सम्पादकीय : वीरेन्द्रनगरको असल काम ‘हेलो गर्भवती आमा’

नेपालको संबिधान–२०७२ ले स्वास्थ्य सम्बन्धी हक संविधानको भाग ३ मौलिक हक र कर्तव्य अन्र्तगत धारा ३५ मा उल्लेख गरिएको छ । जसमा उपधारा (१) प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हक हुनेछ र कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित गरिने छैन । उपधारा (२) प्रत्येक व्यक्तिलाई आफ्नो स्वास्थ्य उपचारको सम्बन्धमा जानकारी पाउने हक हुनेछ । (३) प्रत्येक नागरिकलाई स्वास्थ्य सेवामा समान पहुँचको हक हुनेछ भनेर उल्लेख गरिएको छ । त्यस्तै, संविधानले तीन तहको सरकारको जिम्मेवारी बाडफांड गरेको छ । जसमध्ये आधारभुत स्वास्थ्य सेवा र सरसफाई लगायतको कार्य जिम्मेवारी स्थानीय सरकारको रहेको छ ।

धारा ५१ मा उल्लेख गरिए अनुसार नागरिकलाई स्वस्थ बनाउन राज्यले जनस्वास्थ्यको क्षेत्रमा आवश्यक लगानी अभिवृद्धि गर्दै जाने, गुणस्तरीय स्वास्थ्य सेवामा सबैको सहज, सुलभ र समान पहँुच सुनिश्चित गर्र्ने, नेपालको परम्परागत चिकित्सा पद्धतिको रूपमा रहेको आयुर्वेदिक, प्राकृतिक चिकित्सा र होमियोपेथिक लगायत स्वास्थ्य पद्धतिको संरक्षण र प्रवद्र्धन गर्ने, स्वास्थ्य क्षेत्रमा राज्यको लगानी अभिवृद्धि गर्दै यस क्षेत्रमा भएको निजी लगानीलाई नियमन र व्यवस्थापन गरी सेवामूलक बनाउने, स्वास्थ्य सेवालाई सर्वसुलभ र गुणस्तरीय बनाउन स्वास्थ्य अनुसन्धानमा जोड दिँदै स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीको संख्या वृद्धि गर्दै जाने, नेपालको क्षमता र आवश्यकताका आधारमा जनसंख्या व्यवस्थापनका लागि परिवार नियोजनलाई प्रोत्साहित गर्दै मातृ शिशु मृत्युदर घटाई औसत आयु बढाउने र नागरिकको स्वास्थ्य बीमा सुनिश्चित गर्दै स्वास्थ्य उपचारमा पहुँचको व्यवस्था मिलाउने भनिएको छ ।

त्यसैलाई आधार मानेर सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले गर्भवती तथा सुत्केरी आमालाई घरबाटै स्वास्थ्य सेवा दिन ‘हेलो गर्भवती आमा’ कार्यक्रमको सुभारम्भ गरेको छ । यस कार्यक्रमले हरेक हप्ता गर्भवती आमाहरुलाई दक्ष स्वास्थ्यकर्मीद्वारा फोनबाट आवश्यक सल्लाह, सुझाव तथा परामर्श दिने उद्देश्यले राखेको छ । गर्भवती आमालाई दक्ष स्वास्थ्यकर्मीहरुले फोनबाट आवश्यक सल्लाह, सुझाव तथा परामर्श सेवा प्रदान गर्नेछ । यो कार्यक्रमले गर्भवती महिलाको नियमित गर्भजाँच, रगत जाँच, भिडियो एक्सरे, पिसाव तथा आवश्यक जाँचजपड्ताल, खोप, पोषण तथा सरसफाई, गर्भवती अवस्थामा देखापर्ने खतराका चिन्हहरु, प्रसुति पूर्वको तयारीका साथै अन्य स्वास्थ्य सेवा गर्भवती तथा आमालाई टेलिफोनमार्फत घरमै सेवा दिने उद्देश्य रहेको छ ।

नगरपालिकामा रहेका गर्भवती आमाहरुलाई सरकारले तोकेको अनिवार्य चार पटक जाँचमा एक हजार रुपैयाँ र निशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने गरेकोमा अहिले सरकारले नयाँ प्रोटोकल जारी गरेपछि अधिकांश गर्भवती आमाहरुलाई जानकारी नहुनु र कतिपय अवस्थामा स्वास्थ्य संस्थामा आउने समय बिर्सेर अनिवार्य जाँचमा छुट्न थालेपछि वीरेन्द्रनगरले ‘हेलो गर्भवती आमा’ कार्यक्रम शुरु गरेको हो । नगरपालिका भित्रका १६ वटै वडामा रहेका गर्भवती आमाहरुको पूर्ण विवरण स्वास्थ्य स्वयंसेविकाको माध्यमबाट स्वास्थ्य केन्द्रहरुमा राखेर सरकारले चार पटक गरिने गर्भावस्थामा हुने जाँचलाई बढाएर आठ पटक गर्नुपर्ने अनिवार्य पोर्टकल लागु गरेपछि यसबाट छुट्न सक्ने सम्भावित आमा र बच्चाको स्वास्थ्यमा समस्या नहोस् भन्ने हेतुले टेलिफोनमार्फत ट्रयाक गर्न शुरु गरिएको कार्यक्रमबाट कोही पनि बञ्चित हुन नपरोस् । यो कार्यक्रम हेर्दा सामान्य जस्तै लागेपनि मातृ मुत्यदर घटाउन जोखिममा रहेका गर्भवति महिलाका लागि निकै सहयोगी हुनेछ । यस्ता कार्यक्रमहरु अरु पालिकाहरुले अनुसरण गर्न आवश्यक छ ।

तपाईको प्रतिक्रिया