जुम्लाको चन्दननाथ नगरपालिका-२ भण्डारीबाडा गाउँका ५८ वर्षीय रत्नबहादुर भण्डारीले गरिबीका कारण पढ्न पाएनन् । जुम्लाको चन्दननाथ मावि खलंगामा कक्षा १० सम्म उत्तीर्ण गरेका रत्नबहादुरको पढाइमा गरिबीको पहाड उभियो । आफूले पढ्न नसकेको पीडा सम्झिँदै रत्नबहादुर अहिले सन्ततिको भविष्य बनाइरहेका छन्।आयआर्जनका अरु काम नभएपछि उनले २०५२ सालमा ६५ वटा स्याउका विरुवा रोपेर बगैंचा स्थापना गरे ।
उतिबेला प्रति स्याउका विरुवा दुई रुपैयाँ थियो । विरुवा खरिद गर्ने दुई रुपैयाँको जोहो गर्न पनि हम्मेहम्मे पर्यो । रोपेको तीन वर्षमै उत्पादन दिन थाल्यो । अहिले उनको बगैंचामा ३ सय ६५ स्याउका विरुवा छन् । सबै विरुवाले फल दिन्छन् । स्याउबाटै उनको वार्षिक आम्दानी ४ देखि ५ लाख रुपैयाँसम्म छ ।स्याउकै आम्दानीले रत्नबहादुरले २३ वर्षीय छोरा दिनेश भण्डारीलाई काठमाडौंमा बसालेर सिभिल इन्जिनियर पढाइरहेका छन् । एकमी कलेजमा पढिरहेका दिनेशको पठनपाठन पनि राम्रै छ । त्यसअघि दिनेशले नासा कलेजमा पढेका थिए ।
एसइइपछि छोराको पढाइमा झण्डै ४० लाख जति खर्च भइसकेको उनले बताए ।रत्नबहादुरले भने, ‘आफूले खर्च नहुँदा धेरै आशा मार्नु परे पनि छोराछोरीको भविष्यमा कुनै बाधा आउन दिनेछैन ।’ रत्नबहादुरले बगैंचामा मलका लागि स्थानीय र उन्नत जातका गरेर १३ वटा गाइपालेका छन् । गाईको दुध बेच्न सदरमुकाम खलंगाको कालेखोलीमा डेरी खोलेका छन् ।
दुध बेचेर पनि उनले मासिक १५ देखि २० हजार कमाइरहेका छन् । छोराको पढाइ फागुनमा सकिँदैछ । उनले छोरालाई स्वदेशमै बसेर काम गर्न सुझाउने बताए ।रत्नबहादुरले छोरालाई इन्जिनियर मात्र पढाएका छैनन् । माइली छोरी मीनालाई सशस्त्र प्रहरी बनाएका छन् । साइली छोरी संगीता सर्भे विषय पढिरहेकी छिन् । कान्छी छोरी निराशा जेटीए सकेर अहिले चन्दननाथ माविबाट १२ कक्षा पढ्दैछिन् ।
जेठी छोरी मायादेवीले स्नातक उत्तीर्ण गरेकी छन् । तीन छोरीले विवाह गरिसकेकोले रत्नबहादुरको घरमा चार जना मात्रै छन् ।‘घर बलियो नहुँदा दस कक्षसम्म पढे । त्यो भन्दा अघि बढ्न सकिन,’ उनले भने,‘समयमै स्याउ खेतीतिर लागेर छोराछोरीलाई राम्रो शिक्षा दिक्षा दिन पाएकोमा खुसी छु ।’ १५ वर्षदेखि उनले स्याउ बेचिरहेका छन् । अहिलेसम्म स्याउ खेतीबाट मात्रै ५० लाख रुपैयाँसम्म कमाइ गरेको अनुभव उनको छ । उनले भने,‘जति स्याउबाट कमाए । बालबालिकामा खर्च गरे । म निकै सन्तुष्ट छु ।’१० हजार वर्गमिटर क्षेत्रफल फैलिएको बगैंचामा रेड, रोयल र गोल्डेन जातको स्याउ रोपिएको छ ।
यो समयमा रत्नबहादुरलाई स्याउ टिप्न भ्याइनभ्याइ छ । गत वर्षसम्म भदौ १५ देखि स्याउ टिप्ने उनी यो वर्ष पहिलो सातामै स्याउ टिपिरहेका छन् । जलवायुको हलचलका कारण स्याउ छिटो पाकिरहेको उनको भनाइ छ । ‘यो पटक स्याउमा कलर पनि छिटो आयो । गुलियो पनि छिटो भरियो,’ उनले भने,‘अचेल स्याउ पाक्ने सिजनमा फरक भइरहेको छ ।’ स्याउ बगैंचामा स्याउ टिप्न र गोडमेलको लागि बर्षेनी चार जनासम्मलाई उनले रोजगारी दिइरहेका छन् । प्रतिकेजी ७० रुपैयाँमा किसानले बगैंचामै स्याउ बेचिरहेका छन् ।
लामो खडेरीका कारण यो बर्ष स्याउ उत्पादनमा गिरावट आएको छ । यो वर्ष चार लाखसम्मको स्याउ बिक्रि हुने उनको अनुमान छ ।पहिले जस्तो स्वाद नहुने, समयमै पाकेजस्तो देखिने, रुख र दानाको साइज घट्दै गएको छ । स्याउ खेतीमा लगाव देखिएको भन्दै उनलाई जिल्ला कृषि विकास कार्यालय जुम्लाले उत्कृष्ट मुख्यमन्त्री कृषक पुरस्कार समेत दिएको थियो ।
सुख्खा पाखोमा पानी बोकेर हुर्काएर फल दिइरहेका स्याउले जीवनमा निकै परिवर्तन ल्याएकोमा उनी खुसी छन् ।‘सुरुमा विरुवा रोप्दा कसैले पत्याएका थिएनन्,’ उनले भने,‘अहिले बर्षेनी लाखौंको स्याउ बेच्दा अचम्म मान्छन् । एक पटक सुपरजोन र कृषि कार्यालयले बर्षायामको पानी र हिउँदको हिउँ संकलनको तीन/तीन लाखको पानी ट्यांकी बनाइदिएका थिए । त्योबाहेक सरकारी सुविधा नपाएको उनको दुखेसो छ । ‘किसानको अनुदान बिचौलियाको हातमा पुगेको छ । कृषि उत्पादनमा लगानी छैन । राम्रो बजार र सडक छैन्,’ उनले भने,‘तै पनि हामी किसानले उत्पादन बढाइरहेका छौं ।’ छोरा दिनेशको नामबाटै उनले स्याउ बगैंचाको नाम राखेका छन् ।
गाेल्डेन बुढा । सुर्खेत । १० भाद्र २०८१, सोमबार १८:४६