कर्णालीमा अविकासको कहर, दुुर्गमका बिरामीको डोकोमा अस्पताल यात्रा


हुम्लाको चंखेली गाउँपालिका–५, नेप्का गाउँकी ४५ वर्षीया तुला तामाङ लामो समयदेखि मुटु सम्बन्धी रोगबाट ग्रसित छिन । गत ११ भदौंमा तुलालाई एक्कासी मुटु दुख्ने समस्या बल्झियो । उनलाई एक्कासी सहनै नसक्ने गरी मुटु दुख्न थालेपछि उनका श्रीमान् हरिचन्द्र तामाङ अस्पताल लैजाने जोहोमा लागे ।

आफ्नी श्रीमतीको दुखेको मुटुमा मलम लगाउन प्रयास गरिरहेका हरिचन्द्रलाई अस्पतालसम्मको यात्रा तय गर्न सहज भने थिएन । भौगोलिक विकटतासँगै गाउँबाट अस्पताल भएको स्थान गाउँपालिकाको केन्द्र पिप्लाङसम्म पुग्न पुरै एक दिन लाग्छ ।

राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हुम्ला त्यसमा पनि चंखेली गाउँपालिकामा गाडी चढ्ने कुरा सम्भव हुने कुरै भएन । यातायात सेवा सञ्चालन नभएपनि हरिचन्द्र आफ्नी श्रीमतीलाई बोकेरै पालिकाको केन्द्रमा रहेको स्वास्थ्य केन्द्रमा पु¥याउने तर्खरमा थिए । अस्पताल टाढा भएकाले एक्लै श्रीमतीलाई बोकेर लैजन सक्ने अवस्थामा उनी थिएनन् ।

हरिचन्द्रले आफ्नी श्रीमतीलाई बोकेर अस्पतालसम्म पु¥याउन पुरै गाउँ चहारे । मुस्किलले चार जना सहयोगी फेला पारेपछि हरिचन्द्रले श्रीमतीलाई डोकोमा बोकेर अस्पताल यात्रा तय गरे । यो उनको मात्रै बाध्यता थिएन । सिङ्गो गाउँ नै बिरामी हुँदा यसरी नै डोकोमा अस्पताल यात्रा गर्छ । ‘घरमै सञ्चो हुने आशामा उनलाई महिनौसम्म घरेलु उपचार गरेका थियौ,’ हरिचन्द्र भन्छन्, ‘तर घरेलु उपचारले सञ्चो भएन । घरमा सञ्चो नहुने नदेखिएपछि श्रीमतीलाई गाउँपालिका केन्द्रसम्म बोकेर ल्याएका थियौं ।’

बल्लतल्ल श्रीमतीलाई बोक्ने मान्छे पाएका हरिचन्द्रले श्रीमतीलाई डोकोको सहायताले पिठ्युँमै बोकेर गाउँपालिकाको केन्द्र पिप्लाङ पु¥याएको क्षण सम्झदै भन्छन्, ‘अफ्ठ्यारो बाटोले उत्तिकै जोखिम त्यसमा पनि गाउँपालिकाको स्वास्थ्य संस्थाले उपचार नहुने भन्दै सदरमुकाम सिमकोट रिफर गरिदियो । सामान्य बिरामी हुँदासमेत यसरी नै हामीले दुख पाउनु पर्ने अवस्था छ । बिरामी त छ दै छ बोक्ने मान्छे पनि बिरामी हुनुपर्ने अवस्था छ ।’

श्रीमतीको उपचारमा हरिचन्द्रले मात्रै होइन सिंगो कर्णालीका दुर्गम हिमाली जिल्लाका नागरिकहरुलाई बिरामी हुँदा तय हुने अस्पतालसम्मको यात्रा निकै कष्टकर छ । यातायातको पहुँच छैन । सुविधा सम्पन्न अस्पताल गाउँ नजिक छैनन् । बिरामी बोक्ने स्टेचरसँगै मान्छे पनि पाइदैनन् । जसले कर्णालीका दुर्गम बस्तीका नागरिक दिनहुँ अस्पताल पुग्न अभाव र बाध्यतासँग जुधिरहेका छन् । त्यसैमा पनि विपन्न वर्गका महिला तथा बालबालिकाहरु ठुलो मारमा पर्ने गरेका छन् । राज्यले यसतर्फ ध्यान पु¥याउन नसक्दा आफूहरुले पाइलै पिच्छे दुख व्यहोर्नु परेको हरिचन्द्रले दुखेसो पोखे ।

दुर्गम हिमाली जिल्ला हुम्लाका नागरिकलाई बिरामीलाई पिठ्युँमै बोकेर स्वास्थ्य चौकी लैजानुपर्ने बाध्यता रहेको चंखेली गाउँपालिकाका स्वास्थ्य संयोजक सुरवीर शाही बताउँछन् ।

‘बिरामीलाई पिठ्युँमै बोकेर स्वास्थ्य चौकी पु¥याउनमै संघर्ष गर्नुपर्ने बाध्यता छ,’ उनी भन्छन्, ‘हुम्लाका अधिकांश बिरामीहरू दिनभर पैदल हिँडेर स्वास्थ्य चौकीसम्म पुग्नुपर्छ । सहज यातायातको पहुँच नहुँदा कतिपय बिरामीहरु बाटोमै ज्यान गुमाउने गरेका छन् ।’ कतिपय हिड्न नसक्ने बिरामीहरूलाई बोकेरै अस्पताल पु¥याउनुपर्ने यहाँको नियति नै बनिसकेको बताउँछन् हरिचन्द्र तामाङ ।

