मुगुमा धार्मिक मेला गुरादेब सुरु

मुगुमा गुरादेब, बिजयगुरादेब लगायतका धार्मिक मेलाहरू बिहीबारदेखि सुरु भएका छन् । ऐतिहासिक धार्मिक महत्त्व राख्ने मेलाहरू कोरोनाका कारण अघिल्ला दुई वर्ष हुन सकेका थिएनन् । यस पटक मेला सुरु भएपछि जिल्लाका गाउँ बस्तीमा चहलपहल सुरु भएको छ ।

जिल्लाको छायानाथ रारा नगरपालिका , सोरूँ गाउँपालिका र खत्याड गाउँपालिकामा भदौ २७ गते नवमीका दिनबाट भदौ पूर्णिमासम्म गुरादेब , विजय गुराको परम्परागत धामी धार्मिक मेलाहरू सुरु भएका हुन् । धार्मिक आस्थाका जानकारका अनुसार भदौ नवमीका दिनबाट औपचारिक रूपमा मेला सुरु हुन्छन् ।

धार्मिक अगुवा तथा गुरादेबताका धामी जन बहादुर ऐडीका अनुसार जिल्लाका छायानाथ रारा नगरपालिका,सोरूँ गाउँपालिका र खत्याड गाउँ पालिकामा औपचारिक रूपमा मेलाहरू सुरु भएका छन् । गुरादेवता सहितका देवताका पूजाआजा सुरुवात गरिएको बताए । यस क्षेत्रमा गुरा , सुमईजु, बिजयगुरा , कालागुरा , हटी नाथ, कङ्काल्या , केसीनाथ, कालनाथ,लाटो सुमईजु सहितका दर्जनौँ देउताको पूजाआजा हुने गर्छ उनले भने ।

देवताका पुजारी(खावा)का अनुसार यहाँका समुदायको देवताले भक्तजनलाई सुख दुखमा साथ दिने जनविश्वास भएकाले हरेक गाउँमा हिन्दु धर्म मान्यको घरमा कुल देवताको पूजा गर्ने चलन छ । विभिन्न तिथिमा विभिन्न देवताको पूजा गरिँदै आउने चलनले यति वेला मुगुका धार्मिक स्थानमा मानिसहरूको भिड लाग्न सुरु गरेको छ ।

धार्मिक आस्थाअनुसार प्रत्येक वर्ष पूर्णिमाको दिनमा मन्दिर तथा थानमा पूजा गर्ने, मन्दिरलाई नयाँ ध्वजापाताले सजाउने काम गरिन्छ । पूजाको दिनमा स्थानीयले रातभरि देवता खेली मनाउने चलन रहेको सोरूँ गाउँपालिका ५ निवासी तथा बिजयगुरा देवताका पुजारी दानबहादुर शाहीले बताए । उनका अनुसार भदौ पूर्णिमासम्म विभिन्न पूजाआजाहरू हुने गर्छन् ।

पीडित पक्षले न्यायका लागि गुरादेवता सँग भाकल माग गरेमा गुरादेवताले न्याय दिलाउने जनविश्वासले यहाँका परम्परागत सहित विभिन्न धार्मिक सभ्यताको न्याय दिने देवता मानिन्छ । यसलाई पर्यटकीय महत्वको बारेमा अझै विकास गर्न सकिएको छैन । यो समयमा मेला हेर्नलाई जिल्लाका विभिन्न बस्ती बाट आन्तरिक पर्यटक मेला हेर्न दर्जनौँ भक्तजन आउने गरेका छन् स्थानीय अमर बजादुर कार्कीले भने ।

तपाईको प्रतिक्रिया