सिंजा साम्राज्यको मध्ययुगबाट सुरु भएको थियो कर्णालीमा दशैँँ

गोर्खाली सेनाको प्रवेशपछि अनिवार्य भयो ‘बडादशैँ’


कर्णालीमा दसैँ मनाउने प्रचलनको कुनै दस्तावेज भेटिदैनन् । डा. सूर्यमणी अधिकारीको खसराज्यको इतिहास नामक पुस्तकमा १८४६ को असोज महिनाअघिदेखि शिवनारायण खत्री नेतृत्वको गोर्खाली फौज डोल्पा जिल्लाको त्रिपुरासुन्दरी आसपास तैनाथ थियो । असोज महिनामा जुम्लामा घाँस र धान काट्ने समय भएकाले तत्कालीन जुम्ली राजा शोभान शाहीका झराली सैनिकहरूलाई घरमा विदा दिएको र दशैँको मौका छोपी गोर्खाली फौजले लडाइँ नै नगरी जुम्ला राज्य कब्जा गरेको उल्लेख छ । यसबाट दशैँ खस राज्यका अन्तिम राजा शोभान शाहीको पालामा समेत मनाइने गरेको पुष्टि हुन्छ ।

अधिकारीको पुस्तक खसराज्यको इतिहाँसलाई आधार मान्ने हो भने कर्णाली क्षेत्रमा दशैँ मनाउने चलन सिंजा साम्राज्यको मध्यतिरबाट सुरु भएको अनुमान गर्न सकिन्छ । तर, दशैँँमा लगाउने टीकामा भने हालको जस्तो चामल प्रयोग हुँदैनथ्यो । त्यसबेला सिंजा राज्यमा धानको उत्पादन हुँदैन थियो । धानको उत्पादन सिंजा साम्राज्यको उत्तरार्धतिर भएको अनुमान छ । सिंजा क्षेत्रमा धान उत्पादन नहुँने हुँदा चामलको सट्टा निधारमा पिठो लगाउने चलन रहेको संस्कृतिविद जुम्लाका रमानन्द आचार्य बताउँछन् ।

नेपाल एकिकरणको क्रममा सिंजा राज्य बलियो भएपछि गोर्खालीहरुको निसानामा थियो । दुईपटकको असफल आक्रमणपछिको तेस्रो प्रयासमा सिंजा राज्य समाप्त पार्ने गरी गोर्खाली फौज रणनीतिक योजनामा थियो । सोही योजाना मुताबिक गोर्खा राज्यले असोज महिनाको दसैँँको वरपर दुईवटा सेनाको फौज सिंजा क्षेत्रमा प्रवेश गरेको थियो । एकातिर धान काट्ने र भित्र्याउने कामको चटारो अर्कोतर्फ दसैँँको समयमा सिंजा राज्यका सेनाहरु बिदामा गएको मौका पारी गोखाली फौज सिंजा साम्राज्यमा कब्जा जमाउन सफल भयो । आचार्यका अनुसार जुम्लाको उत्तर र दक्षिणबाट आएको गोर्खाली फौज ३ असोज १८४६ मा विधिवद्रुपमा कर्णाली क्षेत्रमा प्रवेश गरेको थियो ।

संस्कृतिविद् अचार्यका अनुसार सिंजा साम्राज्यभन्दा अगाडी कर्णालीमा दशँै मनाउने प्रचलन थिएन । अहिले लामो विदा, आफन्तहरुसँगको भेटघाट, टाढा गएका आफन्तहरु घर फर्किने र जमघटका कारणले दशैँँ प्रमुख पर्वको रुपमा स्थापित छ । तर, सिंजा साम्राज्य स्थापना हुनुभन्दा अघि कर्णाली क्षेत्रमा मष्टो संस्कृति पुजिन्थ्यो । मष्टो मान्नेहरुका लागि सबैभन्दा ठूलो पर्व पुनि (पूर्णिमा) हो । वर्षभरिका १२ वटा पुनि मध्ये वैशाख, साउन, कात्तिक र माघे पुनि विशेष मानिन्छन् । मष्टो बाहेक महादेउता, वन देउताका लागि कोजगरात पूर्णिमा र भदौ पुर्णिमामा पनि पूजा लाग्छ । मष्टो पूजकका लागि पुनि आज पनि महत्वपूर्ण छ ।

