कर्णालीमा कृषि बालीको उत्पादन ३.५३ प्रतिशतले घट्यो

संघ, प्रदेश र स्थानीय सरकारबाट कर्णालीको समग्र कृषि बालीको उत्पादन अभिवृद्धिका लागि कृषि क्षेत्रमा लगानी अभिवृद्धिका साथै विभिन्न किसिमका प्रोत्साहन कार्यक्रमहरु सञ्चालनमा छन् । कर्णाली प्रदेश सरकारले कृषि तथा पशुपन्छी क्षेत्रको उत्पादन र उत्पादकत्व वृद्धि गर्न बर्सेनि कृषि अनुदान वितरण गर्दै आएको छ ।

सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, मन्त्रालय मातहतका निकाय र स्थानीय तहमार्फत बर्सेनि विभिन्न शीर्षकमा अनुदानका कार्यक्रम सञ्चालनमा छन् । तीन तहका सरकारले कर्णालीको कृषिलाई उच्च प्राथमिकता दिएको बताइए पनि प्रमुख कृषि बालीको उत्पादनमा सकारात्मक परिवर्तन आउन नसकेको पाइएको छ ।

नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/०८१ को अर्धवार्षिक प्रादेशिक आर्थिक गतिविधि अध्ययन प्रतिवेदनमा सरकारी लगानी बढेको भएपनि उत्पादन भने घट्दै गएको देखाएको छ । उक्त अध्ययनमा कर्णालीको कृषि बालीको उत्पादन ३.५३ प्रतिशतले ह्रास आई ११ लाख ५१ हजार चार सय ३३.६१ मेट्रिक टन कायम भएको उल्लेख छ ।

गत आर्थिक वर्ष २०७९/०८० मा अवधिमा यस्तो उत्पादन ८.७६ प्रतिशतले वृद्धि भएको राष्ट्र बैंकको अध्ययनमा उल्लेख छ । समीक्षा अवधिमा कर्णाली प्रदेशको खाद्य तथा अन्य बालीको उत्पादनमा ३.०५ प्रतिशतले ह्रास आई आठ लाख ३५ हजार ६ सय ९५ मेट्रिक टन कायम भएको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ ।

गत आर्थिक वर्षमा यस्तो उत्पादन १०.६२ प्रतिशतले वृद्धि भएको थियो । समीक्षा अवधिमा प्रमुख कृषि बालीमध्ये धान बालीको उत्पादन १२.०४ प्रतिशतले वृद्धि भई एक लाख ४५ हजार ६३ मेट्रिकटन पुगेको छ । गत अवधिमा यस्तो उत्पादन २.०५ प्रतिशतले वृद्धि भएको थियो ।

त्यस्तै, गत अवधिमा ९.२१ प्रतिशतले वृद्धि भएको मकै उत्पादन समीक्षा अवधिमा ७.६१ प्रतिशतले घटेको छ । समीक्षा अवधिमा गहुँ उत्पादन गत अवधिको तुलनामा ०.४३ प्रतिशतले वृद्धि भई एक लाख ८८ हजार तीन सय २४ मेट्रिक टन पुगेको छ । कोदो, जौ र फापरको उत्पादनमा क्रमशः १६.७३ प्रतिशत र १८.९८ र २५.६९ प्रतिशतले ह्रास आएको छ ।

गत अवधिमा उक्त बालीहरुको उत्पादन क्रमशः ४५.९४ प्रतिशत, ४५.४९ प्रतिशत र १९.७७ प्रतिशतले वृद्धि भएको थियो । त्यस्तै, गत अवधिमा १.२४ प्रतिशतले वृद्धि भएको दलहन उत्पादन समीक्षा अवधिमा ७.५६ प्रतिशतले घटेर १७ हजार आठ सय ७९ मेट्रिक टन कायम भएको छ । समीक्षा अवधिमा कर्णाली प्रदेशमा तेलहन उत्पादन ४६.१९ प्रतिशतले वृद्धि भएको छ भने गत अवधिमा यस्तो उत्पादन ४.०७ प्रतिशतले वृद्धि भएको थियो ।

तरकारी र फलफूलको उत्पादन पनि घट्यो
समीक्षा अवधिमा कर्णालीमा तरकारी तथा बागवानी उत्पादन ५.२९ प्रतिशतले ह्रास आई एक लाख ८१ हजार तीन सय ६८ मेट्रिक टन कायम भएको छ । गत वर्ष यस्तो उत्पादन ६.८२ प्रतिशतले वृद्धि भएको थियो । समीक्षा अवधिमा तरकारी उत्पादनमा ६.४६ प्रतिशतले ह्रास आएको छ भने गत अवधिमा तरकारी उत्पादन ७.४९ प्रतिशतले वृद्धि भएको थियो ।

