विद्यमान संघीय संरचनामा नागरिकलाई सेवा प्रवाह गर्ने सबैभन्दा नजिकको तह स्थानीय सरकार हो । एकात्मक संरचनाका स्थानीय निकायको तुलनामा संघीय संरचनामा स्थानीय सरकारले बढी संवैधानिक अधिकार पाएका छन् । पुराना स्थानीय निकायलाई अधिकार सम्पन्न बनाउन विगतका दशकमा केही प्रयत्न नगरिएका होइनन् ।
पञ्चायतकालमा नै स्थानीय शासनको अभ्यास शुरु भए पनि त्यसबेलाका स्थानीय निकायहरु मूलतः केन्द्रीकृत शासन व्यवस्थाअन्तर्गत प्रशासनिक विकेन्द्रीकरणका आधारमा बनाइएका थिए । २०४६ मा प्रजातन्त्रको पुनःस्थापनापश्चात पनि स्थानीय निकायको कार्यसञ्चालन आधारभूत रुपमा भिन्न नभई पहिलेकै केन्द्रीय संरचना अन्तर्गत निर्देशित थिए ।
स्थानीय निकायलाई अधिकारसम्पन्न बनाउने उद्देश्यले पहिलो पटक स्थानीय स्वायत्त शासन ऐन, २०५५ कार्यान्वयनमा ल्याइयो । यस ऐनले विकेन्द्रीकरणद्वारा नागरिकलाई शासन प्रक्रियामा अधिकाधिक सहभागी गराउने, आफ्नो क्षेत्रको विकासका लागि साधनस्रोतको परिचालन गर्ने, विनियोजन र विकासको प्रतिफलको सन्तुलित तथा समान वितरण गर्दै सामाजिक समानता ल्याउन प्रयत्न गर्ने, तथा योजना तर्जुमा र सञ्चालन गर्न आवश्यक जिम्मेवारी र अधिकार स्थानीय स्तरमा नै प्रदान गरी स्थानीय निकायलाई जवाफदेही बनाउने उद्देश्य लिएको थियो ।
तर सिद्धान्ततः विकेन्द्रीकृत राज्य सञ्चालनको अवधारणा स्वीकारेका राजनीतिक दल र कर्मचारी संयन्त्रले व्यवहारमा भने विकेन्द्रीकरणलाई कमजोर बनाउने गरी केन्द्रीकृत शासन प्रणालीको अभ्यासलाई नै निरन्तरता दिए । त्यसैको एउटा उदाहरण बनेको सल्यानको वनगाड कुपिण्डे नगरपालिकाले जसले बेलगाम खर्च गर्दै आएको महालेखापरीक्षक कार्यालयको आर्थिक वर्ष २०७९/०८० प्रतिवेदन–२०८१ ले देखाएको छ ।
२१ लाख बढीकाे विविध खर्च
महालेखा नियन्त्रक कार्यालयद्धारा प्रकाशित एकिकृत आर्थिक संकेत तथा वर्गीकरण र व्याख्या, २०७४ अनुसार खर्च संकेत नं.२२७११ विविध खर्च शिर्षकबाट बार्षिक कार्यक्रममा स्वीकृत भएका मनोरञ्जन, प्रदर्शन, चियापान र भोजहरु सम्बन्धी खर्च, कार्यालय सुरक्षा सम्बन्धी आवश्यक खर्च, प्रतिनिधि मण्डलको स्वागत खर्च र अतिथि सत्कार खर्च र अन्य कुनै खर्च शिर्षकमा नपरेका नियमानुसार गर्नुपर्ने विविध खर्च भुक्तानी गर्ने व्यवस्था छ ।
तर, वनगाड कुपिण्डे नगरपालिकाको विविध खर्च शिर्षकमा ४० लाख बजेट व्यवस्था गरेकोमा २१ लाख ५५ हजार सात सय ३५ रुपैयाँ खर्च गरेको महालेखा परीक्षकको कार्यालयको प्रतिवेदनमा उल्लेख गरिएको छ । महालेखाका अनुसार उक्तखर्चमा होटलको बिल पेश हुने गरेको र बिलमा खाजा, खाना, नास्ता लगायत समावेश हुने गरेको छ ।