भोट मधेस गएका, रोजगारीका लागि बाहिर गएकाहरु पुनिमा घर पुग्ने भनि भाकल गर्छन् र पुग्छन् पनि । यदि पुग्न नसके जरिवाना तिर्नुपर्छ भने बाहिर हुँदा चिताएको पुग्यो भने खुसीले जस दिने चलन छ । वर्षभरिका १२ वटै पुनिमा चोखो निउतो गर्ने, बाह्रभाई मष्टो र नौ दुर्गन भवानीलाई सम्झिने गरिएको ‘लामा–विष्णु सांस्कृतिक समन्वयका प्रतीक’ पुस्तकका लेखक बासु उपाध्यायले उल्लेख गरेका छन् । मष्टो परम्परामा पुनि नै सबैभन्दा ठूलो पर्व हुनाले दशैँँ मनाउने चलन नदेखिएको उपाध्यायले लेखेका छन् । खस इतिहासका जानकार रमानन्द आचार्यका अनुसार ११ औँ शताब्दीको मध्यतिर नागराजले सिंजामा साम्राज्य खडा गर्दाताकाका खसहरु बौद्ध धर्मावलम्बी हुन् ।

कर्णालीमा बैदिक हिन्दु प्रभाव पर्नुअघि बौद्ध परम्पराको प्रभाव थियो । खस राजाहरु तिब्बतसँगको सम्पर्कले बौद्ध धर्मबाट दीक्षित थिए । त्यसैले कर्णालीमा प्राप्त मुर्ति र वास्तुकलामा बौद्ध मुर्तिकलाको प्रभाव छ । खस राज्यकाल धार्मिक सहिष्णुताका आदर्श अवस्थामा रहेको थियो ।

तिब्बतमा दलाई लामाको शासन व्यवस्था सुरु भइसेको थिएन तर, सबै बौद्ध धर्मालम्बी राजा थिए । उत्तरतर्फ हिमालपारिबाट बौद्ध र दक्षिणबाट हिन्दु परम्पराको समिश्रण भई सहिष्णु समाजको निर्माण भएको लेखक तथा अध्येयता माधव चौलागाईको सपादलक्ष कर्णाली नामक पुस्तकमा उल्लेख छ ।
यो अवधिमा कर्णालीले उत्तरतिर भोट तिब्बतसँग सम्भवतः नेपालको इतिहाँसमै सबैभन्दा मजबुद सम्बन्ध कायम गरेका थिए । नेपालको हुम्ला क्षेत्र र तिब्बतका गुम्बाहरुमा त्यस्ता प्रमाण भएका दस्तावेजहरु रहेको इतिहाँसकारहरुले भेटेका छन् । खस राज्यका पृथ्वी मल्ल अघिका राजहरु सबै बुद्ध धर्मालम्बी थिए । सिंजा राज्यका सम्राट नागराज आफैं खारी प्रदेश (ताक्लाखार, तिब्बत) बाट आएकाले उनीसँगै बौद्ध परम्परा भित्रिएको अध्येयता चौलागाईले आफ्नो पुस्तकमा उल्लेख गरेका छन् ।

त्यतिबोला भारत वर्षमा पनि बौद्ध परम्परा उत्कर्षमा थियो । दैलखमा भएको पृथ्वी मल्लका पालाको विसं १४१४ तिर कुँदिएका विजय स्तम्भमा लेखिएको ‘ॐ मणिपद्मे हुँ’ ले पनि कर्णालीमा वैदिक हिन्दु प्रभाव पर्नुअघि बौद्ध परम्परा थियो भन्ने तथ्य पुष्टि हुन्छ ।

