सल्यानमा बायो इन्जिनियरिङ्ग प्रविधि मार्फत पहिरो तथा भुक्षय नियन्त्रणको प्रयास थालिएको छ । जिल्लाको छत्रेश्वरी गाउँपालिकामा प्रकोप जोखिम व्यवस्थापन, जलवायु अनुकुलन तथा मुहान र जैविक विविधता संरक्षणका लागि इन्जिनियरिङ्ग प्रविधिको सुरुवात भएको हो । सबैका लागि दिगो खानेपानी, सरसफाइ तथा स्वच्छता परियोजना (सुस्वा) अन्तर्गत गाउँपालिकाले स्थानीयहरुलाई यस प्रविधिको बारेमा सीप प्रदान गरेको हो । नेपालको परिवेशमा उपयुक्त र कम लागत पर्ने बायो इन्जिनियरिङ्ग प्रविधि, यसको आवश्यकता र औचित्यबारे ७ वटै वडाका २८ जना स्थानीय र वास युनिटका कर्मचारीहरुलाई तालिम प्रदान गरिएको थियो ।
बुधबार देखि शुक्रबार सम्म सञ्चालन भएको तालिम अन्तर्गत सहभागिहरुले दुई दिन सम्म प्रयोगात्मक रुपमा बायो इन्जिनियरिङ्ग सीप सिकेका थिए । छत्रेश्वरी, ५ स्थित महेन्द्र माध्यमिक विद्यालयमा भुक्षय र पहिलोको जोखिम व्यवस्थापनका लागि बायो इन्जिनियरिङ्ग गरिएको गाउँपालिकाका वास संयोजक निमराज केसीले जानकारी दिए । यस प्रविधि मार्फत पानीको मुहान संरक्षण, विपद्को जोखिम व्यवस्थापन र जैविक विविधता संरक्षण गर्न सकिने भएकाले वास युनिटका कर्मचारी सहित स्थानीय नागरिकहरुलाई जानकारी सहित सीप प्रदान गरिएको उनको भनाई छ ।
बायो इन्जिनियरिङ्ग मार्फत ढुंगा, माटो खसिरहेका क्षेत्रमा रोकथाम र जोखिम व्यवस्थापनका कार्य गरिन्छ । विद्यालय क्षेत्रको जोखिम क्षेत्रमा भुक्षय नियन्त्रणका लागि स्थानीय स्तरमा पाइने बाँस लगाएतका सामग्री प्रयोग गरेर पाली सेट निर्माण गरेर बायो इन्जिनियरिङ गरिएको तालिममा सहभागिहरुको भनाई छ । तालिममा सहभागि छत्रेश्वरी २ निवासी सावित्रा वली र वडा नं ५ निवासी चन्द्र बहादुर खत्रीले प्रयोगात्मक रुपमा तालिम सिकेको र थोरै लागतमा नयाँ प्रविधिबाट पहिरो तथा भुक्षय रोकथामको काम गरिएको बताए ।
बायो इन्जिनियरिङ्ग अन्तर्गत कास, अम्रिसो, घाँसे प्रजातिसँगै सिमली, असुरो, बाँस, सजीवन जस्ता बिरुवा रोप्ने गरेमा यसले एक तर्फ पहिरो खस्नाबाट जोगाउँछ भने अर्कोतर्फ पानीको मुहान सुक्नबाट समेत जोगाउने प्राविधिकहरु बताउँछन् । बायो इन्जिनियरिङ्गले हरियाली बढाउन तथा हिउँदमा हावाले माटो उडाउने समस्या पनि यसले रोक्ने भएको हुँदा जिल्लाको परिवेशमा यो प्रविधि उपयुक्त हुने छत्रेश्वरी गाउँपालिकाका वास फोकलपर्सन मिलन वलीले जनाए ।
यसैविच शुक्रबार प्रकोप जोखिम व्यवस्थापन, जलवायु अनुकुलन, मुहान तथा जैविक विविधता संरक्षण र वायो इन्जिनियरिङ्ग सम्बन्धी ३ दिने तालिमको समापन गरिएको छ । छत्रेश्वरी ५ मा तालिम समापन संगै सहभागिहरुलाई प्रमाणपत्र समेत प्रदान गरिएको गाउापालिकाको वास इकाईमा कार्यरत सामाजिक परिचालक हरिकला विष्टले जानकारि दिइन् ।
शंकर केसी । सल्यान । १४ असार २०८१, शुक्रबार १७:४२