सम्पादकिय : अब नागरिक पनि सचेत हुने की ?

आइतबार बिहानदेखि सिङ्गो कर्णाली प्रदेश नै विद्युतको राष्ट्रिय प्रशारणबाट अलग बन्यो । आइतबार बिहान पाँच बजेबाट अवरुद्ध भएको विद्युत सेवा झण्डै ३९ घण्टा बित्दासमेत नियमित नहुँदा यहाँका नागरिक उकुसमुकुस बन्नपुगे । कोहलपुर–सुर्खेत प्रशारण लाईन अन्तर्गत बर्दिया राष्ट्रिय निकुञ्जको बबई क्षेत्रमा रुख ढलेर विद्युत सेवा पूर्णरुपमा अवरुद्ध बनेको सूचना नेपाल विद्युत प्राधिकरण सुर्खेतले आइतबार बेलुका मात्रै जारी गरेको थियो । तर, समस्या भने सोमबार बेलुका ५ बजेपछि मात्रै समाधान भयो । कर्णालीमा यसरी लामो समयसम्म विद्युत जाने समस्या यो नौलो भने थिएन । यति मात्रै होइन यहाँ दैनिक बिना सूचना घण्टौंसम्म अघोषित लोडसेडिङ्ग हुने गरेको छ ।

पटक–पटक बिजुली गइरहने आएपनि भोल्टेज कम हुने समस्याले यहाँका नागरिक आक्रान्त बन्नु परेको अवस्था पनि नौलो होइन । प्राधिकरणको सुर्खेत वितरण केन्द्रले प्रदेश राजधानी वीरेन्द्रनगरमा वितरण गर्दै आएको विद्युत गर्मीको समयमा नियमित नहुँदा उपभोक्ताको दैनिकी असहज भएको भन्दै सामाजिक सञ्जालमा आउने गुनासा पनि नौला होइनन् । लो–भोल्टेज र ओभर भोल्टेजका कारण दैनिक ४० देखि ५० पटक बत्ती जाने आउने हुनाले ग्राहकलाई उत्तिकै सास्ती छ । विद्युत अनियमितताका कारण घरमा चिमहरु फ्यूज हुने, पंखाका क्वाइलहरु जाने, टेलिभिजनका स्क्रिनको डिस्प्ले जाने, आइसी उड्ने तथा मेसिनरी सामानहरुले राम्रोसँग काम नगर्ने समस्या उत्तिकै छ ।

बत्ती कतिखेर आउँछ जान्छ थाहा नै हुँदैन, विद्युत हुनु र नहुनुमा फरक हुँदैन । के कारण बत्ति जान्छ त्यो पनि ग्राहकलाई थाहा हुँदैन । आएको बत्तिले पनि राम्रोसँग पंखा घुम्ने अवस्था हुँदैन । फलस्वरुप कर्णालीमा ठुला कुनै पनि उद्योग, कलकारखाना स्थापना हुन सकेका छैनन्, साना–साना व्यवसायीका इक्वीपमेन्टहरुसमेत चलाउन नसक्ने खालको बिजुली आउने गरेको छ ।

कर्णालीमा वर्षौदेखि बिजुलीको समस्या प्रमुख हुनुको मुख्य कारण यहाँका नागरिक जागरुक नहुनु पनि एक हो । निजि क्षेत्र पनि खासै अनियमित बिजुलीका बारेमा खुलेर बोलेको अवस्था पनि देखिदैन । कर्णालीमा वर्षौदेखि बिजुली अनियमित हुँदा सरकारी निकाय आफ्ना संरचना सुधारमा जिम्मेवार छैनन् । नागरिक कानमा तेल हालेर बसेका छन् अनि समस्या समाधन हुने त कुरै हुँदैन । झण्डै ३५ वर्ष पुरानो संरचनाका कारण विद्युत अनियमित हुने समस्या बढेपछि कोहलपु–सुर्खेत प्रशारण लाईनको विकल्पका रुपमा सुदुरपश्चिमको कैलाली जिल्लाबाट ३३ केभिए विस्तार गर्न सुरु गरिएको पाँच वर्ष पुग्यो । पश्चिम सुर्खेतबाट विस्तार हुने यो लाईन केही समय अघि परीक्षण प्रशारण भएको जनाईएको थियो । तर, यो लाइन कता हरायो कसैलाई थाहा छैन । प्रदेश राजधानी मै बिजुलीको विकल्प राख्न नसक्ने राज्य संयत्र नागरिकप्रति कति उत्तरदायी छ भन्ने विषय भनिराख्नै परेन ।

कर्णालीमा बिजुली अनियमित हुनुको प्रमुख भागिदार नेपाल विद्युत प्राधिकरण वितरण शाखा सुर्खेत नै हो । राज्य नियन्त्रित व्यापारिक संयत्रले वर्षौदेखि एउटै समस्या दोहोरिदा आप्mना संरचना सुधार्न तथा वैकल्पिक उपाय खोज्नतर्फ ध्यान नदिनुले यसको पुष्टि गर्दछ । नागरिकबाट अघिल्लो महिना यति युनिट प्रयोग भएको थियो भन्ने अनुमानका भरमा महशुल तोक्ने प्राधिकरणले यसतर्फ ध्यान दिनु पर्छ कि पदैन ? कर्णालीको दीर्घकालिन बिजुलीको समस्या समाधान गर्न १३३ केभी प्रशारण लाईन नल्याउदासम्म सम्भव देखिदैन । तर, यसमा व्यवधान कायमै छ ।

यसले तीव्रता पाउनुपर्ने हो । आरक्षले नीतिगत समस्यामा पारेको छ । बैजनाथका स्थानीयले अवरोध गरेका छन् । समस्या समाधान गर्न तीनै तहका सरकारले ध्यान दिन सकेका छैनन् । यसमा प्राधिकरणको प्रमुख हात छ । नागरिकलाई झुक्याएर डीपीआर गर्ने तर समस्या समाधान गर्न अग्रसर नहुने प्राधिकरणलाई अब भने कर्णालीका नागरिकले सवक सिकाउन ढिला भइसकेको छ ।

तपाईको प्रतिक्रिया