प्रदेश सरकारको प्राथमिकतामा गौरवका आयोजना


लुम्बिनी प्रदेश सरकारले प्रदेश गौरवका आयोजना कार्यान्वयनलाई प्राथमिकतामा राखेको जनाएको छ । मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश गौरवका आयोजना कार्यान्वयनलाई प्राथमिकतामा राखेर काम अघि बढाएको बताएका छन् । प्रदेश सरकारले गौरवका आयोजनाको कार्यान्वयनलाई बजेट र कार्यक्रममा समेत प्राथमिकतामा राख्दै विनियोजन गरेको उनको भनाइ छ ।

प्रदेशको आर्थिक विकासलाई नयाँ उचाइमा पु¥याउन गौरवका आयोजनाले योगदान गर्ने विश्वास गरिएको छ । स्वास्थ्य, शिक्षा, प्रशासनिक क्षेत्र, सडक पूर्वाधारलाई प्राथमिकतामा राखेर गौरवका आयोजना तय गरिएको छ । ‘प्रदेश गौरवका आयोजनाको कामलाई तीव्रता दिइएको छ । बजेट विनियोजनमा प्राथमिकतामा राखेर कार्यान्वयन तहलाई चुस्त बनाएका छौं,’ मुख्यमन्त्री आचार्यले भने, ‘प्रदेश गौरवका आयोजनालाई प्रदेश सरकारले गौरवका साथ अघि बढाएको छ ।’

स्वास्थ्य उपचार सेवालाई प्रभावकारी बनाउन बुटवलमा सुविधा सम्पन्न अस्पताल निर्माणको काम अघि बढेको छ । सुविधा सम्पन्न १२ तले एक हजार दुई शैया रहने यस अस्पताल भवन निर्माणको काम अघि बढेको छ । ६ अर्ब १८ करोड बढीको लागतमा २०८५ साल पुससम्ममा निर्माण सम्पन्न गर्नेगरी शिलान्यास गरेर निर्माणको काम अघि बढेको हो । यो अस्पताल निर्माण सम्पन्न भई सेवा सञ्चालनमा आए बुटवल स्वास्थ्य हवको रूपमा विकासित हुनेछ । अहिले देखिएका उपचारका जटिलता समाधान भएर जाने विश्वास सरकारले लिएको छ ।

प्रदेशको प्रशासनिक सेवालाई प्रभावकारी बनाउन सुविधा सम्पन्न प्रशासनिक केन्द्र निर्माणको काम धमाधम भइरहेको छ । प्रदेश राजधानी राप्ती उपत्यका (देउखुरी) मा तीन अर्ब नौ करोड रुपैयाँको लागतमा प्रशासनिक केन्द्र जसमा मुख्यमन्त्री कार्यालयसहित १० वटा मन्त्रालय रहने गरी कार्य तीव्र रूपमा अघि बढेको छ । २०८२ सालभित्रै निर्माण सम्पन्न हुने लक्ष्यसहित हाल ६५ प्रतिशत काम पूरा भइसकेको छ ।

एक खर्ब लागतमा २० वर्षभित्र आधुनिक सहर निर्माण सम्पन्न गर्ने लक्ष्यअनुसार सरकारले नदी सभ्यतामा आधारित नमुना सहरका लागि साझेदार एवं लगानीकर्ता खोज्न सरकारले पहल लिएको छ । बाँके जिल्लाको खजुरामा प्राविधिक विश्वविद्यालय स्थापना गरी सूचना प्रविधि, इन्जिनियरिङ, कृषिलगायत अध्यापन गराइँदै आएको छ । प्राविधिक, दक्ष जनशक्ति उत्पादनका लागि थप पहल गर्ने सरकारको योजना छ ।

प्रदेश सरकारले यस सडक आयोजनालाई गौरवको आयोजनाको रूपमा अघि बढाउँदै विभिन्न सडक खण्डलाई बहुवर्षीय आयोजनाका रूपमा काम अघि बढाउने निर्णय गरिएको छ । रामपुर–जिनाबाङ सडक स्तरोन्नति योजनालाई प्रदेश सरकारले गौरवको आयोजनाको रूपमा अघि बढाएको छ । प्रदेश सरकारले यस सडक आयोजनालाई गौरवको आयोजनाको रूपमा अघि बढाउँदै बहुवर्षीय आयोजनाका रूपमा काम अघि बढाएको छ ।

लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०७६/०७७ मा पाल्पाको रामपुरदेखि पश्चिम उत्तर रोल्पाको जिनावाङ जोड्ने सडकलाई प्रदेश गौरवको आयोजनामा राखेर निर्माण सुरु गरेको गरेको हो । चार जिल्लामा आठ चरणमा काम थालिएको यो सडक निर्माणको कामलाई तीव्रता दिनेगरी काम अघि बढेको भौतिक पूर्वाधार विकासमन्त्री भूमिश्वर ढकालले बताए । यस वर्ष सडक निर्माणका लागि बजेट रहेको समेत जानकारी दिए । करिब तीन सय किलोमिटर अनुमान गरिएको यो सडक चार जिल्लाका सडक पूर्वाधार कार्यालय र प्रदेश भौतिक पूर्वाधार निर्देशनालयले हेर्दै आएको छ ।

तपाईको प्रतिक्रिया