बेलाबेलामा धरान उपमहानगर पालिकाका मेयर हर्कराज राईको श्रमधान अभियानको सिको गरेर चर्चा आउने पात्र हुन् मुगुको छायाँनाथ रारा नगरपालिकाका मेयर विष्णुकुमार भाम । भामले बेलाबेलामा वृक्षारोपण, सडक तथा भवन निर्माण लगायत सार्वजनिक सरोकारका क्षेत्रमा श्रम गरेर चर्चा कमाउने गरेका छन् ।
श्रमदान नगरी समृद्धि सम्भव नहुने भन्दै अभियान चलाएका उनै मेयर भाव नेतृत्वको छायाँनाथ रारा नगरपालिकाको आन्तरिक नियन्त्रण प्रणाली भने अस्तव्यस्त रहेको पाईएको छ । संविधानले शक्ति पृथकीकरणको सिद्धान्त अनुसार स्थानीय तहलाई दिएका अधिकारहरुको कार्यान्वयन गरी जनअपेक्षा अनुसार सुशासनको प्रत्याभुति तथा विकास निर्माणका कामलाई गति दिनु पर्ने हो । तर, छायाँनाथमा भने सरकारी स्रोत साधन अघिअघि कर्मचारी र जनप्रतिनिधिको ध्यान अपचलनमा पछिपछि देखिएका छन् । यसको पुष्टि हालै सार्वजनिक भएको महालेखापरिक्षककोे वार्षिक लेखापरिक्षण प्रतिवेदन २०८१ ले गर्दछ ।
नगरपालिकाले आर्थिक वर्ष २०७९/०८० मा भवन, सडक तथा खानेपानी आयोजनाहरु निर्माणका लागि आह्वान गरेका अधिकांश ठेक्का प्रक्रियामा चलखेल गरेर विचौलिया पोस्ने कार्य गरेको छ । आर्थिक वर्ष २०७९/०८० मा नगरपालिकाले ताल्चा स्वास्थ्य चौकी भवन निर्माण कार्यको लागि समी निर्माण सेवासँग २६ चैत २०७९ मा ३३ लाखमा सम्पन्न गर्नेगरी भवन निर्माण सम्झौता गरेको छ ।
सम्झौता अनुसार सो भवन १२ असार २०८० मा सम्पन्न गरी समी निर्माण सेवाले ३२ लाख ९७ हजास एक सय ६५ रुपैयाँ भुक्तानी लिएको छ । पालिकाले उक्त निर्माण कार्यको लागि १३ पुस २०७९ मा बोलपत्र आव्हान गरेको थियो । प्राप्त तीन बोलपत्र मध्ये दुई बोलपत्रको तुलनात्मक विवरणमा महेन्द्र कन्स्ट्रक्सनले २२ लाख ३४ हजार दुई सय एक रुपैयाँ ८७ पैसा कबुल गरेको थियो ।
तर, नगरपालिकाले किर्ते गरी झण्डै ११ लाख बढी ३३ लाख ३८ रुपैयाँ कबुल गरेको समी निर्माण सेवालाई दिएको छ । महेन्द्र कन्स्ट्रक्सनको बोलपत्र स्वीकृतको लागि सिफारिस गरेको निर्णयमा कम्प्यूटर प्रिण्ट हातले सच्चाई समी कन्स्ट्रक्सनलाई ठेक्का दिएको छ । वोलपत्रको पूर्णताको परीक्षणमा मूल्याङ्कन समितिले महेन्द्र कन्स्ट्रक्सन प्रालिको विडवण्ड नभएको कारण अप्रभावग्राही भएको निर्णय गरेको छ । केरमेट गरिएको विडवण्ड प्रचलित कानून वमोजिम प्रमाणित नै नगराई पालिकाले समि कन्स्ट्रक्सनलाई ठेक्का दिएकोे छ ।
१३२ जना करारमा कर्मचारी भर्ना
करार कर्मचारी खर्च स्थानीय सरकार संचालन ऐन, २०७४ को दफा ८३ मा स्थानीय तहले आफ्नो अधिकार क्षेत्र र कारोवारको विश्लेषण गरी व्यवस्थापन सर्वेक्षणको आधारमा स्थायी प्रकृतिको कामको लागि मात्र सेवा करारमा कर्मचारी लिनसक्ने व्यवस्था छ । पालिकाले सशर्त कार्यक्रम र प्राविधिक पदमा विभिन्न एक सय ३२ कर्मचारी सेवा करारमा लिई तीन करोड ३३ लाख २३ हजार सात सय ७२ रुपैयाँ खर्च गरेको छ । महालेखाले यस्तो खर्च नियन्त्रण हुनुपर्ने जनाएको छ ।
