छ वर्षपछि खुल्दै कर्णालीका उत्तरी नाका

कर्णालीका उत्तरी नाका छ वर्षपछि खुल्न लागेका छन् । कर्णाली हुम्ला, मुगु र डोल्पा जिल्लासँग जोडिएका उत्तरी नाका छ वर्षपछि खुल्न लागेका हुन् । कोरोना महामारीका बेला चिनियाँ सरकारले एकतर्फी बन्द गरेका मुगुको नाक्चेलाक्ना, डोल्पाको मोरिल्ला र हुम्लाको यारी नाका यो वर्ष चिनियाँ सरकारले खोल्न लागेको छ ।

कर्णालीका हिमाली जिल्ला मुगु, हुम्ला र डोल्पा जिल्लाको प्रमुख व्यापारिक केन्द्रका रुपमा उत्तरी नाका रहेका छन् । हिमाली जिल्लाका नागरिकहरुले त्यहाँबाट खाद्यान्न, लत्ताकपडा ल्याउनुका साथै यताबाट जडिबुटी लगाएतका बिक्रि गर्दै आएका छन् । हिमाली जिल्लाका नागरिकहरुले लामो समयसम्म उत्तरी नाका नखुल्दा सास्ती भोग्दै आएका थिए ।

मोरिल्ला नाका साउन १७ बाट खुल्दै
कोरोना महामारीपछि बन्द भएको चीनको सिमानामा पर्ने डोल्पाको मोरिम्ला नाका साउन १७ गतेदेखि खुल्ने भएको छ । जिल्ला प्रशासन कार्यालयले अहिलेसम्म एक हजार आठ सयभन्दा धेरैको संख्यामा प्रवेशाज्ञा जारी गरेको जिल्ला प्रशासन कार्यालय डोल्पाले जनाएको छ ।

हिमाली जिल्ला डोल्पाको उत्तरी क्षेत्रमा पर्ने मोरिम्ला नाका छ वर्षपछि खुल्ने भएको प्रमुख जिल्ला अधिकारी तुलसीप्रसाद दाहालले बताए । ‘यो आर्थिक वर्षमा चिनियाँ सरकार नाका खोल्न तयार भएको हो ।’ उनले भने,‘उपल्लो डोल्पावासीको प्रमुख व्यापारिक केन्द्रका रुपमा रहेको नाका लामो समयपछि खुल्न लागेकाले सीमाक्षेत्र आसपासमा अस्थायी सुरक्षा पोष्ट खडा गरेर जाँचमा कडाइ गरिनेछ ।’

अवैध तथा प्रतिबन्धित वस्तु ओसारपसार गर्न नदिन डिभिजन वन कार्यालयले समेत निगरानी गर्ने भएको छ । १५ दिनका लागि मात्र खुल्ने नाकाबाट उपल्लो डोल्पावासीले चामल, नुन, तेल, चिया, लत्ताकपडा, घिउ, चिया, पेयपदार्थलगायत खाद्यवस्तुको किनमेल गर्ने गर्छन् । यसरी खरिद गरिएका सामग्री घोडा, खच्चड, याक, चौँरी, भेडा र मोटरसाइकलमा ढुवानी गर्ने गरिन्छ ।

उपल्लो डोल्पाका डोल्पोबुद्ध, शे–फोक्सुण्डो र छार्काताङ्सोङ गाउँपालिकाका नागरिकलाई सदरमुकाम झरेर सामान किन्न एक सातासम्म लाग्नुका साथै महँगो पनि पर्छ । डोल्पोबुद्ध गाउँपालिकाबाट एक दिनमै मोरिम्ला नाका पुग्न सकिन्छ ।

यस वर्ष तिब्बतको सिँगाचे प्रदेशमा पर्ने डोङ्बा काउन्टी नाकामा व्यापारिक मेला लाग्ने भएकाले सामान सस्तो पाइने डोल्पोबुद्ध गाउँपालिकाका पेमाछेवाङ गुरुङले बताए । ‘यस वर्ष उपल्लो डोल्पामै पर्ने क्याटो नाका भने नखुल्ने भएको छ ।’ उनले भने,‘चिनियाँ सरकारले आफुखुसी नाका खोल्ने र बन्द गर्ने गर्दै आएको छ ।’

मुगुको नाक्चे लाग्ना पनि खुल्दै
मुगुस्थित नेपाल–चीन सीमामा रहेको नाक्चे लाग्ना नाका दुई साताका लागि खुल्ने भएको छ । कोरोना महामारीका बेला बन्द उक्त नाका यही साउन १७ गतेदेखि साउन ३१ गतेसम्म खुला रहने छ ।

