सम्पादकीय : रणनीतिक अस्पतालको अवधारणा पुरा गर

कर्णाली प्रदेश सरकारले आठ लाख नागरिकलाई नियमित स्वास्थ्य सेवा दिने उद्देश्यले रोड कोरिडोरमा रणनीतिक अस्पताल निर्माणको अवधारण अघि सारेको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयले प्रस्ताव गरेका रणनीतिक अस्पताल कर्णालीका मुख्य राजमार्ग कर्णाली राजमार्ग, कर्णाली कोरिडोर, भेरी कोरिडोर, मध्यपहाडी लोकमार्ग, मदन भण्डारी राजमार्ग र अन्य सहायक सडक मार्ग नजिक निर्माण हुने भनिएको छ ।

कर्णालीका यी रोड कोरिडोरमा रणनीतिक अस्पताल निर्माण भएको खण्डमा आठ लाखभन्दा बढी जनसंख्यालाई नियमित सेवा उपलब्ध गराउन सकिने भनिएको छ । जनसंख्या, निर्वाचन क्षेत्र, राजमार्गको पहुँच र बिरामीको चापका आधारमा स्वास्थ्य संस्थालाई रणनीतिक अस्पतालका रूपमा विकास गर्ने प्रस्ताव प्रदेशको सामाजिक विकास मन्त्रालयले अगाडि सारेको छ । विकट भूगोलका बासिन्दाले आकस्मिक उपचार सेवा नपाउने र ज्यान गुमाउनु पर्ने अवस्था न्यूनीकरण गर्न रणनीतिक अस्पताल महत्वपूर्ण हुने प्रदेश सरकारको दावी छ ।

यो आफैमा स्वागत गर्न लायक प्रयास हो । यस अवधारणामा मन्त्रालयले संघीय सरकार, स्थानीय तह, स्वास्थ्यसँग सरोकार राख्ने विभिन्न सरकारी तथा विकास साझेदार निकायसँग आधारभूत तहको छलफल पनि सुरू गरेको जनाएको छ । प्रदेशको स्वास्थ्य सेवा सहज र सुलभ बनाउने तथा स्वास्थ्य सम्बन्धी प्रदेश सरकारको लक्ष्य हाँसिल गर्ने उद्देश्यका साथ रणनीतिक अस्पताल परिकल्पना गरिएको मन्त्रालयको दावी छ । हाल कर्णाली प्रदेशमा राजधानी सुर्खेत, जिल्लाका सदरमुकाम र सहरोन्मुख क्षेत्रमा सुविधायुक्त सरकारी र निजी अस्पताल छन् ।

कर्णालीको कठिन भूगोलका कारण ती अस्पतालमा सबै नागरिकको पहुँच हुँदैन । कर्णालीका ग्रामीण भेगमा भएको स्वास्थ्य चौकीमा उपकरण र जनशक्ति कम हुन्छ । ती भेगका मानिसलाई ठूलो उपचारका लागि धेरै टाढा सदरमुकाम धाउनुपर्ने बाध्यता छ । यस्तो भेगको मध्य भागमा पर्ने स्वास्थ्य चौकीलाई रणनीतिक अस्पताल बनायो भने जनशक्ति र उपकरण थपिन्छ । नागरिकलाई शल्यक्रिया गर्नुपर्ने अवस्थामा बाहेक सदरमुकाम जानुपर्दैन ।

रणनीतिक अस्पताल भनेको भूगोल, जनसंख्या, यातायातको सहजता लगायतका आधारमा स्वास्थ्य संस्थाहरू छनौंट गरी सेवा अभिवृद्धि गर्ने हो । प्रस्तावमा तत्काल १२ वटा स्वास्थ्य संस्थालाई रणनीतिक अस्पतालका रूपमा विकास गरिनेछ । जसमा पश्चिम सुर्खेतको सालकोट अस्पताल, दैलेखको दुल्लु अस्पताल, राकम कर्णाली स्वास्थ्य चौकी, जाजरकोटको नलगाड नगर अस्पताल, रुकुम पश्चिमको आठबिसकोट नगर अस्पताल र मुगुको खत्याड प्राथमिक स्वास्थ्य केन्द्रलाई रणनीतिक अस्पताल बनाउने प्रस्ताव गरिएको छ ।

त्यस्तै, डोल्पाको मुड्केचुला स्वास्थ्य चौकी, जुम्लाको कनकासुन्दरी स्वास्थ्य चौकी, कालीकोटको रास्कोट अस्पताल, सल्यानको थारमारे प्राथमिक स्वास्थ्य चौकी, वनगाड नगर अस्पताल र हुम्लाको अदानचुली स्वास्थ्य चौकीलाई पनि रणनीतिक अस्पताल बनाउने भनिएको छ । रणनीतिक अस्पताल भनेका छुट्टै नयाँ निर्माण गरिने अस्पताल भने होइनन् । अस्पताल र बिरामीबीच दूरी धेरै भएकाले उपचार पाउन धेरै समय लाग्ने समस्या समाधान गर्न सदरमुकाम भन्दा बाहिर रणनीतिक अस्पताल जरूरी ठानिनु कर्णालीको स्वास्थ्य सुधारको कोशेढुङ्गा सावित हुनेमा दईमत छैन ।

तर, कर्णाली प्रदेश सरकारले सारेको रणनीतिक अस्पतालको अवधारण पुरा हुनेमा आशंका गर्ने ठाउँहरु भने प्रसस्त छन् । प्रदेश सरकारले यसअघि कर्णालीको स्वास्थ्य सुधारका लागि अगाडि सारेका योजनाहरु अलपत्र परेको अवस्थामा यो अवधारणा पुरा होला भन्ने ठाउँ कतै देखिँदैनन् । यसअघि प्रदेश सरकारले प्रदेशका १० वटै जिल्लामा सुविधा सम्पन्न अस्पताल निर्माण गर्ने योजना अझै पनि पुरा हुन सकेका छैनन् । सबै जिल्लामा विशिष्टिकृत स्वास्थ्य सेवा दिने प्रदेश सरकारको योजना अलपत्र छ । कर्णाली त्यसैमा पनि मानव विकास सूचाङ्कमा पुछारमा परेको प्रदेश हो ।

मानव विकास सुचाङ्कमा पछाडि परेको क्षेत्रको स्वास्थ्य पूर्वाधार आफैमा कमजोर हुन्छ । जसले नागरिकलाई भरपर्दो स्वास्थ्य सेवा लिन प्रदेश बाहिरिनुपर्ने अवस्था छ । राज्यले यसतर्फ ध्यान पु¥याउनु पर्ने हुन्छ । जे होस् प्रदेश सरकारले अगाडि सारेको रणनीतिक अस्पतालको अवधारणा पुरा गर्नेतर्फ भने सबैले हातेमालो गर्न आवश्यक छ । सरकार फेरिएर नयाँ मन्त्री आउने वित्तिकै योजना हराउने प्रवृत्ति आगामी दिनहरुमा देख्न नपरोस् । सरकारले रणनीतिक अस्पतालको विकाससँगै दक्ष जनशक्ति व्यवस्थापन गर्न तथा आवश्यक उपकरण र स्रोत व्यवस्थापनमा ध्यान केन्द्रित गरोस । सबै नागरिकले आधारभूत स्वास्थ्य सेवा अनिवार्य घरदैलोमै पाउने अधिकारको सुनिश्चित गर्नु राज्यको दायित्व हो ।

तपाईको प्रतिक्रिया