कर्णाली प्रदेश सरकारमा नेपाली कांग्रेसबाट सहभागी चार मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक भएको छ । मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले सार्वजनिक गरेको सम्पत्ति विवरणमा मन्त्रीहरु घरजग्गा, सुनचाँदीमा सौखिन देखिएका छन् । चार मन्त्रीमध्ये सबैभन्दा धेरै आर्थिक मामिला तथा योजना मन्त्री राजिवविक्रम शाहसँग अर्बौको सम्पत्ति छ ।
जाजरकोटबाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका शाहसँग विभिन्न जिल्लामा करोडौं मूल्यका घर तथा जग्गा, सुन चाँदी, गाडी, कम्पनी रहेका छन् । शाहले ठुलो मात्रामा शेयर बजारमा लगानी गरेका छन् । शाहसँग काठमाण्डौं महानगरपालिका–११ को चार स्थानमा करोड बढी मूल्यका घर रहेको सम्पत्ति विवरणमा उल्लेख छ । चार मध्ये तीन घर शाहको नाममा छन् भने एक घर श्री टिआर रियल स्टेट एण्ड लिजिङ्ग कम्पनीको नाममा दर्ता छ । शाहले काठमाण्डौं, काभ्रे र नुवाकोटमा पनि जग्गा खरिद गरेका छन् । काठमाण्डौं महानगरपालिका–११ का ६ स्थानमा शाहले जग्गा खरिद गरेका छन् । वडा नम्वर ११ मै झण्डै सात करोड बढीका दुई वटा घर श्री टिआर रियल स्टेट, सिंह होल्डिङ्ग इन्भेष्टमेन्ट प्रालिका नाममा छन् । यी सबै घर जग्गाहरुको स्रोत पुख्र्यौली रहेको शाहले सम्पत्ति विवरणमा उल्लेख गरेका छन् ।
शाह सुनचाँदीमा पनि सौखिन देखिएका छन् । शाहसँग सुन अन्दाजी नौ सय ४५ तोला, चाँदी दश हजार एक सय ६१ तोला र ६ देखि आठ करोड मूल्यका हिरा, जबाहरात छन् । शाहले एक करोड पचास लाख बराबरका विभिन्न ब्राण्डका पाँच थान घडी खरिद गरेका छन् । गरगहना मामा घर पट्टिबाट प्राप्त गरेको र घडी व्यापारबाट खरिद गरेको शाहको सम्पत्ति विवरणमा उल्लेख छ । त्यस्तै, शाहका नाममा लक्ष्मी बैंक र एनएमवि बैंकमा तीन करोड २३ लाख रुपैयाँ नगद मौज्दात छ ।
अर्थमन्त्री शाह शेयर बजारमा पनि सौखिन देखिएका छन् । शाहले २६ वटा कम्पनीमा करोडौं लगानी गरेका छन् । यस्तै, शाहसँग एक करोड ५० लाख मूल्यको टोयोटा टि एक्स गाडी छ । ६१ लाख ७५ हजारको महेन्द्रा एक्स यूभि जीप, पाँच लाखको मोटरसाइकल, ३७ लाखको महेन्द्रा थार र २ करोड ६३ लाख मूल्यको रुविकन जीप रहेको सम्पत्ति विवरणमा उल्लेख गरिएको छ ।
त्यस्तै, जलस्रोत तथा उर्जा विकास मन्त्री विजया बुढा पनि घर जग्गा र सुनचाँदी खरिदमा सौखिन देखिएकी छन् । बुढासँग हुम्लाको सिमकोट गाउँपालिका–५ र नेपालगञ्ज उप महानगरपालिका–२ मा घर रहेका छन् । यी घर छोराको नामममा छन् । बुढाले हुम्ला, बाँके र सुर्खेतका पाँच स्थानमा ६९ लाख मूल्य बराबरको जग्गा खरिद गरी बुवाका नाममा दर्ता गराएकी छन् । यी सबै सम्पत्तिको स्रोत व्यापार–व्यवसाय, पैतृक, पारिश्रमिक, ऋण, ठेक्कापट्टा रहेको बुढाको सम्पत्ती विवरणमा उल्लेख छ ।
