वीरेन्द्रनगर नगरपालिका–३ का कृषक ओमदत्त भारती माछापालक कृषक हुन् । उनको माछा पसल वीरेन्द्रनगर–६, स्थित हटियालाईनमा छ । उनले आफ्नो टिकानगर कृषि तथा पशुपन्छी फर्मबाट उत्पादित जिउँदो माछा वीरेन्द्रनगरमा बिक्री गर्ने गर्छन् । तर, जिल्लाभित्र भने भारतीय माछाको किनबेच रोकिएको छैन । अधिकांश होटल, रेष्टुरेण्ट, पार्टी प्यालेसमा भारतीय माछा नै खपत हुने गर्छ ।
धेरै खपत हुने ठाउँमा अझै भारतीय माछाको खपत भइरहेको कृषक ओमदत्त भारती बताउँछन्, उनले भने, ‘स्वदेशी जिउँदो ताजा माछाको बजारिकरण बढाउन राज्यले नै प्रोत्साहन गर्नुपर्छ । स्वदेशी माछा उत्पादनमा लागत बढी भएकाले सस्तोमा पाइने भारतीय माछासँग प्रतिस्पर्धा गर्न निकै कठिन छ । सोचेजस्तो उत्पादन बढेको छैन’, उनले भने ।
उनले फर्ममा बार्षिक ३० टन माछा उत्पादन गर्ने गरेका छन् । उपभोक्ता भारतीय माछाबाट सचेत हुन थालेमा आफ्नो माछाको व्यापार बढ्ने उनको भनाई छ । विगत तीन वर्षदेखि माछापालन व्यवसायमा संलग्न भारतीले लगानी अनुसारको आम्दानी अझै पाउन सकेका छैनन् । उनले भने, ‘माछापालनमा हालसम्म एक करोड लगानी भएको छ । तर, सोचे जस्तो आम्दानी भने भएको छैन् ।’ भारतबाट आएको माछाको मुल्य कम हुन्छ । उपभोक्ताले स्थानीय उत्पादनको माछा नै नचिन्ने र महङ्गो मान्ने भएकाले स्थानीय उत्पादित माछाले बजार नपाउने गरेको उनको गुनासो छ ।
उपभोक्ताले स्थानीय उत्पादनलाई चिन्नै नसकेको उनी बताउँछन् । सस्तो, ठूलो आकारको भएकाले भारतीय माछाले बजार पाएको हो । भारतीय माछाको मुल्य कम छ, तर यो माछा गुणस्तरिय छैन । मानव स्वास्थ्यका दृष्टिकोणले भारतबाट आउने काटुनको माछा खान योग्य नहुँनेतर्फ उपभोक्ता सचेत हुनुपर्ने भारतीको सुझाव छ ।
डिप बोरिङ्गबाट माछापालन
कृषक भारतीले आफुले तरकारी खेती गर्दै आएको जमिनमा डिप बोरिङ्ग खने । बोरिङ्ग खन्दा आठ इन्चसम्म पानी निस्किए पछि उनले माछापालन सुरु गर्ने सोच बनाए । एक विघा क्षेत्रमा उनले तरकारी खेती गर्दथे । काँक्रा लाउने सिजनमा एक विघामा लगाएको जमिनमा पाँच केजी पनि काँक्रा बिक्री नभएपछि माछापालन गरेको उनले बताए ।
उनी हाल त्यहि एक विघा जमिनमा माछापालन गर्ने गरेका छन् । उनले दुई पोखरीबाट माछापालन सुरु गरेका थिए । त्यसबेला कृषि विकास निर्देशनालयले केहि सहयोग समेत गर्दा आफुलाई राहत मिलेको उनले बताए । भारतीले दुई पोखरीबाट अहिले तीन पोखरीमा माछापालन गर्छन् । ३० हजार भुराबाट माछापालन सुरु गरेका भारतीको फर्ममा ३० हजार तयारी माछा र ६० हजार भुरा रहेका छन् । उनले प्रति केजी चार सयदेखि चार सय ५० प्रति केजीसम्ममा माछा बिक्री गरेको जानकारी दिए । माछापालनबाट बार्षिक रुपमा १० देखि १२ लाख रुपैयाँ आम्दानी हुने गरेको कृषक ओमदत्त भारतीले बताए ।
कृषि प्राविधिक पढेका ओमदत्त १० वर्षसम्म शिक्षण पेशा मै आवद्ध भए । कृषि पढेकाले कृषिमा नै लगानी गरी स्वदेशमै आत्मनिर्भर रहौँ भन्ने उनको सोच थियो । स्वदेशमा उत्पादन बढाएर स्वदेशमै आर्थिक बृद्धि बढाउने चाहाना पनि । स्वदेशको पैसा विदेशीनु हुन्न भन्ने उनको आफ्नो मान्यताले गर्दा विदेशबाट निर्यात हुने वस्तुमा सरकार, प्रदेश र स्थानीय तहले रोक्न पहल गरेमा कृषकले उत्पादन गरेको वस्तु स्वदेशमै बिक्री हुनेमा सहज हुने उनको भनाई छ ।
चितवन र बर्दियाका भुरा माछा वीरेन्द्रनगरमा
कृषक भारतीले भुरा माछा चितवन र बर्दियाबाट ल्याउने गरेका छन् । भुरा उत्पादन गर्न माछालाई झण्डै तीन बर्ष लाग्ने हँुदा आफुले भुरा उत्पादन नगरेको उनले बताए । उनले उत्पादन गरेको माछा पंगासियी प्रजातीको हो । यो प्रजातिको माछा गर्मी हावापानीमा पालन गर्न सकिने माछा हो ।
त्यस्तै, भारतीले आफुले पालन गरेको माछा अर्गानीक र स्वच्छ भएको बताएका छन् । यो माछा जुनसुकै मानिसले पनि खान मिल्ने र पौष्टिक तत्व बढि र यो माछा खादा काडा पनि कम हुने उनले जानकारी दिए ।
उनले भने, ‘राज्यले किसानलाई उत्प्रेरित गरेर उत्पादन बढाउने नीति लिनुपर्छ ।’ कृषिमा आधुनिकिकरण गर्न सके राम्रो हुने उनको भनाई छ । अहिले भारतीलाई आधुनिक किसिमको नर्सरीको आवश्यक छ । यदि सरकारले आधुनिक किसिमको नर्सरीको व्यवस्थापन गरिदिए वर्ष भरी नै माछा सहज रुपमा उत्पादन गर्न सकिने उनको भनाई छ ।
कल्पना ढेङ्गा मगर । सुर्खेत । २० आश्विन २०८१, आईतवार ११:२०