अतिरिक्त शुल्क तिरेर सेवाग्राहीले काम लिनुपर्ने अवस्थालाई निरुत्साहित र हतोत्साहित गरिने भन्दै कर्णाली प्रदेशका यामलाल कँडेलले प्रमाण भेटिएमा कारवाही गरिने बताएका छन् । साथै उनले विकास निर्माणको काम आर्थिक वर्षको अन्त्यमा हुने परिपाटीको पनि अन्त्य गरिने उल्लेख गरे । विभिन्न कार्यालयले सेवाग्राहीबाट अतिरिक्त शुल्क लिइरहेको गुनासो बढेकाले सेवाग्राही, निर्माण व्यवसायीले अतिरिक्त शुल्क तिर्नुपर्ने परिपाटीको अन्त्य गर्न सम्बन्धित कार्यालयलाई निर्देशन दिइएको उल्लेख गरे ।
बिहिवार विहान नेपाल पत्रकार महासंघ सल्यानले खलंगामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले भने, ‘असार अगाडी नै बजेट कार्यन्वयन गरिसक्न अहिले देखिनै हामी तयारी अवस्थामा काम गरिहरको छौं । स्थानीय तहमा पनि त्यहि अनुसार छिटो काम गराउन सबैको सहयोग चाहिन्छ ।’ नेकपा एमालेका स्थायी कमिटी सदस्य समेत रहेका कँडेलले सत्तापक्ष र प्रतिपक्षी सबै दल हातेमालो गर्दै अगाडि बढे मात्रै कर्णालीको विकास सम्भव हुने धारणा व्यक्त गरे ।
राप्ती राजमार्गको यात्रा गर्दा दुरावस्था पाएको भन्दै उनले यसबारे प्रदेश सरकारको तर्फबाट संघिय सरकारलाइ अनुभूति गराउने जनाए । यस राजमार्गमा उल्लेखनीय बजेट आएको भएर प्रचार गरेर एमालेको सरकार आएपछी हटायो भनेर भ्रम फैलाएको सुनिएको भन्दै मुख्यमन्त्री कँडेलले बिकास निर्माणका सवाललाइ जनतामाझ राजनीतिको बिषय नबनाउन अनुरोध गरे । प्रदेश सरकार संग जोडिएका र अहिले अलपत्र परेका योजनाहरु कार्यान्वयनको पाटो प्रभावकारी बनाइने उल्लेख गरे । कंडेलले दलीय भेटघाट तथा जिल्लाको अवस्था बुझ्न विभिन्न जिल्लामा गइरहेको जनाए ।
बजेट बनाउने बेला आफु माओवादी पार्टीको समर्थनमा मुख्यमन्त्री रहेकोमा अहिले गठबन्धन फेरिएपनि त्यतिबेला बनाएको नीति तथा कार्यक्रम योजना, बजेटलाई निरन्तरता दिएको उनले जानकारी गराए ।
प्रदेश सरकारले कृषि वाहेक १५ लाखभन्दा तलका योजना नबनाएको उल्लेख गरेका कँडेलले निर्माण व्यवसायीको कमजोरीमा सरकार तथा जनप्रतिनिधीले गाली खाइरहेको बताए । धेरै काम निर्माण व्यवसायी मार्फत गर्नुपर्ने बैधानिक व्यवस्था रहेको भन्दै उनले निर्माण व्यवसायीले आफ्नो क्षमता विकास नगर्दा, कार्यसम्पादन नगर्दा, बेलैमा ध्यान नदिदा सरकार वा जनप्रतिनिधीले काम नगरेको जस्तो देखिने गरेकोले यसबारे सबैलाई बुझाउनुपर्ने र यस कार्यलाई सुधार गर्नुपर्ने बताए ।
पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघ सल्यान शाखाका कार्यवाहक अध्यक्ष शंकर केसीले पत्रकारहरूको हक, अधिकार र प्रेस स्वतन्त्रताको संरक्षणका लागि प्रभावकारी काम गर्न, लोकतन्त्रको आधारशिला भनेकै स्वतन्त्र प्रेस भएको भन्दै पत्रकारहरू लोकतन्त्रको सबैभन्दा महत्वपूर्ण रक्षक भएकाले अझै पनि कठिन परिस्थितिमा काम गरिरहेका पत्रकार, संचारमाध्यमको बिकासमा योजनाबद्ध काम गर्न, बढ्दो प्रविधिको प्रयोग संगै पत्रकारहरुको दक्षता बढाउने कार्यक्रम संचालन गर्न, तथा पत्रकार महासंघ सल्यानको भौतिक पुर्वाधार विकासका लागि अनुरोध गरेका थिए ।
पत्रकार सम्मेलनमा मुख्यमन्त्री कँडेल सहित एमाले सल्यानका अध्यक्ष भिम बहादुर सेन, उपाध्यक्ष ओज बहादुर बुढाथोकी, उपसचिवहरु गणेशमान सिंह, सन्सील्ता वली डिसी, नेपाल पत्रकार महासंघका पुर्व केन्द्रीय कोषाध्यक्ष सुर्यमणी गौतम लगायतको उपस्थिति रहेको थियो ।
शंकर केसी । सल्यान । ८ कार्तिक २०८१, बिहीबार १६:३४