थुप्रै अध्येताका अनुसार उनी तिब्बततिरबाट आएका थिए । खसहरु बौद्ध धर्मावलम्बी भएको प्रमाण हालसम्म पनि अस्तित्वमा रहेका अधिकांश देवलहरुको निर्माण शैली हो । जो बौद्ध धर्मको कलासँग मेल खान्छ । जुम्ला मिचा र त्यस आसपास तथा सिंजामा रहेका पञ्च देवल, दैलेखको भुर्तीमा रहेका पञ्च देवल, सुर्खेत काँक्रेबिहार मन्दिरको निर्माण शैली बौद्ध धर्मसँग जोडिएको संस्कृतिविद आचार्य बताउँछन् । सिंजा सभ्यतामा प्राप्त शिला लेखहरुमा ओम मणि पद्मे हुँ, ओम नमो बुद्धाय लेखिएको पाइनुले यसको पुष्टि गर्ने आचार्यले बताए । बौद्धमार्गीहरु दसैँ नमान्ने भएकाले खस साम्राज्यको सुरुमा दशैँँ मान्ने चलन नरहेको उनले बताए ।

पछि सिंजा साम्राज्यको सीमा विस्तार भएपछि खसहरु विभिन्न धर्मका संस्कृतिहरुसँग पनि नजिक भए । त्यसैक्रममा खसहरुले मष्टो संस्कृतिलाई अंगालेको उनले बताए । जसको प्रमाण स्वरुप यस क्षेत्रका ठूला तिर्थस्थलहरु छायाँनाथ, मुक्तिनाथ आदिमा पुनि (पूर्णिमा) को दिनसम्म मष्टो पुजकहरु पुजा गर्छन् भने पडेवाको दिनबाट बुद्धमार्गीहरु पूजा गर्छन् । यसरी खस साम्राज्यले सांस्कृतिक समन्वय गरेर अघि बढ्को देखिन्छ ।

मौलिक परम्पराको रुपमा रहेको दसैँँ कर्णाली क्षेत्रमा ठाउँ अनुसार फरक–फरक रहेको बताउँछन् लेखक एवम् अध्येयता चौलागालाई । सुरुदेखि दसैँँको दिनदेखि कोजाग्रत पूर्र्णिमासम्म जवारे पुनिको प्रचलन रहेको उनी बताउँछन् । यस अवधिमा जमरा लगाउने चलन पहिलेदेखि नै रहेको चौलागाई बताउँछन् ।

‘मान्छेहरु काममा एकदमै व्यस्त हुने भएकाले दिनभन्दा रातभर पिठोको टिका लगाउँथे,’ उनी भन्छन्, ‘त्यसमा साइत हेरेर नभई दिनभर काममा जाने र साँझ आफन्त तथा ठुलाबडासँग झेट्ने, टिका जमरा लगाउने हुन्थ्यो । राति प्राय घरघरमा पुगेर टिका, जमरा लगाउने चलन थियो । तर अहिले त्यो चलन भने लोभ भइसकेको छ ।’

अहिले विस्तारै रेडियो तथा विभिन्न माध्ययमबाट टिका र जमरा लगाउन पनि साइत हुने रहेछ भन्ने बुझेर त्यो परम्परा फेरिएको उनले बताए । ‘पहिले दिन शुभ मानिन्थ्यो तर साइत हेरिदैन थियो । पहिले हरेकको घरमा भेडा काट्ने प्रचलन थियो । दशैँँ आयो भने मासु खान पाइन्छ भन्ने चलन पनि थियो । जौ का जमरा राखिन्थ्यो । पिङ खेल्ने प्रचलन थिएन । अहिले अनिवार्य जस्तै भएको छ,’ चौलागाईले भने ।

दशैँँमा फूलपाती चढाउने, बडा दशैँँको बडाई गर्ने प्रचलन शक्तिसँग जोडिएको उनी बताउँछन् । गोर्खाली फौजले सिंजा राज्य कब्जा गरेपछि यो परम्परा अनिवार्य भएको उनले बताए । ‘डोला लिएर घरघरमा जाने, फूलपाती उठाएर ल्याउने, मन्दिरमा चढाउने, पुजा गर्ने गर्ने प्रचलन अहिले पनि छ,’ उनी भन्छन्, ‘विशेष गरी बुढापाकाका अनुसार गोर्खाली सैनिक प्रवेश गरेपछि सदरमुकामहरुमा यो प्रचलन सुरु भएको हो पनि भनिन्छ ।’ अध्येयताका अनुसार गोर्खाली सैनिकले सिंजा सामाज्यमा जित हाँसिल गरेपछि टिका लगाउँदा विभिन्न रंग प्रयोग गर्ने प्रचलन भित्रिएको हो ।

तपाईको प्रतिक्रिया