पुल बनेपछि राष्ट्रिय सडकसँग जोडिए :  तिलाका १३ गाउँ बस्ती


जुम्लाको तिला गाउँपालिकाका १३ वटा दुर्गम गाउँ बस्ती एकैपटक राष्ट्रिय सडक सञ्जालसँग जोडिएका छन् । तिला–१ सीतानगर बजार नजिकै तिलानदीमा पुल बनेपछि तिलाका १३ बस्ती सडक सञ्जालमा जोडिएका हुन् ।

घोडेसिम, तुही, पोखरी, घोडे, सुडी, रिपी, ढिपु, राँसा, मालापानी, जुम्लाकोट, पुरु, माथिल्लो खोप्री र तल्लो खोप्री गाउँ अब सडकले जोडिएका छन् । तिला गाउँपालिका अन्तर्गतका ६, ७, ८ र ९ नम्बर वडा निकै विकट मानिन्छन् । जहाँ अहिले पनि दैनिक उपभोग्य बस्तु ओसारपसार गर्न भारी बोक्नुपर्ने बाध्यता छ । स्थानीयले उत्पादन गरेका कृषि उपजका बस्तुसमेत बजारसम्म ल्याउन कठिन छ ।

२०७४ को स्थानीय तहको निर्वाचनपछि त्यहाँका दुर्गम बस्तीहरूसम्म सडक पुगेको थियो । तर तिला नदीमा पुल नबन्दा सडक प्रयोगविहीन बनेका थिए । झोलुङ्गे पुलको बाटो हुँदै फाटफुट मोटरसाइकल चलिरहेका थिए । पुल नबन्दा निकै जोखिमपूर्ण यात्रा गर्नुपरेको तिला–६ का वडाध्यक्ष जंग रोकायाले बताए ।

अहिले तिला नदीमाथि स्टिल ब्रिज बनेपछि सवारीसाधन ओहोरदोहोर गर्न सहज बनेको छ । उक्त क्षेत्रमा उत्पादित रैथाने बाली आलु, सिमि, मकै, फापर, स्याउ, ओखर सहज रुपमा बजारीकरण हुने स्थानीय धनबहादुर बुढाले बताए । तिलाका दुर्गम गाउँ बस्ती समेत राष्ट्रिय सडक सञ्जालसँग जोडिएका छन् । खड्का निर्माण सेवाले भ्याट बाहेक १५ करोड रुपैयाँमा पुल बनाएको हो ।

तपाईको प्रतिक्रिया