काँग्रेस–एमालेबाट युवा किन बाहिरिँदै छन् ?

पछिल्लो समय कर्णाली प्रदेशका अधिकांश जिल्लामा दल अदल बदल गर्ने चलन बढन थालेको छ । लामो समय नेपालका ठूला राजनीतिक दलमा तन, मन र धन लगाई राजनीति गरिरहेका नेता, कार्यकर्ता नै अलग अलग दलमा प्रवेश गर्न थालेका छन् ।

यसको उदाहरणको रुपमा सुर्खेत काँक्रेविहार यातायात व्यवसायी समितिका अध्यक्ष, नेपाली काँग्रेस वीरेन्द्रनगर कार्यसमितिका सचिव रमेश सापकोटालाई लिन सकिन्छ । उनी पछिल्लो समय नेपालको चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टीको जिल्ला सभापति बनेका छन् । नेपाली काँग्रेसका उपसभापति एवम पूर्व उपप्रधानमन्त्री पूर्णबहादुर खड्काका अत्यन्त विश्वासिला पात्र, एकै वडाबासी, उनका मुख्य योजनाकारसमेत रहेका सापकोटा रास्वपामा प्रवेश गरेसँगै सुर्खेतको राजनीति तरंगित हुन पुगेको छ ।

उनी रास्वपामा प्रवेश गर्ने समयमा उपसभापति खड्का भने पश्चिम सुर्खेतमा संगठन विस्तार अभियानमा थिए । वरिष्ठ पत्रकार एवम नेपाल पत्रकार महासंघका केन्द्रीय कोषाध्यक्ष कलेन्द्र सेजुवालले सापकोटाले रोजेको बाटो गलत भएपनि उनलाई त्यता जाने वातावरण निर्माण हुनु विडम्वना भएको प्रतिक्रिया सामाजिक सञ्जालमा दिएका छन् ।

यसै परिप्रेक्ष्यमा हामीले केहि प्रवुद्ध व्यक्तिहरुसँग काँग्रेस–एमालेबाट युवाहरु किन बाहिरिँदै छन् भन्ने विषयमा क्रिया–प्रतिक्रिया लिन खोजेका छौं । उनीहरुको प्रतिक्रियाको सम्पादित अंशः
प्रस्तोता : सेर बहादुर थापा

युवामा चरम निराशा छाउँदा विद्रोह हुन्छ : अध्यक्ष कंडेल

सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मण कंडेलले युवाहरुमा पछिल्लो समय चरम निराशा बढ्दै गइरहेको बताए । उनले त्यसको नतिजा स्वरुप केही युवाले विद्रोह गरेको प्रति इंिगत गरे । प्रजातान्त्रिक मूलुकमा इच्छा लागे कुनैपनि नागरिकले दल बदल्न पाईन्छ । पार्टी बदल्ने कुरा व्यक्तिको इच्छा हो । विदेशमा भोट बदल्ने प्रचलन छ । उदाहरणका लागि नेपालमा २०४६÷०४७ मा बहुदलीय व्यवस्था आउँदा काँग्रेस–एमालेमा प्रवेश गर्ने लहर चलेको, जनयुद्धकाल र पछि शान्ति प्रक्रियाको समयाम माओवादीमा प्रवेश गर्ने लहर आएको, अहिले रास्वपाले केहि गर्छ कि भन्ने इच्छा भएर होला यसमा प्रवेश गर्नेहरुको संख्या बढिरहेको छ ।

अर्को कुरा नयाँ दलमा गएको खण्डमा आफूले सोचेअनुसारको काम गर्ने योजना युवामा हुन्छ । पुराना पार्टीमा केहि व्यक्तिले मात्रै राईदाई गर्ने र केहि देशका लागि गर्छु भन्नेहरुलाई अवसर नदिने प्रचलन हावी भएका कारणले पनि नयाँ विकल्प रोज्ने बाटोमा युवाहरु लागेको मेरो ठम्याई छ ।
राजनीतिक दलहरुबाट देशको विकास, समृद्धि होला भन्ने आशा भन्दा पनि निराशा बढी भएको छ । आफन्त, नातागोता भर्ने, अवसर आफ्नैलाई दिने