मुगुको नाक्चे लाग्नासँगै डोल्पाको मायुम्ला नाका दुई साताका लागि खुला गरिने प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसीले बताए । ‘चीनको हाटबजार ह्यजिमार क्षेत्रमा आउजाउ गर्न प्रवेशाज्ञा उपलब्ध गराउने तयारी भइरहेको छ ।’ उनले भने,‘नाका खुला गरिने समयावधिभर नेपालतर्फ सुरक्षा व्यवस्था मिलाइएको छ ।’

नाक्चे लाग्ना नाका भएर स्थानीय बासिन्दा आवश्यक सामग्री खरिद गर्न हाटबजार जाने गरेका छन् । अस्थायी नाका खोल्न र हाटबजार नियमित रुपमा सञ्चालन गर्न नेपालस्थित चिनियाँ दूतावास र परराष्ट्र मन्त्रालयबिच सहमति भएको हो ।

हाटबजारमा काठका सामग्री, जुत्ता, जडीबुटी, सिमेन्ट, जस्तापाता, चामल, छुर्पी, चिया, लत्ताकपडालगायत सामग्री किनबेच हुने गरेको मुगम कार्मारोङ गाउँपालिकाका अध्यक्ष छिरिङ क्याफ्ने लामाले बताए ।

‘नेपालतर्फ सडक सुविधा छैन । स्थानीय र व्यापारीले घोडा, खच्चर र चौरीगाईको सहयोगमा व्यापार गर्ने गर्छन् ।’ उनले भने,‘नाका खुल्ने भएपछि उत्तरी क्षेत्रका बासिन्दालाई केही राहत हुने भएको छ ।’

सस्तो दैनिक उपभोग्य वस्तु किनबेच गर्न नाका खुला भएपछि सहज हुने बताउनुहुन्छ । सदरमुकाम गमगढीबाट नाग्चे लाग्ना नाकासम्मको ८७ किमी सडक बनाउने कार्य अघि बढेको मुगुम कार्मारोङ गाउँपालिका–१ का वडाध्यक्ष च्यावा लामाले बताए । ‘हालसम्म १७ किमी सडकको ट्र्याक खोल्ने काम सकिएको छ ।’ उनले भने,‘नाग्चे लाग्ना नाका मुगु र तिब्बतको झोङ्बा काउन्टीस्थित नाइजु जोड्ने नाका हो ।’

हुम्लाबाट पाँच हजार सात सयले लिए सीमा पास
वैशाख महिनादेखि हालसम्म जिल्ला प्रशासन कार्यालय हुम्लाले पाँच हजार सात सय ८० जनालाई हिल्सा नाका हुँदै चीनको ताक्लाकोट पुग्ने सीमा पास दिएको छ । दैनिक जिल्ला प्रशासन कार्यालयबाट सीमा पासका लागि पाँच जनादेखि आठ जनासम्म लिने गरेको जिल्ला प्रशासन कार्यालय हुम्लाले जनाएको छ । अहिलेसम्म सीमा पास लिनेहरुमा तीन हजार महिला र दुई हजार सय ८० पुरुष रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

उत्तरी नाकामा चिनियाँको मनपरी
छ वर्षयता सीमाको परिस्थिति भने मनपरी देखिएको छ । सीमा सञ्चालनमा कुनै निती नियम छैनन् । स्थानीय व्यवसायीका अनुसार कुन बेला नाका बन्द गर्ने, कुन बेला खुला गर्ने, कुन सामान बढी पठाउने, कुन कम पढाउने, वस्तुको कोटा कति तोक्नेजस्ता काम चिनियाँ पक्षको तजबिजीमा चल्ने गरेको छ । जसले उत्तरी नाकामा बस्ने नेपालीको जनजीवनलाई असहजतातिर डो¥याउँदै छ ।

हुम्लाका दुई नाका अझै खुलेनन्
हुम्लाको उत्तरी हिल्सा नाका खुले पनि हुम्लाको चंखेली गाउँपालिका–५ स्थित रहेको टाँके नाका र सिमकोट गाउँपालिका १ स्थित रहेको च्वाखोला नाका छ वर्षदेखि खुलेको छैन ।

चीनसँग जोडिएको हुम्लाको टाँके नाका र च्वाखोला नाका नखुलेपछि स्थानीय बासीहरूलाई दैनिक उपभोग्य वस्तु आयतमा समस्या भएको चंखेली गाउँपालिका–५ का भियाले तामाङले बताए ।

२०७६ सालको कोरोना महामारीदेखि टाँके नाका बन्द भएपछि चीनबाट आउने लुगाकपडा, दैनिक उपभोग्य वस्तु ठप्प भएको तामाङले बताए । छ वर्षबितिसक्दा पनि हुम्लाको टाँकेनाका र च्वाखोला नाका अहिलेसम्म ठप्प देखिएको छ ।

तपाईको प्रतिक्रिया