अयोग्यको (अ) काटेर बोलपत्र स्वीकृत
नगरपालिकाले रुगा खानेपानी योजना निर्माणको ठेक्कामा पनि बदमासी गरेको छ । उक्त खानेपानी निर्माण गर्न १७ बैशाख २०८० मा निर्माण व्यवसायी उज्जवल निर्माण सेवासँग ४६ लाख ९५ हजार ४८ रुपैयाँमा सम्झौता भएको छ । तर, यो योजनामा निर्माण कार्यको बोलपत्र मूल्याङ्कन समितिले पूर्णता र कानूनी ग्राह्यताको परीक्षणमा कम्प्यूटर प्रिण्ट भएको उज्जवल निर्माण सेवाको अयोग्यको अ काटेर योग्य बनाएर नगरपालिकाले बोलपत्र स्वीकृत गरेको छ ।
योग्य भएको सुस्मिता निर्माण सेवाको नतिजा योग्यलाई काटेर कलमले अ थप गरी अयोग्य बनाएर नगरपालिकाले बदमासी गरेको छ । उक्त मूल्याङ्कन सिटमा सात वटा मूल्याङ्कनका आधारमा दुवै योग्य देखिएका छन् । यसरी सारभूत रुपमा नतिजा नै परिवर्तन हुनेगरी केरमेट गरिएकोमा आधिकारीक व्यक्तिबाट दस्तखत समेत गरिएको छैन ।
यसरी उज्जवल निर्माण सेवाको कवोल अंक ५१ लाख ३५ हजार ६३ रुपैयाँ १० पैसा लागत अनुमान रहेकोमा ५६ लाख ९३ हजार चार सय ७१ रुपयाँ ९० पैसा अर्थात १.०३ प्रतिशत घटी रहेको छ भने सुस्मिता निर्माण सेवाको लागत अनुमान भन्दा कती घटी छ सो स्पस्ट छैन । यसमा नतिजा परिवर्तन गरी मूल्याङ्कन समितिबाट मूल्याङ्कन गरिएको आधारमा वोलपत्र स्वीकृत भई निर्माण कार्य समेत सम्पन्न भएको छ ।
मन्दिर निर्माणको ठेक्कामा पनि जालझेल
कालिका मालिका मन्दिर निर्माणका लागि शुभ एम.एस कन्ट्रक्सन संग कवोल अंक –एक करोड १४ लाख सात हजार दुई सय ८९ रुपैयाँ २६ पैसा सम्झौता भएको छ । २० बैशाख २०७९ सम्ममा सम्पन्न गर्नेगरी सम्झौता भएकोमा २० चैत २०७९ सम्म म्याद थप भई सोही दिन निर्माण कार्य सम्पन्न भएको छ । तर, कार्यसम्पन्न प्रतिवेदनमा लागत अनुमानको अंक समावेस नभएको र स्वीकृत लागत अनुमान पेश भएको छैन । ९६ लाख ३७ हजास सात सय ३३ रुपैयाँमा निर्माण सम्पन्न भएकोमा लागत अनुमानसँग भिडान गरी आइटमवाइज कार्यको विश्लेषण गर्न नसकिने अवस्था रहेको महालेखाले जनाएको छ ।
काम पुरा नहुँदै निर्माण व्यवसायीलाई उन्मुक्ति
यस वर्ष नगरपालिकाले काम सम्पन्न नहुँदै निर्माण व्यवसायीलाई उन्मुक्ति दिएका छ । चैन खोला तटवन्ध चैनखोला तटवन्ध निर्माण गर्न रविचक्र निर्माण सेवासंग २० असारसम्ममा सम्पन्न गर्नेगरी दुई करोड ७७ लाख ७५ हजार चार सय एक रुपैया ७० पैसा मा ३ असार २०८० मा सम्झौता भएको छ ।
निर्माण व्यवसायीलाई २४ असार २०८० सम्ममा दुई करोड २३ लाख ३५ हजार सात सय ७६ रुपौयाँ (८०.४१ प्रतिशत) भुक्तानी गरी निर्माण कार्य सम्पन्न भएकोमा १ एक करोड ९१ लाख ६ हजार आठ सय ८१ रुपैयाँ ५१ पैसा (मु.अ.कर वाहेक) को कार्य सम्पन्न प्रमाणपत्र जारी गरेको छ ।
