बडिमालिकामा उच्चपदस्थहरुको आँगमन बढ्दै


कर्णाली प्रदेशको कालीकोट जिल्ला र सुदुरपश्चिमको बाजुरा जिल्लाको सिमानामा पर्ने बडिमालिका धार्मिक मात्र नभएर पर्यटकिय हिसावले पनि महत्वपूर्ण मानिन्छ । त्यहाँ पछिल्लो समयमा राष्ट्र प्रमुखसहित केही उच्च तहको नेताहरुले बडिमालिकाको दर्शन गर्नुका साथै अवलोकन गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले प्रसिद्ध धार्मिकस्थल बडीमालिका मन्दिरको दर्शन एवम् पूजाअर्चना गरेका छन् । राष्ट्रपति पौडेलले प्रथम महिला सविता पौडेलसहित बिहीबार बिहान बडिमालिकाको पूजाअर्चना गरी टीका, प्रशाद ग्रहण गरेका हुन् । प्रसिद्ध धार्मिकस्थल एवम् शक्तिपीठ बडीमालिका मन्दिरमा पूजा एवम दर्शनको लागि भक्तजन आउने गर्दछन् ।

राष्ट्रपति पौडेलले त्रिवेणी नगरपालिका त्यसपछि उनले बाजुरा त्रिवेणी नगरपालिका–७, मा रहेको नाट्यश्वरी मन्दिरको नवनिर्मित भवन उद्घाटन गरेका छन् । राष्ट्रपति पौडेल उक्त कार्यक्रममा सहभागी हुन बुधबार अपरान्ह सुर्खेत आइपुगेका थिए । राष्ट्रपति पौडेलले बडिमालिका क्षेत्रमा आएर प्रकृतिको अनुपम दृश्य देख्न पाउँदा आफूलाई जीवनको सबैभन्दा ठूलो तीर्थस्थलमा आएको महशुस भएको बताए । ‘जब मैले बडीमालिका उभिएर चारैतिर प्रकृत्तिको अनुपम र मनोरम जुन छटा देखेँ मलाई म स्वर्गमा आएको महशुस भएको छ,’ उनले भने, ‘मैले जीवनको सबैभन्दा ठूलो तीर्थस्थलमा आएको महशुस गरेको छु ।’ यहाँ रहेको प्रकृतिको छटाबाट साँच्चैको स्वर्ग कस्तो हुन्छ भन्ने पहिलो पटक हेर्न पाएको उनले बताए ।

त्यस्तै, असोज २० गतेका दिन एमालेका उपमहासचिव प्रदीप ज्ञवालीसहित एमालेका नेताहरुले बडिमालिकाको दर्शन गर्नुका साथै त्रिवेणी पाटनको अवलोकन गरेका थिए । २८ जेठ २०७९ सालमा तत्कालिन राष्ट्रपति विद्यादेवी भण्डारीले बडीमालिका पूजा आराधना गरेकी थिइन् । धार्मिक तथा पर्यटकीय क्षेत्रका रुपमा रहेको बडीमालिकामा जेठ महिनामा लाग्ने गङ्गादशहराको पहिले नै बडीमालिकाको पूजा गर्ने प्रचलन अनुसार तत्कालिन राष्ट्रपति भण्डारीले पूजा आराधना थिइन् ।

बडिमालिका पूजाआजा गर्न जाने प्रायः उच्चपदस्थहरु सुर्खेतलाई बेस बनाउने गरेका छन् । यसअघि राजा महेन्द्र, वीरेन्द्र, सेना, प्रहरी प्रमुखहरू त्यहाँ पुगेका छन् । तत्कालीन राजा वीरेन्द्रले २०३६ सालमा बडिमालिकामा ठूलो घण्ट चढाएका थिए ।

प्रदीप ज्ञवाली भन्छन ‘बडीमालिका हिरा जस्तो’

यहीँ असोज २० गते बडिमालिका पूजाआजा तथा अवलोकन भ्रमण सकेर आएपछि नेकपा एमाले उपमहासचिव प्रदीप ज्ञवालीले बाजुराको बडीमालिकालाई हिरासँग तुलना गरेका थिए । तीन दिने भ्रमण सकेर फर्किएका ज्ञवालीले सामाजिक सञ्जालमार्फत बडिमालिकाको वर्णन गरेका हुन । पूर्वमन्त्री समेत रहेका ज्ञवालीले लेखेका छन ‘आहा ! एकान्त, शान्त र प्रशिद्ध आध्यात्मिक शिखर बडीमालिका, फेँदीमा अक्षत र अप्रतिम त्रिवेणी पाटन ! भर्खरै खानीबाट बाहिर निकालिएको हीरा जस्तो पर्यटकीय गन्तव्य ।’

बडीमालिका पछिल्लो सयम देशकै प्रमुख गन्तव्यका रुपमा विकास हँुदै गएको छ । सोहि क्रममा ज्ञवाली नेतृत्वको टोलीले भूस्वर्गकै रुपमा परिचित बडिमालिकाको पहिलो पटक पदयात्रा भ्रमण गरेका थिए । ज्ञवाली नेतृत्वको टोलीमा एमाले केन्द्रीय सदस्य लालबहादुर थापा, जिल्ला अध्यक्ष लालबहादुर ओली, बडिमालिका नगरपालिका नगर प्रमुख अमर खड्का लगायतका रहेका थिए ।

