‘विद्यमान बेरोजगारी समस्याको दिगो समाधान उद्यमशीलता’

सल्यानका युवा तथा महिलाहरुलाई उद्यमी बनाउने उद्देश्यले व्यवसाय सुरुवात तालिम सुरु भएको छ । आर्थिक र सामाजिक न्यायका लागि समूदाय परिचालन परियोजना अन्तर्गत विहिबारदेखि व्यवसाय सुरुवात तथा उद्यमशीलता विकास तालिम सुरु भएको हो । सल्यान श्रीनगरमा सुरु भएको तालिम आइतबार सम्म सञ्चालन हुनेछ । समूहमा आवद्ध महिला तथा युवाहरुलाई लाभदायक र दिगो व्यवसाय शुरु गर्न तथा सुधार गर्न उत्प्रेरित गराउने उद्देश्यले तालिमको आयोजना गरिएको आर्थिक र सामाजिक न्यायका लागि समूदाय परिचालन परियोजना सल्यानका संयोजक उमेश खरेलले जानकारी दिए ।

तालिमा जिल्लाको छत्रेश्वरी गाउँपालिकाबाट १५ जना र कपुरकोट गाउँपालिकाबाट १५ जना गरेर जम्मा ३० जनाको सहभागिता रहेको छ । उद्यमीहरु उत्पादन गरी स्थानीय स्तरमै रोजगारी श्रृजना गर्नका लागि तालिम पश्चात सहभागिहरुलाई व्यवसाय सुरुवातमा टेवा पुर्याउन अन्य सहयोग समेत उपलब्ध गराइने संयोजक खरेलको भनाई छ । सम्भाव्य उद्यमीहरुलाई घुम्ती कोष परिचालन मार्फत व्यवसाय सुरुवात तथा सुधार गर्न टेवा पुर्याउने उद्देश्य रहेको उनको भनाई छ ।

तालिम उद्घाटन कार्यक्रममा बोल्दै दलित विकास समाज सल्यानका सहसचिव लक्ष्मण परियारले समाजमा विद्यमान बेरोजगारी समस्याको दिगो समाधान उद्यमशीलता नै भएको उल्लेख गर्दै आफुले पनि विगतमा उद्यमशीलता तालिमबाट प्रेरित भएर कटाई सिलाई व्यवसाय सुरु गरेको बताए । यस्तै नेपाल पत्रकार महासंघ सल्यानका कार्यवाहक अध्यक्ष शंकर केसीले समाजमा रहेको एउटा वर्गले अहिले पनि सम्पत्ति, अवसर, स्रोतसाधनमाथी पहुँच राखिरहेको तर अर्काे वर्ग ती अवसर, स्रोतसाधनको उपभोगबाट वञ्चित रहनुपरेको भन्दै उद्यमशीलताबाट गरिवी निवारण संगै आर्थिक र सामाजिक न्याय प्राप्त गर्न सकिने बताए । तालिम लिएर मात्र नहुने भन्दै दलित विकास समाज सल्यानका कार्यसमिति सदस्य शान्ता नेपालीले तालिममा सिकेका अनुभव र ज्ञानलाई समाजमा हस्तान्तरण तथा व्यवहारमा लागु गरेमा मात्रै उपलब्धिमुलक हुने बताइन् ।

सो अवसरमा संस्थाको परिचय र उद्देश्य माथी प्रकाश पार्दै दलित विकास समाज सल्यानका कार्यकारी निर्देशक विनायक रेग्मीले समृद्ध, समावेशी र न्यायपूर्ण समाजको परिकल्पना अनुरुप संस्थाले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आइरहेको उल्लेख गरेका थिए ।

चारदिने तालिममा व्यवसायको परिचय, अवधारणा, आम्दानीका श्रोतहरु, सफल उद्योगीका विशेषताहरु, व्यवसाय अवसरको पहिचान, छनोट प्रक्रिया, व्यवसाय र परिवारविचको सम्बन्ध तथा व्यवसयामा महिला तथा युवाको आवश्यकता लगाएतका विषयमा अन्तरक्रियात्मक क्रियाकलाप गर्दै प्रशिक्षण दिइने परियोजनाका छत्रेश्वरी गाउँपालिका सुपरभाइजर लिला वलीले जानकारी दिइन् । उद्यम विकास सहजकर्ताहरु निमा वस्नेत र बाल कुमारी पुनले तालिममा सहजिकरण गरिरहेका छन् ।

तपाईको प्रतिक्रिया