खर्च संकेतको वर्गीकरणमा उल्लेख भए अनुसार स्वागत कार्यक्रमको चियापान, भोज सम्बन्धी, सुरुक्षा, प्रतिनिधि मण्डलको स्वागत कार्य भएको खर्च पुष्टि हुने प्रमाण कागजात संलग्न नगरी होटल बिलमात्र गरेको छ । खर्चका प्रत्येक बिलमा के कुन कार्यक्रम वा समारोहमा खर्च भएको हो पुष्टि हुने उपस्थिति लगायतका प्रमाण पेश गर्नुपर्दछ ।
महालेखाले औचित्य पुष्टि नहुने खर्चलाई नियमित मान्न नसकिने, प्रत्येक खर्चको औचित्य पुष्टि हुने प्रमाण कागजात पेश गरि यस्तो खर्चमा नियन्त्रण तथा मितव्ययिता ल्याउनुपर्ने महालेखाको सुझाव रहेको छ ।
रेजिना नास्ता पसल र सन्देश खाजा घरमा खाना नास्ता एक लाख २८ हजार दुई सय ७० रुपैयाँ, न्यू फुलवारी गेष्ट हाउस सन्देश नास्ता उद्योगमा खाना नास्ता ८९ हजार १२ रुपैयाँ, अमर होटलमा खाना नास्ता ७६ हजार दुई सय ५० रुपैयाँ, न्यू फुलबारी गेष्ट हाउसमा खाना नास्तामा ९८ हजार छ सय ८० रुपैयाँ र अमर थापालाई खाना नास्तामा ६२ हजार पाँच सय रुपैयाँ भुक्तानी दिएको महालेखाको जनाएको छ ।
आफ्नो सम्पतीको अभिलेख नै राख्दैन् नगरपालिका
सम्पत्तिको प्राप्ति उपयोग र संरक्षण आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली अनुसार घर जग्गा तथा सम्पत्तिको लगत राख्नुपर्ने, सार्वजनिक खरिद ऐन, २०६३ को दफा ८.२ अनुसार मितव्ययी तरिकाले खर्च गर्नुपर्ने व्यवस्था रहेकोमा वनगाड कुपिण्डे नगरपालिकाले सार्वजनिक सम्पत्तिको प्राप्ति उपयोग तथा संरक्षणको अवस्था विश्लेषण गर्न देखिएको व्यहोरा निम्न देखिएको महालेखाले जनाएको छ ।
घर जग्गा क्षेत्रफल ६३५.९ वर्गमिटर सवारी साधन दुइ पाङग्रे सवारी साधन २८ वटा यसको मूल्य ४२ लाख ९१ हजार एक सय ३५ रुपैयाँ, सवारी साधन चार पाङग्रे दुई वटा यसको मूल्य ८० लाख २६ हजार पाँच सय ४८ रुपैयाँ, ट्रिपर एउटा दुई करोड ४१ लाख नौ हजार चार सय ६९ रुपैयाँ, एम्बुलेन्स दुई वटा २१ लाख ३२ हजार एक सय ९० रुपैयाँ, र व्याकह लोडर एउटा तीन करोड ४१ लाख नौ हजार रुपैयाँ मूल्य रहेको महालेखाले जनाएको छ ।
आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ को नियम १०२ बमोजिम सरकारी कार्यालयको नाममा रहेको घर जग्गाको लगत राख्नुपर्नेमा पालिकाको सबै घर जग्गाको अभिलेख नराखेको र मूल्य नखुलेका सम्पति तथा सामानको मूल्य खुलाइ अभिलेख राखेको नपाईएको महालेखाले जनाएको छ ।
