अझै मर्मत भएनन् असारमा क्षति भएका सडक


गत असारमै वर्षाका कारण भासिएर क्षति पुगेको राप्ती राजमार्ग अन्तर्गतको दाङ–सल्यान सडकलगायत जिल्लाका ग्रामीण सडक अझैसम्म पनि मर्मत हुन सकेका छैनन् ।

तत्काल बजेट विनियोजन गर्न नसकेको र वर्षा अझै नरोकिएको भन्दै सम्बन्धित निकायले टार्दै आएकाले क्षतिग्रस्त सडक मर्मत हुन नसकेका हुन् । लामो समय ग्रामीण सडक अवरुद्ध भएका कारण जिल्लाबासी लामो समय हिँड्न बाध्य भएका छन् भने मुख्यमार्गलगायत केही ग्रामीण सडकमा गाडी चले पनि जोखिमपूर्ण रुपमा यात्रा गर्न बाध्य छन् ।

ग्रामीण सडक समयमै मर्मत नहुँदा विरामीलाई अस्पताल पु¥याउन समेत कठिनाई भएको छ । किसानले आफ्ना उत्पादन सहज रुपमा बिक्री गर्न पाएका छैनन् । केही पालिकाले मर्मतको तयारी गरे पनि पुनः वर्षा हुने संकेत देखिएपछि त्यसलाई अगाडि बढाएका छैनन् ।

साताअघि सुरु गरेका केही पालिकाले तीन दिनसम्म लगातार भएको वर्षाले सडकको अवस्था पहिलाको जस्तै बनाएपछि मर्मत कार्यलाई रोक्न बाध्य भएका छन् । वर्षाले भासिएको राप्ती राजमार्ग मर्मत नगरी भित्ताबाट काटेर यातायात सुचारु गरे पनि यात्रा भने जोखिमपूर्ण रहेको गर्पाका दिलबहादुर घर्तीले बताए ।

भासिएको स्थान मात्र नभई पहिरोले गर्दा साँघुरिएको र हिलाम्मे भएकाले ज्यानको बाजी लगाएर सवार गर्नु परेको उनले जानकारी गराए । सडकको दुरावस्थाका कारण दुर्घटना दैनिकजसो हुने गरेको उनको भनाइ छ ।

असार दोस्रो सातामा परेको अविरल वर्षाले खोलामा आएको बाढीले बगाईल्याएको ढुंगामाटो सडकमा थुपारेपछि कालीमाटीको पुतलीबजारदेखि हात्तीदमारसम्मको सडक अहिलेसम्म मर्मत हुन नसकेको र जसका कारण सवारी साधन चल्न नसक्दा हात्तीदमार, दम्दवालीबासीलाई सास्ती भएको स्थानीय सुरेश गाहा मगरले बताए ।

सडकमा थुप्रिएको ढुंगामाटो हटाए मात्र गाडी चल्न सक्ने भए पनि सम्बन्धित निकायले बेवास्ता गर्दा बस्तीदेखि बाहिर जानका लागि र विरामी भएकालाई अस्पतालसम्म पु¥याउन बालुवासम्म दुई घन्टा हिँड्नु पर्ने बाध्यता रहेको उनले बताए । पालिकाले सडक मर्मत गर्न टेन्डर गरेपनि मर्मतको काम भने भएको छैन ।

थारमारे–रागेचौर–चौरजहारी सडक खण्ड तथा बस्तीमा पुग्ने सडक केही स्थानमा पहिरोले पुरेको र केही स्थानमा हिलाम्मे भएकाले करिब आधा घन्टाको दुरीसम्म मोटरसाइकल डो¥याउनु पर्ने र फसेका गाडी यात्रुले तान्नुपर्ने बाध्यता रहेको बडागाउँका नबिन घर्तीले बताए । स्थानीय तह तथा सम्बन्धित निकायले बेवास्ता गरेकै कारण अहिलेसम्म वर्षाले क्षति पु¥याएको सडक मर्मत हुन नसकेको उनको आरोप छ ।

वर्षाले क्षति पुगेको सडक मर्मतमा भएको ढिलाइ र वडाले बजेट अभावमा मर्मत गर्न नसकेका कारण खलंगाबाट निगालचुला जाने सडक ठाँउ–ठाँउमा चिरा पर्दा स्थानीयलाई आउजाउमा कठिनाइ भएको वडाध्यक्ष लालबहादुर घर्तीले बताए । गाडी चले पनि यात्रुले सहज रुपमा यात्रा गर्न नपाएका उनको भनाइ छ ।

तपाईको प्रतिक्रिया