भर्खरै रोपेको धानमा रोग लागेपछि सल्यानका किसान चिन्तामा परेका छन् । धानबालीमा फेद कुहिने, पात पहेँलो हुने, सुक्ने जस्ता समस्या देखिएपछि यहाँका किसान चिन्तीत भएका हुन् । विशेष गरेर जिल्लाको छत्रेश्वरी गाउँपालिकाको गरिज्युला, सांगार लगाएतको क्षेत्रमा किसानले भर्खरै रोपेको धानवालीमा समस्या देखिएको हो । छत्रेश्वरी, ६ सांगारकी कृषक सुन्तली विष्टले गत असारको १९ र २० गते रोपेको धानमा फेद कुहिने रोग देखापरेको बताइन् । गाउँपालिकाको कृषि विकास शाखामा शुक्रबार फेद कुहिएको धान लिएर आएकी सुन्तलीले भनिन्, ‘करिव ४ रोपनी खेतमा हर्दिनाथ ६ जातको धानको विउ लगाएका छौँ । फेद कुहिने रोग देखियो । धान फल्ने सम्भावना नै देखिएन ।’
कृषकहरुले खेतमा रोपेको धानमा रोग तथा विभिन्न समस्या देखापरेको गुनासो पछि कृषि प्राविधिकहरुलाई स्थलगत अवलोकन संगै समस्या पहिचान र समाधानका लागि आवश्यक कार्य गर्न निर्देशन गरिएको छत्रेश्वरी गाउँपालिकाका अध्यक्ष ओज बहादुर बुढाथोकीले बताए । गाउँपालिकाका कृषि स्नातक अधिकृत महेश भण्डारी, नाप्रास गणेश भण्डारी लगाएतको प्राविधिक टोलिले खेतसम्म पुगेर अध्ययन संगै गाउँपालिकाको कृषि विकास शाखाले जिल्ला कृषि विकास कार्यालय संग यसबारेमा समन्वय, परामर्श गरिरहेको बताइएको छ ।
छत्रेश्वरी, ३ खारखोला निवासी कृषक पुस्पा बुढाथोकीले पनि धानबालीमा समस्या आएको बताइन् । ‘३ रोपनी खेतमा धान लगाएका छौँ’, उनले भनिन्, ‘हाम्रोमा पनि फेद कुहिने समस्या देखिएको छ ।’ यस्तै भोटेचौरका किसान जनक खड्काले गरिज्युलाको साढे ६ रोपनी खेतमा धान रोपेको भन्दै धानवालीमा पातको टुप्पा सुकेर सेतो हुने समस्या देखापरेको जनाए । वडा नं ६ कै मुना बस्नेत, कुल बहादुर रावत लगाएतले पनि धान बालीमा फेद कुहिने रोग देखिएको जानकारी गराए ।
जिल्लाभर धान रोपाई नसकिदै अघि रोपेको धानमा रोग देखा परेको हो । सल्यानमा हाल सम्म ९० प्रतिशत बढी क्षेत्रमा धान रोपाई सकिएको जानकारी दिदै जिल्ला कृषि विकास कार्यालय सल्यानका सूचना अधिकारी इश्वरी नारायण घर्तीले जिल्लाका अन्य स्थानबाट धानवालीमा समस्या परेको जानकारी नआएको बताए ।
यस्तै त्रिवेणी गाउँपालिकामा पनि यसप्रकारको रोग र समस्या देखापरेको भन्ने जानकारी नआएको गाउँपालिकाका कृषि विकास शाखा प्रमुख अमर सिं बबालले विगतका वर्षहरुमा भने रोपेको धानमा पातमा थोपा देखिने, पात कुहिने जस्ता समस्या देखा परेको उल्लेख गरे ।
छत्रेश्वरी क्षेत्रका किसानले रोपेको धानमा रोग र समस्या देखिएपनि गाउँपालिकाले उपचारको प्रयत्न गरिरहेको जनाएको छ । विषादी प्रयोग निरुत्साहन गरिएपनि बढी समस्या देखिएकाले छत्रेश्वरी गाउँपालिकाको कृषि शाखा मार्फत घटक ५०५, रोजर, हेक्जा कोनोजोल, राइने ५०५ लगाएतका विषादी र फाइटो फ्लेक्स भिटामिन वितरण भइरहेको कृषि स्नातक महेश भण्डारीले जनाए । खेतका गहरामा बढी पानी जमेर, बोमा कुनै जीवाणुका कारण वा विउ, मलमाटोको समस्याका कारण किसानहरुले रोपेको धानमा रोग देखापरेको हुनसक्ने उनको भनाई छ ।
शंकर केसी । सल्यान । २८ असार २०८१, शुक्रबार १६:१५