त्यस्तै, महालेखाका अनुसार यन्त्र उपकरण सञ्चालन पालिकामा रहेका ट्रिपर, व्याकहो लोडर लगायत मेशिनरी उपकरण सञ्चालन उल्लेख गरी पालिकाले इन्धन, चालक पारिश्रमिक, मर्मत वापत गरेको खर्च र सञ्चालन वापतको आयको छुट्टै अभिलेख राखेको पाईएन । एकातर्फ उक्त उपकरण सञ्चालनको पुर्ण रुपमा लगसिट राखेको छैन भने अर्कोतर्फ लगानी र आय विष्लेषण समेत गरेको पाइएन ।
उक्त उपकरणहरु सञ्चालन सम्बन्धी कुनै कार्यविधि तयार नगरेको कारण पालिकाका पदाधिकारीहरुको मौखिक निर्देशनमा सञ्चालन हुने गरेको पाइयो । यसरी सञ्चालन हुँदा यन्त्र उपकरण सञ्चालन व्यवस्थित सकेको छैन भने प्राप्त आय प्रति विश्वस्त हुन सक्ने अवस्था रहेको छैन ।
महालेखा अनुसार नगरपालिकाको उपकरणहरु मार्फत प्रदान गरिने सेवा वा सञ्चालनको आय र व्यय व्यवस्थित रुपमा पारदर्शी तवरले अभिलेख राख्नु पर्ने र यस्ता उपकरण सञ्चालन गर्दा लागत लाभ विश्लेषण समेत गर्न सुझाव दिएको छ ।
पदाधिकारी र कर्मचारी आँखा इन्धनमा
वनगाड कुपिण्डे नगरपालिकाले आर्थिक वर्ष २०८०÷०८१ मा सवारी इन्धनमा ४८ लाख ८२ हजार तीन सय ६४ रुपैयाँ खर्च भएको महालेखाले जनाएको छ । सवारी इन्धन खर्च लेख्दा सम्बन्धित सवारी साधनमा खपत भएको इन्धन खर्चको अभिलेख राखिएको नदेखिएकोले इन्धन खर्चको अभिलेख राख्न महालेखाले जनाएको छ ।
कर्णाली प्रदेश स्थानीय तहका पदाधिकारी तथा सदस्यहरूको सुविधा सम्बन्धी ऐन, २०७७ को दफा ९ को अनुसुचि १ मा प्रमुखको सवारी साधनलाई माशिक ८० लिटर डिजल उपप्रमख मासिक ८० लिटर डिजल र वडाध्यक्ष मासिक २५ लिटर पेट्रोल सवारी इन्धन पाउने व्यवस्था छ ।
त्यस्तै, अर्थ मन्त्रालयबाट प्रकाशित सार्वजनिक खर्च मापदण्ड निर्देशिका, २०७७ को दफा ७.१.१६ मा ३० जनासम्म कर्मचारी दरबन्दी रहेको कार्यालयमा मासिक १०० लिटर डिजेल र ७५ लिटर पेट्रोल तथा प्रति मोटरसाईकल १० लिटर पेट्रोल खर्च लेखे व्यवस्था छ ।
तर, वनगाड कुपिण्डे नगरपालिकामा पदाधिकारीको लागी दुई वटा हलुका सवारी साधन र १२ वटा मोटरसाइकल प्रयोग भएको छ भने कार्यप्रयोजनको लागी दुई एम्बुलेन्स, १२ वटा मोटरसाइकल, ट्रिपर १ ब्याकहो लोडर रहेकोमा त्यसका लागी पदाधिकारीहरुका लागि इन्धनमा १२ लाख ६६ हजार नौ १६ रुपैयाँ र इन्धन (कार्यालय प्रयोजन) मा ३६ लाख १५ हजार चार ४८ रुपैयाँ ९४ पैसा वजेट खर्च गरेको महालेखाले जनाएको छ ।
