जुम्लाका २५ वडामा पुग्यो राष्ट्रिय प्रसारण लाइन


जुम्लाका बस्तीबस्तीमा राष्ट्रिय प्रसारण लाइन विस्तारको काम धमाधम भइरहेको छ । जुम्ला २०७८ भदौ महिनामा राष्ट्रिय प्रसारण लाइनमा जोडिएको थियो ।

कर्णालीलाई पूर्ण विद्युतीकरण गर्ने प्राधिकरणको कार्ययोजना अनुसार बस्तीबस्तीमा प्रसारण लाइन विस्तारको काम तीव्र रूपमा भइरहेको हो । विद्युत प्राधिकरण वितरण केन्द्र जुम्लाको तथ्यांकनुसार जुम्लामा प्रसारण लाइन जोडिएको करिब साढे तीन वर्षको अवधिमा यहाँका २५ वटा वडामा राष्ट्रिय प्रसारण लाइन विस्तार भएको छ ।

एक नगरपालिकासहित सात गाउँपालिका रहेको जुम्लाका कुल ६० वटा वडा रहेका छन् । जसमध्ये हालसम्म २५ वटा वडामा राष्ट्रिय प्रसारण लाइन विस्तार भएको नेपाल विद्युत प्राधिरकण जुम्लाका प्रमुख राम आशिष शाहले बताए । जुम्लाको पातारासी गाउँपालिकाका सातवटा वडा र गुठिचौरका पाँचमध्ये तीनवटा गरी कुल नौवटा वडाबाहेक ५१ वडामा राष्ट्रिय प्रसारण लाइन पु¥याउने कार्ययोजना छ ।

जसमा चन्दननाथ नगरपालिकाका १० वटै वडामा प्रसारण लाइन विस्तार भइसकेको छ । तातोपानी गाउँपालिकाका आठवटा वडामध्ये १ देखि ६ सम्मको ६ वडामा पूर्णरूपमा विद्युत विस्तार भइसकेको छ भने दुईवटा वडामा आशिंक रूपमा विद्युत पुगेको छ । तिला गाउँपालिकाका नौवटा वडामध्ये एकदेखि चारसम्म चारवटा वडामा पूर्णरूपमा विद्युत पुगिसकेको छ ।

तीनवटा वडामा आशिंक र दुईवटा वडामा विद्युत पुग्नै बाँकी छ । उता हिमाका सातवटा वडामध्ये ४ र ५ मा विद्युत पुगेको र बाँकी चार वडामा प्रसारण लाइन पुगेको छैन । साथै सिंजा गाउँपालिकाका ६ वटा वडामध्ये ३ र ५ नम्बर वडामा बत्ती पुगेको छ भने बाँकी चारवटा वडामा बत्ती पुग्नै बाँकी छ । कनकासुन्दरी गाउँपालिकाका ८ नम्बर वडामा मात्रै प्रसारण लाइन पुग्दा अझै आठवटा वडा बाँकी छन् ।

गुठिचौर गाउँपालिकाका पाँचवटा वडामध्ये दुईवटा वडामा बत्ती पुगिसकेको छ भने तीनवटा वडामा पुगेको छैन । पातारासी र गुठिचौरका नौ वडाबाहेक कुल ५१ वडामध्ये २५ वडामा बत्ती पुग्दा २६ वडामा अझै पुग्न बाँकी रहेको छ । विद्युत प्राधिकरण वितरण केन्द्र ग्राहक सेवा निर्देशनालयबाट ठेक्का आह्वान भई ‘वाइबा कन्स्ट्रक्सन’ले जुम्लाका गाउँमा विद्युत विस्तारको काम गरिरहेको छ ।

दसैं मनाएर ठेकेदार जुम्ला पुगिसकेकाले अब विद्युत विस्तारको काम तीव्र रूपमा हुने प्रमुख शाहले उल्लेख गरे । तिला गाउँपालिका–६ का अध्यक्ष जंग रोकायाले लामो प्रयासपछि आफ्नो वडामा पनि राष्ट्रिय प्रसारण लाइन जोडिएपछि खुसीयाली छाएको बताए । उनका अनुसार गाउँगाउँमा बत्ती पुगेसँंगै दैनिकी फेरिएको छ । उनले भने, ‘अब गाउँमै विद्युतीय काम तथा फर्निचर उद्योग सञ्चालनमा सहज हुनेछ ।’

तपाईको प्रतिक्रिया