दलका व्यवहारले पनि युवामा विद्रोहको चेत ल्याएको हुनसक्छ । दलहरु अब नसुध्रिए यो भन्दा ठूलो विद्रोह भोग्नुपर्ने अवस्था आउन सक्छ ।

लोकतन्त्र खतरामा पर्ने सम्भावना देख्छु : पूर्व डिन ढकाल

मध्यपश्चिम विश्वविद्यालयका पूर्व डीन, राजनीतिक विश्लेषक प्रा. पिताम्बर ढकालले पछिल्लो समय आम कार्यकर्ता र जनतामा नेपालमा भइरहेका राजनीतिक गतिविधिले असन्तुष्टिका लहर फैलाउँदै गएको बताएका छन् । यसले लोकतन्त्रलाई नै खतरामा पार्नसक्ने बताउँदै उनले राजनीतिक दलका नेताहरु बेलैमा नसच्चिएको खण्डमा दलहरुसमेत समाप्त हुनसक्ने बताए ।

वास्तवमा पछिल्लो समयमा असन्तुष्टिका लहर बढिरहेका छन् । पुराना राजनीतिक दलहरुबाट धेरै मान्छे अदलबदल हुनु त्यसैको एक कारण हो । अहिले काँग्रेस, एमालेभित्र पनि असन्तुष्टि बढिरहेको छ । अन्य दलहरुभित्र पनि त्यस्तै असन्तुष्टि बढिरहेको छ एकातिर भने अर्कोतिर नियन्त्रण र अनुशासन भन्ने कुरा खुकुलो भइसकेको छ । कसले कसलाई नियन्त्रण गर्ने भन्ने कुरा नै हराईसकेको अवस्था छ ।

विगतको जस्तो आम नागरिकमा श्रद्धा, आस्था कमजोर भएको छ भने छाडापन धेरै भइसकेको छ । मुख्य कुरा भनेको नेतृत्वतिर असन्तुष्टि बढिरहेको छ । नेताहरुले कार्यकर्ता संरक्षण गर्न भन्दा पनि अन्यत्र ध्यान दिन थाल्दा यस्तो अवस्था आएको हो जस्तो लाग्छ ।

सबैभन्दा खतरा यसको असर युवा युवतीमा परे पार्टीहरु स्खलित हुने, धरासायी हुने खतरा मैले देखेको छु । कुनै लोकप्रिय व्यक्तिले नयाँ दल खोलेको खण्डमा त्यतातिर भरिन सक्ने जोखिम बढेको छ । यसले लोकतन्त्रलाई पनि असर गर्छ, त्यस्तो हुन नदिन नेताहरु बेलैमा सचेत र सजग हुन आवश्यक छ ।

पछिल्लो समय पार्टी जनताको नजिक छैनन, उनीहरु आफ्नै स्वार्थमा रुमल्लिरहेका छन् । यसमा जनताको दोष छैन । यदि लोकतन्त्र बचाउने हो भने दलहरु सच्चिन अत्यावश्यक भइसकेको छ ।

जनप्रतिनिधिले तलब खान बन्द गर्न आवश्यक भईसक्योः शर्मा

नेकपा एमाले जिल्ला कमिटी सदस्य, होटल व्यवसायी एवंम् सिद्धदर्शन दैनिक सुर्खेतका प्रकाशक÷सम्पादक चिन्तामणि शर्माले नेपालका ३६ हजार भन्दा बढी जनप्रतिनिधिले अब तलब, सुविधा लिन बन्द गर्नुपर्ने अवस्था आइसकेको बताए ।

पछिल्लो समयमा सुर्खेतमा मात्रै नभई कर्णालीमा पुराना राजनीतिक दलहरुमा आवद्ध भएका अधिकांश नेता, कार्यकर्ता नयाँ दलमा जानुको कारण बारे हामीले सोधेको प्रश्नमा उनको जवाफ यस्तो छ ।

