सोमबार बिहान जनैपूर्णिमाको दिन मुगुको गमगाढ खोला डरलाग्दो गरी उर्लिएको थियो । एक वर्षभन्दा लामो समयदेखि निर्माणाधीन अवस्थामा अलपत्र मोटरेबल पुलको केही मिटर मास्तिर खोलामाथि जोखिमपूर्ण काठको लाप्कामार्फत यात्रुहरू वारपार गर्दै थिए । यस क्रममा दुई जना एक्कासि गमगाढको डरलाग्दो भेलमा खसे । लाप्कामार्फत खोला तर्न वारिपारि किनारमा पालो कुरेर बसेका केही यात्रु उद्धारको प्रयासमा खोलाको किनारैकिनार दौडिए । करिब दुई सय मिटर तलसम्म बगेपछि दुवै जनाको उद्धार गरियो । खोलामा खसेका सक्कली शाही (भाउजू) र सपना मल्ल (नन्द) मृत्युको मुखमा पुगेर बाँचे । लाप्कामा हिँड्ने क्रममा खुट्टा असन्तुलित भएर लरखराएकी सपनालाई जोगाउने हुँदा सक्कली पनि खोलामा खसेकी थिइन् ।
मुगुको छायाँनाथ रारा नगरपालिका– १ मा गमगढी–नाक्चेलाग्ना चीनको तिब्बत जोड्ने सडक पर्छ । यही सडकअन्तर्गत अल्कासाँघुको गमगाढ खोलामा भएको घटनाको भिडियो सोसल मिडियामा फैलिइरहेको छ । सक्कली र सपना छायाँनाथ रारा नगरपालिका– १ का बासिन्दा हुन् । उद्धार गरिएका दुवैको अवस्था सामान्य छ । स्थानीय जनप्रतिनिधिका अनुसार, बाहिर आएको भिडियो फुटेजमा दुई जना मात्र खसेको देखिए पनि त्यो दिन लाप्का तर्ने क्रममा ६ जना खसेका थिए । जनैपूर्णिमाका दिन छायाँनाथ धाम पुगेर फर्किने क्रममा सक्कली र सपनासहित नमराज मल्ल, धर्मराज विक, विष्णु विक, सञ्जु विक र पिउलीसरा विक खोलामा खसेको बताए । यीमध्ये नमराजको टाउकोमा चार वटाभन्दा बढी टाँका लगाउनुपरेको थियो । सबैलाई स्थानीयवासीले उद्धार गरेका थिए ।
खोलामा पक्की पुल नहुँदा मुगुम कार्मरोङ गाउँपालिका– १६ र छायाँनाथ रारा नगरपालिकाका १९ बस्ती गरी ३५ वटा गाउँका स्थानीय जोखिम मोलेर जिल्ला सदरमुकाम गमगढी आउजाउ गर्दै आएका छन् । मुगुम कार्मरोङ तिब्बतको सीमामा रहेको गाउँपालिका हो । रारा नगरपालिकाका ४ वटा वडा र मुगुम कार्मरोङका सम्पूर्ण गाउँपालिकावासीले नुनतेल किन्नदेखि सदरमुकाम गमगढी, नेपालगञ्ज शहर जान खोलाको यही लाप्कामाथि चढेर आवतजावत गर्नुपर्ने बाध्यता छ । यो जोखिमपूर्ण लाप्कामार्फत विद्यार्थीसमेत आवतजावत गर्छन् । आफ्ना सामान बजारसम्म लैजान भारी बोकेरसमेत स्थानीयले लाप्का वारपार गर्दै आएका छन् । दैनिक ५/६ सय मान्छे यही लाप्कामार्फत ओहोरदोहोर गर्छन् । यसअघि नै जोखिम कम गर्ने उपायमा काम नगरेको भन्दै धेरैले नगरपालिका नेतृत्वको समेत आलोचना गरेका गर्दै आएका थिए । बर्खा लाग्दा स्थानीयवासी खोला तर्न यस्तै जोखिमपूर्ण उपाय अपनाउन बाध्य छन् ।
स्थानीयवासीको ज्यान दाउमा राखेर खोलामाथि तेर्स्याइएको लाप्काभन्दा केही मिटर तल्तिर बन्दाबन्दैको मोटरेबल पुल वर्षदिनदेखि अलपत्र छ । कर्णालीका लागि यस्ता घटना भने नौला होइनन् । कर्णालीमा कहिले तुइन चुटेर सर्वसाधारण खोलामा खस्छन्, कहिले पुलको लठ्ठा चुडिएर ढुवानीका लागि प्रयोग गरिने खच्चर कर्णाली नदीमा खस्छन् । तर, राज्य यसतर्फ बेखबर बनिरहेको छ । मगुका स्थानीयहरुलाई सुरक्षित खोला आवतजावत गराउन सरकारी प्रयास भने नभएको होइन । तर, सरकारभन्दा पनि बलिया ठेकेदार बन्दा मारमा नागरिक परेका छन् । गमगाढ खोलामा ४० मिटरको पक्की पुल बनाउन २०७८ सालमै ठेक्का लागेको थियो । निर्माणको जिम्मा हिम सगरमाथा प्रालिले लिएको छ ।
तर, कम्पनीले तीन वर्ष बितिसक्दा खोलाको वारी र पारी दुई वटा पिलर उठाउनु सिवाय कुनै काम गरेको छैन । यो कम्पनीले मुगुमा साना ठूला गरी १० पुल बनाउन ठेक्का पाएको तीन वर्ष भइसक्दा पनि सम्पन्न नगरेर अलपत्र पारेको छ । संघीय सरकारको ८ करोड बजेटमा निर्माण थालिएको पुलको एक वर्षभन्दा लामो समयमा फाउन्डेसन मात्रै बनाएर नागरिकलाई दुख दिने ठेकेदारलाई साइजमा ल्याउन राज्य संयन्त्रसँग ल्याकत छैन । मिलेमतोमा ठेक्का हात पार्ने अनि विभिन्न बहानामा अलपत्र पार्ने ठेकेदारलाई उन्मुक्ति दिन जिम्मेवार निकाय नै लागि परेका छन् । राज्यको करोडौं रकम हात पारेर समयमै गर्नुपर्ने काम नगरी नागरिकलाई सास्ती दिने निर्माण व्यवसायीयलाई नियमनको दायरामा ल्याउन ढिलाई गरिनु हुँदैन । तत्काललाई खोला तर्न मिल्ने सुरक्षित विकल्प तयार गरी राज्यले नागरिकलाई सुरक्षाको अनुभुति गराउनतर्फ ध्यान दिनुपर्दछ ।
युग संवाददाता । सुर्खेत । ६ भाद्र २०८१, बिहीबार ११:५२