जुम्लाको चन्दननाथ नगरपालिका–९, का किसान रतन रावतले स्थानीय र उन्नत फूजी जातका पाँच सय बोट स्याउको खेती गरिरहेका छन् । रावतले चालु आर्थिक वर्षमा आफ्नो बगैचाको स्याउ बेचेर तीन लाख रूपैयाँभन्दा बढी आम्दानी गर्ने लक्ष्य राखेका थिए ।
रावतले सोही अनुसार मेहनत र लगानी पनि गरे । तर, रावतले स्याउबाट एक लाख रुपैयाँ पनि आम्दानी गर्न सकेनन् । ‘स्याउका बोट अनुसार ३० क्विन्टल अनिवार्य फल्नुपर्नेमा १५ क्विन्टल मात्र उत्पादन भएको छ,’ रावतले भने, ‘मेहनत त खुबै गरेको हो तर उत्पादन भने हुनै सकेन ।’ पछिल्लो सयम स्याउमा लाग्ने रोग, कीराका कारण लगानीअनुसारको मुनाफा लिन नसकेको उनले बताए ।
स्याउ खेतीका लागि चाहिने आवश्यक सीपसँगै प्राविधिक ज्ञान तथा मल समयमै नपाउँदा स्याउ खेतीबाट लगानीअनुसारको उत्पादन लिन नसकेको उनले बताए । २०६१ सालदेखि स्याउ खेती सुरु गरेका रावतले नर्सरी बनाएर स्याउका बेर्ना पनि बेच्ने गरेका छन् ।
जुम्लाको चन्दननाथ नगरपालिकाका अर्का किसान महेन्द्र कार्कीले पनि लगानी अनुसारको स्याउमा प्रतिफल लिन सकेका छैनन् । उनले स्याउ खेती थालेको ६ वर्ष भयो । योे सिजनमा उनले १० लाख रुपैयाँ बराबरको स्याउ बेचे । तर, उनको लक्ष्य थियो ३० लाख रुपैयाँ बराबरको स्याउ बिक्री गर्ने । खेती गरेको जमिन र लगानीको न्यूनतम प्रतिफल आए पनि ३० लाख कमाइ हुनेमा उनी ढुक्क थिए ।
स्याउका लागि चाहिने आवश्यक मलिलो र पोषिलो तत्वको अभाव, उपलब्ध भएको वस्तुको प्रयोगमा उचित ज्ञान नहुँदा उनको त्यो उद्देश्य पूरा भएन । ‘हामी यहाँका कृषक स्वयमले कृषि पढेका छैनौं, प्राविधिक सहयोग गर्ने मान्छे हाम्रो क्षेत्रमा छैनन् । सरकारी निकायमा पनि स्याउ खेतीसँग सम्बन्धित विज्ञहरू छैनन्,’ कार्कीले भन्छन्, ‘स्याउका बोटबाट राम्रो उत्पादन लिनका लागि विभिन्न थरीका पोषणजन्य औषधी बेलाबेला दिनुपर्छ, तर हामीसँग त्यस्ता औषधी, मल र ज्ञानको अभाव छ ।’
किन हुँदैन लगानी अनुसारको उत्पादन ?