राष्ट्र प्रमुखको पूजाआजा हुनु पर्यटनमा टेवा

बडिमालिकामा धार्मिक पर्यटकीय क्षेत्र भएका कारणले पर्यटन क्षेत्रको विकासका लागि देशका उच्च पदस्थको पूजाआजा गर्नुले कर्णाली तथा सुदुरपश्चिमको पर्यटन क्षेत्रका योगदान हुने स्थानीय तहहरुले जनाएका छन् । बडिमालिकामा राष्ट्र प्रमुखले पूजाआजा गर्नु एउटा महत्वपूर्ण धार्मिकस्थल हो भने अर्को यहाँको पर्यटन क्षेत्रको योगदान गर्ने बाजुरा बडिमालिका नगरपालिका नगर प्रमुख अमर खड्काले बताए । ‘यो निकै पुरानो धार्मिक तथा पर्यटकीयस्थल हो,’ उनले भने, ‘केही दिन पहिला एमाले उपमहासचिवसहित हामी पनि त्यहाँ पुगेको थियौं । उपमहासचिवले यहाँको दृश्य देखेर निकै लोभिनु भएको थियो ।’

कर्णाली र सुदुरपश्चिमको सिमानामा पर्ने धार्मिक तथा पर्यटकीय क्षेत्र बडिमालिकामा पछिल्ला दिनमा केही राजनीतिक दलका उच्च नेता र राष्ट्र प्रमुख भ्रमण यहाँको पर्यटन क्षेत्रको विकास ध्यान पुग्ने कालिकोट रास्कोट नगरपालिकाका प्रमुख धर्मराज शाहीले बताए । ‘यहाँको पर्यटन विकासमा उहाँहरुले दिने योगदान त छदँैछ ।’ उनले भने,‘यसले यहाँको प्रचार–प्रसारमा योगदान दिएको छ ।’

यस्तो छ बडिमालिकाको बिशेषता

समुन्द्री सतहबाट १४ हजार फिटको उचाईमा रहेको बडिमालिका नजिकै देखिने सुन्दर हिमाल, हिउँ कुल्चन पाउने सौभाग्य र मनोरम प्राकृतिक दृश्यहरू बडिमालिकाका गहना हुन् । बडीमालिकाको सौन्दर्य भनेकै विशाल फाँटहरु हुन् । तर अचेल यी फाँटहरू बिस्तारै मासिँदै छन् । यी फाँटमा अनावश्यक चरन र जडीबुडी चोरी निकासीका कारण यसको सौन्दर्य मासिएको जिल्लाबासीको गुनासो छ ।

बडीमालिकामा प्रत्येक वर्ष जनै पूर्णिमाका दिन ठूलो मेला लाग्छ । त्यो समयमा केही स्थानीय व्यापारीले पसल राख्ने गर्छन् । अन्य समयमा त्यहाँ पसलहरू खासै भेटिँदैनन् । बडीमालिका मन्दिरमा दर्शन गरेपछि आफ्नो मनोकांक्षा पूरा हुने जनविश्वास छ । मन्दिर परिसरबाट आँखै अगाडी देखिने सैपाल हिमालको मनोरम दृश्यले यहाँको सौन्दर्यलाई झनै तिखारेको छ । बडिमालिका पुग्नका लागि उचित बास बस्ने स्थान नभएका कारण भक्तजन तथा पर्यटकले खानपिन तथा बासको जोहो आफँै गर्नुपर्छ ।

मन्दिर व्यवस्थापनले भक्तजनहरूलाई बास बस्नका लागि एउटा धर्मशाला बनाइदिएकाले भक्तजनहरू त्यहीँ बास बस्ने गर्छन् । मन्दिर व्यवस्थापन समितिका पूर्वअध्यक्ष भन्छन् बडिमालीकामा सरकारको पहुँच नभएका कारण त्यहाँबाट जडीबुडीको चोरी निकासी हुने गरेको छ । सरकारले बडीमालीका जाने स्थानमा चेकपोष्ट राख्नुपर्ने उनको माग छ । हरेक वर्ष भदौमा यहाँ मेला लाग्छ । मुलुकका विभिन्न जिल्लाका साथै भारतबाट पनि तीर्थालुहरू यहाँ मेला भर्न आउँछन् । भक्तजनहरूले आफूले मागेको वरदान पूरा हुन्छ भन्ने विश्वास गर्छन् ।

हालसम्म गंगा दशहरा र जनैपूणिर्मा गरी वर्षको दुईपटक मात्र चल्दै आएको औपचारकि मेलाका कारण बडीमालिकाको महत्व सीमित छ । गाडीबाट बडीमालिका जान धनगढी वा नेपालगन्जबाट अछामको साँफेबगर पुग्नुपर्छ । यहाँ पुग्न जो कोहीलाई हम्मे हम्मे पर्दछ । आफुलाई आवश्यक पर्ने चामल पिठो, ओढ्ने ओछाउने र लगाउने कपडा, पकाउने र खाने भाँडाका साथै अन्य सरसमानहरू बोकेर दुर्गम बाटो, उकाली ओराली, भिर पहरा र भञ्ज्याङहरू पार गरेर यहाँ पुग्न कम चुनौती पूर्ण छैन ।

अग्लो चुचुरोमा रहेको बडिमाईको मन्दिर वरपर विभिन्न प्रकारका सुन्दर फूलहरुले र २२ पाटन (हरिया फाँट) हरूमा चर्दै गरेका भेडा, बाख्रा, भैंसी आदी जनावरहरुले यहाँको शोभा बढाएको हुन्छ । त्यस्तै गोठालाहरू र यात्रीहरूको मुखबाट गुन्जिने सुरिला देउडा भाकाले झनै यस ठाउँको सौन्दर्यता बढाउँछ ।

तपाईको प्रतिक्रिया