अटल हेमप्रकाश: शैक्षिक गतिविधि र सामाजिक सुधारका अभियान्ता


‘शिक्षा क्षेत्र र समाजसेवा नै मेरो मुल मन्त्र मानेर जिवनलाई सार्थक बनाउन निरन्तर सक्रिय रहेर काम गरिरहेको छु । ७० वर्ष उमेरको भए । अझै केही वर्ष सक्रिय हुन्छु ।’

वि.सं. २०११ साल भदौ ८ गते जन्म लिएका हेमप्रकाश भुषाल कर्णालीको शैक्षिक क्षेत्रमा परिचित व्यक्ति हुन् । यसका साथै उनीसँग नेपालको राजनैतिक परिवर्तनमा यस क्षेत्रबाट योगदानको प्रशस्तै अनुभवहरु छन् ।
बुवा अग्निधर भुसाल र आमा बसन्धरा सापकोटा भुसालबाट वि.सं. २०११ साल भदौ ८ गते जन्म लिएका हेमप्रकाश भुषालसँग उनकै निवासमा कुराकानीः

तपाईंको जन्म कहाँ र कहिले भएको हो ?

दैलेखको तत्कालीन डाडादरा छाप्रे भन्ने स्थानमा मेरो जन्म भएको हो । यो ठाउँ हालको सुर्खेत जिल्ला, पञ्चपुरी नगरपालिका वडा नं. ९, विद्यालपुरमा पर्छ । बुवा अग्निधर भुसाल र आमा बसन्धरा सापकोटा भुसालको कोषबाट वि.सं. २०११ साल भदौ ८ गते मेरो जन्म भएको हो ।
औपचारिक शिक्षामा तपाईंको प्रवेश कसरी भयो ?

मैले निक्कै कठिनाईका साथ पढ्न थाले । मैले १३ वर्षको उमेर देखि मात्र पढ्न शुरु गरेको थिए । त्यति बेला एउटा ठूलो ‘वर्ड माला’ किताब पाइन्थ्यो । त्यही किताब पढेर एकै चोटि कक्षा ६ मा भर्ना भई गाउँकै विद्यालयमा कक्षा ८ सम्म अध्ययन गरे । पछि कक्षा ९ मा हाल जन मावि, वीरेन्द्रनगरबाट एसएलसी उत्तिर्ण गरेको हुँ । मैले त्रिभुवन विश्वविद्यालयबाट बिएड पास गरेको छु ।

मैले निक्कै दुःख गरेर पढेको हो । किनकी मसँग प्रशस्त पैसा पनि थिएन । आफै पैसा कमाएर पढ्नुपर्ने अवस्था थियो । काठमाडौंमा बसेर दिनको समयमा जागिर र रात्रि कक्षा पढ्ने गर्थे । के गर्ने काठमाण्डु को बसाइ ?, कठिन नै थियो । करिब चार म वर्ष उतै बसे र अध्ययनलाई बिचैमा छोडेर पुनःसुर्खेत फर्किए । परिवारसँगै बस्ने र व्यवसाय व्यवसाय सञ्चालन गर्ने भनेर २०३९ सालमा म सुर्खेत फर्किएको हुँ । यो मेरो रहर नभएर वाध्यता थियो ।

अध्ययन छाडेर सुर्खेत फर्कनुको वाध्यता के थियो ?

मेरी श्रीमति राधा भुषाल माइती घरमा नै तीन छोराहरुका साथमा बस्थिन् । त्यहाँ बस्दा कुनै कठिनाई भएको जस्तो लाग्यो, सासू आमाले पनि त्यस्तै कुरा गर्नुभयो । जन्म दिने आमा बसुन्धरा भुसाल भए पनि कर्म दिने पनि उहाँलाई नै मान्दै आएको छु ।
मेरो जीवन मा मैले धेरै दुःख कष्ठ गरेर जे प्राप्त गरेको छु ति सबै जन्म दिने आमा र कर्म दिने आमाहरुको भूमिका छ ।
आफ्नो सोच बदल्ने निर्णय तर्फ लाग्दै, सरुवाका लागि ठाउँ खोजन थाले । स्थायी जागिर भएको हुदा त्यसै छोडर आउन पनि सकिन । जागिर छोडनु पनि गाह्रो, सरुवाको लागि हेदै गर्दा सुर्खेत मालपोत कार्यालयमा सरुवा भएर आए ।
त्यो बेला यहाँको मालपोत कार्यलयको अवस्था के थियो ?

