कर्णाली प्रदेशको प्रदेश प्रमुखमा बझाङका यज्ञराज जोशी नियुक्त भएका छन् । मन्त्रिपरिषद्को गत सोमबार बसेको बैठकको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले जोशीलाई कर्णाली प्रदेशको प्रमुखमा नियुक्त गरेका हुन् ।
पुर्ख्यौँली घर बझाङको भातेखोला भएका जोशी हाल कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ कटानमा बसोबास गर्दै आएका छन् । जोशीले बीएसम्मको अध्ययन गरेका छन् ।
विसं २०२५/०२६ तिर बझाङको सत्यवादी माध्यमिक विद्यालयबाट एसएलसी उत्तीर्ण गरेका उनले त्रिभुवन विश्वविद्यालयबाट स्नातकसम्मको अध्ययन पूरा गरे ।
जोशी पत्रकारिता छोडेर कांग्रेसको राजनीतिमा होमिएका हुन् । पत्रकारिता गर्नुअघि खाद्य संस्थान, परिवार नियोजन संघलगायतमा काम गरे । पढाइ र रोजगारीकै सिलसिलामा जोशी बझाङबाट तराईं झरेका हुन् ।
विसं २०४४/०४५ सालसम्म महेन्द्रनगरमा उनी पत्रकारितामा थिए । स्थानीय महाकाली साप्ताहिक पत्रिकाको प्रकाशक, सम्पादकको भूमिका उनले निर्वाह गरे ।
झण्डै साढे तीन दशकअघि पत्रकारितालाई बिट मारेर जोशी कांग्रेसको राजनीतिमा सक्रिय भए । एक कार्यकाल नेपाली कांग्रेस कञ्चनपुर हाँकेका उनी केन्द्रीय सदस्यसम्म बने ।
बहुदल आएपछि ०४९ सालमा भएको पहिलो स्थानीय तह चुनावमा तत्कालीन महेन्द्रनगर नगरपालिकाको मेयरमा निर्वाचित भए, जोशी ।
उनी महेन्द्रनगर नगरपालिकाका पहिलो मेयर हुन् ।
०६४ सालको पहिलो संविधानसभा चुनावमा कांग्रेस सभापति शेरबहादुर देउवा डडेल्धुरा र कञ्चनपुर क्षेत्र नम्बर ४ बाट विजयी भएपछि उनले कञ्चनपुर छोडे । त्यसपछि भएको उपचुनाव लडेका जोशी माओवादीसँग पराजित भए ।
२०७४ सालको प्रदेश चुनावमा कञ्चनपुर ३(१) बाट चुनाव लडेका जोशी झिनो मतले हारेका थिए । संसदीय चुनाव नजितेका उनै जोशीलाई प्रदेश प्रमुख बन्ने मौका मिलेको छ ।
युग संवाददाता । सुर्खेत । १७ श्रावण २०८१, बिहीबार १७:३६