कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री राजिब विक्रम शाहले जाजरकोटका सरकारी निकायहरूलाई बजेटको समयमै कार्यान्वयन सुनिश्चित गर्न निर्देशन दिएका छन् । जाजरकोटमा आयोजित बार्षिक प्रगति समीक्षा बैठकमा सम्बोधन गर्दै मन्त्री शाहले आर्थिक तथा वित्तीय सुशासन कायम राख्नुपर्नेमा जोड दिएका छन् ।
मन्त्री शाहले स्थानीय तहबाट सिफारिस गरिएका योजना आवश्यकतामा आधारित हुनुपर्ने र विनियोजन भएको बजेट समयमै खर्च नगर्दा फ्रिज हुने समस्या अझै पनि कायम रहेको बताए । ‘यसले गर्दा खरिद प्रक्रिया समयमै पूरा गरेर कार्यान्वयन गर्नु जरुरी छ,’ उनले भने । साथै, उनले कुनै पनि कार्यालयले प्रस्ताव गर्ने कार्यक्रममा दोहोरोपना नआउने सुनिश्चित गर्नुपर्नेमा पनि ध्यानाकर्षण गराएका छन् ।
बैठकमा मन्त्री शाहले तीनै तहका सरकारबाट बजेट विनियोजन गरिएका कार्यक्रमहरूलाई समयमै कार्यान्वयन गर्न आग्रह गरे । यदि कुनै कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन हुन सकेन भने आगामी वर्षको बजेटमा ती कार्यक्रम समावेश नगरिने चेतावनी समेत दिए ।
महालेखा परीक्षकको प्रतिवेदनमा औंल्याइएका बेरुजु फछ्र्यौट गर्न पनि उनले निर्देशन दिए । बेरुजु फछ्र्यौटकै आधारमा मूल्याङ्कन गरिने स्पष्ट पारे । मन्त्री शाहले प्रचलित कानुनअनुसार खरिद तथा अडिट प्रक्रिया अघि बढाउनुपर्नेमा पनि जोड दिए ।
यस निर्देशनले जाजरकोटका सरकारी निकायहरूलाई बजेटको प्रभावकारी उपयोग र समयमै कार्यान्वयनको सुनिश्चितताका लागि थप जिम्मेवारी थपेको छ ।
दिपेन्द्र शर्मा । सुर्खेत । १३ भाद्र २०८१, बिहीबार १२:१४