म त काठमाडौंमा बसेर पढ्ने । बाहिरी गतिविधिमा एक राजनिती पार्टीसँग जोडिएको थिए । त्यो कार्यले म सचेत नागरिक को रुपमा आफुलाई उभ्याउन खोज्ने प्रयास गर्थे । तर त्यो कार्यलयमा कसरी कमाउने भन्ने मनसायका साथ आएका मानिस मात्र भेटे । मैले उहाँहरुलाई किन यति धेरै लोभ गर्नु हुन्छ, भगवानले सवै चिज दिनुभएको छ भन्थे । अरुको कमाई खान पल्केका उनीहरुलाई के लाग्थ्यो खै, एउटा कानले सुनेर अर्काले उड्याई दिए । मैले पनि त्यसै छोडिन ती घुस्याहालाई । उनीहरुको वारेमा पत्रपत्रिका प्रकाशित गर्न सघाउँ गरे । तर उनीहरुको व्यवहार भने उस्तै रह्यो ।

अब त भएन अरु केही गर्नैपर्छ भनेर तत्कालिन माननीय चन्द्रबहादुर बुढामगर र प्रमुख जिल्ला अधिकारीसँग भेटेर घटनाका वारेमा बताए । मालपोतका हाकिमले र सुब्बाले जंगलको जग्गा नै ठुलै रकम लिएर कसैका नाममा कागजात मिलाएर पास गरिदिने कुरा अगाडि बढाएका थिए ।

मैले जे सोचेर काम गरेको थिए सफल भयो । हाकिम, सुब्बा र अन्य कर्मचारीलाई जिल्ला प्रशासन कार्यालयमा उपस्थित हुने आदेश जारी भयो । एकै छिनमा मालपोत कार्यालयमा सन्नाटा छायो, के भयो जस्ता प्रश्नहरु आउन थाले ।

अनि कारवाही प्रक्रिया के भयो ?
मालपोतका हाकिम र सुब्बालाई नेपालगन्ज स्थित अञ्चलाधिसको कार्यालयमा पठायो । मेरो नाउँ गोप्य राख्दै म सहित अरु सबै कर्मचारीलाई तारिख दिएर पठाए ।

हाकिम पटक–पटक नेपालगन्ज जाने तारिख लिने आउने जाने काम हुन थाल्यो । मलाई कार्यालयमा कर्मचारीले भिन्नै ढंगले हेर्न थाले । हाकिमको आखाको कसिङगर नै भएको थिए । मसंग बोल्दा पनि झर्केर बोल्ने गर्थे ।

लेखामा काम गर्ने कर्मचारी र हाकिमविच कार्यालय भित्र राम्रो सम्वन्ध हुन पर्छ । तर पनि मैले त्यस विषयमा खासै महत्व दिएको थिएन । पछि मेरो बिरुद्ध षड्यन्त्र रच्न थालिएको थियो । मैले मेरो स्रोतबाट थाह पाए । यहाँको कोष तथा लेखा नियन्त्रणको कार्यालयमा गएर हाकिम स्वयंले नै आफू निर्दोष रहेको र फसाईरहेको कुरा गरेर मलाई दोषी देखाउदै आफू निर्दोष भएको कुरा गरेछन् । मेरो अरु कुनै पनि दोष नभेटेपछि राजनीतिक रुपमा दोषी देखाएर सरुवा गरिदिन लिखित पत्र लेख्ने समेत काम भएछ ।

यो निश्चित नै थियो नि । हाकिमसँग राम्रो भएन भने बस्न पनि हुदैन । मेरो सरुवा भएको जानकारी पनि आयो जुम्लामा । त्यहाको कोष तथा लेखा नियन्त्रकको कार्यालयमा । तर जुम्लाको अञ्चलाधिषको कार्यलयमा नै हाजिर भएर काम गर्ने । २०४१ साल कार्तिकको महिनामा म जुम्ला पुगरेर राजिनामा दिदै पुनः सुर्खेत फर्किए ।

त्यसपछि ….. ?

फुर्सदमा राजनीति र पेशागत रुपमा विद्यालय सञ्चालन गर्न थाले । विद्यालय समय वाहेक र राजनीतिक क्रियाकलापमा व्यस्त हुन्थे । मेरो विद्यालयमा त्यति बेला दार्जलिङका व्यक्तिहरुले सञ्चालन गरेको व्यक्तिसँग प्रतिष्पर्धा गर्नु थियो । यो सामान्य विषय थिएन । मैले पनि बुढानिलकण्ठ विद्यालयबाट ‘ओ लेवल पास’ गरेका र विशेष दखल भएका शिक्षकहरु राखेको थिए ।
राजनीतिमा के भयो ?