स्थानीय सरकारबाट तरकारी र बागबानी उत्पादनमा लगानी अभिवृद्धि भएतापनि उत्पादनमा प्रभाव देखिन केही समय लाग्ने भएकाले समीक्षा अवधिमा तरकारी र बागबानी उत्पादनमा सकारात्मक परिवर्तन नदेखिएको राष्ट्र बैंकका कर्णाली प्रादेशिक कार्यालयका प्रमुख बाबुराम कोइरालाले बताए ।

त्यस्तै, प्रदेशभित्र फलफूल तथा मसला उत्पादनमा ४.३३ प्रतिशतले ह्रास घटेको छ । गत आर्थिक वर्षमा फलफूल तथा मसला उत्पादनमा ०.९१ प्रतिशतले वृद्धि भएकोमा चालु आर्थिक वर्ष २०८०/०८१ म घटेर एक लाख ३३ हजार नौ सय ५७ मेट्रिक कायम भएको छ । थियो । समीक्षा अवधिमा प्रमुख फलफूलमध्ये स्याउ र अन्य फलफूल उत्पादन क्रमशः २९.४५ प्रतिशत र १२.८१ प्रतिशतले वृद्धि भएको छ ।

गत अवधिमा स्याउ उत्पादनमा ३.० प्रतिशतले ह्रास आएको थियो भने अन्य फलफूल उत्पादन ४.०४ प्रतिशतले वृद्धि भएको थियो । यस्तै, गत अवधिमा ८.४९ प्रतिशतले वृद्धि भएको सुन्तला उत्पादन समीक्षा अवधिमा १९.८३ प्रतिशतले ह्रास आएको छ । आँप र केराको उत्पादनमा क्रमशः ६.६८ प्रतिशत र २४.५७ प्रतिशतले कमी आएको छ भने गत अवधिमा यी दुई फलफुलको उत्पादन क्रमशः २.३४ प्रतिशत र १.१८ प्रतिशतले वृद्धि भएको थियो ।

समीक्षा अवधिमा अदुवा, बेसार लगायतका प्रमुख मसला बालीको उत्पादनमा १३.३५ प्रतिशतले ह्रास आई ६१ हजार नौ सय ६१ मेट्रिकटन कायम भएको छ । गत अवधिमा यस्तो उत्पादन ०.२६ प्रतिशतले वृद्धि भएको थियो । समीक्षा अवधिमा कर्णाली प्रदेशमा मह उत्पादन उल्लेख्य रुपमा वृद्धि भई चार सय १३.५ मेट्रिकटन पुगेको छ । गत अवधिमा यस्तो उत्पादन २४.८८ प्रतिशतले घटेको थियो ।

यस्तो छ कृषि बाली उत्पादनको क्षेत्रगत हिस्सा
खाद्य तथा अन्य बालीको उत्पादनले कर्णाली प्रदेशको कुल कृषि उत्पादनको करिव ७२.५८ प्रतिशत हिस्सा ओगटेको छ । यस्तै, तरकारी तथा वागवानी, फलफूल तथा मसला बाली र मह उत्पादनको हिस्सा क्रमशः १५.७५ प्रतिशत, ११.६३ र ०.०४ प्रतिशत रहेको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ ।

समीक्षा अवधिमा यस प्रदेशको कुल खाद्य तथा अन्य बाली उत्पादनमा सबैभन्दा बढी हिस्सा २४.३० प्रतिशत सुर्खेत जिल्लाको रहेको छ भने सबैभन्दा कम हिस्सा १.३१ प्रतिशत हिस्सा डोल्पा जिल्लाको रहेको छ । प्रदेशको कुल तरकारी तथा बागवानी उत्पादनको सबैभन्दा बढी हिस्सा सुर्खेत जिल्लाको ४१.९७ प्रतिशत रहेको छ, भने डोल्पा जिल्लाको सबैभन्दा न्यून ०.५८ प्रतिशत हिस्सा रहेको छ ।