कर्णालीका स्याउ उत्पादन हुने क्षेत्रका कृषकले पर्याप्त बजार र उचित मूल्य पाए पनि उत्पादन भने लिन सकेका छैनन् । यसको कारण सम्बन्धित खेतीका प्राविधिक जनशक्ति तथा विज्ञ, मल, औषधिको समयमै उपलब्ध नहुनु हो । अहिले जुम्लामा स्थानीय जातको स्याउ उत्पादन गर्ने कृषकले प्रति किलो ७० रूपैयाँ मूल्य पाएका छन् ।
उन्नत जातको फुजी स्याउ उत्पादकले दुई सय ५० रूपैयाँसम्म मूल्य पाएका छन् । कर्णालीका माथिल्ला जिल्लाहरूमा उत्पादन हुने स्याउ सडकमार्ग भएर सुर्खेत, नेपालगञ्ज, बुटवल, काठमाडौं लगायतका ठूला सहरमा निर्यात हुने गर्दछ । व्यवसायीहरूले सडकमार्ग भएर उत्पादित स्याउ ठूला बजारमा लैजान्छन् । ‘बजारमा स्थानीय जातको स्याउको पनि राम्रै मूल्य छ, माग पनि राम्रो छ । ग्रेडिङ गर्न सकियो भने डेढ सय रूपैयाँसम्म प्रतिकिलो बेच्न सकिन्छ,’ कृषक रावत भन्छन्, ‘यसका लागि कृषकहरूलाई उचित ज्ञान, प्रविधि चाहिन्छ, कृषकहरूको पनि इच्छाशक्तिको आवश्यकता पर्छ ।’
जथाभावी बेच्न थालेपछि स्थानीय जातको स्याउको उचित मूल्य कृषकले नपाएको उनको भनाइ छ । कर्णालीमा उत्पादित स्याउले पर्याप्त रूपमा बजार पाए पनि असहज सडकका कारण समयमै पठाउन सकिएको छैन । कर्णालीका स्याउ उत्पादन हुने क्षेत्रमा चौबीसै घन्टा सवारी चल्न सक्ने सडक बनाउनतर्फ राज्यले ध्यान दिए समयमै स्याउ निर्यात गर्न सकिने रावत बताउँछन् । लगानी गरेको कृषकहरूले राम्रो प्रतिफल लिनेगरी राज्यले व्यवस्थापन गर्नुपर्ने उनले बताए ।
‘सरकारले स्याउका बिरूवामा मात्र अनुदान दिएर हुँदैन, सबैभन्दा ठूलो समस्या भनेको खेती व्यवस्थापन गर्ने कुरामा छ । मल लगायतका अत्यावश्यक कुरा नेपालमा एकदमै महँगो छ, यस्ता कुरा सहुलियतमा उपलब्ध गराउन सक्ने वातावरण सरकारले गर्नुपर्छ,’ उनले भने, ‘स्याउका लागि चाहिने कतिपय तत्त्व नेपालमा उपलब्ध पनि हुँदैन, पहुँच हुनेले भारतबाट मगाउँछन् । पहुँच नभएकाहरूका लागि सम्भावना छैन । राज्यले यस्ता कुरामा ध्यान दिनुपर्छ ।’
सरकारले स्याउ खेती तथा उत्पादनलक्षित उचित नीति बनाएर पूर्णरूपमा कार्यान्वयन गर्न सकेमा कर्णालीमा पनि स्याउ कृषकको भाविष्य राम्रो भएका कृषक रावतको बुझाइ छ । कृषकले उत्पादन गरेको स्याउ समयमै बजार पु¥याउनेगरि सहज सडक र कृषकलाई स्याउ खेती गर्दा आवश्यक पर्ने सामग्री तथा प्रविधि समयमै उपलब्ध हुने व्यवस्था राज्यले गर्न सके देशको अधिकांश माग कर्णालीले पूरा गर्न सक्ने स्याउ उत्पादक किसान बताउँछन् ।
जुम्लाबाट ६१ करोडको स्याउ निर्यात
आर्थिक वर्ष २०८१/०८२ मा कर्णाली प्रदेशभर कति स्याउ उत्पादन भयो र कति बजारमा निर्यात भयो भन्ने यकिन तथ्यांक नआएपनि सबैभन्दा धेरै स्याउ उत्पादन हुने जिल्ला जुम्लाबाट भने यो वर्ष ६१ करोड २१ लाख रूपैयाँभन्दा बढीको स्याउ निर्यात भएको छ । कृषि विकास कार्यालय जुम्लाका अनुसार यो वर्ष साउन २९ देखि कात्तिक ४ गतेसम्म जुम्लाबाट नौ हजार तीन सय ५१ मेट्रिक टन स्याउ बजार पुगेको छ ।
औसतमा प्रतिकिलो ६५ रूपैयाँ मूल्य राखिएको कार्यालय प्रमुख बालकराम देवकोटाले जानकारी दिए । कर्णाली प्रदेशका सुर्खेतबाहेकका नौ जिल्लामा स्याउ उत्पादन हुन्छ । कर्णाली प्रदेशको कृषि मन्त्रालयका अनुसार सबैभन्दा बढी स्याउ उत्पादन जुम्लामा र कम उत्पादन रूकुम पश्चिममा हुन्छ । मन्त्रालयसँग भएको आर्थिक वर्ष २०७९/०८० को तथ्याङ्कअनुसार दुई वर्षअघि कर्णालीमा ३१ हजार एक सय दुई मेट्रिक टन स्याउन उत्पादन भएको तथ्यांक छ ।
युग संवाददाता । सुर्खेत । २५ कार्तिक २०८१, आईतवार १२:०४