त्यस्तै, बुढासँग २५ तोला सुन, एक सय ५० तोला चाँदी, १५ तोला मुगा छन् । विभिन्न सात वटा बैंक तथा सहकारीमा बुढाको नाममा २२ लाख ६० हजार नगद रुपैयाँ मौज्दात रहेको छ । मन्त्री बुढाले आठ वटा कम्पनीमा शेयर लगानी गरेकी छन् । उनीसँग ५० वटा घोडा, चौँरी, भेडा, गाई र बाख्रा छन् । त्यस्तै, ३५ हजारको मोबाइल र ६० हजारको ल्यापटप रहेको सम्पत्ति विवरणमा उल्लेख छ ।
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री सुरेश अधिकारी पनि धनि देखिएका छन् । सल्यानको शारदा नगरपालिका–२, का अधिकारीको सोही ठाउँमा घर छ । दुई लाख ५० हजार मूल्य पर्ने उक्त घर तत्कालिन समयमा श्रीमतीको तलबभत्ता र आफूले गरेको ठेक्कापट्टाबाट खरिद गरेको उनले उल्लेख गरेका छन् । उनको विभिन्न पाँच ठाउँमा जमिन छ । दाङको तुल्सीपुर उपमहानगरपालिका–५, ६, ३ नम्बर वडामा रहेका तीन वटा जग्गा अधिकारीको नाममा छन् ।
सल्यान र दाङ गरी दुई ठाउँमा उनकी श्रीमती कल्पना आचार्यको नाममा जमिन छ । मन्त्री अधिकारीसँग २५ तोला सुन र २० तोला चाँदी छ । उक्त सुनचाँदी श्रीमतीको दाइजो तथा पैत्रिक र आफैले खरिद गरेको उल्लेख छ । यस्तै, अधिकारीको नाममा विभिन्न सात वटा बैंकमा ११ लाख रुपैयाँभन्दा बढी रकम मौज्दात छ । उक्त रकम केही जग्गा बिक्री र सेवा सुविधावापत प्राप्त भएको सम्पत्ति विवरणमा उल्लेख छ । अधिकारीले पनि शेयर लगानी गरेका छन् । उनले ११ लाख रकम अरुलाई ऋण दिएका छन् भने ६० लाख रकम ऋण बैंक तथा सहकारीबाट लिएको उल्लेख गरेका छन् । त्यस्तै, सामाजिक विकासमन्त्री घनश्याम भण्डारीसँग पर्याप्त सम्पत्ति छ ।
दैलेखको दूल्लुमा भण्डारीको पुख्र्यौली घर उनकी आमा चन्द्रा भण्डारीको नाममा छ । भण्डारीसँग दुल्लुका विभिन्न ठाउँमा जग्गा–जमिन छ । भण्डारीले दूल्लु नगरपालिका–३ का १३ ठाउँमा जग्गा खरिद गरेका छन् । त्यस्तै, वडा नम्बर २ को सात स्थानमा भण्डारीले जग्गा खरिद गरेका छन् । आमाकै नाममा साबिक पादुका गाविस–५, का दुई ठाउँमा उनको जमिन छ ।
त्यस्तै आमाकै नाममा साबिक रावतकोट गाविस–५ र ४ गरी दुई ठाउँमा जमिन छ भने उनकी श्रीमती पवित्रा कुमारी खड्काका नाममा दुल्लु, कालभैरव, बडलम्जी गरी तीन ठाउँमा जमिन छ । उक्त जमिन पारिश्रमिकबाट खरिद गरेको सम्पत्ति विवरणमा उल्लेख छ । मन्त्री भण्डारीको नाममा साबिक पादुका गाविस–५, मा अर्को जग्गा छ । उक्त जमिन पारिश्रमिकबाट खरिद गरेको उल्लेख छ ।
भण्डारीसँग आठ तोला सुन, पाँच तोला चाँदी छ । यी गहना केही पारिश्रमिकबाट जोडेको र केही पैतृक रहेको सम्पत्ति विवरणमा उल्लेख छ । भण्डारीको बैंक खातामा एक लाख २९ हजार सात सय रुपैयाँ मौज्दात छ । उक्त रकम पारिश्रमिकवापत प्राप्त भएको उल्लेख छ । श्रीमतीको नाममा चार लाख र शुभलक्ष्मी इटरलग इँटा उद्योगको नाममा १८ लाख गरी २१ लाख ऋण रहेको भण्डारीको सम्पत्ति विवरणमा उल्लेख छ ।
ओम शाही । सुर्खेत । ६ कार्तिक २०८१, मंगलवार १०:०९