कर्णाली प्रदेशको समृद्धि र विकासका विषयमा समीक्षा गर्नुपर्ने


कर्णाली प्रदेशका प्रदेश प्रमुख यज्ञराज जोशीले संघर्ष र बलिदानबाट प्राप्त कर्णाली प्रदेशको समृद्धि र विकासका विषयमा समीक्षा गर्नुपर्ने बेला आएको बताएका छन् ।

उनले चार जनाको बलिदानबाट प्रदेश स्थापना भएयता जनताको इच्छा र सहिदहरूको सपनालाई कति पूरा ग¥यौं भनेर सोच्ने बेला आएको बताए ।

‘स्रोत साधन सम्पन्न भएपनि कर्णाली पछाडि परेको छ, प्रदेश स्थापनापछि अहिलेसम्म के–के काम ग¥यौं,’ प्रदेश स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा प्रदेश प्रमुख जोशीले भने, ‘जनताको चाहना र सहिदको सपनालाई कति पूरा ग¥यौं भनेर तीन तहका निर्वाचित जनप्रतिनिधिहरूले समीक्षा गर्नुपर्ने बेला आएको छ ।’

उनले सङ्घीयताप्रति जनताको आशा र भरोसा बढाउने गरेर जनप्रतिनिधि र सरकारले काम गर्नुपर्ने बताए ।

उनले कर्णाली भाषा, संस्कृति, प्राकृतिक स्रोतलगायतले भरिपूर्ण भएपनि त्यसको उपयोगमा ध्यान दिन आवश्यक रहेको बताए । ‘नेपाली भाषाको जननी कर्णाली हो, बहुमूल्य जडीबुटीको भण्डार कर्णाली हो, धार्मिक र सांस्कृतिक केन्द्र कर्णाली हो, ताल तलैयाको भण्डारण कर्णाली हो, पेट्रोलियम पदार्थको भण्डारण कर्णाली हो’ प्रदेश प्रमुख जोशीले भने, ‘यति हुँदाहुँदै कर्णाली पछाडि छ, यसको समीक्षा आवश्यक छ ।’

उनले कर्णाली सम्भावनाको भण्डार भएपनि यहाँका युवाहरू रोजगारीका लागि काला पहाड जान लाइन लाग्नुपर्ने अवस्थाको अन्त्य हुनुपर्ने बताए ।

कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले प्रदेश प्राप्तिको आन्दोलनमा ज्यानको आहुति दिएका चार जना सहिदहरूको फोटो प्रदेश मातहतका सबै कार्यालयमा राख्ने निर्णय गरिएको बताए । ‘कर्णालीमा रहेका संघीय सरकार र स्थानीय तहलाई पनि आग्रह गछौं,’ उनले भने, ‘प्रदेश मातहतका सबै कार्यालयहरूमा सहिदहरूका तस्बिर राख्ने निर्णय भएको छ ।’

उनले प्रदेश प्राप्तिको आन्दोलनमा ज्यान गुमाएका परिवारका एक जना सदस्यलाई चालू आर्थिक वर्षदेखि रोजगार दिने निर्णय गरिएको पनि जानकारी दिए ।

यस्तै प्रदेश सरकारले कर्णाली प्रदेश अस्पतालका निर्देशक डा. डम्बर खड्कालाई सर्वोत्कृष्ट प्रदेश निजामती सेवा पुरस्कारबाट सम्मान गरेको छ ।

प्रदेश स्थापना दिवसको अवसर पारेर डा. खड्कालाई आर्थिक वर्ष २०८०÷०८१ को सर्वोत्कृष्ट प्रदेश निजामती कर्मचारीका रुपमा छनोट गरिएको प्रमुख सचिव चुडामणि पौडेलले जानकारी दिए । प्रदेश प्रमुख यज्ञराज जोशी, मुख्यमन्त्री यामलाल कँडेलसहितले ८५ हजार पुरस्कारसहित डा. खड्कालाई सम्मान गरेका थिए ।

यस्तै प्रदेश स्वास्थ्य निर्देशनालयका प्रमुख डा. रविन खड्का र डिभिजनल भू तथा जलाधार व्यवस्थापन कार्यालय सुर्खेतका प्रमुख शिखर चपाईँलाई उत्कृष्ट निजामती कर्मचारीका रुपमा सम्मान गरिएको थियो ।

तपाईको प्रतिक्रिया