जुम्लाको गुठिचौर गाउँपालिका–४ उखाडी गाउँका रामाकान्त पाण्डेको स्याउ बगैंचा राताम्य छ । अहिले उनको बगैंचामा लगभग ८ सय भन्दा स्याउका बिरुवा छन् । अहिले ४ सय बिरुवाले फल दिन्छन् । स्याउ पाकेसँगै बारी राताम्य भएपछि पाण्डे निकै खुसी छन् ।
मष्ठ माणु कृषि तथा स्याउ फार्म खोलेर उनले २०५३ साल देखि स्याउ खेती सुरु गरेका थिए । ‘स्याउले कलर दिइसकेको छ,’ उनले भने यतासिँजा गाउँपालिका–५ गोरागाउँका रामसिंह रावलको बारीमा झन्डै ७ सय स्याउका बिरुवा छन् ।
अहिले ३ सय बिरुवाले फल दिएको छ । गत वर्ष स्याउ बेचेर ५ लाख रुपैयाँ कमाएका उनी यो वर्ष आफ्नो आम्दानी ८ लाख रुपैयाँसम्म बढाउने दाउमा छन् । ‘अहिले पाक्न लागेका स्याउले जुम्लाका गाउँबस्ती राताम्य भएका छन् । स्याउ जुम्लाको आम्दानीको प्रमुख स्रोत हो,’ उनले भने, ‘बारीबाट काँचै स्याउ टिप्दा बजारीकरण र बगैंचा व्यवस्थापनमा मुख्य चुनौती छ ।’जुम्लाको एक नगरपालिकासहित ७ गाउँपालिकाका ६० वटा वडामै स्याउ फल्छ ।हरेकजसो बगैंचामा स्याउ लटरम्म फलेका छन् ।
जुम्लामा रेड, रोयल र गोल्डेन जातको स्याउ फल्ल छ । स्याउ पाकेसँगै बगैंचामा ब्यापारीहरुको चहलपहल बढेको छ । किसानहरु स्याउ टिप्न थालेका छन् । भने ब्यापारीहरु स्याउ खरिदको लागि बगैंचामै पुग्न थालेका छन् । जुम्लाको प्रमुख आम्दानीको स्रोत मानिएको स्याउ जिल्ला बाहिर निर्यातको लागि स्थानीय तहले सिफारिस दिन सुरु गरेका छन् । जिल्ला कृषि विकास कार्यालय जुम्ला र स्थानीय तहहरुले भदौ पहिलो सातासम्म स्याउ नटिप्न सुचना जारी गरेका थिए ।
कतिपय किसानले सुर्खेत र नेपालगञ्जसम्म स्याउ पठाइसकेका छन् । प्रतिकेजी बगैंचामै ७० रुपैयाँमा स्याउ बेचेको तिला–७ की लक्ष्मी रोकायाले बताइन् । उनका अनुसार यो पटक स्याउले छिटो कलर दिएको हो । गाउँमा स्याउ टिप्न किसानहरुलाई भ्याइनभ्याइ छ । उनले भनिन्, ‘यो वर्ष स्याउको उत्पादन पनि ठिकै भयो । मुल्य पनि पायो ।’ स्याउ किसानको लागि सरकारहरुले खेलाँची गरेको आरोप किसानको छ ।
जिल्ला कृषि विकास कार्यालयका अनुसार ३ हजार ९ सय हेक्टरमा स्याउ रोपिएको छ । झण्डै १९ हजार घरधुरीमा स्याउ बगैंचा छ । यो पटक १५ हजार मेट्रिक टन स्याउ उत्पादन हुने अनुमान गरिएको छ । कृषि कार्यालयका प्रमुख बालकराम देवकोटाले भने, ‘आठ हजार मेट्रिक टन स्याउ जिल्ला बाहिर निर्यात हुने अनुमान गरिएको छ । जसबाट यो वर्षमा ४० करोड आम्दानी हुने देखिएको छ ।’ जिल्ला कृषि विकास कार्यालयको बगैंचा व्यवस्थापनका लागि कृषि प्राविधिकहरु बगैंचामै पठाउने गरेको छ ।
मलखाद्यको व्यवस्थापन देखि काँटछाँट गर्न पनि प्राविधिकहरु स्याउ किसानहरुसँगै खटिइरहेका हुन्छन् । प्रमुख देवकोटाका अनुसार जुम्ली स्याउ सुर्खेत,नेपालगञ्ज, बुटवल, भैरहवा, काठमाडौं लगायतका सहरहरुमा जाने गरेको छ । स्याउको भण्डार र बजारीकरणको लागि राज्यले चासो नदेखाएको किसानहरुको गुनासो छ ।
स्याउ ढुवानी गर्ने कर्णाली राजमार्ग हिलाम्य र धुलाम्मे हुने भएकोले निर्यात गर्न असहज भइरहेको स्याउ ब्यापारी कृष्ण बुढाले जानकारी दिए । एक बगैंचा हुनको लागि न्युनतम २५ विरुवा स्याउ रोपेको हुनुपर्छ । कुनै पनि केमिकल प्रयोग नहुने भएकोले जुम्ली स्याउलाई अर्ग्यानिक स्याउ समेत भन्ने गरिएको छ । जुम्लाले पछिल्लो समयमा स्याउका विरुवा र दाना बेचिरहेको छ ।
गाेल्डेन बुढा । जुम्ला । १ भाद्र २०८१, शनिबार १८:३१