२०४५/४६ को आन्दोलमा म एक व्यापारीको अगुवाई गर्दै थिए । यस नाताले पनि व्यवसायीहरुलाई उक्त आन्दोलनमा लाग्न उत्साहित गराए । आर्थिक, नैतिक, भौतिक लगायतका हरेक क्षेत्रबाट उनीहरुलाई अग्रसर गराए । म त्यति बेला उद्योग व्यापार संघको उपाध्यक्ष थिए ।
राजनीति र विद्यालय कसरी अघि बढ्यो ?

विद्यालयलाई पनि व्यवस्थित बनाउँदै लगें । राजनीति तर्फ पनि सके जति सहयोग गर्दै गए । २०४७ सालमा सुर्खेत जिल्लामा नेकपा मालेका योद्धा तथा जेल नेल भोगेका क्रान्तिकारी नेता बालाराम शर्मासँग पार्टी निर्माणमा जुटेको थिए ।

राजनिती परिवर्तन पछाडी म नेकपा मसाल छोडेर मालेका केन्द्रीय नेता बामदेव गौतमको हातबाट २०४७ साल असार ५ गते सदस्यता लिएर नेकपा मालेमा प्रवेश गरेर सक्रिय राजनीतिमा लागेको हुँ । पार्टी निर्माणमा जुटेकै कारण २०५४ सालमा वीरेन्द्रनगर नगरपालिका–६ को तत्कालिन वडा अध्यक्ष भए । मैले पाँच वर्ष सो पदमा रहेर सफलता पूर्वक काम गरे ।

त्यो समयमा वडाको अवस्था के थियो ?

वीरेन्द्रनगरको तत्कालिन वडा नं. ६ को अध्यक्ष हुँदा यहाँको अवस्स्था निकै नाजुक थियो । विद्यालयका अवस्था उस्तै थिए, बाटाघाटा पनि त्यस्तै । बजारक्षेत्रको फोहरलाई व्यवस्थित रुपमा फाल्न पालिकामा यातायातको सामाग्रीहरु खरिद गरियो । यसमा ट्याक्टर, टिप्पर र डोजर खरिद गर्ने व्यवस्था गरिएको थियो । बजारका व्यवसायमा सबैलाई मूल्यसूची राख्न लगाइएको थियो । कच्ची बाटाहरुमा ग्राभिल राखिएका थिए । यसका साथैै सबै व्यवसायीलाई करको दायरामा ल्याउन हामीले काम गरेका थियौँ ।

विद्यालय, पार्टी र राजनितीलाई कसरी व्यवस्थापन गर्नुभयो ?
हो, मलाई एकदम गाह्रो थियो । कहिले–कहिले त यति गा¥हो हुन्थ्यो, कि खाना खान समेत फुर्सद हुन्थेन । यस्तो बेला मेरो श्रीमती राधाले सहयोग गरिन् ।

त्यही बेला म निजी तथा आवासिय विद्यालयको केन्द्रीय सदस्य थिए । बढी जिम्मेवारी पूर्वक अगाडी बढ्नु पर्ने थियो । माओवादी जनयुद्ध एकदमै उचाइमा पुगेको थियो । हामीले सञ्चालन गरेका निजी विद्यालय पनि चल्न नदिने उर्दी जारी गरेका थिए । म बिच्छीत अवस्थामा थिए । के गर्ने के नगर्ने ?

अन्यमा … ?
अहिले नेपालमा नागरिकका थुप्रै आसाहरु छन् । ती आसाा र सोचलाई नेताहरुले पुरा गर्न पर्छ । त्यसका लागी ईच्छााशक्ती चाहिन्छ । हाम्रा नेताहरुले चाहे भने गर्न सक्छन् ।
प्राकृतिक रुपमा जलस्रोत क्षेत्रमा हामी ज्यादै अघि छौ, ति स्रोतहरुलाई प्रयोग गर्न समेत स्थिर सरकारको आवश्यकता छ । यति बेला हाम्रो देशमा दुई ठुला दलको सरकार छ । यसका लागि पहल गरेर आउँदो सरकार स्थिर सरकार बनाउने भावनाका साथ अघि बढ्न पर्छ ।

तपाईको प्रतिक्रिया