बैतडीमा किशोरी बेपत्ता घटना रहस्यमय बन्दै गएको छ । गत असोज २५ गते बिहानदेखि बेपत्ता बैतडीको पञ्चेश्वर गाउँपालिका–२ डिम्मरकी १७ वर्षीया किशोरीको अवस्था अझै पत्ता नलागेको हो ।
उनी हराएको बिहिवार १३ दिन बितिसक्दा पनि कुनै संकेत नपाइएको हो । किशोरीको खोजी जारी रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक जनक ढुंगानाले बताए ।
आफन्तका घर, महाकाली किनार, भारत र नेपाल दुवैतर्फ खोजी गर्दा पनि अहिलेसम्म किशोरी फेला नपरेको उनले बताए । किशोरी खोजीमा प्रहरी निरीक्षक बलराम पाण्डेय नेतृत्वको प्रहरी टोली पञ्चेश्वरमा सक्रिय छ। तर अहिलेसम्म प्रहरीले किशोरीको कुनै सुइँको पाएको छैन ।
गत असोज २५ गते बिहान पानी लिन भनी नजिकैको धारातर्फ गएकी उनी घर फर्किनन् ।
महाकाली प्रहरी चौकीनजिकै किशोरीले पानी ल्याउन लगेका ‘ग्यालेन’ र डोरी भेटिएका थिए । छोरीको अवस्था थाहा नहुँदा परिवारलाई ठूलो चिन्तामा परेको छ ।
किशोरीलाई बेपत्ता पारेको आरोपमा महाकाली प्रहरी चौकीका प्रहरी हबलदार कृष्णराज जोशी नै पक्राउ परेका छन् । उनीबारे अनुसन्धान भइरहेको छ । किशोरीको परिवारले जोशीविरुद्ध व्यक्ति बेपत्ता पार्ने कसुरमा किटारी जाहेरी दिएपछि उनी पक्राउ परेका हुन् ।
गत असोज २५ गते भागेर महाकालीपारि भारतको सुगरखाल पुगेका जोशीलाई स्थानीयले नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका थिए । उनी अहिले जिल्ला प्रहरी कार्यालय, बैतडीको हिरासतमा छन् ।
किशोरी र प्रहरी हबलदारबीच ‘प्रेम सम्बन्ध’ रहेको कुरालाई बल पु¥याउने प्रमाण पनि भेटिएका छन् । हबलदार जोशीको मोबाइलमा ती किशोरी र उनका संयुक्त तस्बिर भेटिएका हुन् ।
पानीपँधेरो एउटै ठाउँमा गर्ने र चौकीनजिकै घर हुँदा चिनजान भएको हबलदार जोशीले प्रहरीसमक्ष बताएका छन् । तर किशोरी बेपत्ताबारे आफूलाई केही थाहा नभएको जिकिर उनले गरिरहेका छन् ।
प्रहरीलाई नै किशोरी बेपत्ताको आरोप लागेपछि महाकाली प्रहरी चौकीका प्रहरी जिल्लामा तानिएका छन् । महाकाली प्रहरी चौकीमा अहिले सई सुरतबहादुर साउँदको नेतृत्वमा नयाँ टोली छ ।
युग संवाददाता । बैतडी । ८ कार्तिक २०८१, बिहीबार १४:४८