‘गाउँमा बिरामी हुँदा बोकेर गाउँपालिका केन्द्रसम्म पुग्नुपर्ने बाध्यता छ,’ उनले भने, ‘स्थानीय सरकार आएपनि न त गोरेटो बाटो राम्रो छ, न त गाउँमा गुणस्तरीय स्वास्थ्य सेवा छ । भनेको बेला सामान्य सिटामोल पनि पाउँने अवस्था छैन ।’ व्यवस्था फेरिए पनि हुम्लीवासीका दुख भने जस्ताका त्यस्तै रहेको हरिचन्द्रले गुनासो गरे ।

डोल्पामा पुल नहुँदा पिठ्युमा बिरामी
डोल्पा जिल्लाको एक मात्र अस्पताल जिल्ला अस्पताल डोल्पा पुग्न भेरी नदीमा पुल नहुँदा बिरामीलाई पिठ्युमा बोकेर लैजानु पर्ने बाध्यता छ । भेरी नदीमा मोटरेवल पुल नहुँदा अस्पतालसम्म एम्बुलेन्स पुग्न नसक्ने भएकाले बिरामीलाई घुमाउरो बाटोबाट घण्टौं बोकेर अस्पताल पु¥याउनुपर्ने बाध्यता छ ।

सदरमुकामस्थित लामालोटे र कालिका मन्दिर आसपासबाट बेलिब्रीज बनाएर बिरामी बोकेका एम्बुलेन्स सिधैं अस्पतालसम्म पु¥याउन सकिने भएपनि अहिलेसम्म कसैले पनि चासो नदेखाएको स्थानीयको गुनासो छ ।

बजारको झोलुङ्गे पुलसम्म मात्र मोटरबाटो भएकाले त्यहाँसम्म मात्र एम्बुलेन्सले बिरामी ल्याउने र त्यसपछि बिरामी बीच बाटोमै अलपत्र पर्ने गरेको डोल्पा त्रिपुरासुन्दरी नगरपालिकाका स्थानीय राजबहादुर बुढाले बताए । ‘बिरामीलाई स्ट्रेचरमा बोकेर अस्पतालसम्म लैजाने मान्छे नपाउँदा बिरामीले बाटोमै ज्यानसमेत गुमाएका छन्,’ उनले भने, ‘पुलका कारण आफू बिरामी भएको बेलासमेत सास्ती खेप्नु परेको छ । पुल समयमै नबन्दा डोल्पाका नागरिकले दैनिक समस्या खेप्नु परेको छ ।’

पुल नभएकै कारण अस्पताल पु¥याउन ढिला हुँदा कतिपय बिरामीहरूको अस्पताल नपुग्दै बिच बाटोमै ज्यान जाने गरेको जिल्ला अस्पताल डोल्पाका प्रमुख डा. अखण्ड उपाध्याय बताउँछन् । ‘गाडी छुटेदेखि अस्पतालसम्म पुग्ने बाटो घुमाउरो र जोखिमपूर्ण छ । कतिपय गर्भवती महिला बीच बाटोमै सुत्केरी हुने गरेका छन्,’ उनले भने, ‘पुलका लागि धेरै ठाउँमा गुहारियो । तर, कसैले पनि कुरा सुनेनन् ।’

मोटरेबल पुल नहुँदा बिरामीलाई एम्बुलेन्समा सिधैँ अस्पताल पुग्न समस्या हुने भएपछि पक्की पुल निर्माणका लागि पूर्वाधार विकास कार्यालय डोल्पाले आर्थिक वर्ष २०७९/८० का लागि पहिलो चरणमा दुई करोड रकम छुट्याइएको थियो । रकम छुट्याइएको वर्षौं बितिसक्दासमेत पुल निर्माणको कामले गति लिन सकेको छैन । यता तत्काल पुल निर्माणको कामलाई अगाडि बढाएर बिरामीले भोग्नु परेको सास्तीको अन्त्य गर्ने पूर्वाधार विकास कार्यालय डोल्पाका प्रमुख टेक हितानले बताए ।

मुगुमा पनि उस्तै सास्ती
मुगु जिल्लामा जिल्ला अस्पताल, रेडक्रस, छायाँनाथ रारा नगरपालिका, सोरु गाउँपालिका, कार्मारोङ गाउँपालिका र छायाँनाथ सहकारी संस्थाका गरी ६ वटा एम्बुलेन्स सञ्चालनमा छन् ।

सबै ठाउँमा सडकको सहज पहँच नहुँदा मुगुमा पनि बिरामीलाई डोकोमा बोक्नु पर्ने बाध्यता रहदै आएको छ । मुगु सदरकुकामसम्म डोकोमा बिरामी बोकेर ल्याएपनि जिल्लाबाहिर रिफर गर्दा चाहिएको बेला एम्बुलेन्स पाउनै मुस्किल हुने मुगुको छायाँनाथ रारा नगरपालिका–५, पिनाका पूर्ववडाध्यक्ष रजबहादुर शाही बताउँछन् । ‘आवश्यक परेको बेला एम्बुलेन्स नपाउँदा बिरामीहरु निजी सवारी साधन प्रयोग गर्न बाध्य छन्,’ उनले भने, ‘तत्काल बिरामीको सेवा प्रदान गर्ने उद्देश्यका साथ खरिद गरिएका एम्बुलेन्सहरु नियामक निकायको नियन्त्रण बाहिर रहँदा बिरामीलाई सास्ती खेप्नु पर्ने बाध्यता छ ।’

तपाईको प्रतिक्रिया