त्यस्तै, फलफूल तथा मसला बालीको हिस्सा सबैभन्दा बढी २४.९९ प्रतिशत सल्यान जिल्लाको रहदा सबैभन्दा कम १.३१ प्रतिशत डोल्पा जिल्लाको रहेको छ । खाद्य तथा अन्य बालीको उत्पादनमा सबैभन्दा धेरै २९.७८ प्रतिशत हिस्सा मकै उत्पादनको रहेको छ भने सबैभन्दा कम ०.०४ प्रतिशत हिस्सा उखु उत्पादनको छ । यस्तै, कोदो, गहुँ, आलु र धान उत्पादनको हिस्सा क्रमशः ३.०६ प्रतिशत, २२.५४ प्रतिशत, २०.८९ प्रतिशत र १७.३६ प्रतिशत रहेको छ ।

दूध उत्पादनमा बृद्धि
कर्णाली प्रदेशमा समीक्षा अवधिमा दूध उत्पादन ७.२३ प्रतिशतले वृद्धि भई ३६ हजार पाँच सय ६ दशमलव २८ हजार लिटर पुगेको छ । गत अवधिमा यो उत्पादन १८.११ प्रतिशतले वृद्धि भएको थियो । त्यस्तै, समीक्षा अवधिमा मासु उत्पादन १०.१२ प्रतिशतले वृद्धि भएको छ भने गत अवधिमा ३६.५१ प्रतिशतले वृद्धि भएको थियो । समीक्षा अवधिमा कर्णाली प्रदेशमा अण्डा उत्पादनमा १५ प्रतिशतले ह्रास आएको छ भने गत अवधिमा यो उत्पादन २२.९६ प्रतिशतले वृद्धि भएको थियो ।

समीक्षा अवधिमा माछा उत्पादन १४.६२ प्रतिशतले वृद्धि भई १८२.५२ मेट्रिक्टन पुगेको छ । माछापालन सम्बन्धी सरकारी निकायबाट प्रदान गरिने अनुदानको प्रभावकारी कार्यान्वयन हुनुका साथ–साथै कृषकहरुलाई माछापालन सम्बन्धी आवश्यक सीप, तालिम कार्यक्रमहरु सञ्चालन हुनु जस्ता कारणहरुले माछा उत्पादनमा सकारात्मक परिवर्तन आएको राष्ट्र बैंकको अनुमान छ ।

सिञ्चित क्षेत्रफलमा बृद्धि
प्रदेशमा रहेको कुल कृषि बालीले ढाकेको क्षेत्रफल तीन लाख २७ हजार चार सय ८५ दशमलव १५ हेक्टरमध्ये ५७ हजार सात सय ७८ दशमलव ९१ हेक्टर क्षेत्रफलमा मात्र सिँचाई सुविधा पुगेको छ । गत आर्थिक वर्षको तुलनामा यस वर्ष सिञ्चित क्षेत्रफल १.५९ प्रतिशतले वृद्धि भएको छ ।

समीक्षा अवधिमा कुलोद्वारा सिञ्चित क्षेत्रफल सबैभन्दा बढी ४५ हजार दुई सय १२ दशमलव १८ हेक्टर छ भने सबैभन्दा कम दुई हेक्टर क्षेत्रफल बोरिङ्गद्वारा सिञ्चित रहेको छ । समीक्षा अवधिमा कुलोद्वारा सिञ्चित क्षेत्रफल १.५२ प्रतिशतले बढेको छ । गत अवधिमा यस्तो क्षेत्रफल ८.६० प्रतिशतले घटेको थियो । त्यसैगरी, नहरद्वारा सिञ्चित क्षेत्रफल समीक्षा अवधिमा करिव १.२० प्रतिशतले वृद्धि भई १४ हजार नौ सय ५२ हेक्टर पुगेको छ ।

घट्यो क्षेत्रगत कृषि कर्जा
प्रदेशका बैंक तथा वित्तीय संस्थाहरुद्वारा कृषि क्षेत्रमा प्रवाहित कर्जामा गत अवधिको तुलनामा १७.५७ प्रतिशतले कमी आई चार अर्ब ५२ करोड १९ लाख पुगेको छ । समीक्षा अवधिमा प्रवाहित कुल कृषि कर्जामध्ये सबैभन्दा बढी सनपाट शीर्षकमा अधिक वृद्धि भई १० लाख ३० हजार पुगेको छ भने सिँचाई शीर्षकमा कृषि कर्जा प्रवाह भएको छैन ।

यस प्रदेशमा प्रवाहित कुल कृषि कर्जामध्ये सबैभन्दा धेरै दुई अर्ब ३७ करोड ५२ लाख सुर्खेत जिल्लामा प्रवाहित भएको छ भने सबैभन्दा कम ९२ करोड १२ लाख मुगु जिल्लामा प्रवाहित भएको राष्ट्र बैंकले जनाएको छ ।

तपाईको प्रतिक्रिया