कालीकोट खाँडाचक्र नगरपालिका–५, गारुवाँ गाउँका ३३ वर्षीय भीमबहादुर कार्कीलाई विगत सात वर्षयता कामका लागि कालापार जानु्परेको छैन । गाउँमै व्यवसायिक तरकारी उत्पादन गर्न थालेपछि घरखर्च चलाउनकै लागि कालापार (भारत) जानुपर्ने उनको बाध्यता हटेको हो ।
आफ्नै मेहनतले गाउँमै तरकारी फलाउन थालेपछि उनी आर्थिक रुपमा समेत सक्षम बनदै गएका छन् । सबै खर्च कटाएर बार्षिक पाँच लाख रुपैंयासम्म बचत हुने गरेको उनले बताए । ‘म सात बर्षको हँुदा मेरो बाबा काम खोज्दै कालापार जाँदा भारतमै मृत्यु भयो । त्यसैपनि मलाई कालापार जान मन थिएन’ उनले भने, ‘तर रोजगारी नहुदाँ परिवार पाल्न बाध्यताले कालापार जानुपथ्र्यो । गाउँमै तरकारी फलाउन थालेपछि कालापार छुटेको छ ।’
कक्षा–६ सम्म गाउँकै पढेँका भिमबहादुर बुवाको निधनपछि वीरेन्द्रनगरको लाटीकोइलीमा काकाको घरमा बसेर कक्षा–१० उत्तिर्ण गरे । बुबाको मृत्युपछि विस्तारै घरको जिम्मेवारी सबै काँधमा आएपछि भिमबहादुरलले कक्षा–१२ सम्म अध्ययन गरेर पढाईलाई पूर्णविराम लगाए ।
घरमा कमाउने कोही नभएपछि केहि बर्ष कालापार गई घरको गर्जो टार्ने गरेको उनी सुनाउँछन् । भारतको गढवाल क्षेत्रमा गई काम गर्दै गर्दा उनी बिरामी परे । कुरा २०७५ सालतिरको हो । चेकजाँच गर्दा भिमबहादुरको आन्द्रामा क्यान्सर भएको पृष्ठिभयो । कमजोर आर्थिक अवस्था भएका उनले ऋण झिकेर चितवनको भरतपुर क्यान्सर अस्पतालमा उपचार गरे । भाग्यले उनी बाँचे पनि ।
परिवारको जेठो छोरा । बुबाको निधनपछि परिवारको सम्पूर्ण जिम्मेवारी आफ्नै काँधमा । त्यसैमा झन् क्यान्सर पीडित । भिमबहादुरको जिन्दगी निकै सकसपूर्ण थियो । त्यसपछि भिमबहादुरले अठोट लिए, गाउँकै परिवारसँग मिलेर कृषि क्रान्ति गर्ने ।
क्यान्सर पीडित भीमबहादुरले उक्त अठोट व्यवहारमा लागु गर्दै गाउँमै व्यावसायिक कृषि खेती गरी खेतबारी मात्रै हराभरा बनाएनन् । आफ्नो जिन्दगीमा पनि हराभरा ल्याएका छन् । हाल उनी गाउँकै अगुवा कृषक कहलिएका छन् ।
भिमबहादुर जस्तै हाल गारुवाँ गाउँका ३५ घरधुरी तरकारी खेतीमा लागेका छन् । कार्की समुदायको बाहुल्यता रहेको यो गाउँका अधिकांश युवा रोजगारीका लागि कालापार जाने गर्थे । तर अहिले तरकारी उत्पादना लागेपछि कालापार जानेको संख्या शून्यमा झरेको छ ।
गाउँमा तरकारीबाट हरेक सिजनमा ४० देखि ५० हजार रुपैंया नकमाउने कोही छैन । अधिकांश थोरै जमिनमा भएपनि व्यावसायिक खेतीतर्फ अग्रसरमात्रै भएका छैनन्, घरमा खान पुगेर पनि बिक्री गर्ने भएका छन् । धेरैले छोराछोरी सहरतिर पढाउन पनि पठाएका छन् ।
