‘सडकले गाउँमा ल्यायो समृद्धि’


जुम्लाको पातारासेी गाउँपालिका–१ मुनबहादुर बुुढालाई केही वर्षअघिसम्म गाउँमा सडक आउने कल्पनासमेत थिएन । घन्टौँ हिँडेर जुम्लाको सदरमुकाम खलंगा बजार पुगेका उनी घरै नजिकबाट गाडी ओहोरदोहोर गरेको देख्दा दङ्ग छन् ।

‘घरै नजिकै स्कुल जाने सडक, घरमुनि बजार जाने सडक छ’, उनी भन्छन्, ‘यत्तिको सुविधा होला भन्ने कल्पनासमेत गरेका थिएनौँ, अहिले त गाडी दुनुन्न हिँड्छन् आनन्द छ ।’

मुनबहादुर धेरै पटक भारी बोकेर जुम्ला बजार गएका छन् । त्यतिबेला बाटोमा बास बसेर भोलिपल्ट मात्र सदरमुकाम पुगेका थिए । ‘अहिले बिहान गए बेलुका घरमै आइपुगिन्छ, सडक निर्माणले निकै सुविधा भएको छ’, मुनबहादुर भन्छन् । सडक सुविधा पुगेपछि गाउँमा मोटरसाइकल र साना गाडी चढेर घुम्न आउनेहरु पनि बढेका छन् । ‘अब स्थानीय,प्रदेश र संघीय सरकारले यो बाटोमा पर्ने खोल्साखाल्सीमा पुल हाल्दिने, पिच गर्न बाँकी रहेको ठाउँमा राम्रो बनाउने गर्दिनुपर्छ’, उनले भने, ‘बाटो अलि साँघुरो छ ।

ठूलो गाडी पनि गुडाउन मिल्ने गरी बढाउनुपर्छ ।’ सडकले गाउँघरमा समृद्धि ल्याएको सोही वडाका युवा हर्कबहादुर बुढा बताउँछन् । उनले भने, ‘आफ्नो पाखाभित्ताका हरेक उत्पादनलाई अचेल यही सडकको सहायताले बजार पु¥याउँछन् ।’

‘हाम्रा लागि सडक वरदान बनेर उदायो’, उनले भने, ‘यो सडक नहुँदा हामी बारीमा फल्ने तरकारी बस्तुलाई खोले ( पिडो) दिन्थ्यौँ । अहिले बारीमै बिक्छ ।’ उनका अनुसार हिउँद होस् या बर्खा,अचेल तरकारी,स्याउ,सिमी,आलु,फापर,कोदो,कागुनो,तोरी लिन जाने गाडी टोलटोलमै पुग्छन् । पैसा हातहातै दिन्छन् ।

‘सडकले सजिलो बनायो’, उनले भने, ‘हामीले पनि बाँझो बारीमा तरकारी फलाउन थाल्यौँ, विस्तारै सबैको आर्थिक अवस्थामाथि लाँदैछ ।’ गाउँ–गाउँसम्म विस्तार हुँदै गएको सडक सञ्जालले सर्वसाधारणको जीवनशैलीमा लगातार सकारात्मक परिवर्तन ल्याइरहेको छ । ‘केही वर्षअघिसम्म पनि हातमा रुपैयाँ–पैसा पार्न टाढाको बजार धाएर खोडा खच्चड प्रयोग गरेर अन्नपात नै बेच्नुपर्ने बाध्यताका गाउँलेको अहिले बारीमै तरकारी बिक्छ, यता पातारासी –५ रामकला बुढाले भनिन्छ ‘सडकले विकासको लहर आउने रहेछ’, ‘पहिला हाम्रो क्षेत्रमा उत्पादन भएको स्याउ,सिमी,आलु र तरकारी बिक्री गर्न पिठ्युँमा बोकेर बजार झार्नुपर्ने बाध्यता थियो, अहिले बोटबाटै बिक्री हुन्छ ।’ यो खुसी कुरा हो ।

सडकको सहजता थपिएपछि स्थानीय किसानमा व्यावसायिक रुपमा खेती गर्ने धारणाको विकास भएको रामकला बताउँछिन् । सडकले स्थानीयको आर्थिक हैसियत बलियो पार्दै लगेको गाउँपालिकाले जनाएको छ । खाद्य संस्थानले बाँड्ने पाँच केजी चामल लिन दुई दिनको यात्रा गर्नुपर्ने बाध्यता थियो ।

पाँच केजी चामल पाउन हजारौं रकम खर्च गर्नुपर्ने परिस्थिति सृजना हुन्थ्यो । नुन चामलले हैरानी खेपेका स्थानीयबासीले अहिले घरमै चामल र नुन उपयोग गर्न पाएका छन् ।

विश्वभरका गतिविधि गाउँमै थाहा पाइन्छ । सडकसंगै शिक्षा, स्वास्थ्य तथा कृषिका कामहरू हरेक बस्तीमै हुने गरेका छन् । यता पातारासी गाउँपालिकाका पुर्व अध्यक्ष लछिमन बोहोराले यस क्षेत्रमा उत्पादन भएका तरकारी, फलफूल, सबै सिधै बजार झर्ने गरेको बताए ।

‘गाउँलेले भारी बोक्नुपर्ने बाध्यता हटेको छ’, उनले भने, ‘सडकका कारण गाउँको मुहारनै परिवर्तन भएको छ।सडक निर्माणकै कारण विश्वको अग्लो स्थान मार्सी थान फल्ने छुमचौरमा ज्युलो, शंकर झरना, मानवशास्त्री डोरबहादुर विष्टले बनाएको इष्टिच्यूट हेर्न पनि आन्तरिक तथा बाहृय पर्यटकहरुको सङ्ख्यामा वृद्धि भएको छ ।

‘पहिले यहाँ फाट्टफुट्ट मात्र पर्यटक पुग्ने गर्थे, अहिले दैनिक सयौँको सङ्ख्यामा पर्यटक पुग्ने गरेका छन् ।
गाउँपालिकाको मुख्य आम्दानीको स्रोत कृषि, जडिबुटी र पर्यटन हो । गाउँपालिकामा ७ वटा वडा छन । हरेक बस्तीमा एम्बुलेन्स पुग्छन । कच्ची सडक भएकोले समस्या छ,’ उनले भने, ‘कामका लागि खाद्यन्न कार्यक्रम अन्तर्गत २०६० सालदेखि सडकको निर्माण कार्य भएकोमा २०७४ सालदेखि औपचारिक रुपमा सडक चलेको थियो । ६० सालदेखि निर्माण भएकोमा कामका लागि खाद्यन्न कार्यक्रम थियो । पातारासीमा २६ गाउँबस्ती वटा छन् । राष्ट्रिय जनगणना २०७८ अनुसार पातारासीमा १६ हजार ८ सय २४ जनसंख्या छ । ३ हजार ३ सय ४२ घरधुरी छन् ।

४० भन्दा बढी बहुमुल्य जडिबुटी र ३३ भन्दा बढी जंगली चरा र जनावरहरु भएको क्षेत्र मानिन्छ । पातारासी हुंदै डोल्पा जोड्ने सडकका रुपमा अहिलेको सडकलाई लैजान स्थानीयले जोडदार माग गरेका छन ।

तपाईको प्रतिक्रिया