प्रचलित कानुन, आफ्नो आन्तरिक आयको परिधिभित्र रही औचित्यताको आधार र कार्यालयको कार्यबोझको आधार समेत एकिन गरी पदाधिकारी तथा कर्मचारीलाई सवारी साधनको लागी पाउने ईन्धन सुविधा अतिरिक्त पालिकामा रहेका हेभि इक्विमेन्ट उपकरणको प्रयोग र ईन्धन खर्चको तादम्यता मिल्ने नदेखिएको महालेखाले जनाएको छ । कानुन तथा मापदण्ड अनुसार हुने र भएको इन्धन खर्चबीच ठूलो रकम फरक परेको कारण यसतर्फ पालिकाको ध्यान दिइ मापदण्ड भित्र रहेर मात्र ईन्धन खर्च गर्न महालेखाले सुझाव दिएको छ ।
प्रमुख/उपप्रमुखले लिए दोहोरो इन्धन सुबिधा
त्यस्तै, नगरपालिकाका प्रमुख र उपप्रमुखले दोहोरो इन्धन सुबिधा लिएको महालेखाले जनाएको छ । कर्णाली प्रदेश स्थानीय तहका पदाधिकारी तथा सदस्यहरूको सुविधा सम्बन्धी ऐन, २०७७ को दफा १६ मा ऐनमा पदाधिकारी तथा सदस्यले तोकिएको भन्दा वढी सुविधा लिन नहुने व्यवस्था छ ।
नगरपालिकाका प्रमुख नगर प्रमुख कर्ण बहादुर बुढाथोकी र उपप्रमुख उपप्रमुख पुरुषोत्तम आचार्यले दुई लाख २० हजार तीन सय ९४ रुपैयाँ पदाधिकारीको सवारी साधनले कुपनमार्फत लिएको इन्धन अलावा पदाधिकारीले समेत इन्धन बापतको रकम भुक्तानी लिएको देखिएकोले दोहोरो भुक्तानी भएको इन्धन खर्च असुल गर्न महालेखाले निर्देशन दिएको छ ।
साढे ३१ लाख दैनिक भ्रमण भत्ता
भ्रमण खर्च नियमावली, २०६४ मा कुनै कर्मचारीलाई भ्रमणमा खटाउँदा भ्रमणको उद्देश्य उल्लेख गर्नुपर्ने, भ्रमणबाट फर्केपछी उद्देश्य अनुरुप कार्यसम्पादन गरेको प्रमाणित हुने कागजात सहित भ्रमणको उपलब्धी समेत उल्लेख गरी भ्रमण प्रतिवेदन पेश गर्नुपर्ने र भ्रमण गर्ने कर्मचारीको अभिलेख अनुसूची ६ को ढाँचामा राखुपर्ने व्यवस्था छ ।
साथै भ्रमणमा खटाउने पदाधिकारीले विश्वत्रीय आधार र प्रमाण स्थापित हुने गरी आवश्यकता अनुसार आन्तरीक नियन्त्रण प्रणालिको व्यवस्था गर्नुपर्ने उल्लेख छ । तर, नगरपालिका कार्यालयले भ्रमण खर्च शिर्षकमा ३१ लाख ५५ हजार नौ सय १५ रुपैयाँ खर्च गरेको छ । महालेखाका अनुसार कार्यालयले भ्रमण अभिलेख खाता राखेको छैन । के कति कर्मचारीलाई के कति वटा भ्रमण आदेश जारी भएको थियो भनि यकिन गर्ने स्थिती देखिएन । भ्रमण अभिलेख खाता अनिवार्य राख्न महालेखाले जनाएको छ ।
अस्वभाविक मर्मत सम्भार खर्च
सार्वजनिक खरिद नियमावली, २०६४ को नियम ९६ मा सार्वजनिक निकायमा रहेको कुनै मालसामान मर्मत गर्नुपर्ने भए लागत अनुमान स्विकृत गराई मालसामानको आफ्नै वर्कसप र मर्मत केन्द्र भए सार्वजनिक निकायले त्यस्तो मालसामानको मर्मत त्यस्तो बर्कसप वा सवारी साधन तथा मेशिनरी औजारको आधिकारीक बिक्रेताको मर्मत केन्द्रबाट गराउनुपर्ने व्यबस्था छ ।