गारुवाँ गाउँ सदरमुका मान्मभन्दा थोरै उत्तरतर्फ, सुर्खेत–जुम्ला राजमार्गको किनारमा (तल्लो साइड) पर्छ । तल तिला कर्णाली नदी, त्यसभन्दा माथी अग्लो पहाड पहिरोले चिराचिरा परेको छ । त्यही पहिरोभन्दा माथि खोंचमा छ उक्त गाउँ । गाउँ भन्दामाथी सडक किनारामा तेस्रो बजार छ । त्यहाँ तरकारी सङ्कलन केन्द्र पनि छ । जहाँ गाउँभरिको तरकारी जम्मा हुन्छ । त्यहाँबाट व्यापारीले तरकारी खरिद गरी कालीकोट, जुम्ला र मुगुका विभिन्न बजारमा लैजान्छन् ।
तरकारीबाटै पक्की घर र अटोरिक्सा
उनै क्यानसर पीडित कृषक भिमबहादुर कार्कीले तरकारी बेचेरै गाउँमै पक्कि घर बनाउनु्का साथै अटोरिक्सा समेत खरिद गरेका छन् । घरमा बुढाबुढी, छोराछोरी, आमा, भाइका बुढाबुढी गरी ९ जनाको परिवार छ उनको ।
क्यान्सरको उपचार गर्दा लागेको १२ लाख ऋण पनि तरकारी खेतीबाट नै चुक्ता गरिसकेको उनी बताउँछन् । तरकारी बेचेर नै सडक नजिकै पक्की घर ठड्याइसकेका छन् । उक्त घर बनाउन १६ लाख खर्च भएको र अझै बनाउन बाँकी नै रहेको उनले बताए ।
उनले ६ लाखमा अटोरिक्सासमेत खरिद गरेका छन् । उक्त रिक्सा उनका भाइ ज्ञानेन्द्र कार्कीले चलाउँछन् । अटो खरिद गरेको तीन वर्ष भयो । सुरुसुरुमा अटोमै डुलाएर उनी तरकारी बिक्री गर्थे । तर अहिले तरकारी खरिद गर्ने व्यापारी गाउँमै आउन थालेपछि भाइलाई अटोरिक्सा रोजगारीको माध्यम भएको छ । अटोरिक्सा कर्णाली राजमार्गको कालिकोट–जुम्ला खण्डमा सञ्चालन हुन्छ ।
‘म अहिले पनि ६–५ महिनाको फरकमा क्यान्सरको फलोअपका लागि भरतपुर गइरहन्छु । अर्कातिर आमा पनि दमको रोगी हुनुहुन्छ’ उनले भने, ‘यद्यपि मैले तरकारी खेती नगरेको भए, यसरी बाँच्न संभव थिएन ।’
अहिले उनको कृषि क्रान्ति हेर्न आसपासका गाउँबाट पनि प्रशस्त मानिस आउँछन् । उनी आत्मविश्वासका साथ क्यान्सर जितेजसरी तरकारी फलाएर सबैको मन जितिरहेका छन् । उनको मेहनतप्रति उनकी श्रीमती कमला महतरा कार्की गौरव गर्छिन् । कमलाले हरेक दिन बारीमा भीमबहादुरलाई सघाउँछिन् ।
बारीको अधिकांश काम परिवार मिलेरै गर्दछन् । कुनै बेला एउटै बाली पनि राम्रोसँग उब्जनी नहुने गारुवाँ डाँडामा अहिले चार पटकसम्म मौसमी, बैमौसमी तरकारी खेती हुन्छ । कमलाका अनुसार भदौपछि काउली, बन्दा, फेरि टमाटर लगाइन्छ भने कार्तिकपछि फेरि बन्दा, काउलीको सिजन आउँछ ।
चार रोपनीबाट व्यावसायिक तरकारी खेती सुरु गरेका उनीहरुले हाल १२ रोपनीमा खेती गरिरहेका छन् । कार्की दम्पतीको अबको लक्ष्य थप दुई रोपनीमा तरकारी खेती बढाउने छ । उनीहरूले बारीमा बजारको मल प्रयोग गर्दैनन् । चार वटा गाई–गोरुसमेत पालेकाले गोठे मलकै प्रयोग गर्दा पनि उत्पादन राम्रो भइरहेको उनीहरूको भनाई छ ।
कसरी सम्भव भयो तरकारी खेती ?