यस निर्माण कार्यमा ८०.४१ प्रतिशत भुक्तानी हुँदा बाँकी काम गर्न नपर्ने गरी कार्य सम्पन्न प्रतिवेदन दिई निर्माण व्यवसायीलाई निर्माण कार्य पुरा गर्न नपर्ने गरी उन्मुक्ति दिनुलाई महालेखाले नियम संगत मानेको छैन । यस सम्वन्धमा नगर कार्यपालिकाको ५ असार २०८० को निर्णय अनुसार बढी कामको प्राविधिक पुष्टायाई मात्र पेश भएको छ ।
सो को अतिरिक्त कार्य सम्पन्न प्रमाणपत्रमा कामको मूल्याङ्कन मु.अ.कर सहित दुई करोड १५ लाख ९० हजार सात सय ७६ रुपैयाँ भएकोमा निज निर्माण व्यवसायीलाई दोस्रो तथा अन्तिम बिलसम्म दुई करोड २३ लाख ३५ हजार सात सय ७६ रुपैयाँ भुक्तानी हुँदा बढी भएको सात लाख ४५ हजार असुल गर्नुपर्ने महालेखाले जनाएको छ ।
अक्षर सानो बनाएर बोलपत्र स्वीकृत
रुगा नेटा सडक निर्माण कार्यका लागि ३ पुस २०७९ मा निर्माण व्यवसायीसँग सम्झौता भएको छ । ११ जेठ २०८० मा सम्पन्न गर्नेगरी उक्त सडक निर्माण कार्यका लागि नविन निर्माणसँग ४४ लाख ३२ हजार दुई सय ६ रुपैयाँमा सम्झौता भएको छ । निर्माण कम्पनीले ६१.१७ प्रतिशत काम सम्पन्न गरेको अवस्थामा नगरपालिकाले आर्थिक वर्ष २०७९÷०८० मा २७ लाख ११ हजार दुई सय ९२ रुपैयाँ भुक्तानी दिएको छ ।
भौतिक प्रगति तर्फ ६ सय २४ मीटर सडक खन्नु पर्नेमा चार सय ४६ मीटर (७१.४४ प्रतिशत) सडक मात्रै खनेको अवस्थामा पालिकाले भुक्तानी दिएको छ । यस निर्माण कार्यको अवधि ११ जेठ २०८० मा सकिएकोमा तत्पश्चात म्याद थप भएको छैन । उक्त निर्माण कार्यको बोलपत्र मूल्याङ्कन गर्दाको तुलनात्मक तालिकाको अक्षर र अंकको साइज सारै सानो बनाई मूल्यांकन गरी बदमासी गरिएको भेटिएको छ ।
नगरपालिकाले मूल्याङ्कन समितिले सारभूत रुपमा प्रभावग्राही बोलपत्रदाताको नाम नै उल्लेख नगरी निर्णय नं. ३ मा बोलपत्र स्वीकृतको लागि मूल्याङ्कन समितिको निर्णय पेश गरेको छ । बोलपत्र स्वीकार गर्ने अधिकारीले नाम उल्लेख नभएको मूल्याङ्कन समितिको सिफारीश र पढ्न नै नसकिने तुलनात्मक चार्टको आधारमा नविन निर्माण सेवाको पारदर्शिता कायम गर्न नसकिने गरी बोलपत्र स्वीकृत गरी सम्झौता गरेको छ ।
करोडबढी फजुल खर्च
खर्चमा मितव्ययिता सार्वजनिक खर्चमा मितव्ययिता कायम गर्ने निर्देशिका अनुसार कार्यालयहरुले आफ्ना प्रशासनिक खर्चमा मितव्ययिता कायम गर्नु पर्दछ । पालिकाले यस वर्ष अन्य सेवा शुल्कमा दुई करोड ५५ लाख ७२ हजार तीन सय ८९ रुपैयाँ, विविध खर्चमा २८ लाख ९३ हजार आठ सय ९५, भ्रमण खर्चमा २३ लाख ४७ हजार ६ सय १९ रुपैयाँ फजुल खर्च गरेको छ ।