तर, वनगाड कुपिण्डे नगरपालिकाले आर्थिक वर्ष २०८०/०८१ मा सवारी साधन मर्मत चार लाख १५ हजार एक सय ८५ रुपैयाँ र मेशिनरी तथा औजार मर्मत संभारमा १७ लाख ६८ हजार चार सय ९१ रुपैयाँसमेत २१ लाख ८३ हजार छ सय ७६ रुपैयाँ खर्च लेखेकोमा नियमावलीको प्रक्रिया बमोजिम लागत अनुमान स्विकृत गरी सवारी साधन तथा मेशिनरी औजारको आधिकारीक बिक्रेताको बर्कसप वा मर्मत केन्द्रबाट मर्मत गराएको नदेखिएको महालेखाले जनाएको छ ।
यस्तो छ खर्च बिश्लेषण
वनगाड कुपिण्डे नगरपालिकाले आर्थिक वर्र्ष २०८०/०८१ मा कुल आन्तिरक आयबाट ८५ लाख ८९ हजार सात सय ९३ रुपैयाँ राजस्व बाँडफाँड र अनुदानबाट ५२ करोड ४७ लाख ४३ हजार ५७ रुपैयाँसमेत ५३ करोड ३३ लाख ३२ हजार आठ सय ५० रुपैयाँ आम्दानी भएकोमा चालु तर्फ ३४ करोड २९ लाख ६७ हजार नौ सय ८१ रुपैयाँ र पूँजिगत तर्फ १९ करोड ५० लाख ५६ हजार चार सय ५६ रुपैयाँसमेत ५३ करोड ८० लाख २४ हजार चार ३७ रुपैयाँ खर्च भएको छ ।
खर्चमध्ये आन्तरिक आयको हिस्सा १.५९ प्रतिशत रहेको छ । पदाधिकारी सुबिधामा एक करोड २५ लाख ८७ हजार नौ सय ६६ रुपैयाँ खर्च भएको छ जुन आन्तरिक आयको १४६.५४ प्रतिशत रहेको छ । पालिकालाई प्राप्त भएको सबै अनुदान र राजस्व बाँडफाँडको रकमबाट ६४.३० प्रतिशत चालु र ३६.५७ प्रतिशतमात्र पूँजिगत निर्माणमा खर्च भएको देखिन्छ ।
यसबाट पालिकाले विकास निर्माण कार्यक्रम सञ्चालनमा न्युन खर्च गरी प्रशासनिक कार्यमा बढी खर्च गरेको देखिन्छ । प्रशासनिक खर्च नियन्त्रण गर्दै प्राप्त अनुदान र राजस्व बाँडफाँडको रकम अधिकरुपमा विकास निर्माणमा परिचालन गर्न महालेखाले जनाएको छ ।
त्यस्तै, लेखापरीक्षणबाट ९३ लाख १७ हजार बेरुजू देखिएको छ । सो सम्बन्धमा प्रतिक्रिया प्राप्त नभएकोले यो वर्ष असुल गर्नुपर्ने चार लाख ४७ हजार, प्रमाण कागजात पेस गर्नुपर्ने छ लाख २२ हजार र नियमित गर्नुपर्ने ५० लाख २० हजार र पेश्की बाँकी ३२ लाख २८ हजार समेत ९३ लाख १७ हजार बेरुजु बाकी रहेको छ । बनगाड कुपिण्डे नगरपालिकाको विगतका वर्षसम्म १७ करोड ६३ लाख ४० हजार बेरुजू बाँकी रहेकोमा हालसम्मको अद्यावधिक बेरुजू १८ करोड ११ लाख २७ हजार पुगेको छ ।
(महालेखा परिक्षकको प्रतिवेदनमा विविध खर्च अन्तरगत खाना, नास्ता, अतिथि सत्कारसहित पर्ने भएकोले यस अगाडी प्रकाशित समाचार भातमासुमा २१ लाख खर्च लेखिएकाे समाचारकाे हेडिड तथा शिर्षकहरु सच्याइएकाे व्यहाेरा जानकारी गराइन्छ )
रमेश रावल । सुर्खेत । १३ श्रावण २०८१, आईतवार ०९:२०