अहिले जताततै निराशा छाएको छ । कृषि क्षेत्र, पर्यटन क्षेत्र, व्यवसाय, विद्यार्थी, युवा, कर्मचारी सबै क्षेत्रमा निराशा छाएको छ । निराशाको मुख्य कारण यो देशमा अब केहि होला भन्ने कुराको विश्वास गर्न नागरिकले छोडनु हो ।

ल ठिकै छ नि त, आज यहाँ काम गर्ने वातावरण, रोजगारीका अवसरदेखि अन्य कुरा छैन, भोली राम्रो होला भन्ने आशा अब जनतामा रहेन । भोली राम्रो होला भन्ने भन्दा पनि भोली झन देशको दुर्गति होला भन्नेमा नागरिक पुगिसकेका छन् । यो विगार्ने भनेको राज्य सञ्चालक दलका टाउकेहरु नै हुन ।
एकातिर देश विगार्ने अर्को तिर रमेश सापकोटा जस्ता कार्यकर्तामाथी हप्की–दप्की गर्छन । काम गर्नेहरुलाई प्रोत्साहन गर्नुपर्नेमा झन हप्की दप्की दिने गरेका कारण सापकोटा जस्तो इमान्दार, कर्मठ र लगनशील नेता कार्यकर्ताले विद्रोह गर्छन । यो स्वभाविक हो जस्तो मलाई लाग्छ ।

नेता भनेको हामी जत्तिकै पनि जान्दैनन, देश नै यिनीहरुले नै विगारेका छन् भनेर नागरिकले बुझेका छन्, त्यसैमा उल्टो हप्की दप्की सहेर बस्न अब नागरिक तयार छैनन भन्ने अर्थमा पनि यसलाई दलका नेताहरुले लिन जरुरी छ ।

उदाहरणका लागि सापकोटा प्रभावशाली नेता पूर्णबहादुर खड्काको नजिक भए, प्रदेशदेखि हरेक अधिवेशनमा हृदयराम थानी समूहलाई पराजित गर्न योजना बनाए, लगानी गरे, कार्यकर्तालाई होटलमा खाने–बस्नेदेखि ओसार्ने सम्मका काम गरे । त्यसको बदलमा उनले निरन्तर हप्की दप्की खानुपरेपछिको यो विद्रोह उनले गरे जस्तो लाग्छ । यो त उदाहरण मात्र हो । हरेक दलमा यस्ता धेरै कार्यकर्ता गुम्सिएर, हेपिएर, दविएर बसेका छन, विस्तारै उनीहरुपनि विद्रोह गर्न लाग्छन जस्तो लाग्छ ।

मान्छेले भविष्य प्रतिको आशा पुरै मरिसकेको छ । रिस उठेको समयमा घिचघिच गरेको खण्डमा हात छोडन पनि बाध्य हुने अवस्था आइसकेको मैले देखेको छु । उनले नेताहरु नसुध्रिए देशमा ठूलै उथलपुथल हुने बताए । नेताहरुले हामी भ्रष्टाचार गर्दैनौं भनेर लाग्नुपर्छ । चालु खर्चले देशका कर्मचारीलाई तलब खुवाउन नसकिने अवस्था आएको छ । यसकालागि राजश्व वृद्धि गर्नतिर राज्य सञ्चालकहरु लाग्नुपर्छ ।

संघीयता हटाउने वा यसलाई व्यवस्थित गर्ने, वडा सदस्यसम्मले तलब खान्छन् त्यो तलब भत्ता बन्द गर्नुपर्छ । तलब भत्ता नपाउने भएपछि त्यसप्रति नेता कार्यकर्ताको आकर्षण कम हुन्छ, यसले राज्यलाई ठूलो सहयोग पुग्छ । मुस्ताङको युरेनियम ग्लोबल ठेक्का लगाएर बेच्नुपर्छ । देशभरी सडेर गएका काठहरु विक्री वितरण गर्नुपर्छ । काठलाई सस्तो, प्रयोगमा अनिवार्य गर्नुपर्छ ।

तपाईको प्रतिक्रिया