त्यस्तै, मसलन्द तथा कार्यालय सामाग्रीमा एक करोड २५ लाख ४० हवार चार सय ५० रुपैयाँ, सवारी साधन मर्मत २७ लाख ८५ हजार एक सय ९३, पदाधिकारी अन्य सुविधा ४० लाख दुई हजार सात सय, पदाधिकारी बैंठक भत्तामा पाँच लाख ७१ हजार, कर्मचारी बैंठक भत्ता तीन लाख १८ हजार, सभा सञ्चालन खर्च २० लाख ३५ हजार पाँच सय ८८, घरभाडा १४ लाख २८ हजार रुपैयाँ फजुल देखिने गरी नगरपालिकाले खर्च गरेको छ ।
२१ लाखको ग्याँस सेट वितरण
छाँयानाथ रारा न.पा. वडा नं. ७ मा वडास्तरीय कार्यक्रम अन्तर्गत २६० घरपरिवारलाई ग्याँस सेट वितरणको लागि २१ लाख बजेट विनियोजन भएकोमा शिल्ड कोटेशन मार्फत प्रेम ट्रेर्डस एण्ड सप्लायर्सबाट एक सय ९० ग्याँस र ग्याँस चुल्हा सेट खरिद गरी वितरण गरी १९ लाख ८५ हजार नौ सय ७५ रुपैयाँ खर्च लेखेको छ ।
यो कार्यक्रमबाट लक्षित वर्गले सिमित समयको लागि लाभान्वित भएता पनि निरन्तर ग्याँसको उपलव्धता, खरिद गर्न सक्ने क्षमता र इच्छाले यो कार्यक्रम दिगो भन्दा पनि वितरणमुखि देखिएको महालेखाले जनाएको छ । यो कार्यक्रममा दुई सय ६० घर परिवारलाई लक्षित गरेता पनि एक सय ९० घर परिवार मात्र लाभान्वित भएको छ ।
प्रति घर परिवार ८ हजार ७६ रुपैयाँ ९२ पैसाको बजेट विनियोजन भएकोमा वितरण तथा खर्च तर्फ प्रति घर परिवार १० हजार चार सय ५२ रुपैयाँ ५० पैसा खर्च भई प्रति परिवार दुई हजार तीन सय ७५ रुपैयाँ ५८ पैसा ले एक सय ९० घर परिवारलाई बढी खर्च हुन गएको चार लाख ५१ हजार तीन सय ६० रुपैयाँ २० पैसा अनियमित देखिएको महालेखाको लेखापरिक्षणमा उल्लेख गरिएको छ ।.
आन्तरिक आय न्यून
आन्तरिक आय पालिकाको यस वर्षको आन्तरिक आयको लागि १२ करोड ६४ लाख २३ हजार चार सय ७२ रुपैयाँ अनुमान गरेकोमा नौ करोड ६२ लाख २७ हजार दुई सय ६५ रुपैयाँ ७७ पैसा प्राप्ती भएको छ । जुन आन्तरिक आय प्राप्ती अनुमान भन्दा २३.८८ प्रतिशत कम र गत वर्षको आन्तरिक आय प्राप्तीमा १८ करोड १५ लाख ८६ हजार सात सय ३९ रुपैयाँ ४७ पैसा भन्दा ४७ प्रतिशत घटी हो । जम्मा कर राजस्व तर्फ अनुमान ११ करोड ८७ लाख १४ हजार पाँच सय ९५ रुपैयाँ रहेकोमा नौ करोड ३६ लाख ९२ हजार ६ सय ८० रुपैयाँ ४२ पैसा मात्र कर राजश्व असूली भएको छ ।
जुन अनुमान भन्दा २१.०७ प्रतिशत घटी र गत वर्षको जम्मा कर राजश्व नौ करोड दुई लाख ४५ हजार सात सय ६८ रुपैयाँ ९४ पैसा भन्दा ३.८२ प्रतिशत बढी छ । यस्तै गैर कर राजस्व रु.२५ लाख ३४ हजार पाँच सय ८५ रुपैयाा ३५ पैसा असूल भएको छ ।
जुन अनुमान ७७ लाख आठ हजार आठ सय ७७ रुपैयाँ भन्दा ६७.१२ प्रतिशत घटी र गत वर्ष असूली भएको गैर कर राजस्व नौ करोड १३ लाख ४० हजार नौ सय ७० रुपैयाँ ५३ पैसा भन्दा ९७.२२ प्रतिशत कम रहेको छ । आन्तरिक आय तर्फ अनुमान र गत वर्षको वास्तविक आय भन्दा कम भएको सम्वन्धमा विश्लेषण गरी आन्तरिक आय वृद्धि गर्नेतर्फ ध्यान दिनुपर्ने महालेखाले जनाएको छ ।
ओम शाही । सुर्खेत । २६ असार २०८१, बुधबार ११:५७