गारुवाँ गाउँको भू–बनोट हेर्दा त्यहाँ तरकारी खेती त के, मान्छे बस्न लायक पनि छैन । भिरालो जमिन, तलमाथि पहाड, सुक्खा डाँडा । भीमबहादुर कार्की यही डाँडामा तरकारी खेती गरेर मालामाल भइरहेका छन् । तरकारी खेती गर्नुभन्दा पहिला यहाँ परम्परागत रूपमा धान, मकै, गहुँको खेती गरिन्थ्यो, जो आकाशे पानीमा निर्भर थियो ।
भीमबहादुरका अनुसार चितवनबाट उपचार गरेर फर्किएपछि कसरी तरकार खेती गर्ने, पानीको समस्या छ भन्ने विषयमा परिवारबिच छलफल भयो । त्यही बेला नेपाल सरकारको कृषि तथा पशुपक्षी विकास मन्त्रालय अन्तर्गतको कृषि क्षेत्र विकास कार्यक्रमले किसानहरूलाई सहयोग गर्ने कार्यक्रम आयो ।
आफू अध्यक्ष रहेर उनले २७ सदस्यीय नैनेलदेव कृषक समूह गठन गरे । उक्त कार्यक्रमबाट सिँचाइ कुलो, बिउ बिजनदेखि वित्तीय साक्षरता सम्बन्धी तालिममा सहयोग भयो । तरकारी खेतीका लागि टनेलमा पनि कार्यक्रमले सहयोग ग¥यो । ८ लाख ६० हजार रुपैयाँ बराबरको कार्यक्रमबाट लगानी भयो भने बाँकी कृषकको सह–लगानीमा भएको उक्त कार्यक्रमले निकै सहजता दिएको कार्की बताउँछन् ।
पहिला आफ्नो सामान्य हिसाब राख्न नजान्ने गारुवा गाउँका महिलाहरू अहिले उत्पादनमा अग्रसर भइ आफ्नै खुट्टामा उभिने भएका छन् । विभिन्न तालिमबाट पाएको ज्ञानले नै अहिले आफू व्यावसायिक कृषक बन्न सफल भएको समूहकी कोषाध्यक्ष कुसुमकला कार्कीले बताइन् ।
पहिले पहिले गारुवावासीले निर्वाहमुखी खेती गर्थे । मकै, कोदो लगायत उत्पादन भएको अन्नले खान पुग्दैन थियो । सिँचाइको अभाव उस्तै थियो । तरकारीहरू बारीमा लगाउँथे तर खानका लागि मात्रै । तर अहिले यो कार्यक्रमबाट सिँचाइ कुलो बन्यो । पानी सिधै बारीमै आएपछि कृषकलाई व्यवसायिक खेती गर्न सहज भयो ।
त्यस्तै तरकारीको बजारका लागि कुनै समस्या छैन । गारुवा गाउँमा उत्पादित तरकारी अहिले कालिकोटको सदरमुकाम, उक्त सडक आसपासका साना बजार र जुम्ला सदरमुकामसम्म पुग्ने गरेको छ । उत्पादन भएको तरकारी खेर जाने अवस्था अहिलेसम्म नआएको किसानहरु बताउँछन् ।
यो गाउँको तरकारी अहिले मान्म बजारका तरकारी व्यापारी ठम्म प्रसाद आचार्यले उठाउँदै आएका छन् । गाउँभन्दा माथिको तेस्रो बजारमा टेकबहादुर कार्कीको सङ्कलन केन्द्र छ, जहाँ गाउँको तरकारी हरेक बिहान जम्मा हुन्छ । उनका अनुसार केही बर्षअघिसम्म ८० प्रतिशत सुर्खेत (भारतबाट आएको) आएको तरकारीमा बजार निर्भर हुन्थ्यो । अहिले ४० प्रतिशत स्थानीय तरकारीले बजार धानेको छ ।
गारुवाँ गाउँ जस्तै जुम्ला चन्दननाथ नगरपालिका–७ मिचा गाउँका १४ घरधुरी पनि तरकारीबाट आत्मनिर्भर बन्दै गएका छन् । कृषि क्षेत्र विकास कार्यक्रम अन्तर्गत सहयोग पाएपछि सुन्दर चौतारी महिला कृषक समूहमा आवद्ध १४ घरधुरीले व्यवसायिक तरकारी उत्पादन गर्न थालेका हुन् ।
समूहकी सदस्य धनमाया कामीलले भनिन्, ‘बारीमा धान र मकै लगाउँदाको तुलनामा तरकारीबाट तेब्बर फाइदा हुन्छ । बार्षिक ३० देखि ५० हजार सिजनअनुसार कमाई हुन्छ । यसले घरखर्च चलाउन निकै सहज भएको छ । कृषि क्षेत्र विकास कार्यक्रम लागुभएका कर्णालीका सबै जिल्लामा कृषकको मुहारमा परिवर्तन आएको छ ।
नन्दराम जैसी । सुर्खेत । २४ भाद्र २०८१, सोमबार १०:३०