सरकार भन्दै स्थानीयले विरोध जनाएका छन् । खानेपानीको चरम संकट चुलिएपछि स्थानीयवासीहरू रेक्चा खानेपानी संघर्ष समिति नै गठन गरेर विरोधमा उत्रिन बाध्य भएका छन् ।

खडेरीका कारण कुवा सुकेपछि स्थानीयले खानेपानीको उचित प्रवन्ध मिलाई दिन गाउँपालिकामा धर्ना दिएको वडा नम्बर ५ का वडाध्यक्ष तुलाराम मास्कीले बताए । उनका अनुसार स्थानीयले तत्काल खानेपानीको विकल्पसहितको उचित व्यवस्थापन मिलाई दिन माग गरिरहेका छन् ।

के गर्दै छ गाउँपालिका ?
रेक्चावासीलाई पानी खुवाउन चौकुने गाउँपालिकाले प्रयास भने नगरेको होइन । यहाँको खानेपानीको दीर्घकालीन समस्या समाधानका लागि पालिकामा आउने पूरै बजेट लगाए पनि असम्भव हुँदा पालिका मुकदर्शक भएर बस्न बाध्य भएको चौकुने गाउँपालिकाका अध्यक्ष खड्क विक बताउँछन् ।

आर्थिक वर्ष २०७७÷७८ मा चालु आर्थिक वर्षको असार मसान्तमा निर्माण सम्पन्न गर्ने गरी संघ सरकारले करिब १ करोड २६ लाख लागतमा वेतनखोली–रेक्चा–पुच्छ्म लिफ्ट खाने पानी आयोजना निर्माणको पक्रिया अगाडि बढाएको थियो । वेतनखोलीको पानी लिफ्ट प्रविधिबाट रेक्चासहित नजिकका हाडाकाना, पुच्छ्म, बागमारा र रानागैरालगायत बस्तीमा पु¥याउने लक्ष्य राखेको आयोजना विद्युत् नहुँदा अलपत्र छ ।

मुहानबाट पानी तान्नका लागि आवश्यक पर्ने विजुलीको लाईन नपुग्दा आयोजना अगाडि बढ्न सकेको छैन । आयोजनस्थलसम्म विद्युतको टान्समिटर ढुवानी गर्न सडकसमेत नबनेको अवस्था छ । भौगोलिक कठिनताका कारण मान्छेले ट्रान्समिटर ढुवानी गर्न सम्भव नरहेको स्थानीय बताउँछन् । आयोजनाको मुहानसम्म करिब ८ किलोमिटर सडक विस्तार गर्नुपर्ने हुन्छ ।

खानेपानीको संकट बढेपछि विकल्पका रुपमा पानी लिफ्टिङका लागि आयोजनासस्थलसम्म विजुलीको लाइन तान्ने काम अगाडि बढेको भएपनि ८० वटा पोल अपुग भएपछि समस्या भएको अध्यक्ष विकले बताए । विजुलीको पोल नपुगेपछि प्रदेश सरकार र विद्युत प्राधिकरणसँग अनुरोध गरेको भएपनि कुनै सुनुवाई नभएको उनले बताए ।

तत्कालका लागि सो क्षेत्रका बासिन्दालाई खानेपानीको पहँचमा पु¥याउन वैकल्पिक उपाएको खोजिमा रहेको अध्यक्ष विकको दावी छ । सरकारले रेक्चाका लागि लिफ्ट परियोजना अगाडि बढाए पनि मुहानको भौगोलिक अवस्थाका कारण त्यहाँबाट पानी ल्याउन असम्भव रहेको उल्लेख गर्दै अन्य वैकल्पिक स्रोत मार्फत खानेपानीको प्रवन्ध मिलाउने पालिका अघि बढेको उनले बताए ।

अघिल्लो आर्थिक वर्षमा प्रदेशको उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्रालयले कुवा मर्मतका लागि ४५ लाख बजेट विनियोजन गरे पनि त्यो पर्याप्त नभएको मगरको भनाइ छ । योबाहेक पिउने पानीको समस्या समाधानका लागि सरकारी तवरबाट पहल नभएको स्थानीयको गुनासो छ । बस्तीसम्म पानी पु¥याउन दुई स्थानमा रिजर्भ ट्याङ्कीका लागि दुईवटा विद्युतीय ट्रान्सफर्मर आवश्यक पर्छ । हाल आयोजनाको रिजर्भ ट्याङ्की निर्माण तथा पाइपलाइन बिछ्याउनेलगायतका काम सम्पन्न भएका छन् ।

तपाईको प्रतिक्रिया